अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित « Khabarhub

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भोजपुर– उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिए ।

केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उनले बताए । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् ।

‘गाउँघरमै अहिले अलैँची ९८ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ’, किसान विष्टले भने, ‘कतिपय किसानले बिक्री गरिसके, केहीले भाउ अझै बढ्ला कि भनेर राखेका छन् । बजारमूल्यको प्रतीक्षा गर्दै बसेको अवस्था पनि छ ।’

टेम्केमैयुङ–५ चोलन्ती अलैँचीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ८०–९० घर किसानले व्यावसायिक रूपमा अलैँली खेती गर्दै आएका छन् । विगतको वर्षका तुलनामा यो क्षेत्रमा अलैँचीको उत्पादनमासमेत वृद्धि भएको अलैँची व्यावसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए । मूल्य बढेसँगै किसान खेती विस्तारमा जुटेको उनले जानकारी दिए ।

‘समग्र अलैँची उत्पादन केही घटे पनि यो क्षेत्रमा भने गत वर्षको तुलनामा उत्पादन बढेको देखिन्छ’, अध्यक्ष विष्टले भने, ‘रोगकीराको समस्या केही देखिए पनि किसानको उत्साह कम भएको छैन । मूल्य बढेकै कारण खेती विस्तार गर्नेतर्फ सबैजना लागेको अवस्था छ ।’

कृषि ज्ञान केन्द्रले जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टर क्षेत्रमा अलैँचीखेती भइरहेको जनाएको छ । यहाँ प्रायः रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँचीको खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाको चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत स्थानमा अलैँचीखेती बढी हुने गरेको छ । यी क्षेत्रका किसानले उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनमा अनुभव बटुलेका कारण अलैँची प्रमुख नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।

अलैँचीले राम्रो मूल्य पाएका कारण गाउँघरमा आर्थिक गतिविधि पनि बढेको छ । परिवारको खर्च, स्वास्थ्योपचार, छोराछोरीको पढाइ तथा अन्य आवश्यकता पूरा गर्न अलैँची मुख्य आधार बनेको स्थानीय किसानहरू बताउँछन् । मल्य बढे पनि अलैँचीखेतीमा रोगकीरा, हावापानीको अनियमितता, बजार मूल्यमा हुने उतारचढावलगायतका समस्या भने कायम रहेको किसानको गुनासो छ ।

कृषि ज्ञान केन्द्रका अनुसार रोग रोकथाम, प्रविधिमैत्री खेती, गुणस्तर सुधार र किसानको क्षमतावृद्धिका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् । (रासस)

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ४४ बजे

गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाईटेडको माग

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने

विधान महाधिवेशनको मसी सुक्न नपाउँदै निर्णयमा तोडमोड, नेता व्यवस्थापनका नाममा दशौँमै फर्किए ओली

काठमाडौं- शुक्रबार बसेको सचिवालय बैठकले फेल गरेको प्रस्ताव अध्यक्ष केपी

आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्तिलाई

अष्टलक्ष्मी र युवराज अब एमालेको केन्द्रीय समितिबाट बाहिरिने

काठमाडौं– एमाले उपाध्यक्ष द्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीको

पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो

गुल्मी– लामो समयको प्रतीक्षापछि गुल्मीको पश्चिम क्षेत्रमा पक्की पुल निर्माण