‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु  | Khabarhub Khabarhub

‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु 


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणबारे मन्त्रालयले वक्तव्य जारी गर्ने बताएका छन् । नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा शनिबार कार्यकर्ताहरूसँगको छलफलका क्रममा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा हुने ‘भिजिट भिसा’ सेटिङबारे मन्त्रालयले प्रष्ट पार्ने बताएका हुन् । 

‘ट्वीटरमा लेख्ने के–के काम भइरहेका छन् । म दुई–तीन दिन चुप लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने खोजिराखेको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ ।’ 

उनले दुई–चार दिनपछि आफू पनि बोल्ने जानकारी दिए । 

‘दुई–चार दिनमा म आफैं पनि केही कुरा बोल्छु,’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण म अहिले धेरै बोल्दिनँ । यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन ।’ 

‘भिजिट भिसा’ प्रकरणमा नाम मुछिइरहँदा उनले आफूबाट पार्टीको मन सानो हुने र टाउको निहुरिने काम नगरिने प्रष्टिकरण दिए । ‘म एउटै कुरा के भन्छु भने मैले जीवनभरी राजनीति गर्दा कुनै पनि पार्टीको मन सानो हुने र टाउको निहुरिने काम गर्दिनँ,’ गृहमन्त्री लेखकले भने, ‘जुन दिन मेरो हातदेखि त्यस्तो काम हुन्छ त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगले कुरा राख्न सक्छु । गर्न सक्छु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् । 

गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो । तर, सरूवाको रमाना पत्र नबुझ्नै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ ।

अध्यागनका कर्मचारीले गृहमन्त्रीको सचिवालयका सदस्यसहितको सेटिङमा ‘भिजिट भिसा’ मा खाडी मुलुक जानोहरूसँग जनही २० देखि ४० हजारसम्म असुल्ने गरेका खुलेको छ । त्यसका लागि उनीहरूले ‘कोड वर्ड’ प्रयोग गर्ने गरेको समाचारहरू आइरहेका छन् ।

कर्मचारीहरूले युरोपेली मुलुक जानेहरूसँग दुईदेखि तीन लाखका दरले प्रतिव्यक्ति उठाउने गरेको पनि दाबी समाचारहरू गरिदैछ । अध्यागमन कार्यालयले सेटिङमा दैनिक ५० लाखसम्म उठाउने गरेको र उक्त रकम गृहमन्त्रीको सचिवालयका सदस्यहरूसम्म पुग्ने गरेको खुलेपछि अख्तियारले छापा हानेको थियो ।

‘भिजिट भिसा’ मा जानेहरूबाट करोडौँ रकम उठाएको भनिएको प्रकरणमा मुछिएपछि गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । 

उनले लगेको रिट सर्वोच्चले दर्ता भने गरिसकेको छैन । अधिवक्ता चौलागाईंको रिटबारे आइतबार सर्वोच्च प्रशासनले निर्णय लिने बताइएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले शुक्रबार चौलागाईंको निवेदन आए पनि दर्ता गर्ने निर्णय नभइसकेको प्रतिक्रिया दिएका थिए ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि गृहमन्त्री लेखकविरुद्ध उजुरी परेको छ । युवराज सफलले शुक्रबार दर्ता गरेको उजुरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’ जारी गरी लाखौं रुपैयाँ असुलेको दावी गरिएको छ । 

उक्त अवैध असुलीमा गृहमन्त्री लेखकदेखि अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

 उजुरीकर्ताले भनेका छन्, ‘भिजिट भिसामा खाडी मुलुकतर्फ जानेसँग ५० हजार रुपैयाँ र विकसित मुलुकतर्फ जानेसँग ३ लाख रुपैयाँसम्म असुलिएको छ ।’

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ३ : ५० बजे

लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह

एजेन्सी – अफ्रिकी युनियनले लिबियाको राजधानी त्रिपोलीमा यसै महिनाको शुरुमा

गणतन्त्रको सुदृढीकरण गर्न राजनीतिक नेतृत्व सच्चिनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको

हिमपहिरोको अनुसन्धान गर्न विज्ञ टोली काँजी हिमाल जाँदै

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन

डोल्पामा यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर 

काठमाडौं– शनिबार दिउँसो  डोल्पा जिल्ला  ठुली भेरी नगरपालिका- १ ठाला

गृहमन्त्रालयले भन्यो- भिजिट भिसा सेटिङमा मन्त्री लेखकको कुनै संलग्नता छैन

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट