बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै « Khabarhub

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्‍याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो ।

प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा ३५ लाख रुपैयाँ लगानी गरी थप संरचना निर्माण गरिएको थियो ।

हाल गाउँपालिकाको १० लाख रुपैयाँ बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार पोखरी तथा भत्किएका संरचना निर्माण गरी पहिलेकै अवस्थामा ल्याउन थालिएको हो । यो झरनामा बाढीपहिरोले क्षति पुर्‍याए पनि पर्यटकको आकर्षण देखिएकाले चालु आर्थिक वर्षमा बजेट छुट्याएर पुनर्निर्माण गर्न थालेका हौँ ।

उक्त झरनामा यतिखेर पनि आन्तरिक पर्यटक दैनिक बढिरहेको वडाध्यक्ष तिमल्सिनाले बताए । उनका अनुसार उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकाल बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ ।

चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम–फाइमराङ बीचको उक्त झरनामा बर्सेनि पर्यटक बढिरहेको बताइन्छ । यसअघि झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको थियो ।

महाभारत पर्वत शृङ्खलाको जङ्गल–मुहान रहेको चिसो पानी बग्ने झरना तीन तला भई बगेका कारण नै तीनतले झरना नामकरण गरिएको हो । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आकर्षण बनेको थियो ।

झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलाञ्चोककै बनेपा, धुलिखेल र पनौतीलगायत काठमाडौं उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको तिमल्सिनाले बताए । झरनासम्म पुगेर खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सबैखाले पर्यटक लालायित हुने गरेको देखिन्छ ।

हाल तीनतले झरना जानेका लागि झरना नपुग्दै स्थलबाट केही वर होटल–लजको पनि व्यवस्था गरिएको छ । झरनाको अवलोकन, पौडीका साथै बाहिरी जिल्लाबाट आउनेहरूले स्थानीय मौलिक खानाको चासो राख्ने गरेकोसमेत स्थानीयको भनाइ छ ।

स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । झरनासम्म पुग्न क्षेत्रअनुसार फरकफरक मार्गको प्रयोग गर्न सकिन्छ ।

काभ्रेको पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडकयात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती–ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छ भने त्यसपछि १२ किलोमिटर सडक उकालो–ओरालोमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाइ भने छैन । विशेषगरी लालीगुराँस फुल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरूलाई मोहनी नै लगाउने गर्छ ।

त्यसैगरी, झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्राङ्गबेँसी पुगिन्छ । यो मार्ग पनि चन्दनपुरसम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन भने छैन ।

त्यसैगरी हिउँदको समयमा पनि बागमती प्रदेशको राजधानी हेटौँडासम्म पुग्ने बेथानचोक–फापरबारी सडक पनि यहीँ झरना नजिकबाटै पर्छ । पहाडी मनोरम दृश्यका साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिनेहरूको भीड नै झरनाको पहिचान बन्दै गएको छ । (रासस)

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : ०५ बजे

हिमालयन रिम फिल्म प्रदर्शनीले चीन-नेपालबीच युवा संवाद प्रवर्द्धन

काठमाडौं- हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रम

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई