अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतैपिच्छेको प्यानल र उम्मेदवार | Khabarhub Khabarhub

अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतैपिच्छेको प्यानल र उम्मेदवार


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन १२ माघमा हुँदै छ । नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा ३२ वर्षमुनिका विद्यार्थी नेताले पहिलो पटक अवसर पाएका छन् ।

क्रान्तिकारीले पहिलो पटक विद्यार्थी नेताहरूमा उमेर हद लगाएको हो । गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय सम्मेलन गरेर निर्वाचनमा जाँदा उमेर हद विवादका कारण निर्वाचन हुन सकेको थिएन ।

क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी पञ्चा सिंहको कार्यकाल सकिएपछि नयाँ नेतृत्व चयन हुँदैछ । पञ्चालाई २०७८ असोज २७ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसम्मत नेतृत्वमा ल्याएका थिए ।

बुधबार ६ जना नेताले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका लागि विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदीन पौडेल, उपदेश यादव, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका हुन् । यी सबैजनाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

प्रचण्डले माघ ८ गते मंगलबार अध्यक्ष, महासचिव र केही उपाध्यक्षका उम्मेदवारसँग सहमतिमै निर्वाचन गर्न छलफल गरेका थिए । सामूहिक र छुट्टाछुट्टै भएको छलफलमा सहमति प्रयास असम्भव भएपछि निर्वाचन गर्ने अवस्था आएको प्रचण्डनिकट नेताहरू बताउँछन् ।

माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘अध्यक्षज्यूले पदाधिकारीका उम्मेदवारसँग छुट्टा–छुट्टै र सामूहिक छलफल गर्नुभयो । तर, सहमति होइन, निर्वाचनमै जाने भनेकाले यो निर्णय गरिएको हो ।’

क्रान्तिकारीमा ९ जना उपाध्यक्षका लागि हुने निर्वाचनमा मुना थापा मगर, बिराज थापा, मुना काप्री, जनक बटाला, देवकी कार्की, ममता अधिकारी,अटल आचार्य, ज्ञानु खड्का, दीपा जैसी, मनिषा आचार्यलगायत छन् । उपाध्यक्षका लागि अघिल्लो कार्यकालका सचिव, प्रदेश उपाध्यक्ष चुनावी मैदानमा छन् ।

निर्वाचनमा एक महासचिवका लागि रोशन थापामगर, रोशन खड्का, प्रतीक कार्की, शिव बस्नेत, पदम काफ्ले, तिर्सना हमाल, गोविन्द बानियाँ, सञ्जीव फुयाँल, सञ्जयकुमार महतो श्याम रोकाले उम्मेदवारी दिएका छन् ।

अब निर्वाचनबाट ९ जना उपमहासचिव, १२ जना सचिव चयन गरिने छ । उपमहासचिवका लागि भुवनसिंह विष्ट, जटिल कार्की, रेसम अधिकारी, प्रकाश अधिकारी, निर्मला गौतम, विष्णु ढुङ्गाना लगायतले उम्मेदवारी दिएका छन् । एक कोषाध्यक्षका लागि फूलमाया राना र पार्वता चौलागाईंको उम्मेदवारी परेको छ ।

नेतैपिच्छेका प्यानल

अखिल क्रान्तिकारीको निर्वाचनमा माओवादी नेतापिच्छे प्यानल बनेका छन् । प्रचण्ड प्यानलबाट अध्यक्षका लागि विजयप्रकाश शर्मा सापकोटा छन् । महासचिवमा सजय महतो, तिर्सना हमाललगायत छन् । प्रचण्डले अन्य पदाधिकारी र सदस्यहरूको पनि प्यानल मिलाइरहेका छन् ।

माओवादी उपमहासचिव जनार्दन शर्माको प्यानलबाट अध्यक्षमा हेमन्त राई, महासचिवमा रोशन थापा, र कोषाध्यक्ष फूलमाया राना छन् । उनले प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

उपमहासचिव वर्षमान पुन प्यानलबाट सुदीन पौडेल अध्यक्ष र महासचिवमा रोशन खड्का छन् । उपाध्यक्षमा विराज थापा छन् । थापा अधिवक्ता हुन् । अन्य उम्मेद्वार पुनले मिलाउँदैछन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्यानलबाट अध्यक्षका लागि उपदेश यादव, महासचिवका लागि सञ्जीव फुयाल र प्रतीक कार्की छन् । श्रेष्ठले दुई महासचिवमध्ये एकजनालाई मिलाउने कोसिस गरिरहेका छन् ।

देशभर ९ मतदानस्थल

हरेक प्रदेशमा तोकिएका मतदान केन्द्र २४ सय २८ जना प्रतिनिधिले मतदान गर्दैछन् । सात प्रदेशमा सातवटा मतदान केन्द्र छन् । उपत्यका विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र प्राविधिक जिल्लासहित ९ स्थानमा निर्वाचन हुँदैछ ।

उमेर हद राख्ने कि नराख्ने भन्नेबारे क्रान्तिकारीमा फरक मत थियो । तर, गत पुस दोस्रो साता भएको मतदानमा क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भएको थियो ।

निर्वाचन अधिकृत मुक्तिनाथ प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९०० र खुलामा ८७९ मत परेको थियो । उमेर हद लागू भएपछि करिब ६ सय विद्यार्थी नेता क्रान्तिकारीबाट एकै पटक बढारिएका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ७ : १६ बजे

गर्मी सुरु भएसँगै लेकतर्फ लागे भेडाका बथान

लमजुङ– बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका

ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

म्याग्दी– ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका– ५ को

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सिरहा– जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति

७ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं–  सुनको मूल्य तोलामा सात हजार ५०० ले घटेको छ