नेप्से साता समीक्षा : गभर्नरको आगमनले शेयर बजारमा हरियाली, ७६ अङ्कको वृद्धि | Khabarhub Khabarhub

नेप्से साता समीक्षा : गभर्नरको आगमनले शेयर बजारमा हरियाली, ७६ अङ्कको वृद्धि


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयको खिचातानीपछि सरकारले गत मङ्गलबार अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्‍यो ।

शेयर बजारले पनि लामो समयदेखि राष्ट्र बैङ्कको गभर्नर पर्खिरहेकाले पौडेलको आगमनसँगै बजार केही सकारात्मक भयो ।

जेठ ४ गतेदेखि ८ गतेसम्म सातामा पूरै पाँच दिन शेयर कारोबार हुँदा सातामा नेपाल स्टक एक्सचेञ्ज –नेप्से ७६.७ अङ्ककले बढ्दा दैनिक औसतमा १५.३४ अङ्कले नेप्से बढ्यो ।

अघिल्लो साताको बिहीबार २६११.८५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २६८८.५५ विन्दुमा पुग्यो ।

यो साता सबैभन्दा बढी नेप्से पसिरसूचक उच्चतम २७७१.४७ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २६०५ विन्दुसम्म रह्यो ।
यो साता शेयर बजार बढ्न गभर्नर नियुक्ति बाहेक अन्य कुनै कारण देखिएन ।

त्यसले गर्दा यो साताको वृद्धिलाई शेयर लगानीकर्ताले सकारात्मक रूपमा लिए । गभर्नर नियुक्तिसँगै शेयर लगानीकर्तामा सकारात्मक अपेक्षा छ ।

शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड भए पनि मौद्रिक नीति नेपाल राष्ट्र बैङ्कले ल्याउने भएकाले शेयर बजारमा राष्ट्र बैङ्कको भूमिका अन्तरसम्बन्धित रहने गरेको छ ।

गभर्नरको भूमिका महत्त्वपूर्ण भएकाले शेयर बजार, पूर्वाधार, बैङ्क तथा वित्तीय संस्था, अर्थ मन्त्रालय सबै निकाय गभर्नरकै नीतिमा गएर ठोक्किने भएकाले त्यसको असर पनि शेयर बजारमा देखिएको इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । उनी भन्छन्, ‘राज्य चल्ने, अर्थतन्त्र चलायमान बनाउने, सबै उहाँकै हातमा हुन्छ ।’

राष्ट्र बैङ्कका सानातिना निर्णयले नै शेयर बजारलाई पीडा हुने अवस्था हुने भएकाले बजारमा असर गर्ने शेयर विश्लेषक दिनेश आचार्यको भनाइ छ ।

‘शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको हिस्सा ठूलो भएकाले शेयर बजारको नियामक निकाय पनि राष्ट्र बैङ्क हो कि भन्ने भएको हो’, आचार्यले भने, ‘तर अहिले बैङ्किङ क्षेत्रको हिस्सा घट्दै गएको छ तर पनि बैङ्किङ क्षेत्रले असर भने पार्दै आएको छ ।’

सातामा साढे ४३ अर्बको कारोबार

यो साता बजारमा साढे ४३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उक्त कारोबार समान्य नै रहेको छ । पाँच दिन अवधिमा ४३ अर्ब ७० करोड १५ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा आठ अर्ब ७४ करोड तीन लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सातामा जम्मा नौ करोड ५४ लाख २४ हजार ३२८ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा एक करोड ९० लाख ८४ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ ।

सातामा तीन लाख ९९ हजार ४० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ७९ हजार ८०८ पटक शेयर किनबेच भएको छ ।

सातामा दैनिक औसतमा २१५ वटा कम्पनीको शेयर कारोबारमा आएको थियो ।

कुन दिन कस्तो थियो बजार ?

आइतबार शेयर बजारमा सामान्य अङ्कको गिरावट आयो । बजारमा लगातार छैटौँ दिन शेयर नेप्से निरन्तर घटिरहँदा आइबार २.७९ अङ्कले घटेर २६०९ विन्दुमा परिसूचक आयो ।

उक्त दिन नेप्से ०.१० प्रतिशतले घट्दा बजारमा १९ अङ्कको उतारचढाव देखियो । आइतबार नेप्से परिसूचक उच्चतम २६२५ विन्दु र न्यूनतम २६०६ विन्दुसम्म पुगेको थियो । बजारमा गिरावट आए पनि अघिल्लो दिनको कारोबारको तुलनामा कारोबारमा भने वृद्धि भएको थियो ।

आइतबार बजार अवधिभर आठ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँ बराबरको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक किनबेच भयो । उक्त दिन दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आए ।

सोमबार बजारमा रौनक

सोमबारको बजारमा भने केही रौनक देखियो । निरन्तर ६ कारोबार दिन घटेको बजारमा यो साताको सोमबार भने १९.३० अङ्कले बजार बढ्यो । उक्त दिन नेप्से ०.७४ प्रतिशतले बढेर परिसूचक २६२८.३६ विन्दुमा आयो ।

सोमबार बजारमा ३४ अङ्कको उचारचढाव देखिँदा कारोबारमा भने गिरावट आयो । आइतबार आठ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदा सोमबार एक अर्बले घटेर सात अर्ब हाराहारीमात्र कारोबार भयो ।

सोमबार दिनभरमा सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर ७१ हजार २८७ पटक किनबेच भयो । उक्त दिन बजार अवधिभर ३२४ वटा कम्पनी कारोबारमा आए ।

मङ्गलबार बजारमा उछाल

मङ्गलबार गभर्नर नियुक्त गर्ने कांग्रेस एमालेमा समहमति भएको कुरा बाहिरियो । त्योसँगै बजारमा पनि उछाल आयो ।

मङ्गलबार एकै दिन बजार ४९.०९ अङ्कले बढ्यो । उक्त दिन नेप्से १.८६ प्रतिशतले बढेर परिसूचक २६७७.४५ विन्दुमा पुग्यो ।

उक्त दिन बजारमा ६४ अङ्कको उचारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २६८१.५८ विन्दु र न्यूनतम २६१७.४८ विन्दुसम्म पुग्यो ।

बजारमा उछाल आए पनि कारोबारका हिसाबले भने नेप्से सामान्य नै रह्यो । मङ्गलबार दिनभरमा सात अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ बराबरको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेयर ७३ हजार ५४ पटक किनबेच भयो ।

उक्त दिन ३१० वटा कम्पनी कारोबारमा आए । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैङ्कको गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गर्‍यो ।

बुधबार १०० अङ्कको उतारचढाव

गभर्नर नियुक्त भएको दोस्रो दिन अर्थात् बुधबार भने बजार घटेर बन्द भयो । बुधबार नेप्से ७.९४ अङ्ककले घटेर बन्द भयो । उक्त दिन नेप्से ०.२९ प्रतिशतले घटेर परिसूचक २६६९.५१ विन्दुमा आयो ।

बुधबार बजारमा १०० अङ्कको उतारचढाव देखियो । बुधबार बजारमा उच्च दबाबमा रहेको देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २७७१.४७ विन्दु र न्यूनतम २६६७.८५ विन्दुसम्म पुगेको थियो ।

बजार उच्च दबाबमा रहँदा कारोबार भने तीन अर्बको वृद्धि देखियो । बुधबार दिनभरमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको दुई करोड ३० लाख २६ हजार २४५ कित्ता शेयर ८८ हजार १२१ पटक किनबेच भयो । उक्त दिन ३१६ वटा कम्पनी कारोबारमा आए ।

बिहीबार परिसूचकमा हरियाली, कारोबारमा गिरावट

साताको अन्तिम दिनको बजार भने हरियाली छाएर बन्द भयो । बिहीबार नेप्से १९ अङ्ककले बढेर बन्द भयो । उक्त दिन नेप्से ०.७१ प्रतिशतले बढेर २६८८.५५ विन्दुमा पुग्यो ।

बिहीबार बजारमा ३४ अङ्कको उचारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २७०५.५६ विन्दु र न्यूनतम २६६९.५८ विन्दुसम्म पुग्यो । बिहीबार बजार बढे पनि कारोबारमा भने गिरावट देखियो ।

उक्त दिन कारोबार अवधिभर नौ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँ बराबरको दुई करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर ८६ हजार ६८५ पटक किनबेच भयो । बिहीबार ३१४ कम्पनी कारोबारमा आए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १ : ५० बजे

सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन्ः उपसभापति वाग्ले

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको

नाति हृदयन्द्रलाई लिएर नारायणहिटी पुगे पूर्वराजा शाह

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् ।

‘मदरसा व्यवस्थापनका लागि बजेट आवश्यक छ’

नवलपरासी – मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले मदरसा व्यवस्थापन तथा

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तोकिएको समयभन्दा एक वर्ष

गृहमन्त्री लेखकले भने : अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छु

काठमाडौं – गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला