शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति  | Khabarhub Khabarhub

अन्तरवार्ता

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

निजी विद्यालयले जिते, भातृ संगठन रहुन्जेल विद्यालय सुध्रिँदैनन्



काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक केही सांसदको ‘नोट अफ डिसेन्ट’सहित पारित भएर प्रतिनिधिसभामा पुगेको छ । देशका लाखौँ विद्यार्थी, शिक्षक र देशको भविष्यसँग जोडिएको उक्त विधेयक विशेष गरी सरकारी विद्यालयका शिक्षक र निजी विद्यालय सञ्चालकहरूका कारण लामो समयदेखि अगाडि बढ्न सकेको थिएन । विधेयकको विरोधमा शिक्षकहरूले आन्दोलनसमेत गर्दै आएका थिए । 

लामो समयको रस्साकस्सीपछि अगाडि बढेको शिक्षा विधेयकमा फेरि पनि सार्वजनिक विद्यालयका शिक्षक र निजी विद्यालयका सञ्चालकले असहमति जनाएका छन् ।

यसै सन्दर्भमा पूर्व शिक्षामन्त्री एवं रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक विद्यार्थीको हितमा हुनुपर्ने, सामुदायिक विद्यालयहरू दलरहित हुनुपर्ने र निजी विद्यालयहरू नाफारहित हुनुपर्ने भनेर संसद्‍मा आवाज उठाउँदै आएकी छन् । विधेयकलाई शिक्षा समितिबाट अन्तिम स्वरूप दिएर प्रतिनिधिसभामा पठाउने समयसम्म आइपुग्दा पूर्वमन्त्री श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखेकी छन् ।

प्रस्तुत छ, उनै श्रेष्ठसँग खबरहबका लागि नारायण अर्यालले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

विद्यालय शिक्षा विधेयकमा तपाई लगायत केही सांसदले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएछ, खास तपाईँहरूका असहमतिहरू के–के हुन् ?

माओवादीहरूको नोटअफ डिसेन्ट एकदम गहिराइमा छ । ४/५ वटा बुँदामा छ होला । राप्रपाका सांसदले गैरनाफामूलक बनाउने सम्बन्धी लेख्नुभएको छ । मैले तीन वटा बुँदामा नोटअफ डिसेन्ट लेखेकी छु ।

पहिलो विषय, ईसिडी (प्राथमिक बाल विकास) को विषयमा हो । त्यो राम्रो प्रतिफल दिने उमेर समूह हो । सो विषयमा पूर्वमन्त्री विमला राई पौड्यालले पनि प्रस्तुति राख्नुभएको थियो । उहाँले बच्चालाई यसरी लगानी गरियो भने सिकाइमा यसरी ‘रिटर्न’ हुन्छ भनेर प्रस्तुत गर्नुभएको थियो । ईसिडीलाई तपाईहरूले एउटा कार्यक्रमको रूपमा मात्रै नहेर्दिनुस् । यो भनेको जग हो । यो जग भएपछि यसलाई चाहिनेजति लगानी गर्नुपर्‍यो ।

अर्को, त्यसमा काम गर्ने मान्छेको विषयमा नोट अफ डिसेन्ट हो । त्यहाँ जो काममा जानुभएको छ, उहाँहरूको वृत्ति विकास कहिल्यै पनि हुँदैन । त्यसो भयो भने कहिल्यै पनि उत्प्रेरणा हुँदैन, जसले गर्दा त्यसमा वृत्ति विकास चाहियो । त्यसमा काम गरेर जाँदा उपदान चाहियो भन्ने थियो । ईसीडी काम गर्नेलाई सहजकर्ता नभनौँ, शिक्षक भनौँ भन्ने थियो । ईसिडीलाई बच्चा खेलाउने ठाउँ भन्दा पनि फरक हुनुपर्छ भन्ने हो ।

दोस्रो–अनिवार्य निःशुल्क शिक्षा अन्तर्गत १० प्रतिशत भनिएको छ, आवास नै नभएका संस्थाहरूले आवास बनाएर देऊ भनेको होइन कि यदि ५० जनाका लागि आवासको सुविधा छ भने पाँच जनालाई आवास बनाएर देउ, भनेको हो । त्यो नगरेसम्म अति विपन्न वर्गले पढ्न सक्दैनन् । अति विपन्न जनसंख्या, जो आज दिनको दुई सय रुपैयाँ भन्दा कममा बाँचिरहेका छन् । ती बच्चाहरूलाई छात्रवृत्ति दिन्छु तर, काठमाडौंमा खान बस्नका लागि पैसा खर्च गर भन्न त भएन नि ।

तेस्रो– महिलाहरूको सन्दर्भमा छ । हाम्रो संविधानको धारा ३८ (५)मा सकारात्मक विभेद गर्ने भनेर लेखिएको छ । हाम्रो जन्मदर घटिरहेको छ । अहिलेको परिस्थिति र संविधानको भावना पनि हेर्ने हो भने प्रसूति बिदा त छ तर, प्रसूति बिदाले मात्रै पुग्दैन ।

प्रजनन स्वास्थ्य सम्बन्धी कति धेरै जनाको गर्भपतन भइरहेको हुन्छ । त्यो एक महिनाको छुट्टीले हुँदैन । त्यसका लागि फ्लो गर्न राम्रो प्रसूति अस्पतालमा जानुपर्‍यो, त्यसमा मैले प्रजनन स्वास्थ्य, प्रसूति बिदा भनेर लेख्न खोजेकी थिएँ ।

अर्को, निरन्तर गर्भपतन भएकोलाई कडा रोगमा लेखिँदैन, जसले गर्दा शिक्षिकाले सरुवामा पनि प्राथमिकता नपाउने भए । प्रजनन सम्बन्धी विशेष कानुनचाहिँ छ, तर रजस्वला, प्रसूति र गर्भपतनको विषयलाई लिएर छलफल हुनुपर्छ भनेर नोटअफ लेखेको हो । 

तपाईँले उठाउनुभएका यी विषयमा सहमति हुन नसकेर नै ‘त नोट अफ डिसेन्ट’ लेख्नुपर्ने अवस्था आयो होला नि हैन ?

हो । यो बाल विकासको हकमा धेरै नै सांसदहरूले उठाएको हो । तर, शिक्षा मन्त्रालयले जहिले पनि अर्थलाई देखाउँछ । संघ, प्रदेश र स्थानीय तहले शिक्षामा यति लगानी गर्छौँ भनेर कोटा नै कायम गरेर जाऊँ भनेका थियौँ, त्यो फेरि वित्त आयोगले हामीले गर्ने होइन भनेर भन्यो । विशेष गरी बाल विकासको हकमा धेरै सांसदहरूले भने पनि शिक्षा मन्त्रालयले मान्दै मानेन । दोस्रो विषयमा अलिकति प्रतिशत बढाउन पनि मानेनन् भने तेस्रो विषयमा विशेष कानुन छ भनेर भने तर, त्यतिले कभर गर्दैन ।

विद्यालय शिक्षाजस्तो आम जनता र देशको भविष्यसँग जोडिएको विषयमा पार्टीहरूले कुनै साझा धारणा बनाएनन् ?

अन्य पार्टीहरूको विषयमा त मलाई थाहा भएन । तर, हाम्रो पार्टीबाट चाहिँ हामीले केन्द्रीकृत हिसाबले राखेका छौँ । मैले एउटा प्रस्तुति पनि दिएकी थिएँ, पार्टीहरूको मान्छेको पनि धारणा यस्तो छ, त्यसकारण शिक्षामा यस्तो हुनुपर्छ भनेर समितिमा राखेको हो ।

शिक्षा समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयक अब हुबहु पास हुन्छ ?

पास हुनपर्छ भन्ने हो । किनभने, सबै स्टेक होल्डरले बाहिर जे भने पनि एक तहको समझदारीबाट नै मन्त्री, सभापतिहरूले पनि अगाडि बढाएको हो । यो २.५ वा ३ प्रतिशत त त्यहीँबाट आएको हो नि त । समझदारी गरेर ल्याएकै कुरामा पनि उहाँहरू पछाडि हट्नुहुन्छ भने त विश्वास नै गर्न नसकिने हुन्छ । यसमा धेरै स्वार्थ समूहरू हाबी भए । जति समय विधेयक समितिमा राखिन्छ, त्यति बेलासम्म विधेयक नै अप्ठ्यारोमा पर्छ भनेर हामीले ‘नोट अफ डिसेन्ट’ राख्ने भए राखौँ, अगाडि बढौं भनेर गरेको हो ।

मैले पनि समितिमा फरक मत राखेर जाऔँला, यो होल्ड भएको धेरै भयो भनेकी थिएँ । पहिला ६०/४० को कुराले होल्ड भयो, जुन कुरा ओके नै थियो । सभापतिले पनि शिक्षक महासंघसँग कुरा गरेर ‘ओके’ गरेको हो ।

हुबहु पास हुँदा बन्ने ऐनले विद्यालय शिक्षा कस्तो बनाउन भूमिका खेल्ने अनुमान गर्नुहुन्छ ?

विद्यालय शिक्षामा परिवर्तन हुनका लागि आधारभूत रूपमा यी भातृ संगठनहरू हट्नुपर्ने हुन्छ । भातृ संगठनहरू नहटेसम्म जति लगानी गरे पनि एउटा प्रणालीमा सञ्चालन गर्न सकिँदैन । किनभने, देशको कानुनभन्दा दलको गुटको लोकप्रियता हाबी होला ।

त्यसैले, काम गर्ने ठाउँमा १० प्रतिशतले सुविधा पाउने तर, अरु १० प्रतिशतले नगरेको काम गर्दियो भने गाह्रो हुन्छ । हाम्रोमा अधिकांश शिक्षकहरू दलमा आबद्ध छन्, जसले गर्दा फरक ढंगबाट काम गर्ने मान्छे पनि भएनन् । मैले देखेको, जुन बेलासम्म यी भातृ संगठन रहन्छन्, विद्यालय शिक्षामा मुख्य परिवर्तन आउँदैन ।

भनेपछि यो विधेयक ऐनका रूपमा आइसकेपछि पनि विद्यालयमा नवीन सुरुवात हुन्छ भनेर आशा गर्न सकिँदैन ?

यसमा कार्यान्वयनको समस्या हो । ०२८ सालको ऐनमा परिमार्जन गरेर पनि राजनीतिक दलको कार्यकारिणीमा हुन हुन्न । अर्को निर्देशिका पनि थियो, त्यसमा पनि पनि लेखेको थियो  ।

तर, कार्यान्वयन नभएको हो नि त । किनभने, दलहरूले आफ्नो भातृ संगठन, आफ्नो पावर सेन्टरलाई निर्वाचनमा चाहिन्छ भनेर त्यसैमा लगाएको हुन् ।

जतिबेलासम्म पढाउने भनेको १० बजेदेखि ४ बजेसम्म हो भन्ने सोच हाबी हुन्छ, त्यति बेलासम्म कहीँ पुगिँदैन । डेडिकेशन नभएको पनि होइन, छ । औसतमा सार्वजनिक झुर भनेर स्थापित नगर्नुस्, किनभने त्यो गलत हो ।

विद्यालयमा राजनीतिक संगठन हटाउने विषयमा तपाईँहरूले निकै मेहनत गर्नुभयो तर, सम्भव भएन है ?

हो । यसमा राजनीतिक दल मात्रै नभएर सांसदहरू नै लाग्नुभयो । एक जना सांसदले त यसलाई हटाउने हो भने अर्को पटकको चुनावमा गाह्रो पर्छ भन्नुभयो । सोच्ने तरिका नै निर्वाचनदेखि निर्वाचन मात्रै सोचियो भने बजेट विनियोजनदेखि लिएर सबै त्यहीअनुसार नै हुन्छ ।

राजनीतिक दलको भातृ संगठन भइरहँदा गाह्रो हुन्छ । बरु विषयगत शिक्षक एसोशिएसन बनाए हुन्छ । शिक्षकहरूलाई सर्पोट चाहिन्छ, सर्पोट ग्रुपहरू बनाउनुपर्छ । तर, जुन तरिकाले भातृ संगठन हाबी भएका छन्, राजनीतिकरूपमा जो नजिक हुन्छ, उसले जे गर्दा पनि हुने, उसलाई कारबाही नहुने तर राम्रो पढाउने शिक्षकहरू पिँधमा पुग्ने ।

निजी विद्यालयलाई समय तोकेर गैरनाफामूलक बनाउने भनेर लेख्न र अरु नियमनको विषयमा पनि त्यति धेरै व्यवस्था गर्न नसकेको हो ?

त्यो नसकेको हो । निजी क्षेत्र एकदम हाबी भएर गैरनाफामूलक बनाउने विषयमा समय तोक्न नसकेको हो । अनि यसमा एकदमै गलत परिभाषा पनि गरेका छन् । मैले निजीलाई निषेध गर्न चाहेको होइन, मुनाफालाई निषेध गर्न चाहेको हो । दललाई निषेध गर्न खोजेको हो ।

तर, एकदमै अपव्याख्या गरिएको छ । निजीको हकमा शिक्षकलाई सरकारी सरह सेवा सुविधा तोक्ने भनेको त्यो पनि गर्न नसकिएको हो । तर, स्थानीय सरकारलाई कानुन बनाएर नियमन गर भनेको हो । संघले तोकेको न्यूनतम पारिश्रमिकसँग यकिन हुनुपर्छ भनेर पनि लेखेका छौँ ।

पछिल्लो समयमा फेरि शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालकले आन्दोलन घोषणा गरेका छन् नि ?

जुन सम्झौता भएका छन् तीमध्ये संघीयता विरोधी सम्झौता त कुनै हालतमा कार्यान्वयन हुँदैन । किनकि त्यो त अदालतमा मुद्दा पर्छ र खारेज हुन्छ । त्योबाहेक उहाँहरूको धेरै मुद्दा सम्बोधन भएको छ । तर, खै किन उहाँहरूले आन्दोलन गर्नुभएको छ, मलाई थाहा भएन ।

निजी विद्यालयको हकमा, उहाँहरूले त जित्नुभयो त । गैरमुनाफामूलक बनाउन १५/२० वर्ष तोकेर जाऊँ भनेको नतोकीकन गइसक्यो ।

संविधानमा लेखिएको लोककल्याणकारी हुनुपर्छ भन्ने कुरा र सम्मानित सर्वोच्च अदालतको हरि फुयाँल र ईश्वर खतिवडाको संयुक्त इजलासले  गैरनाफामूलक बनाउने धारणामा जानुपर्छ भनेर लेखेको अवस्था छ । त्यसरी व्याख्या गरेको कुरालाई नराख भनेर कसरी भन्ने ? 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ७ : १२ बजे

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा