निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधारमा जोड : मन्त्री रावल « Khabarhub

निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधारमा जोड : मन्त्री रावल


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवाप्रतिको नागरिकको गुमेको विश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने बताएकी छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै मन्त्री रावलले कर्मचारीतन्त्रमा मौलाएका भनसुन, चलखेल र सेवाप्रवाहमा हुने ढिलासुस्ती अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले निजामती सेवामा प्रवेश गर्ने नयाँ पुस्ताका कर्मचारीले कानुनसम्मत काम गर्ने र पुराना विकृति तथा गलत अभ्यास त्याग्ने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिइन् ।

‘राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ । त्यो विकृति हटाउने गरी संसद्मा विधेयक दर्ता गरिएको छ । संसद् सुरु हुनेबित्तिकै छलफलमा आउँछ । निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पूरा गर्नुपर्छ,’उनले भनिन्।

मन्त्री रावलले राज्यले खटाएको कार्यस्थलमा जान नमान्ने कर्मचारी प्रवृत्तिका कारण दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह र विकास निर्माण प्रभावित भइरहेको बताइन् । निजामती सेवासम्बन्धी ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै केही प्रवृत्ति र प्रक्रियागत कमजोरीसमेत जिम्मेवार रहेको उनको भनाइ थियो ।

उनले कानुनविपरीत काम गर्न राजनीतिक नेतृत्वबाट दबाब आए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्ने बताउँदै कानुनअनुसार काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट पारिन् ।

‘राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुनविपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

सार्वजनिक सेवामा सामान्य काम गराउनसमेत नागरिकले लामो समय कुर्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् । जनतालाई राज्यबाट प्राप्त हुने सेवा सुविधा छिटो, छरितो र प्रभावकारी रूपमा उपलब्ध गराउनु कर्मचारीको प्रमुख दायित्व भएको उनको भनाइ थियो ।

मन्त्री रावलले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताउँदै नयाँ पुस्ताका कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र राष्ट्रप्रतिको जिम्मेवारी कायम राख्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले विभिन्न सरकारी निकायबीच समन्वय र साझेदारीबाट सेवा प्रवाह प्रभावकारी बनाउन सकिने बताए ।

नायब महालेखापरीक्षक घनश्याम पराजुलीले नवप्रवेशी अधिकृतलाई आन्तरिक तथा अन्तिम लेखापरीक्षण, बजेट तर्जुमालगायतका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका कानुनअनुसार ज्ञान र सीप हासिल गरी सेवामा लागू गर्न आग्रह गरे ।

मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद भट्टले नवप्रवेशी अधिकृतलाई जनताको सेवामा उत्कृष्टता हासिल गर्ने सोच र कार्यशैली विकास गर्न सुझाव दिए । परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्ण ढकालले राज्य सञ्चालनको जिम्मेवारी महत्त्वपूर्ण अवसरसँगै ठूलो दायित्व पनि भएकाले सेवाकालीन तालिमलाई ज्ञान र चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

सङ्घीय संसद् सचिवालयका सहसचिव रामहरि थापाले भ्रष्टाचार निरुत्साहित गर्दै नैतिकता र सदाचारलाई कार्यशैली बनाउन आग्रह गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले परिवर्तनलाई आत्मसात् गर्दै निःस्वार्थ रूपमा राष्ट्र सेवामा समर्पित हुनुपर्ने बताए ।

प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पौडेलले सक्षमतामा आधारित छमहिने पाठ्यक्रमले सार्वजनिक प्रशासनका आधारभूत मूल्य र मान्यता विकास गर्न सहयोग पुर्‍याउने जानकारी दिए ।

आजदेखि सुरु भएको छमहिने तालिममा परराष्ट्र सेवाका नौ, लेखापरीक्षण समूहका ११, सङ्घीय संसद् सेवाका चार, सामान्य प्रशासनतर्फका १२८ र राजस्वतर्फका ३७ गरी कुल १८९ जना अधिकृत सहभागी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ३ : ३७ बजे

निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधारमा जोड : मन्त्री रावल

ललितपुर- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

नेपालले पाएन हवाई रुट

काठमाडौं- भारतबाट थप हवाई रुट प्राप्त गर्ने नेपालको अपेक्षा प्रधानमन्त्री

आईजीपी केसीको नामको म्याद बुझ्न प्रहरी मुख्यालयले इन्कार गरेपछि सर्वोच्चले पुनः जारी गर्‍यो म्याद

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा.

श्रद्धाको फिल्मसँग प्रदर्शन मिति जुधेपछि सलमानले मागे माफी,- ‘दुवै फिल्म हेर्नुहोला’ 

काठमाडौँ– एउटै मितिमा दुई ठूला बलिउड फिल्म प्रदर्शन हुने भएपछि बक्स

व्यवसायको लागत बढाउने र असान्दर्भिक पुराना कानुन खारेज गरिँदै : मन्त्री गौतम

काठमाडौँ- सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने र व्यवसाय