काठमाडौं- नेपाली कांग्रेसले यही माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।
शनिबार मात्रै पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो ।
त्यसको भोलिपल्ट सोमबार निर्वाचन प्रयोजनका लागि कांग्रेस दलका रुपमा आयोगमा दर्ता भएको हो ।
उता कांग्रेससँग भदौ २४ गतेसम्म सत्ता सहकार्यमा रहेको नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छैन । एमाले राष्ट्रियसभाको निर्वाचनका लागि दर्ता भइसकेको छ ।
एमालेले भदौ २७ गते भएको संसद् विघटन असंवैधानिक भन्दै पुनःस्थापनाको लागि हस्ताक्षर संकलन गरेको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर एमालेले न्यायिक प्रक्रियामा जाने निर्णय पनि गरेको छ । उसले महेश बर्तौला र सुनिता बराललाई सर्वोच्च अदालतमा मुद्दा लैजान खटाएको छ।
उता एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने पक्षमा छन् । प्रतिनिधिसभा फर्किएपछि आफू प्रधानमन्त्री नहुने बताएका ओलीले निष्पक्ष निर्वाचन नहुने जिकिर गरिरहेका छन् ।
एमाले नेतृत्वले निर्वाचनबाट नभाग्ने बताउँदै दुई दिनयता काठमाडौंमा ठूला प्रदर्शन गरेको छ। अन्तरिम सरकारले निर्वाचनको वातावरण बनाए भाग लिन तयार रहेको कुरा एमालेले बताइरहेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनमा जाने तर वातावरण बनाउनुपर्ने अडान लिएका छन् ।
फागुन २१ को निर्वाचनका लागि आयोगले दल दर्ताको समय आगामी मंसिर १० गतेसम्मलाई तोकेको छ ।













प्रतिक्रिया