तीजमा कस्तो दर कसरी खाने ? « Khabarhub

पर्व र खाना

तीजमा कस्तो दर कसरी खाने ?

‘मोटोपना र दीर्घरोग खेपिरहेका शहरी महिलालाई भारी परिकार हानिकारक’


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर खाने दिन भोलि (सोमबार), मीठामीठा परिकार खाने र अर्को दिन निराहार व्रत बस्ने चलन छ ।

तर, पछिल्लो समय दर खाने कार्यक्रम एक दिनमा मात्रै सीमित रहेन । विभिन्न कार्यालयहरू, सामाजिक संघसंस्था तथा गाउँटोलमा गरी झण्डै दुई साता अघिदेखि नै दर खाइरहने प्रवृत्ति झाङ्गिदो छ ।

पहिलेपहिले दर भनेर घरमै पकाइएका स्वस्थकर खानेकुरा खाइन्थ्यो । ठाउँ अनुसार फरकफरक खालका खानेकुराहरू जस्तै ढकने, खीर, सेलरोटी, तरकारी, अचार र फलफूल लगायत खानेकुरा दरका रूपमा खाइन्थ्यो । शहरी र नगरोन्मुख क्षेत्रमा अहिलेको दर प्रायः पार्टीप्यालेस रेस्टूराँहरूमा भोजभतेर र मदिरापानसमेत गरी मनाउने क्रम बढ्दो छ ।

होटेलमा पाकेका खाना त्यसै पनि धेरै चिल्लो हुन्छ । त्यसैमाथि तारेका, मसालेदार माछामासु, विभिन्न रसायन मिसाइएका चिसो पेयपदार्थ (कोल्ड ड्रिङ्क्स) र मद्यपान (हार्ड ड्रिङ्क्स) सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्ने पोषणविद्हरू बताउँछन् ।

पोषणविद् नानीशोभा शाक्य भन्छिन्, ‘शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरूमा पछिल्लो समय त्यसै पनि मोटोपनाको समस्या रहेको छ, साथै कुनै न कुनै रोग पनि बढ्दैछ । यस्तो अवस्थामा दरको नाममा दिनदिनै खाइने हरेक परिकारहरूले त्यस्ता समस्या झनै बढाइदिन्छ ।’

शाक्यका अनुसार; दरमा खाइने परिकारहरू चिल्लो, मसालेदार हुने भएकाले पहिलेदेखि नै स्वास्थ्य समस्या भएकाहरूमा झनै बढाउँछ भने नभएकहरूमा पनि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

पोषणविद् नानीशोभा शाक्य ।

स्वस्थ तरिकाले दर कसरी खाने ?

वर्षभरि विभिन्न काममा व्यस्त महिलाहरू जम्मा भएर केही दिन रमाइलो गर्नु मानसिक हिसाबले राम्रो हो । तर, शारीरिक रूपमा विभिन्न समस्याहरू निम्त्याउने सम्भावना हुने हुनाले खानपानमा धेरै ध्यान दिनुपर्ने पोषणविद् शाक्य बताउँछिन् ।

तीजमा व्रत बस्ने र दर खाने चलन सदियौंदेखि चल्दै आएको हो । तर, त्यो बेलाको हाम्रो जीवनशैलीको तुलनामा अहिले एकदमै फरक रहेको बताउँदै शाक्य भन्छिन्, ‘जस्तै – पहिले छोरीहरूलाई बिहे गरेर पठाइसकेपछि अहिलेका छोरीहरूले जस्तो पोषिलो खानेकुरा पाउँदैनथे, भीरपाखा, मेलापातमा काम गर्नुपर्ने हुन्थ्यो, टाढा भएका चेलीबेटीहरूलाई एकैदिन भए पनि मीठोमसिनो खुवाऊँ भन्ने सोचेर माइतमा बोलाइ खुवाउने चलन थियो ।’

उनी थप्छिन्, ‘तर अहिले त्यो अवस्था छैन । जतिखेरै जस्तोसुकै खाना बनाएर खान सक्ने अवस्था प्रायः सबैको छ । त्यसैले दरमा भारी खाना समावेश नगरी हल्का खाना खानु नै राम्रो हुन्छ ।’

कोभिड महामारीभन्दा अघि मनाइने दर खाने कार्यक्रम र त्यसपछि मनाउने कार्यक्रममा केही फरक त आएको, तर अझै धेरै कुरहरू सुधार गर्नुपर्ने शाक्य बताउँछिन् ।

उनका अनुसार; धेरै जना जमघट भएर मनाउँदा रोगहरूको सङ्क्रमण हुने, भारी खाना खाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू निम्त्याउने हुनाले चिल्लोपिरो कम खानेको सङ्ख्या बढिरहेको छ । खानपानमा भन्दा रमाइलोमा जोड दिन आवश्यक रहेको शाक्यले बताइन् ।

खाने ? के नखाने ?

तीजको दर व्रत बस्नुभन्दा अघिल्लो दिन राति खाइने भएकाले अत्यन्तै महत्वपूर्ण मानिन्छ । भोलिपल्ट व्रत बस्दा भोक नलागोस् भनी अघिल्लै रात दुई पटकसम्म खानेकुरा खाने चलन छ ।

धार्मिक हिसाबले त्यसदिन माछामासु लगायत तामसिक खानाहरू वर्जित गरिन्छ । यो वैज्ञानिक हिसाबले पनि उपयुक्त रहेको पोषणविद् शाक्य बताउँछिन् ।

भुटेको, तारेको तथा मसालेदार खानाहरू एकैपटक धेरै खाँदा अपच भएर व्रत बस्ने दिनमा पखाला लाग्ने, पेट दुख्ने र ग्याष्ट्रिक हुनेजस्ता पेटसम्बन्धी समस्या निम्तिने भएकाले सकेसम्म सजिलैसँग पच्ने खालको खानेकुरा खान उनको सुझाव छ ।

‘विशेषरी दीर्घरोग भएका महिलाहरूले दर खाँदा र व्रत बस्दा अझ विशेष ध्यान दिनुपर्छ । अहिलेको व्यस्त तथा तनावग्रस्त जीवनशैलीबाट मुक्त हुन केही दिन रमाइलो गरौं भनेर दर खानु र व्रत बस्नु शारीरीक तथा मानसिक हिसाबले राम्रो हो’, शाक्य भन्छिन्, ‘तर दरका नाममा दैनिक रूपमा भारी खाना र बियर लगायत पेय पदार्थको सेवन गर्नाले हाम्रो स्वास्थ्यमा विभिन्न नकारात्मक असर गर्ने भएकाले यस्तो तरिकाले दर खानु हुँदैन ।’

व्रत बस्दा पनि केही पानी तथा थोरै मात्रामा फलफूल खानु स्वास्थ्यका लागि उपयुक्त हुने उनले बताइन् ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ११ : ३५ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक