साहित्यको संसार बडो रमाइलो छ। यो संसारमा असम्भव केही छैन। समयको सीमा यहाँ छैन। न त भूगोलको नै आवश्यकता छ। आफूले चाहेको युगमा लेखक सजिलै बाँच्न सक्छ। घुम्न सक्छ। इतिहासका रहस्यमयी पात्रहरूसँग संवाद गर्न सक्छ। अद्भूत संसारको भ्रमण गर्न सक्छ।
यसै सिलसिला केही दिनदेखि म पनि भगवान् गौतम बुद्धसँग नित्य संवादमा थिएँ। हो म कुरा गर्दैछु ‘अर्हत्’ को। शैलेन्द्र अधिकारको शब्दमा बडो आनन्दको जादू रहेछ। म हराएँ बुद्धकालीन समयमा । बुद्धकालीन समाजमा। बुद्धकालीन राजनीतिमा। यशोधरा, सिद्धार्थ, आनन्द र अरू पात्रसँगसँगै म पनि उही समयमा पुगें। कयौं प्रश्नको उत्तर पाएर दङ्ग परेँ। कैयौं प्रश्नहरू बोकेर फर्किएँ।
बुद्धको भूमिमा म पनि जन्मिएँ। शान्तिको धून बुझ्ने कोसिस गर्दैछु नित्य। आप्पो दीपो भवःको मर्मलाई बुझ्ने कोसिस गर्दैछु। शान्ति कति महत्त्वपूर्ण रहेछ भन्ने बोध गर्दैछु। शान्तिका अग्रदूतको जीवन कथा बडो सरल किसिमले बुझिन्छ अर्हदमा। साधारण मान्छेको जीवन कथा जसरी कथानक अगाडि बढेको छ। बुद्धलाई अतिरञ्जित गरिएको छैन कतै पनि यो निकै महत्वपूर्ण लाग्यो। सिद्धार्थ गौतम बुद्ध बन्ने क्रममा भोगेका अनेकौँ घटनाहरू छन् यहाँ।

शान्तिको खोजीमा दरबार छोडेका सिद्धार्थको कथा सानैदेखि सुन्दै हुर्किएकी हूँ। अचम्म लाग्थ्यो बाल्यकालमा आखिर त्यो शान्ति र सत्य के रहेछ त ! जसको प्राप्तिका लागि सिद्धार्थले दरबारको आराम छोडेर भिक्षु भएर हिँडे। शान्तिको चाहमा राजसी भोग छोडेर घर घर भिक्षा माग्न राजी भए। बाल मस्तिष्कले बुझ्दैन थियो शान्तिको महत्त्व, अर्थ र सत्य। शान्तिको लागि सिद्धार्थले दरबारै किन छोडे त भन्ने कुराले मलाई व्याकुल पार्थ्यो। उमेर बढ्दै गएपछि अशान्तिले घेर्न थाल्यो अनि पो थाहा पाउँदै गएँ शान्ति कति शक्तिशाली रहेछ भन्ने। विस्तारै ममा पनि शान्तिको प्यास बढ्दै गएपछि अझ राम्रोसँग बुझ्न थालेकी छु शान्ति।
शान्ति सम्भव छ। मानव जीवनमै शान्ति सम्भव छ भनेर बुद्धले हामीलाई बताएको पनि २५ सय वर्ष नाघिसक्यो। परम सत्य जान्न हामीले टाढा जानै पर्दैन। शारीरिक कष्ट भोग्नै पर्दैन। सत्य त मानव जीवनमै प्रकटित छ भनेर बुद्धले अनुभव गरे अनि हामीलाई सम्झाए। तर आजको विश्वलाई हेर्दा आतेस लागेर आउँछ। चारैतिर अशान्तिको बादल मडारिएको छ। भर्खरै यो लेख तयार गर्दा पनि मेरो हृदय रोएको छ। केहीदिन अगाडि कस्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा २८ जना निर्दोष व्यक्तिले ज्यान गुमाए। आज सो घटनाको प्रतिशोधमा भारतले पाकिस्तानमाथि हवाई आक्रमण गर्यो। आखिर यो युद्ध कसका विरुद्ध हुँदैछ। मान्छे भन्दा ठूलो जात के छ ? मानवताभन्दा ठूलो धर्म के हो ? शान्तिको उज्यालो मार्गमा किन मान्छे हिँड्न खोज्दैन। किन शान्तिको सुन्दर आभुषणले शृङ्गारिन खोज्दैन।
मैले पनि जीवनको यो उमेरमा आएपछि बुझ्न खोजेकी छु अर्हद्। शान्ति मानवको प्रथम आवश्यकता हो। सम्पूर्ण चराचर जगत शान्ति चाहन्छ। तर चेतनशील प्राणी नै शान्तिको बाधक बन्दैछ। कुनै पनि मूल्यमा हामी शान्ति चाहन्छौँ। शान्तिको विकल्प छैन। शान्ति मानवको आदिम प्यास हो। शान्ति कुनै प्रस्ताव हैन। शान्ति सम्झौता होइन। शान्ति त उपहार हो विधाताको। शान्ति मनोरञ्जनको साधन पनि हैन। शान्ति त हृदयरञ्जनको मार्ग हो। सुखको सागर हो। जीवनको उद्देश्य हो। परमात्माको उपहार हो।
शान्ति सम्भव छ। मानव जीवनमै शान्ति सम्भव छ भनेर बुद्धले हामीलाई बताएको पनि २५ सय वर्ष नाघिसक्यो। परम सत्य जान्न हामीले टाढा जानै पर्दैन। शारीरिक कष्ट भोग्नै पर्दैन। सत्य त मानव जीवनमै प्रकटित छ भनेर बुद्धले अनुभव गरे अनि हामीलाई सम्झाए। तर आजको विश्वलाई हेर्दा आतेस लागेर आउँछ।
शान्तिको प्यासमा हिजो दरबारभित्र बुद्ध छट्पटिए आज हामी छट्पटिएका छौँ। शान्ति मानव जीवसँगै जोडिएर आएको विषय हो। बुद्धले आखिर आफैँभित्र त्यो शान्ति भेटेर तृप्त भए। सन्तुष्ट भए। शान्तिको सानन्दमा डुबुल्की मारेपछि त्यो ज्ञान आफूमा मात्र सीमित राखेनन्। मानव कल्याणको लागि बुद्धले आफ्नो जीवन पर्यान्त लागिरहे। अब हामीले पनि बुद्धको शिक्षालाई कुनै पनि हालतमा आफ्नो जीवनमा अपनाउनु पर्ने समय आएको छ। नत्र त अशान्तिको कृष्णविवरमा हामी हराउने निश्चित छ।
बुद्धको जीवनसँग सम्बन्धित कथाहरू पढ्दै आएकाले कथा त नौला छैनन् तर शैलेन्द्र अधिकारीको कलापूर्ण लेखेनीले अर्हत् निकै पठनीय बनेको रहेछ। बेग्लै किसिमको मिठास छ शैलेन्द्रको शैलीमा। कथा पस्कने कला निकै लोभलाग्दो छ। घटनाको प्रस्तुति जीवन्त छ। पात्रहरू वाचाल भएर आँखै अगाडि आएका छन्। घटनाहरू दृश्यात्मक छन्। पात्र सकृय छन्। लेखक कतै हावी भएका छैनन्। घटनाहरू पात्रको मुखबाट घटाइएकोले बडो जादूमयी छ संवाद। बुद्धको वाणीबाट बुद्धको हृदय पढ्दा बडो मीठो अनुभूति हुन्छ। पाठक बुद्धकालीन समयमा बुद्ध सँगसँगै सजिलै विचरण गर्न सक्छन्। बुद्धकालीन समाज, समय, सन्दर्भ, घटना र सम्बन्धहरूलाई बुद्धको मुखबाट सुन्न पाउँदा म पाठकलाई पनि बुद्धको निकट छु भन्ने भाव उत्पन्न भयो।
कुनै दिन द्वन्द्वरहित, अहंकारहित राज्यव्यवस्था आउला। सबैलाई अर्हत् प्राप्त होला। अनि कति सुन्दर होला त्यो संसार। तर जब बुद्धको महापरिनिर्वाणपछि बुद्धकै निकट रहेका भिक्षु भन्दैछ्न् , ‘आबुसो ! तपाईंहरू किन यति धेरै अधैर्य भएर बिलौना गर्दै हुनुहुन्छ ? बिलौना गर्नुपर्ने म कुनै कारण देख्दिनँ। तथागत भएसम्म हामीलाई झन् गाह्रो थियो। उहाँ जहिल्यै यसो गर्नुहुन्छ र हुँदैन भनेर हामीलाई बन्धनमा राखिरहनुहुन्थ्यो। हामी त्यसलाई मान्न विविश थियौं। तर अब हामीलाई त्यसरी आज्ञा दिने उपरान्त कोही छैनन्। अब हामी आफूलाई सजिला लाग्ने नियमहरू मानौंला र गाह्रा लाग्ने नियमहरू नमानौंला। त्यसैले तिमीहरू पनि नरोओ। खासमा हामी खुशी हुनुपर्छ किनकि आज हामी तथागतको बन्धनबाट पनि मुक्त भएका छौँ (पृष्ठ ६) ।
म छ्क्क परेँ। अहो ! के हो बन्धन ? शान्तिको लागि सम्झौता हुँदैन भन्ने सुनेकी थिएँ। शान्ति नै समृद्धि हो भन्ने ठानेकी थिएँ तर यहाँ त शान्तिका अग्रणीको नियम पनि बन्धन बन्दो रहेछ। मान्छे कसैको अधिनमा बस्न सक्दैन रहेछ चाहे शान्तिकै तलासमा ऊ जीवनभर किन नहिँडोस्। मान्छेको जातले आखिर दुष्टता कुनै हालतमा पनि छोड्दैन रहेछ। देवदत्तको कहिल्यै परिवर्तन नहुने बानी देखेर बुद्धले मलाई पृष्ठ १४७ मा सम्झाए, ‘चीवर लगाउँदैमा मात्रै कोही भिक्षु बन्न सक्दैन, प्रव्रज्या र उपसम्पदा ग्रहण गर्दैमा कोही अर्हत् हुँदैन भन्ने कुराको देवदत्त एउटा गजबकै उदाहरण हो (पृष्ठ १४७)। सत्ता र शासन आफ्नो हातमा लिन जसरी देवदत्त लागि परे त्यो भोगको प्यास प्रायः सबैभित्र रहेको हुन्छ। ज्ञान र विवेकले दर्गुणहरू नामेट हुँदैजान्छन् तर ज्ञान कृत्रिम छ भने अज्ञानको ढोका खुल्लै भएको पत्तै हुँदैन। ज्ञान र शान्ति पनि अरूलाई देखाउने बस्तु हो र ? हाम्रो समाजका केही व्यक्तिहरू त्यो बेला पनि उही आडम्बरको खोल भिरेर हिँडेका थिए भने आज पनि अवस्था उही छ। नत्र त सबै बुद्ध भइ नै हाल्थे नि ! समस्या नै हुनेथिएन। शान्तिको खोजीमा सबै छोडेर हिँडेको मान्छे अझ बुद्धको निकट बसेर साधना गरेको सन्त पनि स्वार्थको जालोमा लपेटिन्छ। वास्तवमा के अर्हद् प्राप्त गर्न सजिलो रहेछ त ?
अशान्तिले छोपेपछि मात्र शान्तिको खोजी हुनेरहेछ। के थाहा बुद्धलाई पनि दरबारभित्र आफैले भोगेको जीवनदेखि बिरक्तिएका पो थिएकी ?
जातीय अहमदेखि सत्ता लोलुप्ताले निम्त्याएका अनेकौं घटनाहरू पढ्दै जाँदा मेरो मन ढुक्क हुँदै गयो। रामराज्य कोरा कल्पना रहेछ। संसार जहिले पनि राक्षस युगमा नै हिँड्दो रहेछ। जसरी हामीले दिन र रात भोग्छौँ। दुःख र सुखको अनुभव गर्छौँ। हाँसो र आँसुलाई सँगै लिएर हिँड्छौँ। पीडा र खुशीको बोध गर्छौँ। सबै किसिमका संवेदनाले हामीलाई घेरेको हुन्छ । कुनै एकको अनुस्पस्थितिमा अर्कोको अर्थ अर्थहीन हुने रहेछ। अशान्तिले छोपेपछि मात्र शान्तिको खोजी हुनेरहेछ। के थाहा बुद्धलाई पनि दरबारभित्र आफैले भोगेको जीवनदेखि बिरक्तिएका पो थिएकी ?
मलाई लाग्छ व्यक्तिले अर्हत् प्राप्त गर्न सक्छ तर समूह या सम्पूर्ण समाजले अर्हत् प्राप्त गर्न मुस्किल छ। संसारलाई एउटै नियममा बाँधेर राख्न सकिँदैन। नत्र बुद्धकालीन समयमा त्यो किसिमको घटना घट्न थिएनन्। बुद्धलाई बद्नाम गर्न रचियका घटनादेखि सत्ता आफ्नो हातमा लिन गरिएका षड्यन्त्र हुने थिएनन्। अनि बुद्धको आफ्नै वंशको त्यो किसिमले नाश हुने थिएन।
अर्कोतिर बिम्बिसारको जीवन संघर्ष पढ्दा छक्क लाग्छ। अजात शत्रुले बिम्बिसारप्रति गरेको व्यवहार कति कठोर र घिनलाग्दो। सोही वंशमा छोराले आफ्नै जन्मदाताप्रति गरेको त्यो निकृष्ट व्यवहार कति आलोच्य छ। बुद्धको निकट भएर पनि अहँ शान्ति भेट्न नसक्ने रहेछ मान्छे। अजातशत्रुको वंशमा हत्याको शृङ्खला निकै लामो समयसम्म चलिरह्यो। बुद्धप्रतिको आस्था र प्रेम कति उच्च छ। तर पनि नियति त भोग्नै पर्यो। ज्ञान प्राप्त गर्नु भनेको सबै कुराले परिपूर्ण हुनु पनि होइन रहेछ।संसारको दुःख सुख त भोग्नै पर्छ जसरी बिम्बिसारले भोगे। ज्ञान प्राप्त गरेपछि संसारिक जीवनमा जादू हुन्छ। सबै कुरा सजिलै मिल्छ भन्ने सोच राख्नेले पढ्नै पर्छ बुद्धका संघर्षका कथा।
स्वयं कपिलवस्तुको पतनको इतिहास बुद्धको मुखबाट सुन्दा म यथार्थको धरातलमा उभिने प्रयास गर्न थालेकी छु। साँच्चै रामराज्य पनि साहित्यमा मात्र सीमित रहेछ।
स्वयं कपिलवस्तुको पतनको इतिहास बुद्धको मुखबाट सुन्दा म यथार्थको धरातलमा उभिने प्रयास गर्न थालेकी छु। साँच्चै रामराज्य पनि साहित्यमा मात्र सीमित रहेछ। हत्याहिंसा, लोभ, लालच, मायामोह, मानसम्मान, पद प्रतिष्ठा आखिर यो मान्छेको अस्तित्व रहुन्जेल नै रहने रहेछ। बुद्धको निकट बसेर पनि वास्तवमा बिरलैले अर्हत् प्राप्त गर्न सक्छन् ।
हरेक युगमा ज्ञान देखाउने वस्तु बनेको छ। सिद्धार्थ ज्ञानको खोजीमा दरबार छोडेर बाहिर हिँड्छ्न् तब बाटैमा संन्यासी घटिकारसँग भेट हुन्छ। घटिकारलाई देखेर बुद्धले भन्छ्न्। म यो सांसारिक भोग र भोकको जीवनबाट वाक्क भएर ज्ञानको खोजीमा दरबार छोडेर सन्यासी बन्न भनेर हिँडेको। यहाँ पहिरनको समस्या पर्यो। कृपा गरेर मेरो मूल्यवान वस्त्र लिनुहोस् र तपाईंको काषाय वस्त्र मलाई दिनुहोस् (पृष्ठ ५१)।
ती सन्यासी सिद्धार्थको बहुमूल्य वस्त्र देखेर लोभिन्छ्न्। सन्यासीको मोह देखेर लाग्यो अर्हत् प्राप्त गर्नु सजिलो कुरा हैन। ती काषाय वस्त्रधारी व्यक्ति सिद्धार्थको राजशीवस्त्र लगाउन लालायित हुन्छ। यता सिद्धार्थ काषाय वस्त्र। ज्ञानको प्यास अमूल्य छ। जो कोहीले त्यो प्यास उत्पन्न गर्न सक्दैन। जसले साँचो प्यास उत्पन्न गर्छ त्यसलाई रोक्न पनि सकिँदैन ऊ दरबार छोडेर हिँड्छ जङ्गल जङ्गल। मेटाउँछ अनन्त जीवनदेखिको ज्ञानको प्यास । यहाँ यो प्रसङ्गले निकै गहिरो अर्थ समेटेको लाग्यो।
कतै बुद्धलाई बदनाम गर्न रचियका घटिया षड्यन्त्र पढ्दा मान्छेको चरित्र बुद्धको काखैमा बसेर पनि समुल नष्ट नहुने रहेछ भन्ने लाग्यो। आम्रपालीको जीवन यात्रा कति विशृङ्खलित छ। आम्रपालीको विचार कति महान। शरीरभन्दा कता हो कता उच्च र पवित्र हुने रहेछ भावना र भक्ति। इच्छाशक्तिभन्दा ठूलो अस्त्र केही छैन। मान्छेले दृढ संकल्प गरे असम्भव केही छैन।
सिद्धार्थले दरबार छोड्नुको रहस्य अरू नै पो केही हो कि भन्ने प्रश्नले पनि मलाई कौतुहल बनाइरह्यो। अर्हत् पढिसकेपछि ममा यस्तो वाञ्छा जागृत भयो आखिर सिद्धार्थलाई कतै दरबारभित्रको आफ्नै जीवन भोगाइले त बुद्ध बनाएको होइन ?
अर्हत् पढ्दै जाँदा विभिन्न पात्रहरूको जीवनका कथाहरू पढ्न पाइन्छ। तिनैमा अजातशत्रु, अङ्गुलीमालको जीवन पढ्दा मानव जीवनका अनेकौं आयामसँग साक्षात्कार हुन सकिन्छ। जीवनको परिभाषा पूर्ण छैन्। मान्छेले जे भोग्छ त्यो नै अन्तिम सत्य होइन। मान्छेले असल सङ्गत प्राप्त गर्यो भने जे पनि हुनसक्छ। सम्भावनाको ढोका जहिले पनि खुल्लै हुने रहेछ।
अन्त्यमा मलाई बुद्धले दरबारभित्र बिदाएका ती २९ वर्षे जीवन पढ्न मन लाग्यो। सिद्धार्थले दरबार छोड्दा यशोधराको मौन सहमतिको रहस्य के होला भन्ने तर्कमा कतै बुद्धभन्दा अगाडि नै यसोधराले अर्हत् प्राप्त गरेकी त हैनन भन्ने शङ्का पनि उठ्यो। सिद्धार्थले दरबार छोड्नुको रहस्य अरू नै पो केही हो कि भन्ने प्रश्नले पनि मलाई कौतुहल बनाइरह्यो। अर्हत् पढिसकेपछि ममा यस्तो वाञ्छा जागृत भयो आखिर सिद्धार्थलाई कतै दरबारभित्रको आफ्नै जीवन भोगाइले त बुद्ध बनाएको होइन ?
प्रतिक्रिया