फिक्कल– ठाडो स्वरूप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीको तोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटकको आकर्षणको केन्द्र बन्न सकेको छैन ।
वरिपरि हरियाली डाँडाकाँडा र अधिकांश भूभाग ठूला चट्टानहरू रहेको घोर्ले भिर साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको छ ।
समुन्द्री सतहबाट अनुमानित एक हजार ५०० देखि एक हजार ७०० मिटरसम्मको उचाइमा अवस्थित अन्दाजी १५५ हेक्टर क्षेत्रफलमा फैलिएको घोर्ले भिर प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पन्नताले भरिपूर्ण रहेको छ । स्थानीय ज्येष्ठ नागरिक मनबहादुर बुढाथोकी जङ्गली जनावर घोरल प्रशस्त मात्रा पाइने भएकाले यस भिरको नाम घोर्ले भिर रहन गएको बताउँछन् ।
घोरलहरूको वासस्थान भएको कारणले नै घोरल भिरबाट अपभ्रंश हुँदै बोलीचालीमा सहजताका लागि घोर्ले भिर नामाकरण गरिएको उनको भनाइ छ । पहिले पहिले त्यस भिरमा स्थानीय गाउँलेहरूले गाईबस्तु, बाख्रा चराउन लैजाँदा बाख्रासँगै घोरल चर्ने, रमाउने र खेल्ने गरेकाले त्यस भिरको नाम घोर्ले भिर रहन गएको उनको भनाइ छ ।
‘हामी केटाकेटी हुँदा बाख्रा चराउन घोर्ले भिर जान्थ्यौँ, त्यति बेला घोरलहरू बाख्रासँगै चर्ने गर्दथे । बेलुका बाख्रा घरतिर ल्याउँदा घोरलहरू पनि बाख्रासँगै आउने गरेको र बाख्राहरू खोरमा पसेपछि ती घोरलहरू जङ्गलतिरै जान्थे,’बुढाथोकीले सुनाए ।
साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूका लागि घोर्ले भिर आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको स्थानीय समाजसेवी यामकुमार बुढाथोकी बताउँछन् ।
‘घोर्ले भिर क्षेत्र आसपासमा पदयात्राका लागि उत्कृष्ट वातावरण छ । माङसेबुङ गाउँपालिका कार्यालयदेखि घोर्लेभिर डाँडासम्म र १ नं वडा कार्यालयदेखि घोर्लेभिर डाँडासम्मको पदयात्रा मार्ग निर्माण गर्न सकिन्छ । उनले भने, ‘घोर्लेभिरको चट्टानी संरचना रक क्लाइम्बिङको पनि उत्तिकै सम्भावना छ ।’
त्यस्तै सफा मौसम, हावाको सन्तुलित प्रवाह, उचाइ र खुला भूक्षेत्रको उपलब्धताका कारण घोर्लेभिरमा प्याराग्लाइडिङको समेत सम्भावना रहेको छ । घोर्लेभिरबाट उडेर तलतिर फेवा खोलाको बगरमा अवतरणका लागि दूरीसमेत पर्याप्त हुने भएकाले प्याराग्लाइडिङको सम्भावना पनि उत्तिकै छ ।
यस क्षेत्रमा साहसिक गतिविधिका लागि हालसम्म सरकारी निकाय र निजी क्षेत्रबाट कुनै सम्भाव्यता अध्ययन भने नभएको वडाध्यक्ष भूपाल योङहाङ बताउँछन् ।
‘घोर्लेभिर नजिकै लामिडाँडाको शिवालय मन्दिरसम्म त गाउँपालिकाको लगानीमा सडक पुर्याइएको छ । बाँकी कुनै काम गर्न सकिएको छैन,’वडाध्यक्ष योङहाङले भने, ‘आगामी दिनमा वडाका तर्फबाट समेत घोर्लेभिरको प्रवर्द्धनका लागि कार्यक्रम समावेश गर्नेछौँ ।’
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरूको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताए । उनले घोर्लेभिरलाई साहसिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सम्भाव्यता अध्ययनको तयारी भइरहेको बताए ।
‘घोर्लेभिरमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङजस्ता साहसिक गतिविधि गर्न सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष पेस गरेका छौँ,’ अध्यक्ष राईले भने, ‘नेपालका थुप्रै डाँडा टाकुराहरू पर्यटकीय गन्तव्य बनेका छन् । घोर्लेभिर त झन् प्रशस्त सम्भावना भएको क्षेत्र हो’, उनले पर्यावरण संरक्षणसँग जोड्दै पालिका पर्यटन विकासमा अघि बढिरहेको बताए ।
अध्यक्ष राईले घोर्लेभिरमा पर्यटन प्रवर्द्धन गर्न योजनाबद्ध रूपमा काम गरिने बताए । त्यसकै लागि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको योजनाबद्ध रूपमा प्रवर्द्धन गर्नका लागि गएको साता त्यस्ता १८ वटा क्षेत्रको अध्ययन र अनुसन्धान गर्न पर्यटन पदयात्रा सम्पन्न गरेको उनले बताए ।
यता, साहसिक पर्यटन विकासका लागि सरकारी नीति स्पष्ट हुन नसक्दा उल्लेख्य प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् । माङसेबुङका पर्यटन व्यवसायी रोशन राई सरकारी नीति उदार नहुँदासम्म साहसिक पर्यटनको विकास चुनौतीपूर्ण रहेको बताउँछन् ।
घोर्लेभिरको टुप्पोबाट चारैतिरका डाँडाकाँडा, स्थानीय जीवनशैलीका बस्तीहरू, हरियाली फाँटहरू एकैसाथ देख्न सकिन्छ । मौसम सफा भएको बेला कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल समेत प्रस्टै देखिन्छ । यहाँको मौसम परिवर्तनसँगै देखिने प्राकृतिक दृश्यले जो कोहीलाई स्वर्गीय आनन्द प्राप्त हुन्छ ।
भौगोलिक बनावटका कारण घोर्लेभिरले प्रकृतिप्रेमी र फोटोग्राफरहरूलाई विशेष आकर्षित गर्ने गर्दछ । स्थानीय बोटबिरुवाको विविधतामा वैज्ञानिक अनुसन्धान, औषधीय अध्ययन र वनस्पतीय पर्यटनका लागि पनि यो ठाउँ सम्भावनायुक्त मानिन्छ । साथै, जैविक कृषि, मौरीपालन र जडीबुटी खेतीको सम्भावनासमेत प्रशस्त छ ।
घोर्लेभिर प्राकृतिक सुन्दरता र जैविक विविधताको दृष्टिले समेत महत्त्वपूर्ण छ । एकातिर साहसिक गतिविधिको सम्भावना र अर्कोतर्फ हरियाली शान्त वातावरण । पहिलो पटक घोर्लेभिर पुग्ने जो कोहीले स्वर्गीय आनन्द प्राप्त गर्छन् । घोर्लेभिर वरपरको जङ्गलमा घोरलसँगै अन्य जङ्गली जनावरहरूको वासस्थान प्रशस्त पाइन्छ ।
घोर्लेभिरमा दर्जनौँ गुफा, ओडार, चेप र खोपहरु छन् । ती गुफा, ओडार, चेप र खोपमा घोरल, मृग, चितुवाहरू बस्दथे । अहिले पनि घोरल र मृगहरु प्रशस्त देख्न पाइन्छ । चितुवाहरू भने पाउन छाडिएको स्थानीय गणेश नेपाल बताउँछन् ।
‘मैले बाल्यकालदेखि घोर्लेभिर हेर्दै आएको छु । पहिले हामी गाईबाख्रा चराउने, जडीबुटी टिप्ने ठाउँ थियो । यहाँ प्रशस्त जङ्गली जनावरहरू पाइन्थे’, उनले भने, ‘अहिले कम हुँदै गएको छ । समयमै यस क्षेत्रको प्रवर्द्धन नगर्ने हो भने यहाँको जैविक विविधता हराउँदै जाने जोखिम रहेको छ ।’
घोर्लेभिर वरपरका जङ्गलमा जैविक महत्वका विभिन्न जडीबुटीजन्य वनस्पतिहरु समेत प्रशस्त पाइन्छ । भोर्ला, चिउरी, लालीगुराँस, सुनाखरी, कुरिलो, असुरो, बुढो ओखर, हटचुर, अमला, हर्रा, बर्रा, पुदिना, तीतेपाती, मालागिरि, पाङ्ग्रा, बल्ढङ्ग्रा, कुकुरडाइनो, सिकारी लहरा, बाबियो, दार, गुर्जोलगायत जैविक महत्वका खोपोन्मुख जडीबुटीहरु पाइन्छन् ।
घोर्लेभिरको बीच भागमा घोरल र मृगले चाट्ने ‘खार’ नुनिलो स्वादको हुने भएकाले घोरल र मृगले नुनको स्वाद त्यही खार चाटेर लिने गर्दछन् ।
घोर्लेभिर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । त्यहाँसम्म पुग्न पक्की बन्न सकेको छैन । विद्युत् र खानेपानी पनि विस्तार हुन सकेको छैन ।
गाउँपालिका कार्यालयबाट बताहा दोभान हुँदै तोभाङ भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्लेभिर पुग्न सकिन्छ ।
त्यसैगरी अर्को बाटो गजुरमुखी धामदेखि तोभाङ हुँदै भञ्ज्याङसम्म र १ नं वडा कार्यालयबाट भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्लेभिर पुग्न सकिन्छ । त्यसैगरी दमक–चिसापानी–रवि सडकअन्तर्गत हुलाकदेखि देउराली हुँदै लामीडाँडाबाट पनि पैदल यात्रा गरेर यहाँ पुग्न सकिन्छ ।
घोर्लेभिरलाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन योजनाबद्ध र दिगो दृष्टिकोण आवश्यक छ । यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायहरुबीच सहकार्य अपरिहार्य पर्छ ।
घोर्लेभिरको पर्यटन प्रवर्द्धनका लागि सडक निर्माण, विद्युत् विस्तार, खानेपानीको व्यवस्थापन, शौचालय व्यवस्थापन इन्टरनेटको व्यवस्थापनजस्ता आधारभूत कामको थालनी गर्नुपर्छ ।
त्यस्तै, सरकारका तर्फबाट घोर्लेभिरको प्राकृतिक र सांस्कृतिक विशिष्टतालाई ‘ब्रान्डिङ’ गर्नेगरी रणनीति बनाई समुदायमा आधारित दिगो पर्यटन विकासमा जानुपर्नेमा जोड दिइएको छ ।
घोर्लेभिरलाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्नसके स्थानीयलाई रोजगारीको अवसर सिर्जना हुनका साथै आम्दानीसमेत बढ्ने देखिन्छ ।
यसको प्रवर्द्धनका लागि सरकार, पर्यटन व्यवसायी र स्थानीयबासीको सहकार्य र समन्वयमा अत्यावश्यक छ । यदि यहाँको सम्भावनालाई योजनाबद्ध ढङ्गले उपयोग गर्न सकियो भने यो केवल माङसेबुङको मात्र होइन, समग्र इलाम र नेपालकै गौरव बन्नेमा दुई मत छैन । –रासस
प्रतिक्रिया