काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले अर्थतन्त्रको केही महत्वपूर्ण सूचकमा नकारात्मक असर पारेको देखिएको छ ।
सरकारका विभिन्न निकायका तथ्यांकले वैदेशिक लगानीदेखि आन्तरिक कारोबारसम्म जेन–जी आन्दोलनले असर पारेको देखाएको हो ।
सरकारले चालु आर्थिक वर्षमा ५.५ प्रतिशतले आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । तर पछिल्लो समय प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आर्थिक वृद्धिदर घट्ने मुख्य कारणका रूपमा जेन–जी आन्दोलनलाई लिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरसम्बन्धी प्रक्षेपणलाई घटाएको छ ।
जेन–जी आन्दोलन २ दिनमात्रै भए पनि त्यसपछि नेपाली राजनीतिक र आर्थिक क्षेत्रमा व्यापक अन्योल देखिएको छ । जसकारण पछिल्लो एक महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचक नकारात्मक देखिएका छन् ।
तर चुनावको कार्यादेश पाएको अन्तरिम सरकार र मुख्य राजनीतिक शक्ति अझै पनि आर्थिक क्षेत्रका सूचक सकारात्मक बनाउन जिम्मेवार रूपमा प्रस्तुत भएको पाइँदैन ।
विदेशी लगानी प्रतिबद्धता घट्यो
कुन महिनामा कति प्रतिबद्धता ?
साउन – २४ अर्ब १० करोड ४९ लाख ९५ हजार
भदौ – ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार
असोज – २ अर्ब ४ करोड ५७ लाख ३२ हजार
साउनमा दुई ठूला र १२५ वटा साना कम्पनीका लागि विदेशी लगानीकर्ताको प्रतिबद्धता आएको थियो । उक्त महिनामा विदेशी लगानीकर्ताले विभिन्न ८ वटा कम्पनीको एक अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर खरिद सम्झौता पनि गरेका थिए ।
भदौमा भने साउनको तुलनामा वैदेशिक लगानीकर्ताको प्रतिबद्धता र सेयर खरिद सम्झौता दुवै घट्न पुग्यो । उद्योग विभागकाअनुसार भदौमा नेपालमा ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । साथै, सो महिनामा ५० करोड ४४ लाख रुपैयाँको सेयर खरिद सम्झौता भएको थियो ।
भदौमा ७ वटा ठूला उद्योग, ४ वटा मध्यम उद्योग र २२५ वटा साना उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।
भदौ अन्तिम साता जेन–जी आन्दोलनले देशमा गम्भीर असर परेपछि असोजमा वैदेशिक लगानीको प्रतिबद्धतामा ठूलो नकारात्मक असर परेको देखिन्छ ।
उद्योग विभागकाअनुसार असोजमा ७ वटा ठूला उद्योग, ४ वटा मध्यम र ३ सय साना उद्योगमा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै, उक्त महिनामा २ करोड रुपैयाँ बराबरको मात्रै सेयर खरिद सम्झौता भएको छ ।
बैंकिङ क्षेत्रको कर्जा र निक्षेप प्रभावित
नेपाल राष्ट्र बैंकको तथ्यांकले पछिल्लो महिना बैंकिङ क्षेत्रको निक्षेप र कर्जा प्रवाहमा समान विकास नरहेको देखाएको छ । सेप्टेम्बर १५ अर्थात् भदौ मसान्तसम्म बैंकिङ क्षेत्रमा ७३ खर्ब ३१ अर्ब निक्षेप संकलन भएको थियो ।
उक्त निक्षेप १५ अक्टोबरसम्म अर्थात् असोज २९ मा आइपुग्दा ७४ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा बैंकिङ क्षेत्रमा १ खर्ब २४ अर्बले निक्षेप बढेको छ ।
जबकी सेप्टेम्बर १५ अर्थात् भदौ मसान्तसम्म बैंकिङ क्षेत्रबाट ५६ खर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा असोज २९ सम्म आइपुग्दा यस्तो प्रवाह ५६ खर्ब ३३ अर्ब रुपैयाँ बराबर मात्रै पुगेको छ । अर्थात्, झण्डै एक महिनाको अवधिमा जम्मा ३ अर्ब रुपैयाँ कर्जा प्रवाहमा वृद्धि भएको छ ।
पर्यटक पनि घटे
जेन–जी आन्दोलनकै कारण पछिल्लो समयमा नेपालमा घुम्न आउने पर्यटकको संख्यामा गिरावट आएको छ । सन् २०२४ को सेप्टेम्बर महिनाको तुलनामा सन् २०२५ को सेप्टेम्बर महिनामा नेपालमा आउने पर्यटकको संख्यामा १८.३ प्रतिशतले कमी आएको छ ।
गत सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना पर्यटक नेपाल घुम्न आएका आए । जबकी सन् २०२४ को सेप्टेम्बरमा नेपालमा ९६ हजार ३०२ जना पर्यटक घुम्न आएका थिए ।
कारोना महामारीपछि पर्यटन क्षेत्रमा परेको असर पछिल्ला वर्षमा सुधारोन्मख भए पनि जेन–जी आन्दोलनको कारण फेरि प्रभावित हुनसक्नेमा सम्बन्धित क्षेत्रका व्यवसायीले चिन्ता प्रकट गर्न थालेका छन् ।
घरजग्गा कारोबार पनि नकारात्मक
जेन–जी आन्दोलनको नकारात्मक प्रभाव घरजग्गा कारोबारमा पनि देखिएको छ । अघिल्लो वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको असोज महिनामा घरजग्गा कारोबार र राजस्व आम्दानी घटेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही महिनामा ३० हजार ५२७ वटा लिखत पारित भएको थियो । जबकी चालु आर्थिक वर्षको असोज महिनामा २३ हजार ३५३ संख्यामा मात्रै लिखत पारित भएको छ । जुन कारोबार संख्या चालु आर्थिक वर्षका अन्य दुई महिनाको तुलनामा कम हो ।
त्यस्तै, चालु आर्थिक वर्षको असोज महिनामा सरकारले पुँजीगत लाभकरमार्फत १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही महिनामा सरकारले पुँजीगत लाभकरवापत १ अर्ब ११ करोड ६२ लाख ७१ हजार ७६९ रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो ।
चालु आर्थिक वर्षमा लिखत पारित
साउन – ३१ हजार ६२१
भदौ – २७ हजार ४९४
असोज – २३ हजार ३५३













प्रतिक्रिया