काठमाडौं– गथांमुगः चःह्रे (नेपालीमास् गठेमंगल) नेवार समुदायको एक ऐतिहासिक, सांस्कृतिक र प्रतीकात्मक महत्त्व भएको पर्व हो, जुन हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइन्छ ।
पुराना ग्रन्थ र किंवदन्तीमा उल्लेख भए अनुसार यो पर्व लिच्छवि कालदेखि नै प्रारम्भ भएको विश्वास गरिन्छ। यो पर्व विशेषगरी नकारात्मक शक्ति, भूतप्रेत, रोग व्याधि र दुर्भाग्यलाई हटाएर समाज र घर परिवारलाई साफ, सुरक्षित र सकारात्मक ऊर्जाले भरिपूर्ण बनाउने उद्देश्यले मनाइन्छ।
पौराणिक मान्यताअनुसार, कुनै समयमा ‘गथांमुगः’ नामको राक्षसले मानिसहरूलाई त्रसित बनाउँथ्यो । ‘गथांमुगः’ नामको राक्षस गाउँघरमा पसेर बालबालिका हराउने, आतंक मच्चाउने र घरमा नराम्रो प्रभाव पार्ने काम गर्थ्यो । यसकै प्रतिकार स्वरूप, यस पर्वमा गथांमुगःको पुतला बनाइन्छ, जसलाई टिन, पुराना कपडा, पात, घाँस आदि सामग्रीबाट बनाइन्छ।
सो पुत्लामा प्रायः तीन वटा खुट्टा हुन्छन् र कानमा ठूला घण्टी झुन्ड्याइन्छ, जसले उसलाई ‘घण्टाकर्ण’ नाम दिइएको विश्वास छ। घण्टाकर्णलाई सनातन धर्ममा भनेँ भगवान् शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ । यस अर्थमा गठेमगंल नराम्रो शक्तिमाथि मानवता को जीतका रूपमा लिन सकिन्छ ।

गथांमुगः पर्वको दिन बिहानै घर सफा गरिन्छ, स्नान गरिन्छ र घर तथा टोललाई शुद्ध राखिन्छ। त्यसपछि ‘छ्वाली पूजाः’ भन्ने नेवारी परम्परा अनुसार घाँस, पात, धूप, चिउरा, र रोटी अर्पण गर्दै गथांमुगःको पूजा गरिन्छ। साँझपख बालबालिकाले त्यस पुतलालाई गल्ली गल्ली घिसार्दै गाउँ वा टोलको चौतारीमा लैजान्छन्। त्यहाँ ढुंगामुढा गरेर त्यसलाई नष्ट गरिन्छ र अन्ततः जलाएर नदी वा खोलामा विसर्जन गरिन्छ।
यस दिन बाटाबाटामा राक्षसहरू या प्रेतआत्माहरुका लागि भनेंर पात या बोहोता, दुनाटपरीमा पाकेका भात अनि खानेकुराहरू राखिन्छ , मुख्यतया दोबाटाहरूमा यस्ता खानेकुराहरू राखिन्छ । यस्ता खानेकुराहरू राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिने विश्वास गरिन्छ ।
गठेमगंल पर्बको सुरुवातसँगै लाखे नाचको पनि सुरुवात हुन्छ, यो लाखे नाच एक महिनासम्म चल्दछ । यो पर्वमा अर्को रोचक पक्ष भनेको फलामको औँठी, कडा वा घेरा लगाउने चलन छ ।
मानिसहरूले हात वा खुट्टामा फलामको औँठी लगाएर गथांमुगःबाट आफूलाई सुरक्षित राख्ने विश्वास गर्छन्। त्यस्तै, घरको मूलद्वारमा तीन वा पाँच खुट्टे फलामको नङ ठोकिन्छ, जसलाई दुष्ट शक्ति भित्र पस्न नपाओस् भन्ने कामना गरिन्छ।

गथांमुगः चःह्रे केवल भूतप्रेतको कथा मात्रै होइन, यो सामूहिक चेतना, आत्मशुद्धि, सामाजिक एकता, र सांस्कृतिक रक्षासँग जोडिएको पर्व हो। यसले समुदायमा समूहगत भागीदारी, मौलिक पहिचान र पुरातन मूल्यहरूलाई सम्मान गर्न सिकाउँछ। यो पर्वपछि नेवार समुदायमा जनै पूर्णिमा, गाईजात्रा, इन्द्रजात्रा जस्ता ठूला पर्वहरूको श्रृंखला सुरु हुन्छ, जसले यो पर्वलाई नयाँ चक्रको थालनीको रूपमा पनि प्रस्तुत गर्छ।
यसरी हेर्दा, गथांमुगः चःह्रे केवल एक परम्परा नभई सांस्कृतिक चेतनाको ऐना हो, जसले रोग, डर, र दुष्टताको प्रतीकलाई सामूहिक रूपमा हटाउँदै, मानिसमा शुद्धता र आत्मबल जागृत गराउने प्रेरणा दिन्छ। आज पनि यो पर्व काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा उत्सवमय रूपमा, बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागितामा मनाइन्छ, र यसले नेवार समुदायको संस्कार, परम्परा र सांस्कृतिक एकतालाई जीवन्त बनाइरहेको छ।
प्रतिक्रिया