काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो ।
मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन मित्रपार्क जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका सूचना अधिकार अनिता भट्टले जानकारी दिइन् ।
यसै गरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र बाहिरिने व्यवस्था मिलाइएको उनले बताइन् ।
दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिरका चार वटै ढोका खोल्ने भट्टले जानकारी दिइन् ।
उनले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरिन् ।
त्यस्तै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले सोही दिन पशुपतिको चार वटा ढोकाबाट प्रत्येक दुई सेकेन्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिइन् ।
उनले शिष्ट र सभ्य पहिरनमा मन्दिर दर्शनका लागि आउन आग्रह गरिन् । नदी किनारमा पानीको बहाव बढेकाले विपद् प्रतिकार्य टोली खटाइएको उनले जानकारी दिइन् ।
यसै गरी भक्तजनको सवारी पार्किङका लागि सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको कोषले बताएको छ ।
ज्येष्ठ नागरिक, असक्त, बृद्धबृद्धा, बिरामी र काखे बालक बोकेका महिलाहरूका लागि सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ ।
भिडियाेमा पनि हेर्नुहाेस् :
प्रतिक्रिया