शिक्षामन्त्री भन्छन्- अपाङ्गता भएकालाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य | Khabarhub Khabarhub

शिक्षामन्त्री भन्छन्- अपाङ्गता भएकालाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाटन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताएका छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उनले अपाङ्गता भएकाहरूले अवसर पाउँदा अन्य मानिसभन्दा बढी प्रगति हासिल गर्न सक्ने धारणा राखे । 
उनीहरूको क्षमता अभिवृद्धिका साथै जीवनको सहजताका लागि शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नेमा सरकारले ध्यान दिइरहेको मन्त्री पन्तको भनाइ थियो । 

उनले कार्यक्रममा प्रस्तुत बौद्धिक अपाङ्गताका क्षेत्रका सवाल र समाधान गर्नुपर्ने विषयबारे ध्यान दिएर नीतिगत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । 

‘यहाँ राम्रा विषयहरू प्रस्तुत भएका छन् । अपाङ्गताका क्षेत्रमा बनेका नीतिगत व्यवस्था, वस्तुस्थिति र सामाजिक परिवेशअनुसार व्यावहारिक रूपमा कार्यान्वयन गर्न ध्यान दिनुपर्ने आवश्यकता छ’, मन्त्री पन्तले भने,’सरकारका तर्फबाट अपाङ्गता भएका व्यक्तिहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गर्न हामी सचेत छौँ । समावेशी र अपाङ्गता भएका व्यक्तिहरूलाई सबल र सक्षम बनाउनेमा पनि अब्बल हुन नेपालले प्रयास गरिरहेको छ ।’ 

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य गीता अधिकारीले १६औँ पञ्चवर्षीय योजनामा शतप्रतिशत बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य रहेको उल्लेख गर्दै शिक्षालाई आधार बनाएर मानव पुँजीको विकासमा जोड दिनुपर्ने बताइन् । 

उनले गुणस्तरीय शिक्षाभित्र पनि लैङ्गिक उत्तरदायी र समावेशी शिक्षालाई जोड दिएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको धारणा राखिन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले समावेशी शिक्षा र विशेष शिक्षाका क्षेत्रमा नेपालको परिवेशअनुसार मार्गचित्र तयार गरेर अगाडि बढ्नुपर्ने बताए । 

उनले विकासको दृष्टिले पछाडि परेका बालबालिकाको आवाज, अपेक्षा र आवश्यकतालाई विश्लेषण गरेर नीतिगत व्यवस्था र व्यावहारिक कार्यान्वयनलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा ध्यानाकर्षण गराए ।

उपमहानिर्देशक महेन्द्रप्रसाद पराजुलीले नेपालको संविधान जारी भएपछि शिक्षामा सबैको पहुँच, अनिवार्य निःशुल्क शिक्षाको नीति सुनिश्चित गरेको भन्दै तीनै तहका सरकारले नतिजामूलक उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताए । 

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले समावेशी शिक्षा नीति २०७३ लाई क्रियाशील बनाइनुपर्नेमा जोड दिए ।

नेपाल नेत्रहीन सङ्घका अध्यक्ष कलाधर भण्डारीले विशेष शिक्षा परिषद्ले अपाङ्गता भएका व्यक्तिका लागि आधारभूत शिक्षाको सुनिश्चितताका लागि काम गरिरहेको बताए । 

उनले समुदायमा आधारित समावेशी शिक्षाका लागि नेपाल सरकारले अवलम्बन गरेअनुसारको शैक्षिक उपलब्धि हासिल गर्नका लागि सबै सरोकार भएकाहरू जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए । 

विसं २०८५ वैशाख १ गतेभित्र सबै तहका बालबालिकाले आधारभूत तहको शिक्षा प्राप्त गरेको हुनुपर्ने नीतिगत व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।-रासस

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  २ : ३८ बजे

एमालेको झोलामा के छ ?

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु

एमालेका संगठित सदस्य : सबैभन्दा धेरै धनुषा, सबैभन्दा कम मनाङ 

काठमाडौं– मधेश प्रदेशको धनुषा जिल्लामा नेकपा (एमाले) को पकड सबैभन्दा

एमालेको निष्कर्ष : राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास पूर्ण विफल

गोदावरी- नेकपा (एमाले)ले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै

एमालेको परराष्ट्र नीति : सबैसँग मित्रता, कसैसँग शत्रुता छैन

गोदावरी ललितपुर– नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने

एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का देशभित्र र देशबाहिर