मुस्ताङ– दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ । तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो ।
कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनका लागि कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र यहाँका स्थानीयले सीमित स्रोतसाधनमा श्राद्ध गर्न आउने तीर्थालुलाई सहज व्यवस्थापन गर्ने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकिरहेको छैन ।
श्राद्धस्थल साँघुरो हुँदा श्राद्ध गर्न, पूजापाठ तथा स्नान गर्न समस्या र चुनौती हुने गरेको भक्तजन बताउँछन् । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले यसअघि रहेको भौतिक संरचनामा क्षति पुर्याएको थियो । उक्त बाढीले स्थानीयको घर, बैंक तथा वित्तीय संस्था, कागबेनी श्राद्धस्थललगायत खेतीयोग्य जग्गामा करोडौँको भौतिक क्षति पुर्याएको थियो ।
जिल्लाका स्थानीय, सरोकार भएका निकाय र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिको पहलमा अर्थ सङ्कलन गरी कागखोला धारलाई नियन्त्रणको प्रयास गरिएको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । उनका अनुसार कागखोलाको धारलाई नियन्त्रणमा राखिए पनि श्राद्धस्थलको भौतिक संरचना दिगो रूपमा व्यवस्थापन हुन सकिरहेको छैन ।
यसैबीच, शनिबार यहाँ श्राद्ध गर्न आएकी म्याग्दीको बेनी नगरपालिका–९ का ५३ वर्षीया सीता शर्मालाई कालीगण्डकी नदीले बगाएको छ । कागखोला र कालीगण्डकी नदीको दोभानमा स्नान गरिरहेको बेला उनी अचानक चिप्लिँदा करिब ६० मिटर तलसम्म खोलाले बगाएको थियो ।
चिप्लिएर खोलाले बगाएपछि उनको उद्धारका लागि गएका अर्का एक जनालाई पनि कालीगण्डकी नदीले केही तलसम्म बगाएपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले कागबेनीमा स्नान गर्दागर्दै खोलाले बगाएपछि शर्माको सकुशल उद्धार गरिएको जानकारी दिए ।
यहाँको श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा तीनै तहका सरकारले चासो नदिँदा समस्या भइरहेको समितिकी अध्यक्ष गुरुङले दुखेसो गरिन् । कागबेनीमा बाढीले क्षति पुर्याएको क्षेत्रको मर्मत तथा पुनः निर्माण गरी संरक्षण र प्रभावकारी व्यवस्थापनमा तीनै तहका सरकारले समन्वय र सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।
‘अहिलेसम्म समिति र स्थानीयवासीको सहयोगमा स्थानीयस्तरबाट अस्थायी व्यवस्थापन र संरक्षण गर्दै आइरहेका छौँ, हामीसँग सीमित स्रोतसाधन भएकाले दीर्घकालीन संरक्षण र व्यवस्थापन सम्भव छैन’, अध्यक्ष गुरुङले भनिन्, ‘कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा सरकारले दीर्घकालीन समाधानसहित योजना अघि बढाउनु पर्दछ । यहाँ लाखौँ भक्तजन आउने भएकाले यस क्षेत्रलाई जोखिममुक्त गराउनु जरुरी छ ।’
अध्यक्ष गुरुङले समितिले भक्तजनबाट प्राप्त दान र सहयोग रकमबाट अस्थायी रूपमा श्राद्धस्थल र स्नानस्थल निर्माण गरेको बताइन् । श्राद्धस्थललाई दीर्घकालीन रूपमा भरपर्दो बनाएर थप व्यवस्थापन गर्न कालीगण्डकी नदी र कागखोलालाई बृहत आरसिसी तटबन्धनको आवश्यक रहेकामा उनले जोड दिइन् ।
बर्सेनि बर्खायाममा कागखोला र कालीगण्डकीले धार परिवर्तन गर्दा यहाँको श्राद्धस्थल र स्नानस्थलको भौतिक संरचनामा क्षति पुगेको समितिले जनाएको छ । यसैबीच, समितिले कागबेनीधाममा श्राद्ध गर्न आउने भक्तजनलाई स्नान र श्राद्ध गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
कागबेनीधामलाई केही फराकिलो र सहज तुल्याउन समितिले खडा गरेको एक दर्जन बढी व्यावसायिक अस्थायी टहरालाई केही पर स्थान्तरण गरिसकिएको समितिकी अध्यक्ष गुरुङले जानकारी दिइन् । उनका अनुसार नेपाली सेनाले कपडा फेर्नेस्थान र गाउँपालिकाले शौचालय निर्माण गरेको छ ।
सरकारले अहिलेसम्म कागबेनीधाममको संरक्षण र व्यवस्थापनका लागि बजेट विनियोजन नगरेको अध्यक्ष गुरुङले बताइन् । बर्सेनि बडादसैँ र चैतेदसैँको औँसीमा नुहाउन लाखौँ श्रद्धालु भक्तजन कागबेनी आउने गर्छन् ।
‘यस वर्षको चैतेदसैँको औँसी नजिकिँदै गर्दा पनि हालसम्म तीनै तहका सरकारले यस क्षेत्रलाई व्यवस्थापन गर्न नसक्दा जोखिम मोलेर श्राद्ध र स्नान गर्नुपर्ने अवस्था छ’, उनले भनिन् ।
बारागु मुक्तिक्षेत्र–४ कागबेनीधाममा कागभुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागखोलामा स्नान गरेको भन्ने धार्मिक किंबदन्ती छ । यही कारण देशभरबाट बर्सेनि लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन यहाँ आएर पितृको नाममा श्राद्ध गर्ने, तर्पण दिने र कालीगण्डकी दोभानमा स्नान गर्दा दिवङ्गत पितृ खुसी भई आर्शिवाद दिने धार्मिक विश्वास रहिआएको छ ।
प्रतिक्रिया