बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव… « Khabarhub

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

आर्थिक र राजनीतिक एजेण्डामा संशय


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक नेता पुष्पलाल श्रेष्ठको नाम नेपाली राजनीतिमा अभिन्न रूपमा जोडिने गरेको छ ।

जहाँनियाँ राणा शासनविरुद्धको आन्दोलन क्रममा स्थापना भएका दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपाको स्थापनादेखि नेतृत्वसम्मको भूमिकामा देखिएका बीपी-पुष्पलाल भिन्नाभिन्नै दर्शनबाट प्रेरित थिए ।

समकालीन राजनीतिमा एकअर्काका आलोचक र सहयोगीका रूपमा देखिएका बीपी–पुष्पलालको स्मृति दिवस मात्र एक दिनको फरमा पर्ने गर्दछ। साउन ६ गते बीपी स्मृति दिवस हो भने साउन ७ गते पुष्पलाल स्मृति दिवस।

पुष्पलालको २०३५ साउन ७ र बीपीको २०३९ साउन ६ गते निधन भएको हो। पुष्पलाल कुनै समय कांग्रेसको राजनीतिमा सक्रिय थिए भने बीपी राजनीतिक जीवनको उत्तरार्द्धमा कम्युनिस्ट विचारप्रति प्रभावित देखिन्छन्।

बीपीले आत्मवृत्तान्तमा भनेका छन्, ‘…मैले कम्युनिज्मको अध्ययन गरेँ र कम्युनिस्ट पार्टीसँग सम्पर्क विकास गरेको थिएँ। …तर, मलाई कम्युनिस्ट आन्दोलनका केही कुराहरूमा चित्त बुझेको थिएन।’

इतिहासकार डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तक (भाग-१) अनुसार पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिव भएर जिम्मेवारी सम्हालेका थिए। नेपाली राष्ट्रिय कांग्रेस विभाजन भएपछि उनी रेग्मी समूहको महामन्त्रीसमेत भएका थिए।

‘मनमोहन अधिकारीबाहेक अरू नेपाली वामपन्थीले आफूहरूलाई नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसमा समावेश गरेका थिए,’ गौतमले लेखेका छन्, ‘पुष्पलाल श्रेष्ठ नेपाली राष्ट्रिय कांग्रेसका कार्यालय सचिव र नेपाली राष्ट्रिय कांग्रेस विभाजित भएपछि रेग्मी समूहसँग सम्बिन्धित बनेर महामन्त्रीसमेत भएका थिए।’

यद्यपि उनमा रहेको माक्र्सवादी विचार भने यथावत नै रहेको देखिन्छ। उनी कोइराला समूह छाडेर रेग्मी समूहमा लाग्नुको खास कारण डिल्ली रमण रेग्मी थिए।

‘पुष्पलाल श्रेष्ठ नेपाली राष्ट्रिय कांग्रेस कोइराला समूहमा संलग्न नभई रेग्मी समूहमा संलग्न हुनुको मुख्य कारण त्यतिखेर डिल्लीरमण रेग्मीको छवि वामपन्थी र माक्र्सवाद-लेनिनवादका प्रकाण्ड पण्डितको रूपमा रहेको थियो। त्यसबेला भारत सरकारको दष्टिकोणमा पनि डिल्लीरमण रेग्मी कम्युनिस्ट नै थिए,’ गौतमले पुस्तकमा लेखेका छन्।

तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसले पार्टी एकीकरणका लागि २००६ चैत २७ गते कलकत्ताको चौरंगीमा रहेको महावीर शमशेरको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन आयोजना गरेका थिए। दुई दिनसम्म चलेको सम्मेलनले दुवै कांग्रेसको बीचमा रहेका शब्दहरू (राष्ट्रिय/प्रजातन्त्र) हटाएर नेपाली कांग्रेस नामक राजनीतिक दल स्थापना गरेको थियो।

यसअघि २००६ भदौ ३० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। जसको संस्थापनक मध्येका एक थिए पुष्पलाल श्रेष्ठ। पार्टी स्थापना भएकै दिन नेपाल कम्युनिस्ट पार्टीले आफ्नो घोषणा पत्र प्रकाशित गरेको थियो। उक्त घोषणा पत्र पार्टीको मुखपत्र ‘कम्युनिस्ट पाक्षिक प्रचार पत्र’को पहिलो अंकमा प्रकाशित भएको थियो।

नेपाल कम्युनिस्ट पार्टीको उक्त घोषणापत्रमा नेपाली राष्ट्रिय कांग्रेस कोइराला समूह र रेग्मी समूहको राजनीतिक स्थिति र नीतिबारेमा उल्लेख थियो। घोषणा पत्रमा उक्त पार्टीले उनीहरूलाई मध्यम वर्गको पातलो तहलाई मात्र प्रतिनिधित्व गर्ने समूहका रुपमा चित्रित गरेको थियो।

‘रेग्मी र कोइराला दुबै दल जो मध्यम वर्गको पातलो तहलाई मात्र प्रतिनिधित्व गर्दछन्, प्रतिक्रियावादी र असन्तुष्ट भएका ती राणाहरूपट्टि लागेका छन्। जो स्वयं सामन्ती ‘प्रभु’ हुन्,’ जो पसिना चुहाउने जनतामा हुने शोषणलाई खत्तम गर्ने पक्षमा छैनन्। नेपाली जनताको रगत चुस्ने काममा यथोचित हिस्सा पाउनका निम्ति उनीहरू वर्तमान राज्यशक्तिसँग टक्कर लिन आएका हुन्,’ घोषणा पत्रमा लेखिएको थियो।

नेपाल कम्युनिस्ट पार्टीले कोइराला र रेग्मी समूहबारे थप भनेको थियो– उनीहरू आफ्नो मतलब हासिल गर्नका निम्ति जनताको असन्तोषलाई हत्याउँदछन् । विरोध पनि गरिटोपल्दछन्। दिल्ली–हँकाइमा बहादुर पनि बनिहाल्दछन्। तर हर–हमेसा जनताको बढ्दो क्रान्तिकारी ताकत र जनताको उत्तरदायित्त्वलाई बन्दी गर्न खोज्छन्। जनताको बढ्दो अशान्तिको भेलले जब यस्ता बाँधहरूलाई भत्काउन खोज्दछ, तब यी दिल्ली हाँक्नेहरू बिनाहानिको सत्याग्रह आन्दोलन मच्चाउँदछन्। तर यसै आन्दोलनले पनि जब क्रान्तिकारी रूप अपनाउन थाल्दछ अनि यी कुरौटेहरू जनतालाई धोखा दिई लाज-सर्म पचाएर आफ्नो आन्दोलन बन्द गर्दछन् र राणासँग हात मिलाउन पुग्दछन्। पहिले पनि उनीहरूले यस्तै चाल चले र हालै पनि। नेपाल कम्युनिस्ट पार्टीले पहिलो आम निर्वाचनमा बीपी कोइरालालाई पराजित गर्न भरपूर प्रयास गरेको थियो। आमनिर्वाचनबारे बीपीले आत्मवृत्तान्तमा भनेका छन्, ‘मेरोविरुद्धको मोर्चा मधेशी भावना, कम्युनिस्टहरू र ठूल्दाजु (मातृकाप्रसाद कोइराला)को थियो। मैले त्यस बखतमा देखेँ, कम्युनिस्टहरूको प्रचार अभियान कस्तो हुँदोरहेछ। बनारसबाट सारा कम्युनिस्टहरू आएका थिए।’

बीपीको प्रश्न- कुन चिरासँग सहकार्य गर्ने ?
२०२९ तिर नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलाल, तुलसीलाल, हिक्मत सिंह, जी.पी. अधिकारी, मोहनविक्रम, जयगोविन्द शाह, निर्मल लामा निर्वासन बनारसमा थिए। उनीहरुले ‘मूलबाटो’ पत्रिकामा नेपाली जनआन्दोलन, नौलो जनवादसँग सम्बन्धित लेखहरु प्रकाशित गरेका थिए।

तरूण पुस्तकालयका विद्याथीले बनारसको नगरसभा भवनमा सभा आयोजना गरेका थिए। सभालाई गणेशमान र पुष्पलालले सम्बोधन गरे। सम्बोधनमा राजतन्त्रको विरोध गरे। विमान अपहरणको योजना बनाएको भनी भारत सरकारले सुशील कोइरालालाई पक्राउ गरी हिरासतमा राखेको थियो। गणेशमान र पुष्पलालले आफ्नो सम्बोधनमा पक्राउको विरोधमा भारत सरकारको कटाक्ष गर्दै कोइरालाको रिहाइ माग गरे।

समारोहलाई सम्बोधन गर्ने क्रममा गणेशमान र पुष्पलाल दुबैले नेपालको निरंकुश पञ्चायती शासन ढाल्न नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिए।

पुष्पलालले बीपीलाई छुट्टै भेटेरै संयुक्त रुपमा आन्दोलन अगाडि बढाउन प्रस्ताव राखेका थिए। बीपीसँगको भेटमा पूर्वाञ्चलका पूर्णानन्द शर्मा, तेह्रथुमका तेजप्रसाद, झापाका जितबहादुर, भूविक्रम नेम्बाङ, बनारसका गणेश विमली, रामप्रसाद सिटौला, चक्र बास्तोलाले पुष्पलालको प्रस्तावमा समर्थन गरेका थिए।

तर, बीपी पुष्पलालको प्रस्तावमा सहमत भएनन्। ‘बीपीले ज–जसले संयुक्त आन्दोलन गरौं भनेका थिए, तिनीहरूलाई राखेर ‘उत्तरी ध्रुव र दक्षिणी ध्रुव कसरी एक भएर अगाडि बढ्न सक्छ ? प्रजातन्त्र र अधिनायकवादको मिलनविन्दु कहाँ छ ? ने.क.पा. मा धेरै चिरा छन्, कुन चिरासँग सहकार्य गर्ने हो ? राजतन्त्र फाल्न त सहकार्य गरौँला, राजतन्त्र फालिसकेपछिको अवस्था के हुन्छ ? भन्दै कांग्रेस कार्यकर्तालाई सम्झाएको डा. बासुदेव खनालद्वारा सम्पादित पुस्तक ‘बीपीवाद’ मा उल्लेख छ।

बीपीले सम्झाएपछि संयुक्त आन्दोलनको पक्षमा देखिएका पक्षधर सचेत भएका र संयुक्त आन्दोलनका क्रियाकलापबाट टाढा रहेको पुस्तकमा उल्लेख छ। ‘नेपाली कांग्रेसले नेकपासँग मिलेर होइन एक्लै आन्दोलन गर्नुपर्छ। नेकपासँग सहकार्य हुन सक्दैन भने,’ बीपीको राजनीतिक दर्शन शीर्षकमा प्रा.डा. रामचन्द्र पोखरेलले उक्त पुस्तकमा लेखेका छन्, ‘बीपीले सम्झाएपछि संयुक्त आन्दोलन पक्षधरहरु सचेत रहे। संयुक्त आन्दोलनका क्रियाकलापबाट टाढा रहे।’

पोखरेलका अनुसार पहिलो प्रयास असफल भए पनि पुष्पलाल दोस्रो पटक फेरि संयुक्त आन्दोलनको प्रस्ताव बोकेर बीपी भेट्न पुगेका थिए। दोस्रो भेटमा बीपीले पुष्पलाललाई संयुक्त आन्दोलनका लागि दुईवटा सर्त राखेका थिए।

बीपीले भनेझैँ पुष्पलालले आर्थिक एजेन्डा तयार पारेर ल्याएनन्। यसपछि बीपीसँग कसैले पनि नेपाली कांग्रेस र कम्युनिस्टको संयुक्त आन्दोलनका सम्बन्धमा चर्चा गरेनन्।

पुस्तकमा लेखिएको छ, बीपीले पुष्पलालसँग भने-
हामीले संयुक्त रुपमा आन्दोलन गर्दा कम्तीमा पनि राजनीतिक र आर्थिक दुई मुख्य एजेन्डा त घोषणा गर्नुपर्ने हुन्छ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका बीच मुख्य वैचारिक भिन्नता यिनै दुई वटा विषयमा छन्। तपाईंहरुका पक्षबाट कांग्रेसलाई आरोप लगाउने मुख्य विषय आर्थिक एजेन्डा हो। त्यस कारण तपाईंलाई लागेको नेपाली भूमि र नेपाली जनताको आर्थिक अवस्था सुहाउँदो अधिकतम उदार आर्थिक एजेन्डा तयार पारेर ल्याउनुहोला। म त्यसमा कुनै छाँटकाँट नगरी हस्ताक्षर गर्नेछु। त्यसैगरी राजनैतिक एजेन्डा चाहिँ म तयार पार्छु, त्यसमा तपाईंले स्वीकृति जनाउनुहोला। हामी त्यसपछि संयुक्त भएर अगाडि बढौँला।

तर, बीपीले भनेझैँ पुष्पलालले आर्थिक एजेन्डा तयार पारेर ल्याएनन्। यसपछि बीपीसँग कसैले पनि नेपाली कांग्रेस र कम्युनिस्टको संयुक्त आन्दोलनका सम्बन्धमा चर्चा गरेनन्।

कम्युनिस्टसँग मिलेर आन्दोलन गर्दा पञ्चायत फाल्न सकिए पनि त्यसपछिको अवस्था विकराल हुनेमा बीपीको स्पष्ट धारणा थियो। उनी १० वर्ष ढिलो भए पनि कांग्रेस एक्लैले आन्दोलन गर्नुपर्नेमा अडिग थिए।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : २२ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा