जेन-जीको बदनामी बढेपछि अभियन्ताको आक्रोश- ‘हामीलाई अपराधी करार नगरियोस्’  « Khabarhub

जेन-जीको बदनामी बढेपछि अभियन्ताको आक्रोश- ‘हामीलाई अपराधी करार नगरियोस्’ 

जेन-जी अन्तर्विरोधले हौसिए पुराना दल 



काठमाडौं– बुधबार नेकपा एमालेका नेता शकर पोखरेल र महेश बस्नेत ‘मधेस प्रदेश स्तरीय युवा जागरण अभियान’ कार्यक्रममा सहभागी हुन बारा जाँदै थिए । तर उनीहरु आउने थाहा पाएपछि जिल्ला प्रवेश गर्न नदिने भन्दै जेन–जीहरूले विरोध गरे । तत्पश्चात् उनीहरू निर्धारित कार्यक्रममा सहभागी हुन पाएनन् । 

बाराको चैनपुरमा युवा संघले गरेको कार्यक्रममा नेताद्धय सिमरा विमानस्थलबाट आउने खबर पाएपछि युवाहरूले भदौ २३ को जेन–जी आन्दोलनमा भएको दमनविरुद्ध सिमरामा प्रदर्शन गरे । सोही क्रममा नेताहरूलाई स्वागत गर्न विमानस्थलतर्फ जाँदै गरेका युवा संघका कार्यकर्ता र प्रदर्शनकारीबिच भिडन्त भयो ।

प्रदर्शन क्रममा सिमरा विमानस्थलमा प्रहरी र जेन–जी युवाबीच झडप नै भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस र लाठी प्रहार गर्नुपर्‍यो । साथै, शान्ति सुरक्षाको स्थितिलाई लिएर कर्फ्यु लगाइयो । जिल्लाका प्रहरी प्रमुखको तत्काल सरुवा गरियो । 

जेन–जी र जेन–जी आन्दोलनको नाममा भएको विध्वंसको एमाले नेता महेश बस्नेतले सुरुदेखि चर्को विरोध गर्दै आएका छन् । आन्दोलनमा उनको घरसमेत जलाइएको छ । सुशासनको माग राखेर गरिएको आन्दोलनलाई उनले ‘केटाकेटी’ संज्ञा दिएर यस्ता  आन्दोलनको कुनै औचित्य नभएको जस्ता टिप्पणी गर्दै आएका छन् । 

एमालेमा उनी खरो र चर्को बोल्ने नेताको रुपमा चिनिन्छन् । कतिपय उनले प्रयोग गर्ने शब्द परिवारसँगै बसेर सुन्न सकिन्न । 

त्यसैगरी उनले बाउआमाले नदिने हो भने भोलीपल्ट भोकै मर्ने जेन–जी के का जेन–जी ? भनेर हेपेर बोलेका छन् । त्यसकारण जेन–जीहरु उनीसँग आक्रोशित छन् । फलस्वरूप मुख्य बस्नेत र एमाले पार्टीलाई जेन–जीहरूले बहिष्कार गर्न खोजेको देखिन्छ । 

ठूलो दलको नेता र पूर्वमन्त्री भइसकेका बस्नेतले संयमता अपनाउनुपर्नेमा कुनै दुईमत छैन । तर लोकतन्त्रमा कसैलाई पनि खुला रुपमा हिँड्न, बोल्न र कार्यक्रममा सहभागी हुन पाउने अधिकारमाथि जेन–जीले रोक्न भने मिल्दैन । दलका नेताहरूलाई गरिएको व्यवहारले यतिबेला जेन–जी स्वयम् आलोचित बनेका छन् । 

अन्य दलका नेता तथा बुद्धिजीवी र नागरिक तहले समेत बारा घटनाप्रति टिप्पणी गरेका छन् । साथै, उनीहरूले यस्तो अवस्थामा चुनाव हुन नसक्ने बताएका छन् । 

शुक्रबार एमालेले गरेको बृहद प्रदर्शनलाई रोक्न जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूले माइतीघरमण्डलमा धर्ना दिए । 

मुख्य कुरा भदौ २३ र २४ गतेका जेन–जी नै फरक छन् । जेन–जी आन्दोलनको नाममा आपराधिक समूह मौलाएको छ । अर्को त आन्दोलनपश्चात् उनीहरू आफैँ टुक्रिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूको समूह धेरै भएका कारण आफूले जेन–जी को–को हुन् भनेर चिन्न नसकेको बताएकी छन् । 

जेन–जी अगुवा तथा ‘गरिखान देउ’ का संयोजक मिराज ढुङगाना यही अवस्थामा चुनावमा जान नहुने अड्डी कसेर बसेका छन् । आन्दोलनको सुरुवाती चरण आफूले नेतृत्वको दाबी गर्ने उनी सडक आन्दोलनमा भने कहीँ कतै देखा परेका थिएनन् । उनी वर्तमान संविधान खारेज हुनुपर्ने अडानमा छन् । 

देशमा प्रत्यक्ष कार्यकारी भएमा राजनीतिक किचलो नहुने र देश छिटो समृद्धिको बाटोमा लम्किने बताउने ढुंगाना भन्छन्, ‘प्रत्यक्ष कार्यकारीको प्रणाली विना चुनावमा जान हुँदैन । साथै, विदेशमा कमाएर रेमिट्यान्ट पठाउनेहरूलाई मताधिकारबाट वञ्चित गरिन हुँदैन ।’

स्वर्गीय मदन भण्डारीको जस्तै झल्को आउने जेन–जी प्रवेश दाहाल प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्नेमा छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन्, ‘जेन–जी मात्रै समर्थन जनाएर यो आन्दोलन सफल भएको होइन । नेपाली नागरिक सहभागी भएपछि सफल भएको हो ।’ 

‘नेपाली जनताको आजको माग भनेको तात्कालिन संविधान परिमार्जन गर्ने वा अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्ने हो । यो संविधान मानेको हुन्थ्यो भने जनताले आन्दोलन नै गर्दैनथ्यो । अर्को प्रदेश खारेजीको पनि उनीहरूले वकालत गरिरहेका छन् । लोकसेवाको परीक्षामार्फत न्यायाधीस नियुक्ति गर्नुपर्छ’ उनले भने । 

त्यसैगरी, अभियानकर्मीहरूमध्ये रक्षा बम केही संयमित देखिन्छिन् । उनले जेन–जी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यसहित आफ्नो संयोजकत्वमा ‘नेपाल जेन–जी फ्रन्ट’ समिति गठन गरेकी छिन् । उनले भदौ २३ मा राज्यको तर्फबाट भएको दमनको उचित छानबिनको माग राखेकी छिन् । 

भ्रष्टाचारका फाइल खोल्नुपर्ने र अन्तरिम सरकारले तोकिएको समय निर्वाचन गर्नको लागि अपिल गरिरहेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘साथीहरू, संयमित हुनुहोला । हामीले धेरै विध्वंस देखिसक्यौँ, नरसंहार भोगिसक्यौं । अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन । हामी देशको वर्तमान र भविष्य बोकेका युवा हौँ । अहिलेको समयमा संयम र धैर्य नै हाम्रो शक्ति हो र हुनुपर्छ ।

भदौ २३ ले न्याय पाउनु पर्छ भन्नेमा दुइमत छैन । यसका लागि हाम्रो आवाज सधैँ एक छ । तर साथीहरू विद्रोहपछि विवेक महत्त्वपूर्ण हुन्छ है । हिजो सुशासनका निम्ति हामी सडकमा आवाज उठायौँ र आज देशमा शान्ति कायम राख्नु हाम्रो पनि जिम्मेवारी हो । राजनैतिक दलका अग्रज नेता ज्यूहरू र युवाहरूले पनि बुझुन् । 

(यसबेला, नेपाल आमा शान्ति चाहन्छिन्)

अर्का जेन–जी अभियानकर्मी पुरुषोत्तम यादव एक टेलिभिजन अन्तर्वार्तामा बारा घटनामा विशुद्ध एमालेको दोष रहेको बताएका छन् । जेन–जी चुनावमा होमिन चाहन्छ तर एमाले फागुन २१ को चुनावमा जान डराएको छ । सिमरामा षड्यन्त्र गरेर आन्दोलन चर्काउने प्रयास एमालेले गरेको उनको आरोप छ । 

उनले भनेका छन्, ‘मधेश–प्रदेशलाई आगोमा झोस्न खोजेका छन् । मधेशबाट विद्रोह गरेर चुनास नहोस् भन्नेमा छन् । मधेश र थारु आन्दोलन जस्तो घटना घटाउन खोज्नु भएको छ । लोकतन्त्रमा एमालेको बढी पावर र जेन–जीको कम पावर भन्ने हुँदैन । जेन–जी विद्रोह गर्न मात्रै जान्दछ भनेर बनाउन चाहेका छन् । हामीलाई गुण्डा करार गर्न लागि परेका छन् ।’ 

महेश बस्नेतको वा एमाले पार्टीको भाषा सुन्नुभएको छ ? उनले प्रश्न गरेका छन्, ‘एमाले नेतालाई प्रतिबन्ध गरिएको होइन, उनीहरूले जेन–जीमाथि आक्रमण गरेका हुन् । सामान्य विरोध गर्दा एमालेका वडाध्यक्षले हामीहरूलाई हातपात गरेका छन् । हामीलाई किन कम आँकलन गरिएको हो ? 

बिहीबार २३ वटा जेन–जी समूहले राष्ट्रपति समक्ष यो सरकारले आन्दोलनको भावना अनुरूप काम गर्न नसकेको भन्दै अर्को आन्दोलन हुन सक्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । सरसर्ती हेर्दा जेन–जीहरु ‘जादूको छडी’ बाट परिवर्तन खोजिरहेका छन् । सुतेर उठ्दा परिवर्तन देख्न चाहेका छन् । हरेक समूहले आ–आफ्ना माग राखेर पूरा नभए अर्को विद्रोहको चेतावनी दिएका छन् । 

फागुन २१ मा हुने चुनावमा भाग लिन जेन–जी आन्दोलनपश्चात् (मंसिर ४) सम्म निर्वाचन आयोगमा १२६ दल दर्ता भएका छन् । त्यसमा प्रतिनिधिसभाका लागि २६ दल र राष्ट्रिय सभाका लागि ६ दल दर्ता भएका छन्  । त्यसैगरी, २९ दल अझै दर्ताकै क्रममा रहेका छन् भने सात दल नयाँ छन् । 

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे जेन–जीहरु निकै उत्साहसाथ दल दर्ता गर्न आएको बताउँछन् । उनले भने, ‘उनीहरू निर्वाचनमा भाग लिएर देशको नेतृत्व लिन लालायित छन् । जेन–जीहरुको दल भनेर छुट्टै दर्ता हुँदैन । आयोगका लागि कुनै उमेर समूहको वर्गीकरण हुँदैन । तर युवाहरु निर्वाचनको लागि तम्तयार देखिन्छन् ।’

एकथरि जेन–जी निर्धारित समयमै निर्वाचन गराउनुपर्नेमा लागिरहेका छन् । अर्कोथरी, जेन–जी एमाले, कांग्रेस तथा पुराना दलहरुलाई गाली गर्नमा समय व्यतीत गरिरहेका छन् । आन्दोलनको ह्याङबाट नउत्रि चुनावमा जान सकिन्छ ? पुराना दललाई गाली गरेर विरोध गरेर भोट जम्मा गर्न सकिन्छ ? 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ३ : २३ बजे

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ

ब्रासिलिया– ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सर्वोच्च अदालतले उच्च भाग्न–जोखिम

घाइते जेन-जीसामु जब लाग्यो राजा चाहियो भन्दै नारा… (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको माइतीघर मण्डलमा जम्मा भएका घाइते जेन-जीहरूसामु राजावादीको समूहले

मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप

बागमती–  मकवानपुरमा १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । बागमती

मृत अवस्थामा भेटिए पत्रकार दीपेन्द्र खनियाँ

काठमाडौं- पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत अवस्थामा भेटिएका छन्। काठमाडौँको

एनपीएल : कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

काठमाडौं– यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल