काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही २७ मङ्सिरबाट काठमाडौँमा हुँदै छ । गत बिहीबार बसेको एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा लड्ने जानकारी गराइसकेका छन् ।
यससँगै वर्तमान अध्यक्ष केपी शर्मा ओली र पोखरेलबीच नेतृत्वमा प्रतिस्पर्धा हुने करिब निश्चित भएको छ। एमाले नेताहरूका अनुसार नेतृत्वसहित दुईजनाबीच प्यानल नै खडा गरेर प्रतिस्पर्धा हुने भएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले लोकतान्त्रिक विधिअनुसार आफूसहितका नेताहरूले दाबी प्रस्तुत गर्ने बताएका छन् । ‘आफ्नो दाबी प्रस्तुत गरेपछि त योग्य उम्मेदवारले निर्वाचनमा भाग लिएरै आउनुहोला नि’, उनले भने ।
यता आफूलाई ओली समूहमा उभ्याएका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि महाधिवेशनमा दुई प्यानल भएर जान कुनै समस्या नभएको बताउँछन् । उनी यसका लागि नेताहरूबीच छलफल भइरहेको स्वीकार्छन् तर वर्तमान अध्यक्ष ओलीको विकल्प नरहेकाले पोखरेललाई पछि हट्न उनी आग्रह गर्छन्।
प्रतिनिधि छनोटमा चनाखो
एमालेको तालिकाअनुसार यही मंसिर १३ गते महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् । महाधिवेशन प्रतिनिधि छनोट गर्दा ओली पक्षले पेल्न सक्ने भएकाले पोखरेल पक्ष चनाखो भएको छ। आफूअनुकूल हुने गरी ओलीले प्रतिनिधि छान्न सक्ने भएकाले इतरका नेताहरू चनाखो बनेका हुन् ।
एमालेमा भूगोल प्रदेशसँगै जनवर्गीय सङ्गठन र विभागमा पनि ठूलो मत छ जनवर्गीय संगठन र विभागमा ओलीले एकलौटी गर्न सक्ने भएकाले पोखरेल पक्षले पनि आफ्नो तयारी गरेको छ। प्रतिनिधि छनोट नजिकिँदा दुवै टिमका नेताहरू तम्तयार देखिन्छन् ।
एमाले सचिवालयका एक सदस्य ओलीले प्रतिनिधि छनोटमा एकलौटी गर्न लागेपछि आफूहरू त्यसमा चनाखो भएको बताए । ‘ईश्वर कमरेडले अध्यक्षमा दाबेदारी गरेपछि प्रतिनिधि छनोटमा चलखेल हुने आँकलन गरेका छौँ’, ती नेताले खबरहबलाई भने, ‘निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले सजगता अपनाएका छौँ । एमालेमा महाधिवेशन निष्पक्ष हुनु लोकतन्त्रको मजबुती पनि हो । हामी महाधिवेशन प्रतिनिधि छनोट नभएसम्म अन्य कदम चाल्ने पक्षमा छैनौँ ।’
यता ओली टिम पनि आफ्नै रणनीतिमा छ । प्रतिनिधि छनोटमा पोखरेल समूह बलियो हुन नदिने रणनीति ओली पक्षले अपनाएको छ । ‘एमाले एकढिक्क भएर जानुपर्छ भन्नेमै छौँ । प्रतिनिधि छनोटका क्रममा ईश्वर कमरेडले कता–कता के–के गर्दै हुनुहुन्छ रे भन्ने सुनेका छौँ’, उनले भने, ‘हामीले विधि र नीतिमा टेकेर प्रतिनिधि छनोट गर्ने हो। यो या त्यो भनेर हुँदैन । साथीहरूले अनावश्यक गतिविधि गरे हामीलाई स्वीकार्य छैन ।’
सचिवालय नेताहरूको साथ
एमाले सचिवालयमा अहिले ईश्वर पोखरेल पक्ष बलियो देखिन्छ। एमालेमा अहिले सात उपाध्यक्ष पद छन् । जसमा पाँचजना वरिष्ठ उपाध्यक्ष पोखरेलको पक्षमा देखिन्छन्। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे ईश्वरको पक्षमा छन् । उपाध्यक्ष गुरु बराल र रामबहादुर थापा बादल ओलीको पक्षमा देखिन्छन् ।
थापाले अहिलेसम्म सार्वजनिक रूपमा कित्ता नखुलाए पनि उनी ओलीतिरै रहने अनुमान छ। उता मनोनीत उपाध्क्ष बराल भने ओलीको पक्षमै छन् । महासचिव शंकर पोख्रेल अध्यक्ष ओलीनिकट हुन्। एमालेमा अहिले तीन उपमहासचिव छन्। प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णुप्रसाद रिमाल । यी सबै अध्यक्ष ओलीनिकट नेताहरू हुन् ।
एमालेका ६ सचिवमध्ये ४ जनाले ईश्वरलाई साथ दिने देखिन्छ । गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टले साथ दिन सक्छन् । दुईजना सचिव छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीतिर छन्। छविलालले ओलीलाई साथ दिने घोषणा गरेका छैनन् । अर्याल भने ओलीनिकट हुन्। उनी ओलीको टिमबाटै उपाध्यक्षमा लड्ने सम्भावना छ।
पटक–पटक ओलीकै कारण अवसर नपाएका नेता विश्वकर्माले साथ दिन्छन् कि पोखरेललाई हेर्न बाँकी छ ।
माहोल बनाउँदै
अहिले दुवैतिरका नेताहरू माहोल बनाउन लागेका छन् । ओलीलाई बलियो बनाउन प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र पद्मा अर्याल जुटेका छन् । रिमाल र ज्ञवाली नेताहरूसँग फोन संवादमा छन् । युवा, विद्यार्थी र नेताहरू परिचालन गरेर महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा पार्ने अभियानमा उनीहरू छन् ।
यता पोखरेल पक्षबाट उपाध्यक्षहरू शाक्य, पाण्डे, ज्ञवाली र पौडेल तथा सचिवहरू भट्टराई, विष्ट र महासेठ लगायतले परामर्श गरेर एमाले सच्याउने भए नयाँ विकल्पमा साथ दिन आग्रह गरिरहेका छन्।
उनीहरूले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी लगायतको लिगेसी बोकेको पार्टी सकिन नहुने भन्दै नेतृत्व परिवर्तनको वकालत गरिरहेका छन् ।
‘एमाले बचाएर लानु अहिलेको मुख्य एजेन्डा हो । दुई पटकसम्म नेतृत्व हेर्यौँ। पार्टी निरन्तर ओरालो लागेको छ । देश नै संकटमा छ’, ती नेताले खबरबबलाई भने, ‘अहिलेको परिस्थिति आउनुमा हाम्रो नेतृत्वको मुख्य दोष छ । जेन–जी आन्दोलनका बेला उहाँ नै प्रधानमन्त्रीमा हुनुहुन्थ्यो । अब पनि उहाँलाई नेतृत्वमा फर्काउनु भनेको थप क्षति भोग्नु हो। उहाँलाई नै अघि सारेर निर्वाचनमा गए एमाले नेताहरूले मुखै देखाउन नसक्ने अवस्था हुन्छ।’
ती नेताले महेश बस्नेतमाथि विभिन्न ठाउँमा भएको प्रहारको उदाहरण दिँदै भने, ‘नेतृत्वका कारण एमाले नेताहरूमाथि प्रहार भइरहेका छन्। त्यसकारण सँच्चिन हामीले आन्तरिक विद्रोह गर्नुपर्ने अवस्था छ।’
उपाध्यक्ष शाक्य र पाण्डेले एघारौँ महाधिवेशनमा एमालेले आफ्नो नीति र नेतृत्व विषयमा नसोचे आगामी निर्वाचनमा खराब अवस्था भोग्नुपर्ने बताउँदै आएका छन् ।
खबरहबसँगको कुराकानीमा शाक्यले एमाले बनाउन ओलीको भन्दा पोखरेलको बढी भूमिका रहेकाले यस पटक उनैलाई साथ दिनुपर्ने बताइन्।

विद्याको साथ
चितवनको दसौँ महाधिवेशनपछि ओलीलाई टक्कर दिने नेता थिएनन् । दसौँमा ओलीलाई टक्कर दिएका भीम रावललाई भूमिकाविहीन बनाएपछि एकल वर्चस्व छ । तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएर एमालेमा फर्किन खोजेपछि ओली सशंकित भए । गत साउनमै उनलाई रोके ।
भण्डारी राजनीतिमा आए एघारौँ महाधिवेशनबाट नेतृत्वमा आउने सम्भावना थियो । तर ओलीले भण्डारीको नवीकरण भइसकेको सदस्यता रोके । ओलीले रोकेपछि संकटमा परेकी भण्डारीले वरिष्ठ उपाध्यक्ष पोखरेललाई साथ दिँदैछिन् । यस पटक भण्डारीको पक्षमा रहेका नेताहरूलाई ईश्वरलाई सघाउन भनिएको छ ।
ओलीलाई ईश्वरले परास्त गर्न सक्ने नसक्ने दृश्य १३ गते हुने महाधिवेशन प्रतिनिधि छनोटले देखाउने छ । एमालेका धेरै नेताहरूले ओलीलाई ब्रान्ड रुपमा चर्चा गराइरहेका छन् । यस्तो अवस्थामा ओलीलाई पोखरेले परास्त गर्न सक्ने तत्कालै देखिँदैन । पूर्वराष्ट्रपति भण्डारीको समर्थन मिलेको अवस्थामा अरु नेताहरू पनि पोखरेलको पक्षमा देखिने सम्भावना छ।
उपाध्यक्ष शाक्य सत्यको पक्षमा सबै वाम र एमाले नेताहरूले साथ रहेको बताउँदै भण्डारीले पनि पोखरेललाई सघाउने बताउँछिन् । बिहीबारको सचिवालय बैठकअगाडि पोखरेल भण्डारीलाई भेट्न बालुवाटार पुगेका थिए । उनीसँगै अन्य नेता पनि निरन्तर भण्डारीको सम्पर्कमा छन्। अहिले महाधिवेशनमा सम्भावित प्रतिनिधिहरूलाई आफ्नो पक्षमा उभिन भनिरहेका छन् ।
भण्डारीले समेत फोन गरेर आफ्नो नैतिक समर्थन पोखरेलाई रहेकाले सहयोग गर्न आग्रह गरिरहेकी छन्।













प्रतिक्रिया