नकावधारीको चक्रव्यूहमा जेन-जी आन्दोलन : अस्थिरता र ‘कङ्गाली’कै जीत ? « Khabarhub

नकावधारीको चक्रव्यूहमा जेन-जी आन्दोलन : अस्थिरता र ‘कङ्गाली’कै जीत ?



विक्रम संवत २०५० को दशकको सुरुवातदेखि नै नेपालका शासकहरूले आन्तरिक उद्योगहरू निजीकरणको नाउँमा बिक्री गर्न थाले ।

दर्जनौँ उद्योगहरू निजीकरणपछि पनि सञ्चालनमा आउन सकेनन्, जसले रोजगारी घटायो र औद्योगिक उत्पादनमा गिरावट आयो। उत्पादनमुखी क्षेत्रहरूमा राज्यको ध्यान क्रमशः घट्दै गयो ।

परिणाम स्वरूप आत्मनिर्भर अर्थतन्त्रको सट्टा विदेशी सामानमा निर्भरता बढ्दै गयो । नेपाल आयातमा निर्भर अर्थतन्त्रको रूपमा विकसित हुँदै आयो ।

यो तस्बिरमा खण्डहरमा परिणत भृकुटी कागज कारखाना देखाइएको छ । गैँडाकोटमा रहेको यो कागज कारखाना देशकै ठूलोमध्ये कै थियो । यो कारखानाले कुनै समय नेपालको कुल मागको झण्डै ६० प्रतिशत कागज पूरा गर्थ्यो ।

करिब ७२८ रोपनी जग्गामा रहेको यो धरोहर यतिबेला खण्डहरमा परिणत भएको छ । मारवाडी समुदायका गोल्छा समूहले चालु अवस्थामा करिब ३० करोडमा खरिद गरेको यो उद्योगले ओगटेको जग्गा मात्रको मूल्य हाल करिब ३ अर्ब ३६ करोड रुपैयाँ छ ।

नेपाल र नेपालीलाई भारतको दास बनाइराख्ने नीति कार्यान्वयनको एक जीवित ऐना हो यो । अहिले खण्डहर बनेको यो भृकुटी कागज कारखाना भू-माफियाको रोजाइमा र बिक्रिको अवसरको पर्खाइमा रहेको अनुमान सजिलै लगाउन सकिन्छ ।

बहुदलपछिका अर्थात् विक्रम संवत २०४६ साल पछिका स्वर्गीय गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र गणतन्त्रपछिका पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम भट्टराई र माधवकुमार नेपालजस्ता नेताहरू सत्तामा पुगे ।कोइराला, देउवा, दाहाल र ओली त आलोपालो दोहोरिएर नेपालको बागडोर समातिसकेका छन् ।

यी सबै पूर्वप्रधानमन्त्रीहरू र उनका झोलेहरूलाई जनताहरूले बेथितिका मसिहा तथा भ्रष्टाचारको कारक भएको आरोप लगाउँदै आएका छन् । तर, उनीहरू सबैले भ्रष्ट्राचार र भ्रष्टाचारीलाई नै संरक्षण गरिरहे । देश शोषण गर्न यी र झोले दाशहरू प्रोत्साहित र सुरक्षित हुँदै गए । नीतिगत भ्रष्टाचार राष्ट्रिय योजनाहरूमा नै समेटिन थाले ।

बढ्दो बेरोजगारी र लगातारको कुशासनले जनताको असन्तोष गहिरिँदै गयो । कुनैपनि समयमा जन-विद्रोह विष्फोट हुनसक्ने स्पष्ट संकेत आइसकेको पनि थियो ।

नेपालमा भ्रष्टाचार र बेथिति फस्टाउँदै गएको परिस्थितिले युवा समुदायमा चुलिएको विद्रोहको रुप खासगरी सन् २०२३ पछि, ह्यासट्याग नेपोकिड्स र ह्यसट्याग करप्सनका नामबाट सामाजिक सञ्जालमा उजागर हुन थाल्यो ।

नेपालका सबै उमेर समूहका नागरिकहरू फेसबुक, मेसेन्जर, ह्वाट्सएप आदि माध्यमबाट संवाद गरिरहेका थिए । धेरै युवाहरू युट्युब र अनलाइन व्यापारबाट आयआर्जन पनि गरिरहेका थिए । जब सरकारले यी माध्यमहरूमाथि रोक लगायो, त्यसले अन्ततः १३ देखि २८ वर्ष उमेर समूहका युवाहरू जेन-जीलाई २०८२ साल भाद्र २३ गते सडकमा ल्यायो ।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धन सरकारको नेतृत्व ‍केपी शर्मा ओलीले गरेका थिए । भुटानी शरणार्थी, गिरिबन्धु, बालमन्दिर, गोकर्णजस्ता काण्डका मेलमिलापले, मिलन र धुलनले, ओलीले प्रधानमन्त्रि पद सुरक्षित ठान्नु स्वभाविक नै थियो ।

थप कारणमा उनको निरङ्कुशतावादी सोचकै ऊपज थियो- ‘दर्ता प्रक्रिया’ को बहाना बनाएर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगाउनु ।

घामजस्तै छर्लङ्ग छ कि नेताहरूको भ्रष्टाचार, गलत आचरण, र सरकारविरोधी स्वरहरूलाई दबाउने प्रयासकै उपज थियो- सामाजिक सञ्जालमाथि प्रतिबन्ध । प्रतिबन्धको औचित्य केबल एक नाटकको आवरणमात्र थियो । वैकल्पिक उपाय नदिइ सामाजिक सञ्जालमाथिको प्रतिबन्धले र यसले जनतामाथि पारेको प्रभाव र मर्काबारे सरकारले कुनै चिन्ता लिएन ।

चैत्र १५ को कोटेश्वर-तीनकुने बागमती नदी किनारको हुलदङ्गाको आडमा मनहरा नदी किनारमा चालु अवस्थामा रहेको स्वदेशी जडिबुटी उद्योग जलाइयो ।

केही सय नेपालीहरू बेरोजगार भए । यो घटना ओलीको बिस्मृतिबाट हराएको कारण पनि त होला की- ओली सरकारको जेन-जीमाथिको नरसंहार सोसल मिडियाको बन्देज आन्दोलनको एक झिल्का बन्यो । २०८२ भदौ २३ गतेका दिन सडकमा उत्रिएका जेन-जी युवाहरूको संख्याले पनि देखाउँछ ।

असन्तोषका राँकाहरू बोकेर जेन-जीहरू सडकमा ओइरिएका थिए । प्रदर्शन शान्तिपूर्ण हुने भनिएको पनि थियो । सम्भवतः एमालेको विधान महाधिवेशनमा देखिएको अधिनायकवादको नसाले ओलीलाई छोडेको थिएन । प्रधानमन्त्री ओलीले जेन-जीका मागहरूप्रति कुनै सहानुभूति नै देखाएनन् ।

भाद्र २४ का आगजनी र विध्वंशका घटनाले थाह भयो कि जेन-जीको भेषमा विभिन्न स्वार्थ समूहहरूले आ-आफ्नै पाराले आन्दोलनलाई आ-आफ्नै हातमा लिइसकेका रहेछन् । जब प्रदर्शन संसद भवनको रूपमा प्रयोग भइरहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वरिपरी तोडफोड र आगजनीमा परिणत भयो, जेन-जी प्रदर्शनको पहिलो दिनमै उनीहरुमाथि लाठीचार्ज, अश्रुग्याँस र गोली प्रहार गरियो ।

केही घण्टामै १९ जना युवाको मृत्यु भयो । २३ गतेको एक दिनको घटनामा नै २२ जनाले शाहदत प्राप्त गरे । तर पनि प्रधानमन्त्री ओलीले न त राजीनामा नै दिए न त वार्ताको प्रस्तावनै राखे ।

ओली सरकारको २३ गतेको जेन-जीमाथिको दमनलाई स्वार्थ समूहहरूले २४ गते नेपाल जलाउने ढालको रुपमा प्रयोग गरे र आ-आफ्नै योजनामा विध्वंश मच्चाए ।

ओली सरकारले जेन-जी आन्दोलनलाई बालकको खेलझैँ व्यवहार गर्‍यो । देउवा र ओलीका झोलेहरू देश जल्दै गर्दा पनि दुला दुलामा लुकिरहे । सत्तामा रहेका नेताका हनुमान र झोलेहरू रोमका बादशाह नेरोका चेलाहरू बाँसुरीका धुनमा मस्त भएजस्तै भइदिए । उनीहरू देशको पीडाभन्दा दल र नेताप्रतिको भक्तिमा अन्धभक्त बनेका थिए भन्ने देखियो ।

सरकारका गुप्तचरहरूले के सुराकी गरिरहेका थिए ? के सोसल मिडियालाई सम्पर्क माध्यम बनाएका जेन-जीका गतिविधिहरू सरकारलाई थाह थिएन र ? के सबै गुप्तचरहरू नेताकै चाकडी र भक्ति गरेर जागिर पकाइरहेका थिए होला र ?

भ्रष्टचार, बेरोजगारी र गरिबीले नेपाल दलदलमा फस्दै जाँदाका परिणामका बारेमा गुप्तचरहरूले कस्ताकस्ता प्रतिवेदनहरू सुझाइरहेका थिए ?

सोसल मिडिया बन्देजले जेन-जी आन्दोलन निस्तेज हुने आँकलन गर्नु ओली सरकार नेरोको शासन शैलीमा हिडेको प्रष्ट हुदैन र ?

नेपालीहरूमा चरम असन्तुष्टि बढिरहेको थियो र कुनै दिन जनविद्रोह विस्फोट हुन्छ भन्ने आँकलन पनि थियो । जेन-जीको आन्दोलन जनताको असन्तुष्टिका रुपमा सडकमा देखापरेको थियो । अवसरको पर्खाइमा रहेका तत्वहरू अर्थात् विगतदेखिकै आतङ्ककारीहरू, अस्थीरताका संवाहकहरू, स्वार्थ समूहहरू नकाबपोशमा घुसपैठ भएको देखिएको छ ।

नेपाल र नेपालीको पहिचान र गौरव क्षयीकरण गरिनै रहने अवसरको पर्खाइमा रहेका तत्वहरूले भाद्र २३ गतेको दमन नभएको भए पनि २४ गतेको विध्वंश हुने नै थियो भन्ने मेरो विश्लेषण निम्न घटनाले पनि पुष्टि गर्दछन् ।

१- किन २०४६ सालका जनआन्दोलनका कमाण्डर नेता गणेशमान सिंहको प्रतिमा ढालियो ? जबकि उनले आन्दोलनको सफलतापछि अन्तरिम प्रधानमन्त्री बन्न समेत अस्वीकार गरेर सत्तालिप्सा त्यागेका थिए ।

२- किन स्वर्गीय बीपी कोइराला, स्वर्गीय मदन भण्डारी र स्वर्गीय पुष्पलालका प्रतिमाहरू समेत तोडफोड गरिए ?

३- किन कृष्णप्रसाद भट्टराई (किशुनजी) को बोडेस्थित स्मृतिभवनमा आगजनी गरियो ? किशुनजीले २०४७/४८ को अन्तरिम प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालमा नैतिकता र मर्यादा कमाएका थिए । धनसम्पत्ति केही आर्जन गरेका थिएनन्।

४- किन,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमाथि मात्र आगजनी गरियो ? के यो त्यस कारण थियो कि उनले नागरिकता विधेयकमा सम्भावित महाभियोगको जोखिम व्यहोरेर भएपनि भिटो लगाएकी थिइन् ? उनले त पूर्वराष्ट्रपतिका सबै सरकारी सेवासुविधा त्यागिसकेकी थिइन् ।

५- किन सर्वोच्च अदालत, अन्य अदालतहरू र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी र तोडफोड गरियो ? सर्वोच्च अदालतले नेपालको न्यायपालिकाको प्रतिनिधित्व गर्छ । आयोग भ्रष्टाचार नियन्त्रण र निगरानी गर्ने स्वतनत्र निकाय हो ।तस्बिरमा सर्वोच्च अदालतको भवनको आगलागी हुनुअघिको अवस्था र आगलागी भइरहेको अवस्था देखाइएको छ ।

कार्यकक्षको आँगनैमा रहेका ऐतिहासिक धरोहर सिंहदरबार र सर्वोच्च जलाउँदा मूकदर्शक रहेका नेपालका प्रधानसेनापतिको मूल्याङ्कन इतिहासमा होला नै ।

६- किन र कसले ऐतिहासिक नजीरहरू, दस्तवेजहरू र भ्रष्टाचार, सहकारी ठगी, हत्या–आतङ्क लगायतका मुद्दाहरूका प्रमाण, मिसिल नष्ट गर्न लगायो ? यस्तो कार्य कुन स्वार्थ समूहको निर्देशनमा भयो होला ? भ्रष्टाचारलाई दण्डित गर भन्ने माग लिएर निस्केको युवाले प्रमाण मिसिल पूर्ण नष्ट हुनेगरी जलाउँछ र ?

७- नख्खु जेलबाट बाहिर निकाल्न रवि लामिछानेका लागि नक्कली पत्र कहाँबाट आयो ? किन विभिन्न जेलबाट हजारौँ अपराधीहरू मुक्त गरिए ?

८- बारबरा फाउण्डेसनबाट सञ्चालित जेन-जी उमेर समूहमा नपर्ने ३५ वर्षमाथिका सुदन गुरुङ आन्दोलनको केन्द्रविन्दुमा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अन्तरिम सरकार गठबको केन्द्रविन्दुमा कसका योजनामा पुग्न सफल भए ?

यी र यस्ता गतिविधिको विश्लेषण हुनु पर्दैन ? भदौ २४ को आततायी विध्वंश, सबै विनाश र आगजनीहरू केवल संयोग मात्र हुनै सक्तैनन् र निश्चय पनि होइनन् र थिएनन् ।

सबै प्रमाणहरूले स्पष्ट देखाउँछन् कि विध्वंशका तानाबाना बुन्दैबुन्दै लुकेका स्वार्थ समूहहरूले जेन-जी आन्दोलनलाई अपहरण गर्न भ्याए र यसैलाई ढाल बनाउन सफल पनि भए ।

सबै आगजनी र तोडफोड योजनाबद्ध थिए भन्ने स्पष्ट भइसकेको छ । सिरियादेखि बङ्गलादेशसम्मको विद्रोह बुझेका स्वार्थसमूहहरू केबल उचित अवसरको पर्खाइमा रहेछन् भन्ने बुझियो । सबै परिस्थितिबाट जेन-जी आन्दोलनका सम्भावित अपहरणकर्ता अर्थात् नकाबपोशधारी केही स्वार्थ समूहहरू सहजै अनुमान लगाउन सकिन्छ । को को हुन सक्छन त स्वार्थ समूहहरू ?

१- नेपाल माथि रजाईँ गर्न खोज्ने विदेशी योजनाकारहरू :

कति सजिलै सार्वजनिक सम्पत्ति— जस्तै व्यापारिक मलहरू, होटल, सरकारी भवनहरू जलाइयो । प्रारम्भिक अनुमान अनुसार सरकारी सम्पत्तिबाहेक निजी सम्पत्ति मात्रै करिब एक खर्ब रुपैयाँ बराबर नष्ट भएको छ । सरकारी र सार्वजनिक सम्पत्ति त निजिभन्दा कैयौँ गुणा बढि क्षति भएको छ । एकै दिनको लुट र आगजनिले नेपालको अर्थतन्त्रलाई दशकौँ पछाडि धकेलेको छ ।

नेपालको अस्तित्व मेटाउन चाहने बाहिरी तत्वहरूले जेन-जी आन्दोलनलाई ढाल बनाउन सफल भएको देखियो । नेपालको सुरक्षा संयन्त्र कति सजिलै निष्क्रिय बनाउन सकिने रहेछ भनेर पनि विदेशी र तिनका भरौटेले देखाइदिए । ऐतिहासिक दस्तावेजहरू नष्ट गर्दै, एकै दिनमा कार्यपालिका, न्यायपालिका र विधायिकाका प्रतीक यीनका केन्द्रीय संरचनाहरूमा आगजनी गरी ध्वस्त पार्न सफल भए ।

२- राजतन्त्र फर्काउन खोज्ने समर्थकहरू :

पूर्वराजा लगयतका केही समूह संवैधानिक राजतन्त्र पुनःस्थापना गर्न चाहन्छन् । राजालाई फर्काउन राष्ट्रपति पद र राष्ट्रपतिलाई हटाउनु नै पर्ने हुन्थ्यो । राष्ट्रपति कार्यालय र राष्ट्रपति निवासमा गरिएको आगजनी त्यसै योजनाको हिस्सा र परिणाम थियो भनेर बुझ्न सकिन्छ । यसलाई केवल संयोग भन्न सकिँदैन ।

सेनापतिले दुर्गा प्रसाईँ र रास्वपालाई आन्दोलनको हिस्सा मान्नु र सेनाको मध्यस्थतामा दुर्गा प्रसाईंको उपस्थितिले के संकेत गर्छ त ? के यस्ता परिदृष्यले थप पुष्टी गर्दैन र ?

विगत कुनै समयमा पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँ भलाकुसारी गरेको दृष्य सामाजिक सञ्जालमा फेला परेको छ ।

३- माओवादी केन्द्र :

माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई भनेका छन् —क्षति (आगजनी र तोडफोड) पुर्‍याइयो, पुग्यो ।

प्रचण्डले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै गरेको सामाजिक सञ्जालमा फैलिएका तस्बिरमा देख्न सकिन्छ ।

प्रचण्ड नेतृत्वको माओवादी पार्टीले विगतमा गरेको विनाश र आगजनीको इतिहास हेर्दा कुनै बेला प्रचण्ड र बाबुराम भट्टराई भारतमा रअको आतिथ्यमा रहेर माओवादका नाममा नेपालमा मच्चाएको आदोलनको पर्दाफास भइरहेको थिएन र ?

प्रचण्ड रहेसम्म नेपालमा उथलपुथल भइरहने भन्ने उनै प्रचण्डका बेला बखतका भषणबाट बुझ्न सकिन्छ कि जेन-जीको आन्दोलनको आवरणमा नकाबधारीहरू कसकसले पठाएका थिए ।

४- काठमाडौं महानगर प्रमुख बालेन पक्षधर :

सामाजिक सञ्जालमा फेला परेको तस्बिरमा महानगर प्रमुख बालेन शाहलाई देख्न सकिन्छ । केही महिनाअघि नै महानगर प्रमुख बालेन शाहले सिंहदरबार जलाइदिने स्टाटस लेखेका थिए ।

जेन-जीहरूले बारम्बार भनेका छन् कि ‘सिंहदरबार जलाउने जेन-जीको योजना र सोच थिएन’ । तर, भदौ २४ मा सिंहदरबार साँच्चै नै जलाइयो ।

सिंहदरबार परिसरको तोडफोड र आगजनीके केवल संयोग मात्र हो र ? सिंहदरबार जलाउने भन्ने बालेनको “प्रेरणादायी विचार” को कार्यान्वयन पनि त नकाबधारीबाट भयो नि त, भएन र ?

नेपाली युवाबीच लोकप्रिय एक निर्वाचित जिम्मेवार मेयर बालेन शाहको त्यो स्टाटस-अभिव्यक्ति नेपालको ऐतिहासिक सम्पदा सिंहदरबार जलाउने कारक बनेको थियो भन्न कुनै बुधबार कुर्नुपर्ला र ?

निष्कर्ष र सुझाव :

तापक्रम उतार–चढाव सिद्धान्त (भुसाल सिद्धान्तले) ले मानव चेतना विकासको कुरा गर्दछ । यस दृष्टिकोणबाट हेर्दा, जेन-जी आन्दोलनमा घुसपैठ गर्ने स्वार्थ समूहहरूको विनाशकारी सोच लगभग दुई सय वर्ष पुरानो मानसिकताको पुनरावृत्ति जस्तो देखिन्छ । तसर्थ, यदि नेपालीहरूको बहुमत चेतनाको स्तर अगाडि बढेन र बढ्न सकेन भने, नेपाल अझ रक्तपातपूर्ण विद्रोहहरूतर्फ धकेलिन सक्छ वा, अन्ततः, राष्ट्रको अस्तित्व नै मेटिन सक्ने जोखिम देखिन्छ ।

यद्यपि केही भ्रष्ट नेताहरू र मन्त्रीहरूका घरहरू जलाइए, र ओली सरकार ढल्यो । तर, नेपालको जेन-जी पुस्ता निराश भयो ।उनीहरूको माग बीचमै अड्किए । केही उपलब्धि हासिल गरे तापनि उनीहरूका मागलाई छाँयामा पारियो ।

अर्थात्, केही युद्ध जिते पनि अन्ततः उनीहरूको संघर्ष अधुरो रह्यो । अर्कोतर्फ बहुदलीय प्रणालीका विरोधीहरू, गणतन्त्र विरोधीहरू र विदेशी शक्तिहरूले नेपाली राष्ट्रियतामा ग्रहण पार्दै देशको अर्थतन्त्रलाई पछाडि धकेल्न सफल भए ।

प्रधानन्याययाधीश हुँदा सुशीला कार्कीले स्वयंले एक समय नैतिक पाठको नजिर दिएकी थिइन्— सर्वोच्च अदालतका प्रधान न्यायाधीशहरू पदमा रहँदा वा नरहँदा कहिल्यै पनि प्रधानमन्त्री वा मन्त्री बन्नु हुँदैन । त्यसो बन्नु पदीय मर्यादा विपरीतका अनैतिक काम हुने भनाइ थियो ।

तर, आज उनी आफैँले नैतिक मापदण्ड तोड्दै अन्तरिम प्रधानमन्त्रीको पद ग्रहण गरेकी छन् । अब प्रश्न उठ्छ —के अब उनको पालामा नेपालमा नैतिकताको प्रश्न ऊठाउन मिल्ला र ?

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई जेन-जीको मागका आधारमा सत्तामा ल्याइएको थियो । अब उनी आफैँले घोषणा गरेकी छन् कि उनको मुख्य ध्यान जेन-जीका मागहरूमा होइन, संसदीय निर्वाचनमा केन्द्रित छ ।

यसरी, जेन-जीका सपना बोकेको बहानामा उनी सत्तामा आइन्, जेन-जीका सपना सुशीला कार्की स्वयंलेनै पन्छाएकी छन् । म फेरी पनि प्रश्न दोहोर्‍याउँछु—के नेपालमा नैतिकताको खडेरी परेकै हो त ?

जेन-जी पुस्तालाई सावधान र सचेत रहन सुझाव :

प्रतिगामी, गणतन्त्र विरोधी र विदेशी स्वार्थले पहिले नै नेपाली राष्ट्रियतालाई कमजोर पारिरहेका छन् र अर्थतन्त्रलाई जर्जर बनाइरहेका छन् । त्यो क्रम जारी छ ।

नेपालको प्रतीक चिह्न- सरकारी लोगो सच्याई नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको चुच्चे खण्ड लिपुलेक, लिम्पियाधुरा समेटेको नक्शा विद्यालयका पाठ्यपुस्तकहरूबाट हटाउने प्रयासहरू भइ नै रहेका छन् । जेन-जी युवाहरूले यस्ता षडयन्त्रप्रति सचेत भइरहनुपर्छ र नेपालको भूसार्वभौमिकता — लिपुलेकदेखि लिम्पियाधुरा र सुस्ता रक्षा गर्न सधैँ जागरूक रहनुपर्दछ ।

भ्रष्ट प्रणाली सुधार्ने, संस्थागत बेइमानीलाई दण्ड दिने र नेपालको गौरव कायम राख्ने जिम्मेवारीअब युवाको काँधमा आएको छ ।तर जेन-जीको आवरणमा फेरि पनि अपराधी, उग्रवादी वा राष्ट्रविरोधी ट्रोजन एजेन्टहरूद्वारा रोटी सेक्ने खतरा रहन्छ । नेपालको अखण्डता, स्वतन्त्रता र अस्मिता बचाउनका लागि सबै समूहका युवापुस्ताहरूले नैतिकता, विवेक, र देशप्रेमको बत्ती आम नेपाली जनताबीच निरन्तर जगाइराख्नु पनि उत्तिकै जरुरत पर्दछ ।

नाति ऊमेरका जेन-जीहरू, तिमीहरूको सरकार आयो भने पहिलो काम कम्तिमा तीन उद्योग पुनर्स्थापना वा स्थापाना गरेर मात्र नकाबधारीलेहरू ध्वस्त बनाएका सरकारी संरचना पुनर्रस्थापानामा लाग्नु होला ल !

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ०३ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन