‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’



काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार १ गते सबै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष ०८२/८३ लागि बजेट ल्याएका छन् । ती दुवै तहले ल्याएका बजेटमाथि यतिबेला सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

संविधानमा भएको व्यवस्थाअनुसार असार १० गतेसम्म ७५३ वटै स्थानीय सरकारहरूले पनि आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ । प्राप्त जानकारीअनुसार अधिकांश स्थानीय सरकारहरू आगामी आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा जुटेका छन् । केही पालिकाहरूले आगामी बजेट सार्वजनिक गरिसकेका छन्‌ ।

तर, सङ्घ र प्रदेश सरकारले ल्याएको बजेटले स्थानीय सरकारलाई उत्साहित बनाएको छैन । सङ्घीय सरकारले बजेटको आकार बढाएर ल्याए पनि प्रदेश र स्थानीय सरकारले प्राप्त गर्ने समानीकरण अनुदान कटौती गरेको छ भने सङ्घ र प्रदेश दुवै तहका सरकारले व्यवस्था विरोधी ढङ्गले पहुँचका आधारमा मनपरी बजेट छर्ने काम गरेका छन् ।

मंगलबार मात्रै आगामी आवको बजेट ल्याउने तयारी गरिरहेका नगरपालिकाहरूको छाता सङ्गठन नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका, धादिङका नगरप्रमुख भीमप्रसाद ढुङ्गानासँग सङ्घीय र प्रदेश सरकारको बजेटबारे गरिएको कुराकानीको सम्पादित अंश:

सङ्घ र प्रदेश सरकारले ल्याएको पछिल्लो बजेटलाई स्थानीय सरकारहरूले कसरी हेरेका छन् ?

सङ्घ र प्रदेश सरकारको बजेट सङ्घीयताको विरुद्धमा छ । संविधानको भावना र संविधानले स्थानीय तहलाई जुन अधिकार दिएको छ – त्यसलाई हस्तक्षेप गर्ने नीति ल्याइएको छ । सङ्घ र प्रदेश दुवै तहको बजेटमा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर जान सकेको छैन ।

पाँच हजार रुपैयाँ देखिका बजेट विनियोजन गर्ने काम भएको छ । बजेटले सङ्घीयता विरुद्धमा आवाज उठाइरहनेलाई मलजल पुगेको छ । क्षेत्रमुखी बजेट भएको छ ।

सङ्घ र प्रदेशको बजेटको स्तर विगतको तुलनामा थप खस्किएको छ कि केही राम्रो पनि भएको छ ?

तीन करोड रुपैयाँभन्दा तलका आयोजनामा बजेट विनियोजन नगर्ने भन्ने नीति ल्याएको भनिएको थियो । केही मन्त्रालयले तीन करोडभन्दा तलका आयोजनालाई पनि बजेट हालेका छन् । तर, पाँच विभिन्न आयोजनामा पाँच हजारसम्म पनि बजेट विनियोजन गर्ने काम भएको छ ।

अब यसलाई कसरी राम्रो बजेट भन्ने ? सबै मन्त्रीको क्षेत्रको र जिल्लाको हिसाब गर्ने हो भने समानुपातिक ढङ्गले न्यायोचित हिसाबले भूगोल, जनसंख्या, त्यहाँको आम्दानीको स्रोतको आधारमा बजेट विनियोजन गर्नपर्नेमा त्यो हुन सकेन ।

तपाइँहरूले बजेटको सन्दर्भमा कुनै धारणा सार्वजनिक गर्नुभएन, काङ्ग्रेस–एमालेको सरकार भएकाले खुम्चिएर बस्नुभएको त होइन ?

औपचारिक धारणा बनाउन हामी सबैको मिटिङ बसेर गर्नुपर्ने हुन्छ । स्थानीय तहले पनि १० गतेसम्म बजेट पेस गरिसक्नुपर्ने हुन्छ । १३/१४ गतेतिर हामीले बैठक आह्वान गर्छौँ र हाम्रो धारणा सार्वजनिक गर्छौँ ।

हामी खुम्चिएर बसेका होइनौँ, स्थानीय सरकारको तर्फबाट बोलिरहेका छौँ । संविधानको व्यवस्थाकै हिसाब र जनताको आवश्यकता अनुसार जान सकेको स्थिति छैन । विचारभन्दा माथि जान नसकेको र संस्थागत सोच नभएको भए यति पनि भन्न सक्ने हिम्मत नै हुँदैनथ्यो नि ! खुम्चिएको होइन ।

राजस्व बाँडफाँट लगायत अन्य अनुदानका विषयमा निरन्तरताकै अवस्था छ वा कस्तो पाउनुभयो ?

राजस्व बाँडफाँटदेखि लिएर वित्तीय समानीकरणमा पोहोर १८ अर्ब ६० करोड ३० लाख रुपैयाँजति वित्तीय हस्तान्तरण भएको थियो । अहिले झन्‌ बजेट बढेर आउँदा स्थानीय सरकारहरूले कम प्राप्त गरेको अवस्था छ ।

वित्तीय समानीकरणको बजेट भन्दा पनि सशर्त अनुदानको बजेट बढाउने काम भइरहेको छ । यो सङ्घीय व्यवस्थाको मर्म र भावना विपरीत छ ।

किनभने स्थानीय सरकारले आफैँ आवश्यकताको पहिचान गरेर निर्णय गर्न पाउनुपर्छ । हामीले बुझेको सङ्घीयता त्यो हो ।

सङ्घ र प्रदेश सरकार एनजीओ/आईएनजीओ जस्तो, हामी एनजीओ जस्तो निवेदन लिएर हिँड्नुपर्ने, माग गर्नुपर्ने, तोक आदेश गराउनुपर्ने परिस्थिति सिर्जना भएको छ । करिब–करिब पञ्चायत कालको झझल्को आएको छ ।

स्थानीय सरकारको कार्यक्षेत्रमा सांसद वा अन्य कसैको पहलमा केन्द्रीय र प्रादेशिक आयोजना आइरहेका हुन्छन्, ती आयोजना ल्याउँदा स्थानीय सरकारसँग समन्वय गर्ने अभ्यास छ ?

हुँदैन, हामीसँग समन्वय गरिँदैन । सङ्घ वा प्रदेशका मन्त्रालयले आ–आफ्नो कार्यालय स्थापना गरेका छन्, हामीसँग समन्वय हुँदैन । त्यही कारणले गर्दा धेरै योजनाहरू दोहोरिएको अवस्था छ ।

योजनाबद्ध विकास गर्ने कुरा नै हावादारी भएको छ । सङ्घीय र प्रदेश स्तरमा कनिका छर्ने काम भएको छ । एउटै आयोजनामा सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट पर्ने स्थिति पनि छ । कसरी सहकार्य हुने ? यस निम्ति एउटा प्रणालीमा जानुपर्‍यो नि !

संविधानले आ–आफ्नो कार्यक्षेत्र दिएको छ । सङ्घलाई ३५ वटा, प्रदेशलाई २१ वटा र स्थानीय सरकारलाई २२ वटा अधिकार दिएको छ, त्यो अधिकारभित्र रहेर काम गर्ने हो भने आयोजनामा दोहोरोपना नै हुँदैन ।

सङ्घीयताको अभ्यासपछि आठौँ बजेट ल्याउने तयारी गर्दै हुनुहुन्छ, व्यवस्था अनुसार आयोजना सञ्चालनको अभ्यास कस्तो हुँदैछ ?

आफ्नो पालिकाको आवश्यकताअनुसार हामीले शिक्षामा निःशुल्क गरेका छौँ, उद्यमशीलतालाई १५ लाख रुपैयाँसम्म ब्याजमा अनुदान दिएका छौँ । यहाँको मागअनुसार, भूगोलअनुसार, जनताको सोचअनुसार हामीले बजेट ल्याएका हुन्छौँ ।

तर, सङ्घ र प्रदेशको बजेट हेर्दा व्यक्तिगत रूपमा नजिक भएको कार्यकर्ता र जो आफ्नो क्षेत्रका कार्यकर्ता छन्, त्यहीअनुसार विनियोजन गरिएको छ । प्रणालीमा कुनै काम भएको छैन ।

भनेपछि सङ्घ र प्रदेश सरकारले ल्याएका बजेट व्यवस्थालाई बलियो बनाउने भन्दा पनि थप कमजोर बनाउने दिशामा छ भन्ने तपाइँको निष्कर्ष हो ?

नाम चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, तर व्यवहारमा होइन ।

धुलिखेल नगरपालिकाले नगरसभाबाट नै प्रदेश खारेजीको लागि सङ्घीय सरकारमा अनुरोध गर्ने निर्णय गरेछ । के सबै स्थानीय सरकारले त्यस्तै तयारी गर्दैछन् ? तपाइँको धारणा के छ ?

कसैको धारणा भन्दा पनि संविधान अनुसारको प्रदेश सरकार हो । हामीले संविधानलाई पूर्ण पालना गर्नेछौँ भनेर सपथ खाएका छौँ । यो भन्दा बढी मैले बोलिनँ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ३० बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने

एक दिनपछि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक 

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी

सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु

सिरहा– सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

म्याग्दी– आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले