‘नेपाल बिगार्ने हामी आफैँ रहेछौँ’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘नेपाल बिगार्ने हामी आफैँ रहेछौँ’

हामी सत्तास्वार्थमा अल्झियौँ : पूर्वसभामुख रानाभाट


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पुराना नेता तारानाथ रानाभाट प्रतिनिधिसभाका पूर्वसभामुख हुन् । ०५६ को आम निर्वाचनमा कास्कीबाट निर्वाचित रानाभाट ०६२/०६३ को जनआन्दोलनसम्म सभामुख पदमा रहे । उनी पूर्वकानूनमन्त्री पनि हुन् ।

पूर्वराजाले ०५९ सालमा ‘कु’ गरेपछि रानाभाटलाई प्रधानमन्त्री बनाउने प्रयास पनि गरेका थिए तर रानाभाटले मानेनन् ।
संसदीय अभ्यासको राम्रो अनुभव सँगालेका पूर्वसभामुख रानाभाटसँग खबरहबले मूलतः तीनवटा विषयमा केन्द्रित रहेर अन्तर्वार्ताका लागि प्रश्नोत्तर गरेको छ–

एक– वर्तमान संसद र सांसदहरुको भूमिका कस्तो छ ? दुई– अहिलेको सरकारले ल्याएको अध्यादेशलाई कसरी हेर्ने ? र, तीन– नेपाली कांग्रेस र नेकपा एमालेवीच बनेको गठबन्धनलाई कसरी विश्लेषण गर्ने ?

तर, रानाभाटले यी प्रश्नहरुको वस्तुगत प्रकारको नभई विषयगत एवं वर्णनात्मक जवाफ दिए । एकप्रकारले भन्ने हो भने रानाभाटको जवाफ राजनीतिक दलहरुका लागि ‘नैतिक शिक्षा’जस्तै रह्यो ।

शायद पूर्वसभामुख हुनुको नाताले रानाभाट सोही भूमिकामा अन्तरवार्तामा नरम रुपमा प्रस्तुत भएका हुन् । खासगरी अध्यादेश र कांग्रेस–एमाले गठबन्धनका विषयमा रानाभाट ‘रिजर्भ’मा देखिए । वर्तमान सांसदहरुले खेलिरहेको भूमिकाको सन्दर्भमा पनि उनी खासै असन्तुष्ट देखिएनन् ।

नेपालको अहिलेको राजनीतिक स्थिति ‘के छ’ भन्नेतर्फ भन्दा पनि ‘कस्तो हुनुपर्छ’ भन्नेमा रानाभाट केन्द्रित देखिए । भौगोलिक रुपमा नेपाल संसारकै सुन्दर भएता पनि हामी स्वार्थमा केन्द्रित भएकाले देश बन्न नसकेको रानाभाटको विश्लेषण छ ।

पूर्वसभामुखको अनुभवका आधारमा वर्तमान संसद्को गतिविधिलाई कसरी हेरिरहनुभएको छ ?

एउटा खुशीको कुरा के हो भने हामी संसारको उत्कृष्ट शासन पद्दति बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत छौँ । यो संसारको सर्वस्वीकृत व्यवस्था हो । तर, हामी पात्रहरूले यसलाई कसरी सञ्चालन गरेका छौँ ? जनभावनाअनुकूल हामीले गरेका कामले सेवाग्राही (जनता) ले रेस्पोन्स पाएका छन् कि छैनन् ? देश कति आत्मनिर्भर हुँदै गएको छ ? उद्योग, कलकारखाना, बन्द–व्यापारको हाम्रो स्थिति के छ ? शिक्षा आदि–इत्यादिमा हामी कुन तहमा पुग्यौँ ? संसारमा हाम्रो मान्यता के छ ?

प्रकृतिले त नेपाललाई सर्वोत्कृष्ट मानेको छ । हिमाल छ, पहाड छ, तराई छ, सर्वोच्च शिखर सगरमाथा छ । ताल–तलैया, जंगलहरू छन् । प्रकृतिले जसरी सिंगारेको छ, त्यसरी हामी मान्छेले सिंगार्न सकेका छौँ कि छैनौँ ? त्यसबाट अहिलेको जमानामा मूल्यांकन हुन्छ ।

संसद् प्रभावकारी भएन, सांसद्हरूको भूमिका पनि प्रभावकारी हुन सकेन भन्ने गुनासो सुनिने गरिन्छ । यसमा के भन्नुहुन्छ ?
यो कमजारी सबैको हो । एउटाको मात्रै टाउकोमा बिसाएर अरू उम्किन पाइँदैन । यसको त ग्रासरूट भनेको त जनता हो नि, सबैभन्दा तल । जो देशको सार्वभौमसत्तासम्पन्न जनशक्ति हो, जसको इच्छाअनुसार प्रतिनिधिहरू चुनिन्छन् र प्रतिनिधिसभा बन्छ र जसले मुलुकमा शासन चलाउने प्रबन्धका निम्ति सहयोग पुर्‍याउँछ । त्यहीँबाट बहुमत प्राप्त मान्छे (नेता) प्रधनमन्त्री हुन्छ । सरकारको प्रतिनिधित्व गर्छ ।

यसरी जनताप्रति उत्तरदायी हुने व्यवस्था भएको हुनाले हामी अगाडि बढ्नो कोसिस गरिरहेका छौँ । तर, औँला भाँचेर वर्ष गन्ती गर्‍यौं भने त आर्थिक, सामाजिक र सांस्कृतिक जुनसुकै स्थितिमा पनि हामी त्यति सफल भयौँ भन्न सकिन्न ।

किनभने, हाम्रो परनिर्भता त हटेको छैन । चाहे शारिरीक बलमा भन्नुस्, चाहे मानसिक भन्नुस् । अथवा पढेलेखेका, बाहुबलले काम गर्ने जनशक्ति त अहिले सबै बाहिर छन् नि । हामीले त्यो जनशक्तिलाई आफैंभित्र प्रयोग गर्ने गरी स्रोत–साधनको कमी छ नेपालमा ? भू–बनोटले हेर्नुस् कि, प्रकृतिले सिंगारिदिएको बाहिरको सौन्दर्य हेर्नुस् । वैज्ञानिक, भूगर्भवेत्ताहरूले भन्ने गर्छन् कि नेपालमा अनेक प्रकारका खानीहरू छन् । त्यसलाई त पत्याउनु पर्‍यो नि ।

त्यसकारण हामी त्यति धनी छौँ । बहादुर नेपालीको हाम्रो सम्मान अहिले भर्खरैको दुई–चार वर्षको होइन । विश्वविख्यात नेपाली हाम्रो त्यत्रो गौरवमय इतिहास छ ।

समयअनुसार हामीले पढ्न–लेख्न पनि पाएका छौँ । त्यसैले हाम्रोजस्तो सम्पूर्ण ढंगले एउटा सम्मानित, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशले अलिकति किन हो किन आशा गरेअनुरूपको काम गर्न सकेका छैनौं । सारा संसारले प्राप्त गरेको विकासको प्रतिफल जसरी जनताले उपभोग गर्छन्, त्यस्तो स्थितिमा हामी पुग्न सकेका छैनौँ । किन हो किन, कहाँ गल्ती भयो ।

संसार नेपाललाई सहयोग गर्न तत्पर छ । धनी होस् कि गरिब, शक्तिसम्पन्न होस् कि शक्तिविहीन, जसले पनि नेपाललाई माया गरेको छ । यसका दुईवटा कारण छन् । एउटा त यसको भूबनोट अत्यन्त प्रिय छ । दोस्रो– भूराजनीतिक स्थिति पनि त्यस्तै छ ।

एकातिर चीन, अर्कोतिर भारत । आदि–इत्यादि कारणले बहादुर नेपालीहरूले कमाएको ख्यातीले गर्दा र प्रकृतिले सिंगारिदिएका हुनाले संसारको आँखा यहीँ, हातखुट्टा यहीँ परेर अहो ! यो त बनाउनु पर्नेछ ।

अहिलेको संसद् र सांसदहरूको भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ ?

यो दलीय व्यवस्था हो । दलीय अनुशासन र सिद्धान्तभित्र रहेर प्रत्येक सदस्यले काम गर्छ । हाम्रो संसद्मा दलको प्रतिनिधित्व छ, व्यक्तिको होइन । पञ्चायती व्यवस्थामा पनि थियो संसद् जस्तै संस्था । तर, त्यहाँ व्यक्ति–व्यक्ति–व्यक्ति हुन्थे । कुनै संस्थाको अनुशासनमा आवद्ध हुँदैन थिए ।

अहिले त हाम्रो संसद्मा धेरै पार्टीहरू छन् । थोरै जनामात्रै स्वतन्त्र हुनुहुन्छ, आफ्नै ढंगले जितेर आउनुभएको । तर, पार्टीबाट अनुशासित, दलको सिद्धान्त, मतमाग्दा जनतासँग गरेको प्रतिवद्धताअनुसार काम गरेको देखिनुपर्छ । त्यस ढंगले हामी अगाडि बढ्न कोसिस गर्छौं । देश बनाउने कुरामा सबैको मत मिल्ने र भोलि चुनावका बेला मलाई जिम्मेबारी देउन भनेर जनतासमक्ष जाँदा एकले अर्कासँग स्वस्थ्य प्रतिष्पर्धा गर्ने कुरा भिन्नै हो ।

तर, चुनाव जितेर संसद्मा आइसकेपछि, जिम्मेवारीमा आइसकेपछि ठूलो होस् कि सानो होस्, सरकारमा रहोस् कि प्रतिपक्षमा रहोस् सबै मिलेर जनआकांक्षाअनुरूप काम गर्नुपर्छ । युगअनुरूप देशको विकासका निम्ति तत्पर रहँदै स्रोत–साधन जुटाएर चाहे त्यो देशभित्रबाट होस् कि देश बाहिर, अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाएर अगाडि बढ्ने हाम्रो प्रतिवद्धता रहनुपर्छ ।

हालको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाह गरिरहनुभएको भूमिकाप्रति यहाँको विश्लेषण के रहन्छ ?
सभामुखज्यूको भूमिका भनेको ‘इन्डिभिजुअल’ सनकका भरमा निर्माण हुने भूमिका होइन ।

पहिलो कुरो त सभामुख जुनसुकै दलको सदस्यका रूपमा प्रतिनिधिसभामा आएको भए पनि जब सभामुख पदमा बसिसकेपछि उ दलको विचार, दलको अनुशासनभन्दा माथि संविधानअन्तर्गत, संविधानले निर्देशित गरेका पार्लियामेन्टका सारा कर्तव्य र अधिकारलाई सुनिश्चित ढंगले, विश्वसनीय ढंगले, सक्रिय ढंगले चुस्त ढंगले हाउस (संसद्)लाई चलाउने र मुलुकलाई दिशानिर्देशन गर्ने काम सभामुखको नेतृत्व र सोचमा भर पर्छ ।

यदि म फलानो पार्टीको उम्मेदवारका रूपमा आएको हो, मेरो ‘लोयालिटी’ त त्यतै रहनुपर्छ, जे सुकैहोस् भन्ने भयो भने त्यो सबैभन्दा ठूलो गलत भयो । सभामुखले के सोच्न पर्‍यो भने म देशको सभामुख हुँ । देशका नागरिकको सभामुख हुँ । देशका नागरिकका भोलिका सन्ततिको पनि म सभामुख हुँ । मैले जुन ढंगले काम गर्छु, जुन ढंगले दलका प्रस्तावलाई, दलका विचारलाई संसद्मा समन्वय गराउँछु, सकारात्मक भूमिका निर्धारणका निमित्त मैले सबैलाई उत्प्रेरित गर्छु । जसले देशलाई, जनतालाई फाइदा गर्छ र राजनीतिलाई अगाडि बढाउँछ भन्ने कुराको भूमिका सभामुखको हुन्छ ।

पछिल्लो समय सरकारले विभिन्न अध्यादेशहरू ल्याएको छ । ती अध्यादेशका बारेमा तपाईंको धारणा के छ ?

अध्यादेश लहडले आउने कुरा होइन, यो खाँचोले आउने हो । काम गर्दै जाँदा, प्रगति हासिल गर्दै जाँदा कहाँ चुक देखिन्छ, कहाँ अपूर्ण देखिन्छ अथवा कहाँबाट फर्किएर सुरु गर्‍यो भने वा कहाँनेर मिलेर अगाडि बढ्यो भने भन्ने कुराको अनुभवका आधारमा हेरिनुपर्छ ।

भू–बनोट हेर्नुस् न नेपालको, हामी त त्यो स्वतन्त्र र सार्वभौम देशका हौँ, जो साम्राज्यवादको छत्रछायाँमा कहिल्यै पनि परेन । संसारका देशहरू कुनै न कुनै साम्राज्यबाट शासित थिए, तर नेपाल सानो मुलुक भए पनि सार्वभौमसत्तासम्पन्न थियो जहिले पनि । त्यो ख्याती, त्यो गौरव, त्यो इतिहास र त्यो स्वामित्वको गर्व हामीलाई अहिले पनि छ । तर, त्यसअनुरूप हामीले आर्थिक विकास गर्न सकेनौँ ।

संसारका हामी जस्तै साना र भूपरिवेष्टित देशहरूले कति धेरै उन्नति गरेका छन् । हामीले त्यति गर्न सकेनौँ, किन हो किन । सौभाग्य भन्नुहुन्छ भने कति ठूलो । एकातिर (महा) चीन, अर्कातिर (महा) भारत । औद्योगिक दृष्टिकोणले हेर्नुस् कि शैक्षिक दृष्टिकोणले, भौगोलिक दृष्टिकोणले हेर्नुस् कि जनसंख्याको दृष्टिकोणले, तिनीहरूले गरेको कामको सामान्य छिटामात्रै यहाँ पर्‍यो भने हामी कति ठूलो उन्नति र प्रगतिका नतिजाहरू हासिल गर्न सक्छौँ ।

त्यसकारणले संशुचित सोच त्याग्नुपर्छ । यो फलानो पार्टी र फलानो पार्टीको नेता हो भनेर होइन कि चुनावमा मात्रै यो पार्टी र त्यो पार्टी हुनुपर्छ । यो कार्यक्रमका निम्ति मेरो पार्टीलाई चुनिदिनुस् भन्नुबाहेक जब संसद्मा आएर जिम्मेवारीमा रहिन्छ, बहुमतमा हुने र अल्पमतमा रहने सबै मिलेर त्यो अवधिभर सुशासन दिन सक्यो भने प्रगतिका निम्ति कदम चाल्न सक्यो भने, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गरेर नेपाललाई बनाउन चाह्यो भने त कुनै गाह्रो नै छैन नि देश बन्नलाई ।

भनेपछि, अध्यादेश ल्याउनु ठीकै हो ?

मैले अघि नै भनेँ नि, व्यवस्थापनमा कहाँ अप्ठ्यारो पर्‍यो, हिँड्दा हिँड्दै ढुंगाले ठेस लाग्यो भने फर्केर आएर पनि त्यो ढुंगो टिपेर, पन्छाएर हिँड्छ नि बटुवा । त्यस्तै हो । अप्ठ्यारो पर्ने सम्भावनालाई सम्बोधन गर्न अथवा अप्ठयारोबाट सिकेको अनुभवले त्यो अप्ठ्यारो फुकाउने कुरालाई अध्यादेश ल्याइन्छ ।

माघ १८ बाट हिउँदे अधिवेशन सुरु हुन गइरहेको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । प्रतिनिधिसभाका सदस्यहरूलाई तपाईंको सुझाव के छ ?

पहिलो कुरा– युगअनुसार, यही कालखण्डमा हामीभन्दा विकसित देशका त कुरै छाडौँ, हामीजस्तै साना र विकासोन्मुख देश कसरी अगाडि बढेका छन्, कसरी प्रगति हासिल गरेका छन्, कसरी अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको उपस्थिति रहन्छ भन्ने कुरालाई हेरेर, सिकेर हामीले कदम चाल्नु पर्‍यो ।

दोस्रो कुरा– हाम्रो स्थिति के हो ? एउटा गर्व एकातिर छ, संसारका अन्य देशहरू साम्राज्यवादको अधीनमा रहँदा हामी त स्वतन्त्र थियौँ, सार्वभौम थियौँ, आफ्नो शासन आफैँ सञ्चालन गथ्र्यौँ, दाजुभाइ जतिसुकै दुष्ट भए पनि शासन त हाम्रै भाइले गरेका हुन् । राणाहरू पनि हाम्रै भाइ हुन्, विदेशी आएर त शासन चलाएका होइनन् । शाहहरू पनि हाम्रै भाइ हुन् । विदेशी आएर गरेनन् ।
त्यसै कारणले त्यो इज्जत, त्यो सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्रताको इतिहास, हामीले प्रयोग गरेको (असफल भयौँ होला त्यो अर्को प्रश्न छ) तर इतिहासमा स्वर्णाक्षरले लेखिएको छ नि ।

तपाईं त नेपाली कांग्रेसको नेता पनि हो । कांग्रेसको वर्तमान नेतृत्वको मूल्यांकन कसरी गर्नुहुन्छ ?

आफ्नो मूल्यांकन भन्नुस् न । कांग्रेस पार्टीको मूल्यांकन भनेको मेरो आफ्नो मूल्यांकन म आफैंले गर्ने पनि हो । कांग्रेस पार्टीको मूल्यांकन, मेरा मतदाताको मूल्यांकन मैले गर्ने हो । कांग्रेस पार्टीको मूल्यांकन सम्पूर्ण जनता विपक्षी हुन् कि पक्षमा रहुन्, तिनीहरूले गर्ने मूल्यांकनमा भर पर्ने हो ।

त्यसको इतिहास भनेको, त्यसको सार्थकता भनेको, त्यसको सशक्तीकरण भनेको विभिन्न ढंगले निर्माण हुन्छ । विरोधीले विरोध गर्दैमा कमजोर होइँदैन । सर्वशक्तिमान जनताले स्वीकृत बनाए पनि काम गर्न जाने भने असफल भइन्छ नि जहाँ पनि । संसारमा पनि, नेपालमा मात्र होइन ।

त्यसैले काम गर्ने मुलुकको हितका लागि, मुलुकको हित भनेको सार्वभौमसत्ता र स्वतन्त्रताको हित हुन्छ । नेपाली जनताको हित भनेको यसको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि–इत्यादि हुन्छ नि विकास, शिक्षाआदिमा उनीहरूलाई अधीकतम् यही देशमा उभिएर, टेकर कमाएर खान सक्ने, नेपालमा कित छ जनसंख्या र त्यो जनसंख्याको कति प्रतिशत विदेशमा छ काम गर्न सक्ने शक्ति त्यो पनि । चाहे शारिरीक किसिमले होस् कि मानसिक किसिमले त्यो बाहिर छ, हामी यहाँ बूढाबूढी र केटाकेटी छौँ । अनि मुलुक भएन भन्छौँ ।

जसले मुलुक बनाउने जिम्मेवारी शासन गर्ने, उन्नति–प्रगति गर्ने, आर्थिक–सामाजिकको एउटा स्थिति निर्माण गरेर आफ्नो देशमै काम गर्न पाउने आर्जन गर्ने, पाउने स्थिति निर्माण गर्नका लागि शासन व्यवस्थाअनूकूल छ, नभए नियम कानून संशोधन गरेर भए पनि हामी निर्माण गर्न सक्छौँ भने यो स्वर्ण अवसरको उपयोग नगर्ने ? किन दलीय झै–झगडामा, निहित स्वार्थमा, किन विदेशीको आड भरोसामा हामी देशलाई बिगारी राखेका छौँ, मैले बुझिराखेको छैन अहिले ।

अहिले प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाइरहेका छन् । दुई ठूला दलहरूबीचको सत्ता गठबन्धन ठीक छ ?

हेर्नुस, संसारमा गठबन्धनले मुलुक स्वर्गजस्ता पनि भएका छन् । गठबन्धन गरेर काम गर्दा कुन ढंगले गर्छन्, कुन बाटोबाट हिँड्छन्, जनताको भावनालाई कति कदर गर्छन् र संसारको विकासबाट कति सिकेर, कति विदेशको सहयोग प्राप्त गरेर देश बनाउने कुरामा कति प्रतिवद्ध छन् ? त्यहाँ व्यक्तिगत, दलीय, गटगत स्वार्थ नराखेर देशको एकताको आधारमा, जनताको स्वार्थका आधारमा सार्वभौमिकताको रक्षा गर्दै प्रगति गर्‍यो भने नेपालले गर्न सक्दैन र ? अरु देशले गरेका छन् त ।

तर, हामी अर्काले पिठ्यँमा थप्थपाइदियो भने बुरुक्क उफ्रिएर आफैंलाई गाली गर्छौँ । आफ्ना निम्ति काम गर्नुपर्दा हामीलाई अल्छी लाग्छ, निद्रा लाग्छ । अरुका निम्ति काम गर्दा हामी राति पनि सुत्दैनौँ । त्यो प्रवृत्ति हो नि हाम्रो त ।

गठबन्धन भनेको दुईटा कुरा । जनताले कसरी म्यान्डेड दिएको छ, त्यो जनताले हेर्दै जान्छ । त्यसले काम गर्न नसके अर्कोलाई चुनौँ, अर्कोले काम गर्न नसक्दा फेरि अर्को चुनौँ । यसले धेरै राम्रो काम गर्‍यो, फेरि यसैलाई चुनौँ । यही त हो नि चुनाव भनेको ।


हाम्रो चुनावको राजनीतिले एउटा स्थिर प्वाइन्टमा दिशा लिन सकेन । छान्दा पनि विभिन्न तत्कालीक प्रभावमा अथवा कहिलेकाँही विगतको इतिहासलाई लिएर, जस्तो नेपाली कांग्रेसले ०७ सालमा राणाहरूलाई धपाएर देशलाई स्वतन्त्र, सार्वभौम बनायो ।

राजा महेन्द्रले गर्नुभएको बदमासीलाई सच्याएर पञ्चायती व्यवस्था फालेर फेरि बहुदलीय ब्यवस्था ल्याएर आयो । यस्ता अनुपम उदाहरण छन् नि नेपाली कांग्रेसले जिम्मेवारीमा रहेर काम गरेका उपमा र उदाहरणका नतिजा छ हामी भोगिरहेका छौँ ।

त्यसमा सम्पूर्ण नेतृत्व कांग्रेसको हो । अरु पार्टीले पनि सहयोग गरेको थिए, त्यो अर्को पाटो हो । इतिहासमा स्वर्णाक्षरमा लेखिएकै छ । तर, देश बनाउन एउटाले मात्रै होइन, सबै मिलेर राष्ट्रिय एकताको आधारमा सार्वभौमसत्ताको संरक्षण गर्दै, स्वतन्त्रताको उपभोग गर्दै हामी अगाडि बढ्न सक्यौँ भने नेपाल बनाउन कुनै गाह्रो छैन । यसो भएमा प्रकृतिले सिंगारेजस्तै मान्छेले पनि उद्योग–धन्दा, बन्द–व्यापार आदिले सिंगार्न सक्छ ।

एकातिर सत्तापक्षीय नेतादेखि मन्त्रीहरू अहिलेको गठबन्धन ०८४ सम्मै जान्छ भनिरहनुहुन्छ । अर्कोतिर प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड सरकारको आयु धेरै लामो छैन भनिरहनुभएको छ । वर्तमान सरकारको भविश्य कस्तो देख्नुहुन्छ ?

जब दलीय प्रतिस्पर्धामा निर्वाचन हुन्छ, निर्वाचनबाट आएपछि बहुमत र अल्पमतको कुरा आउँछ । अनि बहुमत र अल्पमतमा संसद्मा आएपछि फेरि सत्ता सञ्चालनका लागि, सत्ता उपभोगका लागि गठबन्धनहरू बन्छन् । ठूलो पार्टी र सानो पार्टी, अथवा साना–साना पार्टी । त्यो स्वाभाविक गति हो । हाम्रोमा मात्रै भएको होइन, यो संसारभरको अभ्यास हो ।

तर, मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक स्थिति, स्वतन्त्रता, सार्वभौकिमतासमेतलाई हेरेर जनताको चाहना के छ, के जनता ५ वर्षमा एक पटक भोट हालेर कुनै पार्टी या व्यक्तिलाई सत्तामा पुर्‍याइदिने, अनि भोलिपल्टबाट झोला बोकेर इन्डिया–अरब कता–कता दौडिने, छोराछोरी पाल्नेमात्रै नियति हो त नेपाली जनताको ? होइन नि ।

नेपाल बनाउन कुनै गाह्रो छ ? संसारका हामीजस्तै स्थितिका देशहरूको अध्ययन गर्‍यो भने आर्थिक, सामाजिक, राजनीतिक सम्पूर्ण ढंगको स्तिथिलाई कम्पेरिटिभ्ली अध्ययन गर्ने हो भने नेपाल बनाउनलाई त गाह्रै थिएन ।

हामी आफैँ रहेछौँ नेपाल बिगार्ने । नेपाललाई कसैले बिगारेको होइन । साम्राज्यवादका छायामा हामी कहिल्यै परेनौँ । साम्राज्यवादीलाई दोष दिने कुरा भएन । छिमेकी (चीन–भारत)हरूले कहिले अप्ठ्यारो पारेका छैनन् । उनीहरूलाई पनि दोष दिने कुरा भएन । हामी आफैँले नेपाली मात्रैका लागि केन्द्रित नभएर, विकासका लागि तल्लीन नभएर देशको आर्थिक, सामाजिक, सांस्कृतिक, प्रकृतिले दिएका हिमाल, पहाड, तराईं, ताल–तलैया, नदी–नाला र पूर्खाले बनाएका ऐतिहासिक मठ–मन्दिरको मात्रै उपयोग गर्न सक्यो भने देश उन्नति गर्न कति गाह्रो छ ? हामी त खाली एउटा दलले अर्को दललाई गाली गर्‍यो, सत्तामा गयो, सत्ता स्वार्थमा मात्रै अल्झियौँ ।

कांग्रेस–एमालेको सत्ता गठबन्धनले ०८४ सम्म देशको उन्नति–प्रगति गर्छ त ?

इमान्दारिपूर्वक मिलेमा । सत्ताको स्वादका लागिमात्रै मिलेका हुन् भने त देश अधोगतिमा जान्छ । किनभने बनेका कुरा पनि बिग्रिन्छन् । जनताले कुन विश्वासले पत्याएको हो, त्यो विश्वासको आधारमा हामी कसरी मिलेर प्रतिवद्ध भएर जनतालाई देश निर्माणमा कसरी जवाफ दिइराखेका छौँ ? हामी इमान्दार छौँ है, तपाईंको सहयोग र सद्भाव छ भने हामी देशबासीको कल्याणका निम्ति देश बनाएर छाड्छौँ भनेर सन्देश दिनलाई एक भएर काम गर्न सक्यो भने त नेपाल बनाउनलाई के गाह्रो छ र ? जनताको भावनालाई पूर्ति गर्न के गाह्रो छ र ?

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : ४८ बजे

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

फुङ्लिङ– चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली

एमालेमा जान खुट्टा उचालेका वामदेवको बाटोमा कसले राख्यो डिभाइडर ?

काठमाडौं – पूर्वगृहमन्त्री वामदेव गौतमको एमाले प्रवेशमा तत्कालका लागि ‘ब्रेक’

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रेपलाञ्चोक–  जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मङ्गलबार

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर– जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २०

सुदूरपश्चिममा कृषि भूमि घटे पनि उत्पादन भने बढ्यो

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको