बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै « Khabarhub

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्‍याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो ।

प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा ३५ लाख रुपैयाँ लगानी गरी थप संरचना निर्माण गरिएको थियो ।

हाल गाउँपालिकाको १० लाख रुपैयाँ बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार पोखरी तथा भत्किएका संरचना निर्माण गरी पहिलेकै अवस्थामा ल्याउन थालिएको हो । यो झरनामा बाढीपहिरोले क्षति पुर्‍याए पनि पर्यटकको आकर्षण देखिएकाले चालु आर्थिक वर्षमा बजेट छुट्याएर पुनर्निर्माण गर्न थालेका हौँ ।

उक्त झरनामा यतिखेर पनि आन्तरिक पर्यटक दैनिक बढिरहेको वडाध्यक्ष तिमल्सिनाले बताए । उनका अनुसार उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकाल बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ ।

चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम–फाइमराङ बीचको उक्त झरनामा बर्सेनि पर्यटक बढिरहेको बताइन्छ । यसअघि झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको थियो ।

महाभारत पर्वत शृङ्खलाको जङ्गल–मुहान रहेको चिसो पानी बग्ने झरना तीन तला भई बगेका कारण नै तीनतले झरना नामकरण गरिएको हो । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आकर्षण बनेको थियो ।

झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलाञ्चोककै बनेपा, धुलिखेल र पनौतीलगायत काठमाडौं उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको तिमल्सिनाले बताए । झरनासम्म पुगेर खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सबैखाले पर्यटक लालायित हुने गरेको देखिन्छ ।

हाल तीनतले झरना जानेका लागि झरना नपुग्दै स्थलबाट केही वर होटल–लजको पनि व्यवस्था गरिएको छ । झरनाको अवलोकन, पौडीका साथै बाहिरी जिल्लाबाट आउनेहरूले स्थानीय मौलिक खानाको चासो राख्ने गरेकोसमेत स्थानीयको भनाइ छ ।

स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । झरनासम्म पुग्न क्षेत्रअनुसार फरकफरक मार्गको प्रयोग गर्न सकिन्छ ।

काभ्रेको पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडकयात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती–ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छ भने त्यसपछि १२ किलोमिटर सडक उकालो–ओरालोमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाइ भने छैन । विशेषगरी लालीगुराँस फुल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरूलाई मोहनी नै लगाउने गर्छ ।

त्यसैगरी, झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्राङ्गबेँसी पुगिन्छ । यो मार्ग पनि चन्दनपुरसम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन भने छैन ।

त्यसैगरी हिउँदको समयमा पनि बागमती प्रदेशको राजधानी हेटौँडासम्म पुग्ने बेथानचोक–फापरबारी सडक पनि यहीँ झरना नजिकबाटै पर्छ । पहाडी मनोरम दृश्यका साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिनेहरूको भीड नै झरनाको पहिचान बन्दै गएको छ । (रासस)

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : ०५ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी