दीपक मल्लिकको घर भत्काइएको विषय छानबिन गर्न संसदीय समिति गठनको माग | Khabarhub Khabarhub

दीपक मल्लिकको घर भत्काइएको विषय छानबिन गर्न संसदीय समिति गठनको माग


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । 

सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जघन्य अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे । ‘दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,’ उनले भने, ‘यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।’

सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको बताए ।

सो घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै उनले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिन् । सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्युत गरेर कथित बजरङ्गी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराइन्  । 

सांसद मनरुपा शर्माले म्याग्दीको बेनी नगरपालिका १९ वर्षीय मीना परियारको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरिन् । सांसद रुक्मिणी कोइरालाले नसर्ने रोगबाट नागरिकलाई जोगाउने योजना ल्याउन सरकारसँग आग्रह गरिन् । सांसद रेणु चन्दले राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कता हरायो ? भनी सरकारसँग प्रश्न गरिन् । 

सांसद विष्णुकुमारी सापकोटाले गुल्मी छत्रकोट रुरु गाउँपालिकाका उखु किसानलाई व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गर्नुका साटो विभिन्न बहानामा किसानलाई दुःख दिने काम भइरहेको भन्दै आपत्ति जनाइन् ।

सांसद कृष्णबहादुर राकोयाले मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको मडेला जोड्ने भेरी नदीमा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्बाटै पुनः लोडसेडिङ हुन्छ भनेर भन्नु गलत भएको बताए । सांसद पूजा चौधरी, बलदेव बोहरा, सावित्री मल्लले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 
 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १ : ४६ बजे

मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध माइतीघरमा महासंघको विरोध

काठमाडौं – शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको

आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ: महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार भएको

नेकपा एसको पार्टी कार्यालय अनुगमनमा पुगे समाजवादी मोर्चाका नेता

काठमाडौं – समाजवादी मोर्चाका शीर्ष नेता पूर्व राजाका समर्थकको एक

तीनकुनेमा हिंसा भड्किएपछि सटरमा लुकेका थिए दुर्गा प्रसाईं

काठमाडौं – पूर्व राजा समर्थकको नाममा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा

अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त

काठमाडौं – अर्जेन्टिनासँगको विश्वकप छनोट फुटबलमा ४–१ को पराजयपछि ब्राजिलले