यमनमा हुथी अदालतद्वारा १७ जनालाई जासुसी आरोपमा मृत्युदण्ड « Khabarhub

यमनमा हुथी अदालतद्वारा १७ जनालाई जासुसी आरोपमा मृत्युदण्ड


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कायरो– यमनको राजधानी सानास्थित हुथी नियन्त्रित विशेष फौजदारी अदालतले विदेशी सरकारका लागि जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ । 

इरान समर्थित हुथी प्रशासनद्वारा सञ्चालित साबा समाचार एजेन्सीका अनुसार शनिबार सार्वजनिक रूपमा फायरिङ स्क्वाडद्वारा सजाय कार्यान्वयन गर्ने फैसला सुनाइएको हो । 

यो निर्णयलाई हुथीहरूले विदेशी एजेन्सीका स्थानीय कर्मचारीहरूमाथि वर्षौंदेखि गर्दै आएको कठोर दमनको पछिल्लो उदाहरणका रूपमा लिइएको छ ।

अदालतले दोषी ठहरिएका व्यक्तिहरूलाई ‘अमेरिकी, इजरायली र साउदी गुप्तचर निकायसँग सम्बद्ध जासुसी सञ्जालभित्र सक्रिय’ रहेको दाबी गर्दै उनीहरूले २०२४–२०२५ को अवधिभर यमनसँग शत्रुतामा रहेका विदेशी राज्यहरूसँग संवेदनशील जानकारी आदान–प्रदान गरेको आरोप लगायो । 

अभियोजनका अनुसार प्रतिवादीहरूले साउदी अरेबिया, बेलायत, संयुक्त राज्य अमेरिका र इजरायलको मोसादसँग सहकार्य गर्दै राज्यका उच्च अधिकारीहरूको गतिविधि, मिसाइल सम्बन्धी विवरण र सैन्य तथा नागरिक संरचनाहरूका स्थानसमेत उपलब्ध गराए, जसका कारण दर्जनौँ मानिसको मृत्यु र पूर्वाधारमा व्यापक विनाश भएको थियो ।

अदालतले एक पुरुष र एक महिलालाई १० वर्षको कैद सजाय सुनायो भने अर्को एक अभियुक्त निर्दोष घोषित भए । दोषी ठहरिएका केही प्रतिवादीका वकिल अब्दुलबासित गाजीले यस फैसलाविरुद्ध अपिल दर्ता गर्न सकिने बताए ।

हुथीहरूद्वारा नियन्त्रित क्षेत्रहरूमा पछिल्ला वर्षहरूमा गिरफ्तारी, जबरजस्ती गायब पारिने घटना र कडा सजाय सामान्यजस्तै बनेका छन् । सन् २०१४ मा सुरु भएको यमनको गृहयुद्धपछि हजारौँ व्यक्तिलाई हिरासतमा लिइएको छ, जसमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरू समेत परेका छन् । 

विगत दुई वर्षयता हुथीहरूले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय सहायता सङ्गठनहरू तथा विदेशी दूतावासका स्थानीय कर्मचारीहरूलाई जासुसीको आरोपमा बारम्बार पक्राउ गर्दै आएका छन् । यी सबै आरोपहरूलाई राष्ट्रसङ्घले कडा रूपमा अस्वीकार गरेको छ ।

हुथी अदालतहरूले यसअघि पनि साउदी नेतृत्वको गठबन्धनसँग सहकार्य गरेको आरोपमा कडा सजाय सुनाउँदै आएका छन् । सन् २०२१ मा विद्रोहीहरूले सन् २०१८ को हवाई आक्रमणमा हुथीका वरिष्ठ नेता सालेह अल–समदको मृत्युमा संलग्न भएको आरोप लगाउँदै नौ जनालाई मृत्युदण्ड दिएका थिए ।

सन् २०२३ को अन्त्यतिर इजरायल र लाल सागरस्थित जहाजहरूमा हुथीहरूले क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव झन् बढेको थियो । गाजामा भइरहेको युद्धप्रतिको प्रतिक्रिया स्वरूप आफूहरू ‘प्यालेस्टिनीहरूसँग एकतामा’ कारबाही गरिरहेको विद्रोही पक्षले दाबी गर्दै आएको छ । 

त्यसको प्रतिउत्तरस्वरूप संयुक्त राज्य अमेरिका र इजरायलले हुथी विरुद्ध हवाई र नौसैनिक अभियान चलाए । यस वर्षको सुरुआतमा भएको एक इजरायली आक्रमणमा हुथी सरकारका प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूको मृत्यु भएपछि स्थिति अझै चर्किएको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ५८ बजे

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल