‘जेन-जी विद्रोहपछि नेपाल शान्त छ, नीति राम्रो भए पर्यटन क्षेत्र उठ्छ’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘जेन-जी विद्रोहपछि नेपाल शान्त छ, नीति राम्रो भए पर्यटन क्षेत्र उठ्छ’



काठमाडौं– भदौ २३ र २४ गते जेन–जी पुस्ताले दुईतिहाइ बहुमतको सरकार नै ढाल्नेगरी गरेको आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति भएको छ । जेन–जीका नाममा गरिएको आगजनीबाट नक्सालस्थित हिल्टन होटेल जलेर ध्वस्त भएको छ । अरू दुई दर्जन होटेलमा पनि क्षति पुगेको छ ।

नेपालमा पर्यटक आउने सिजनको सुरूमै भएको विध्वंशक आन्दोलनले पर्यटन व्यवसायमा गम्भीर नकारात्मक असर पर्ने अनुमान गरिएको छ । पर्यटनमा लगानी गर्ने स्वदेशी र विदेशी लगानीकर्तासमेत प्रभावित हुनसक्ने देखिएको छ । जेन–जी आन्दोलनबाट भएको क्षतिलाई सम्बोधन गर्नेगरी सरकारले पनि नीतिगत तथा कार्यक्रमिक सहजीकरणको घोषणा गरेको छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा विकास हुँदै गरेको पर्यटन क्षेत्रभित्रको महत्वपूर्ण अंग होटेल सञ्चालकले जेन–जी आन्दोलनले सिर्जना गरेको परिस्थितिलाई कसरी लिएका छन् ? यिनै विषयमा विषयमा नेपाल होटेल एसोसिएसनका अध्यक्ष विनायक शाहसँगको कुराकानीको सम्पादित अंश :

जेन–जी आन्दोलनले होटेल क्षेत्रमा वास्तविक क्षति कति पुर्‍यायो ?

जेन–जी आन्दोलनको क्रममा काठमाडौं लगायत बाहिरी सहरी क्षेत्रका ८/१० ठाउँमा तोडफोड तथा आगजनी भयो । यसबाट झण्डै दुई दर्जन होटेल अहिले प्रभावित अवस्थामा पुगेका छन् ।

यसमा काठमाडौंको हिल्टन होटेलमा मात्रै ८ अर्ब रुपैयाँ सहित सबै होटेलहरूमा २५ अर्ब रुपैयाँ बढीको क्षति भएको हुनसक्ने हामीले प्रारम्भिक अनुमान गरेका छौँ ।

आन्दोलनका क्रममा सञ्चालक तथा कर्मचारीलाई कुनै आक्रमण र क्षति भयो कि भएन ?

त्यस्तो भएको छैन । कुनै पनि व्यक्तितर्फ क्षति भएको छैन । भौतिक सम्पत्तितर्फ मात्रै क्षति भएको हो ।

आन्दोलनमा आक्रमणको निशाना बन्दा भौतिक क्षति त भयो, त्यस क्रममा लुटपाट भएको पाउनुभयो ?

त्यत्रो अनियन्त्रित आन्दोलनमा के कस्तो भयो भनेर हिसाब राख्ने अवस्था नै रहेन । त्यो असाधारण अवस्थामा वास्तविक के भयो, कसो भयो भनेर बल्ल अनुसन्धान हुँदैछ । अहिले अवस्था सामान्य भयो, क्षति भएको धेरै सम्पत्तिको त बिमा हुन्छ, सरकारले आयोग पनि बनाएको छ, त्यसका प्रतिनिधि पनि जानुहोला, इन्स्योरेन्सका भ्यालुएटरहरू पनि जान लाग्नु भएको छ । वास्तविक क्षति कति भयो भन्ने एकिन तथ्यांक अब केही दिनमा आउँछ ।

यो समयलाई पर्यटक आउने सिजनका रूपमा लिइन्छ, जेन–जी आन्दोलनले कस्तो प्रभाव पारेको छ ?

जेन–जी आन्दोलनको प्रभाव समग्र देशलाई पर्दा पर्यटन तथा होटेल क्षेत्र अछुतो रहने कुरा नै रहेन । पर्यटन क्षेत्र भनेको वास्तवमा शान्ति चाहिने क्षेत्र हो, तर हामीले जे गरेका थियौँ, त्यो एक प्रकारको क्रान्ति थियो नि । जसले यो क्षेत्र स्वभाविक रूपमा प्रभावित हुने नै भयो ।

नयाँ पुस्ताले देशमा आमुल परिवर्तनको लागि गरेको कामले पर्यटन क्षेत्र प्रभावित भएको छ, त्यसबाट देशले हुने जुन घाटा छ, त्यसलाई कसरी न्यून कायम गर्न सकिन्छ भन्ने विषयमा हामी लागिरहेका छौँ ।

त्यतिबेला पनि देशमा पर्यटक आएको अवस्था थियो, पर्यटकहरू तिर्थाटन, ट्रेकिङ, सांस्कृतिक पर्यटन लगायतका क्षेत्रमा थिए । पर्यटकहरू जुन उद्देश्य लिएर नेपालमा आएका थिए, हामीले पर्यटनको भाषामा सेफ प्यासेज भन्छौँ, नेपाली सेनासँग पनि सहकार्य गरेर पर्यटकहरूको उद्देश्य पूर्तिका लागि पहल गरेका थियौँ ।

अहिले त अवस्था सामान्य नै भइसकेको छ, आन्दोलनकारीले नै अहिले हात हल्लाएर पर्यटकलाई स्वागत गरिरहेका छन् । यो विषय नेपालीहरूको पहिचान नै बनिसकेको छ । जनयुद्धको समयमा पनि देशमा त्यति धेरै क्षति भयो तर, जानीजानी पर्यटकलाई हानी पुर्‍याएको थिएन ।

हाम्रोमा आमहड्ताल र आन्दोलन भइरहन्छ, पहिले अझै धेरै हुन्थ्यो तर, त्यस्तो अवस्थामा पर्यटकमाथि आक्रमण गरेको रेकर्ड छैन, जुन विषयलाई विश्वले राम्रो नोटिस गरेको छ । जसले नेपालको पहिचानलाई निकै राम्रो रूपमा स्थापित गरेको छ ।

अहिले पर्यटकले सामान्य हिँडडुल गर्नसक्ने, खाने लगायत सुविधा पाएका छन् । चाडपर्व पनि सुरू भएकाले पर्यटन क्षेत्र सम्बन्धित होटेल, रेष्टुरेन्ट, एयरलाइन्सका सेवा सञ्चालन भएका छन् ।

पर्यटन व्यवसायको क्षेत्रबाट हेर्दा जेन–जी आन्दोलनले नेपालको अवस्थाबारे अन्तर्राष्ट्रियस्तर कस्तो सन्देश गएको छ ?

विश्वबाट नेपाल घुम्न आउन चाहनेहरू धेरै छन्, बुकिङ पनि भइरहेको छ । यो सिजन पनि हो तर, उहाँहरूलाइ आशंका पनि हुने भयो । आन्दोलन भएर कर्फ्यू लगाउनुपर्ने परिस्थिति बनेको र ७४ जनाको मृत्यु भएको देशमा आउँदा उनीहरूले यहाँको अवस्थाबारे बढी सोधपुछ गर्ने गरेका छन् । अहिले सूचना प्रविधिको युगमा नेपालमा के भएको छ, त्यो शन्देश विश्वभर नै गइहाल्छ, त्यो उनीहरूले हेरिरहेका हुन्छन्, आफ्नो दूतावासबाट पनि सूचना सम्प्रेषण गइरहेको हुन्छ ।

तर, हामीले पनि नेपाल सामान्य भइसक्यो, पर्यटकहरू दुःख कष्टबिना घुमिरहेका छन्, तपाईंहरू पनि आउनुभयो भने कुनै समस्या हुन्न, सुरक्षाको प्रत्याभूति गर्छौँ भनिरहेका छौं ।

अर्को नेपाल पर्यटन बोर्ड, नेपाल सरकार र निजी क्षेत्र मिलेर यतिबेला ‘ह्यासट्याग नेपाल नाऊ’ भनेर क्याम्पिङ गरिरहेका छौं । यो क्याम्पिङले आजको दिनमा हनुमानढोका, पाटन, भक्तपुर, पोखरा, चितवन लगायत पर्यटकको रूची देखिएका ठाउँको गतिविधि, शान्ति सुरक्षाको अवस्था लाइभ देखाइरहेको छ । यसबाट पनि विदेशीले नेपाल सामान्य भइसक्यो भन्ने अनुमान गर्न सक्छन् ।

नेपाल आइसकेपछि पनि अवस्था त सामान्य छ । यस्तो बेलामा बजार भाऊ अत्यधिक बढ्ने सम्भावना पनि हुन्छ, तर नेपालमा त त्यस्तो केही भएको छैन, अझ घटेको होला । पर्यटकले आफूले गर्ने खर्चबाट मैले के कति सेवा सुविधा पाउँछु भनेर हेर्ने हो, त्यसको लागि नेपाल एकदमै राम्रो ठाउँ हो । खर्चको अनुपातमा हामीले उनीहरूलाई धेरै दिन सक्छौं ।

व्यक्तिगत रूपमा आउनेलाई समस्या छैन, तरपनि समूहमा आउनेहरू प्रोटोकलको अडिट गरेर मात्रै आउने हुँदा तिनीहरूलाई विश्वस्त बनाउन हामीले खोजिरहेका छौँ । यसमा विश्वभरका नेपाली दूतावास, महावाणिज्यदूतावास र गैरआवासीय नेपालीसँग पनि नजिक रहेर काम गरिरहेका छौँ ।

धेरै कोसिसका बाबजुद पनि प्रभाव भने पक्कै पर्छ । किनकी हामी पनि सोधखोज नगरी जाँदैनौँ नि ।

यसमा अझै मैले थप्न चाहेँ, आउने ११ गते विश्व पर्यटन दिवस छ । उक्त दिवसको दिन विश्वभर नै विभिन्न कार्यक्रमका साथ दिवस मनाइन्छ । त्यस दिवसको दिन नेपाल आउने पर्यटकलाई सहज छ भन्ने प्रधानमन्त्रीको सन्देश प्रवाह गर्ने कोसिस गरेका छौँ ।

औद्योगिक क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धताको तथ्यांक हेर्दा पर्यटन क्षेत्र अगाडि देखिँदै आएको थियो, तर जेन–जी आन्दोलनले वैदेशिक लगानी र स्वदेशी सम्भावित लगानीलाई कस्तो प्रभाव पार्नसक्ने देख्नुहुन्छ ?

नेपालको जेन–जी आन्दोलनको जस्तो घटना यतिबेला विश्वका कतिपय मुलुकमा भइरहेको देखिन्छ । पहिले श्रीलंका र बंगलादेशमा भएको थियो, अहिले हामीकहाँ आयो, अन्य देशमा पनि भइरहेको देखिन्छ । यो मानव विकास सूचकांक नै जस्तो भइसकेको छ ।

यो केही समयको लागि मात्रै पर्ने प्रभाव हो, तर यसलाई कसरी हामीले कसरी व्यवस्थापन गर्छौं, यसको प्रभावबाट कति छिटो हामी उठ्न सक्छौं भन्ने विषयले अर्थ राख्छ । दोस्रो, हाम्रो आगामी नीति, नियम र कार्यक्रम कस्ता छन्, पर्यटन क्षेत्रमैत्री छन् कि छैनन् ती विषयलाई हेर्ने गरिन्छ । हामीले त्यो गर्नसक्ने हो भने यो केही समयलाई त हो, तर दीर्घकालीन हुँदैन, अरु देशमा पनि त्यहि देखिन्छ ।

श्रीलंकालाई हेर्ने हो भने एकै वर्षमा त्यहाँको पर्यटक आगमन संख्यामा दोब्बर वृद्धि भएको छ । हामीले त्यो भन्दा धेरै गर्न सक्छौँ । कोभिड र भूकम्प हेर्ने हो भने एसिया प्यासिफिक क्षेत्रमा सबैभन्दा छिटो रिकभरी गर्ने नेपाल नै हो ।

सबैभन्दा ठूलो कुरा नेपालको पर्यटन क्षेत्रले कति प्रतिफल दिनसक्छ भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ । पर्यटकको दृष्टिकोणबाट हेर्ने हो भने हामी चीन र भारतको बीचमा छौँ, ती देशको आर्थिक समृद्धि भएको हुनाले ती देशका करोडौँ मानिसहरू आफ्नो देशभन्दा बाहिर गएर होलिडे मनाउने गर्छन्, ती पर्यटकको दुई प्रतिशत मात्रै नेपालमा ल्याउन सक्ने हो भने ५० लाख पर्यटक नेपालमा ल्याउन सकिन्छ । हामीले पर्यटन क्षेत्रबाट नै बलियो समृद्धिको आधार बनाउन सक्छौँ ।

जेन–जी पुस्ताका युवाले जुन आन्दोलन गरे उनीहरूले परिवर्तन खोजेका हुन् । सुशासन खोजेका हुन् । भ्रष्टाचारमुक्त समाज खोजेका हुन् । तर, पर्यटन क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि देशले केही प्रतिशत मात्रै फाइदा पाएको अवस्था छ तर, हाम्रोमा भएको ठूलो सम्भावना खेर गइरहेको छ ।

होटेल क्षेत्रमा आजको दिन ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने क्षमता छ, तर हामीकहाँ पर्यटक १२ सम्म मात्रै आएका छन् । हाम्रो क्षमताको एकतिहाइ मात्रै उपयोग भएको छ । यसको कारण भनेको हाम्रो मुलुकमा जसले शासन गरे उनीहरूले भाषणबाहेक अरू नगरेको हुनाले हो ।

तपाईंले जेन–जी आन्दोलनको प्रभाव छोटो समयसम्म मात्रै पर्नसक्ने बताउनुभयो, तत्कालको अवस्थामा लगानी गर्दै गरेका, लगानीका लागि आउन लागेका वा लगानी गरिसकेका उद्यमी के विस्थापित नै हुनसक्ने गरी आतंकित भएका छन् र ?

पर्यटन क्षेत्रमा लगानीकर्ताले लामो समयको अध्ययन गरेर आएको हुन्छ । नेपालमा गएर लगानी गरेपछि यति फाइदा हुन्छ भनेर आएको हुन्छ, हामी दशैं तिहारको संघारमा छौं, लगानीकर्ताले एक डेढ महिनाको समय पर्ख र हेर पनि गर्छन् । यो घट्नाक्रम कसरी विकसित हुन्छ भनेर हेर्छन् ।

यो भन्दा खराब भयो, शान्ति सुरक्षामा नै दखल भयो भने मात्रै विचार गर्छन् । यो अनुभव विश्वासका साथ म किन भन्छु भने कोभिड महामारी त विश्वव्यापी रूपमा नै आएको थियो, विश्व नै एक हिसाबले थला परेको थियो । तर, नेपालको पर्यटन क्षेत्रमा लगानी कहिल्यै पनि रोकिएन । त्यही बेलामा लगानी गरेर बनेका पाँचतारे होटेल अहिले खुलेका छन् । किनभने नेपाल चीन र भारत बीचमा भएकाले यहाँको लगानी डुब्दैन भन्ने उनीहरूले देखेका छन् ।

अन्तरिम सरकारले भर्खरै जेन–जी आन्दोलनबाट प्रभावित निजी क्षेत्रको उत्थानलाई पनि सम्बोधन गर्ने नीति ल्याएको छ । त्यसले पर्यटन क्षेत्रलाई कत्तिको सम्बोधन गरेको छ ?

गरेको छ । जेन–जी आन्दोलनको क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण गर्दा यो प्याकेज पर्ने देखिन्छ । सरकारले अझै विस्तृतमा ल्याउला । एउटा आर्थिक प्याकेज नै आउला ।

आइतबार हामीले प्रधानमन्त्रीले अध्यक्षता गर्नुभएको बैठकमा हामीले हाम्रा सबै कुरा राखेका छौँ । मैले नै पर्यटन क्षेत्रमा के असर भयो, के गर्नुपर्छ भन्ने रिकभरी प्लान प्रस्तुत गरेको थिएँ । त्यसमा हामीले काम गरिरहेका छौँ, दुई चार दिनमा थप विस्तृतमा आउँछ ।

सरकार त हाम्रो अभिभावक हो, हामीलाई विश्वास पनि बढाइदिनुपर्यो नि । सरकारले हाम्रो कुरा सुनेको छ, गर्छ भन्ने प्रत्याभूति चाहियो नि । अहिले दशैं तिहारको समयमा हामीले कर्मचारीलाई पनि घर जाउ भन्ने कुरा भएन नि, आवश्यक सम्बोधन गर्नुपर्यो । त्यसको लागि पनि सम्बोधन गर्नेगरी राष्ट्र बैंकले काम गरिरहेको छ, केही आउँछ भन्ने हामीलाई आश्वासन छ ।

जेन–जी आन्दोलनलाई तपाईं उद्यमीहरूले आवश्यक भएको र आगामी दिनमा फेरि उठ्नको लागि हामी तयार छौँ भन्ने सकारात्मक शन्देश दिन खोज्नुभएको हो ?

विश्वमा जहाँ पनि एउटा प्रणालीले काम गर्ने हो । जहाँ छिटो आर्थिक समृद्धि भएको छ, त्यहाँ त्यहाँको प्रणालीले काम गरेको छ । राजनीतिक रूपमा पनि राष्ट्रिय नीति र कार्यक्रममा उनीहरूको प्रष्ट हुन्छ । जुन कुरा हामीकहाँ अलि गोलमाल थियो ।

पर्यटन क्षेत्रकै विषयमा कुरा गर्दा हामीसँग ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने होटेल छन्, तर हामीले १२ लाख मात्रै ल्याउन सकेका छौँ । जुन संख्या वृद्धि गर्न सक्छौँ । किनभने पोखरा र भैरहवामा त्यति ठूलो लगानी गरेर विमानस्थल बनाइसक्यौं, तर हाम्रो सरकारले तीन वर्षदेखि घाममा सुकाएर राखिरहेको छ ।

यो अवस्था आउनुमा राम्रा मान्छे नपठाएर हाम्रा मान्छे पठाउँदा भएको हो नि । यहाँ भएको चाहिँ त्यस्तो हो । हामीले एक वर्षमै पर्यटक संख्यालाई दोब्बर बनाउन सक्छौँ । निजी क्षेत्रले होटेलमा देशको बजेट बराबर लगानी गरिसकेको छ । तर, राज्यले त्यसको प्रतिफल पाउन सकेको छ त ? परिवर्तन चाहिएको जेन–जीको नारा सफल होस् भन्ने हाम्रो कामना छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ४७ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही