देउसी भैलोको मौलिकता जोगाउन कस्सिए स्थानीय « Khabarhub

देउसी भैलोको मौलिकता जोगाउन कस्सिए स्थानीय


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

‘तिहारमा गर्नलाई रमाइलो
देउसी खेल्दै आइपुग्यौँ घरदैलो…’
ए भन मेरा सङ्गी हो
देउसी रे…

तिहारको बेलामा देउसी खेल्नेहरुबाट गाइने यी भाकाहरु हराउँदै गएका छन् । तर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ का स्थानीय तिहारमा खेलिने देउसी भैलोको मौलिकता जोगाउन लागिपरेका छन् । तिहारमा जताततै ‘स्पिकर’मा गीत बजाएर देउसी खेलिरहेको अवस्थामा यहाँका युवा एकजुट भएर मौलिकता जोगाउन कस्सिएका हुन् ।

देउसी खेल्न उनीहरु परम्परागत पहिरनमा सजिएर मादलको तालमा देउसी भैलो खेल्दै हिँडेका छन् । कावासोती–१७ का वेदबहादुर पुलामीले तिहार मौलिक पर्व भएकाले यसको संरक्षणमा आफूहरु जुटेको बताए ।

“अचेल देउसीको नाममा हिन्दी तथा अङ्ग्रेजी गीत बजाएर नाच्ने गरेको पाइन्छ”, उनले भने, “त्यो हाम्रो संस्कृति होइन, आगामी पुस्तालाई संस्कृति हस्तान्तरण गर्न पनि देउसीको मौलिकता जोगाउन आवश्यक छ ।”

देउसी खेल्न महिला तथा बालबालिकासमेत सहभागी भएको यो टोलीले देउसी भट्याउने तथा परम्परागत झयाउरे गीतमा नृत्य गर्ने गरेको छ । देउसी भट्याउँदै गरेकी शर्मिला पुनले पुरानो शैलीमा देउसी खेल्दा रमाइलो हुने गरेको बताए ।

“हामी प्रविधिमा हुर्किएको पुस्तालाई मौलिकता जोगाउने जिम्मेवारी थपिएको छ”, उनले भने, “यसका लागि हामीलाई संस्कृति बुझ्न आवश्यक छ, त्यसैले अग्रजसँग मिसिएर परम्परागत रुपमा देउसी खेल्दै हिँडेका छौँ ।”

पशुपतिमा सुनैको गजुर
देउसी खेल्दै आइपुग्यौँ हजुर…

देउसी भट्याउँदै जाँदा उनीहरु बीचबीचमा झयाउरे गीत गाएर नृत्य गर्दै घरबेटीको ध्यान आफूतर्फ केन्द्रित गरिरहेका थिए । केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दसैँ सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे । कोही मादलमा खरी हाल्न तथा मादल मिलाउन र ताल सिक्न दर्जी दाइको घरमा पुग्ने गर्दथे ।

टोलका सबै उमेरका व्यक्ति मिलेर नाचगान र बाद्यवादनको अभ्यास गर्थे । त्यतिबेला देउसी–भैलो केवल रमाइलो होइन, सांस्कृतिक प्रदर्शन र सामुदायिक एकताको प्रतीक बनेको अनुभूति हुन्थ्यो । तर अहिले त्यो मौलिकता हराउँदै गएको छ । जिल्लाभरी देउसी भैलो खेल्न युवापुस्ता हिँड्ने गरेको भए पनि धेरै ठाउँमा स्पिकरमा बजाइएका आधुनिक गीतमा युवा–युवती नाचगानमा रमाइरहेका देखिन्छन् ।

आधुनिकता र प्रविधिको असरले देउसी–भैलोको मौलिक स्वरूप कमजोर बन्दै गएकाले संरक्षण पुस्तान्तरणका लागि आफूहरु एकजुट भएर लागेको देउसीमा सहभागी ७२ वर्षीय दिलबहादुर मगरले बताए । नयाँ पुस्ता परम्परागत ताल, गीत र नाच सिक्ने अवसरबाट टाढा हुँदै जानु तथा तिहारलाई केवल मनोरञ्जनको पर्वका रूपमा मात्रै सीमित गर्ने प्रवृत्तिले यसको सांस्कृतिक महत्व घट्दै गएको उनको भनाइ छ । सांस्कृतिक जीवनको आत्मा बनेको देउसी–भैलो अब पुनर्जीवित गर्न स्थानीय सबैको सहभागिता आवश्यक रहेको मगर बताउँछन् ।

समुदायमा केही व्यक्तिको मात्रै पहलले यसको संरक्षण गर्न नसकिने उल्लेख गर्दै मगरले यसका लागि राज्यले नै भूमिका खेल्नुपर्ने बताए। विद्यालय शिक्षादेखि नै विद्यार्थीलाई मौलिक संस्कृतिको बारेमा जानकारी गराउँदै यसको महत्व बुझाउन सकेमा संस्कृति संरक्षण र पुस्तान्तरण हुने उनको बुझाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ८ : २६ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग