‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु  | Khabarhub Khabarhub

‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु 


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणबारे मन्त्रालयले वक्तव्य जारी गर्ने बताएका छन् । नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा शनिबार कार्यकर्ताहरूसँगको छलफलका क्रममा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा हुने ‘भिजिट भिसा’ सेटिङबारे मन्त्रालयले प्रष्ट पार्ने बताएका हुन् । 

‘ट्वीटरमा लेख्ने के–के काम भइरहेका छन् । म दुई–तीन दिन चुप लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने खोजिराखेको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ ।’ 

उनले दुई–चार दिनपछि आफू पनि बोल्ने जानकारी दिए । 

‘दुई–चार दिनमा म आफैं पनि केही कुरा बोल्छु,’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण म अहिले धेरै बोल्दिनँ । यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन ।’ 

‘भिजिट भिसा’ प्रकरणमा नाम मुछिइरहँदा उनले आफूबाट पार्टीको मन सानो हुने र टाउको निहुरिने काम नगरिने प्रष्टिकरण दिए । ‘म एउटै कुरा के भन्छु भने मैले जीवनभरी राजनीति गर्दा कुनै पनि पार्टीको मन सानो हुने र टाउको निहुरिने काम गर्दिनँ,’ गृहमन्त्री लेखकले भने, ‘जुन दिन मेरो हातदेखि त्यस्तो काम हुन्छ त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगले कुरा राख्न सक्छु । गर्न सक्छु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् । 

गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो । तर, सरूवाको रमाना पत्र नबुझ्नै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ ।

अध्यागनका कर्मचारीले गृहमन्त्रीको सचिवालयका सदस्यसहितको सेटिङमा ‘भिजिट भिसा’ मा खाडी मुलुक जानोहरूसँग जनही २० देखि ४० हजारसम्म असुल्ने गरेका खुलेको छ । त्यसका लागि उनीहरूले ‘कोड वर्ड’ प्रयोग गर्ने गरेको समाचारहरू आइरहेका छन् ।

कर्मचारीहरूले युरोपेली मुलुक जानेहरूसँग दुईदेखि तीन लाखका दरले प्रतिव्यक्ति उठाउने गरेको पनि दाबी समाचारहरू गरिदैछ । अध्यागमन कार्यालयले सेटिङमा दैनिक ५० लाखसम्म उठाउने गरेको र उक्त रकम गृहमन्त्रीको सचिवालयका सदस्यहरूसम्म पुग्ने गरेको खुलेपछि अख्तियारले छापा हानेको थियो ।

‘भिजिट भिसा’ मा जानेहरूबाट करोडौँ रकम उठाएको भनिएको प्रकरणमा मुछिएपछि गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । 

उनले लगेको रिट सर्वोच्चले दर्ता भने गरिसकेको छैन । अधिवक्ता चौलागाईंको रिटबारे आइतबार सर्वोच्च प्रशासनले निर्णय लिने बताइएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले शुक्रबार चौलागाईंको निवेदन आए पनि दर्ता गर्ने निर्णय नभइसकेको प्रतिक्रिया दिएका थिए ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि गृहमन्त्री लेखकविरुद्ध उजुरी परेको छ । युवराज सफलले शुक्रबार दर्ता गरेको उजुरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’ जारी गरी लाखौं रुपैयाँ असुलेको दावी गरिएको छ । 

उक्त अवैध असुलीमा गृहमन्त्री लेखकदेखि अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

 उजुरीकर्ताले भनेका छन्, ‘भिजिट भिसामा खाडी मुलुकतर्फ जानेसँग ५० हजार रुपैयाँ र विकसित मुलुकतर्फ जानेसँग ३ लाख रुपैयाँसम्म असुलिएको छ ।’

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ३ : ५० बजे

सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

सियरा लियोन – सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान

तनहुँ – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर

सुनसरीमा गोली चल्यो, एक जना घाइते

विराटनगर –सुनसरीको बराहक्षेत्रमा गोली चलेको छ । शनिबार बेलुका करिब

जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व

भोजपुर – किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन