अर्थतन्त्रका मुख्य सूचकमा धक्का : वैदेशिक लगानी घट्यो, मुख्य सिजनमै आएनन् पर्यटक | Khabarhub Khabarhub

जेन–जी आन्दोलन

अर्थतन्त्रका मुख्य सूचकमा धक्का : वैदेशिक लगानी घट्यो, मुख्य सिजनमै आएनन् पर्यटक

बैंकिङ क्षेत्रको कर्जा र निक्षेपदेखि घरजग्गा कारोबारमा पनि असर


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले अर्थतन्त्रको केही महत्वपूर्ण सूचकमा नकारात्मक असर पारेको देखिएको छ ।

सरकारका विभिन्न निकायका तथ्यांकले वैदेशिक लगानीदेखि आन्तरिक कारोबारसम्म जेन–जी आन्दोलनले असर पारेको देखाएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ५.५ प्रतिशतले आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । तर पछिल्लो समय प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आर्थिक वृद्धिदर घट्ने मुख्य कारणका रूपमा जेन–जी आन्दोलनलाई लिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरसम्बन्धी प्रक्षेपणलाई घटाएको छ ।

जेन–जी आन्दोलन २ दिनमात्रै भए पनि त्यसपछि नेपाली राजनीतिक र आर्थिक क्षेत्रमा व्यापक अन्योल देखिएको छ । जसकारण पछिल्लो एक महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचक नकारात्मक देखिएका छन् ।

तर चुनावको कार्यादेश पाएको अन्तरिम सरकार र मुख्य राजनीतिक शक्ति अझै पनि आर्थिक क्षेत्रका सूचक सकारात्मक बनाउन जिम्मेवार रूपमा प्रस्तुत भएको पाइँदैन ।

विदेशी लगानी प्रतिबद्धता घट्यो

कुन महिनामा कति प्रतिबद्धता ?
साउन – २४ अर्ब १० करोड ४९ लाख ९५ हजार
भदौ – ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार
असोज – २ अर्ब ४ करोड ५७ लाख ३२ हजार

साउनमा दुई ठूला र १२५ वटा साना कम्पनीका लागि विदेशी लगानीकर्ताको प्रतिबद्धता आएको थियो । उक्त महिनामा विदेशी लगानीकर्ताले विभिन्न ८ वटा कम्पनीको एक अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर खरिद सम्झौता पनि गरेका थिए ।

भदौमा भने साउनको तुलनामा वैदेशिक लगानीकर्ताको प्रतिबद्धता र सेयर खरिद सम्झौता दुवै घट्न पुग्यो । उद्योग विभागकाअनुसार भदौमा नेपालमा ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । साथै, सो महिनामा ५० करोड ४४ लाख रुपैयाँको सेयर खरिद सम्झौता भएको थियो ।

भदौमा ७ वटा ठूला उद्योग, ४ वटा मध्यम उद्योग र २२५ वटा साना उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।
भदौ अन्तिम साता जेन–जी आन्दोलनले देशमा गम्भीर असर परेपछि असोजमा वैदेशिक लगानीको प्रतिबद्धतामा ठूलो नकारात्मक असर परेको देखिन्छ ।

उद्योग विभागकाअनुसार असोजमा ७ वटा ठूला उद्योग, ४ वटा मध्यम र ३ सय साना उद्योगमा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै, उक्त महिनामा २ करोड रुपैयाँ बराबरको मात्रै सेयर खरिद सम्झौता भएको छ ।

बैंकिङ क्षेत्रको कर्जा र निक्षेप प्रभावित

नेपाल राष्ट्र बैंकको तथ्यांकले पछिल्लो महिना बैंकिङ क्षेत्रको निक्षेप र कर्जा प्रवाहमा समान विकास नरहेको देखाएको छ । सेप्टेम्बर १५ अर्थात् भदौ मसान्तसम्म बैंकिङ क्षेत्रमा ७३ खर्ब ३१ अर्ब निक्षेप संकलन भएको थियो ।

उक्त निक्षेप १५ अक्टोबरसम्म अर्थात् असोज २९ मा आइपुग्दा ७४ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा बैंकिङ क्षेत्रमा १ खर्ब २४ अर्बले निक्षेप बढेको छ ।

जबकी सेप्टेम्बर १५ अर्थात् भदौ मसान्तसम्म बैंकिङ क्षेत्रबाट ५६ खर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा असोज २९ सम्म आइपुग्दा यस्तो प्रवाह ५६ खर्ब ३३ अर्ब रुपैयाँ बराबर मात्रै पुगेको छ । अर्थात्, झण्डै एक महिनाको अवधिमा जम्मा ३ अर्ब रुपैयाँ कर्जा प्रवाहमा वृद्धि भएको छ ।

पर्यटक पनि घटे

जेन–जी आन्दोलनकै कारण पछिल्लो समयमा नेपालमा घुम्न आउने पर्यटकको संख्यामा गिरावट आएको छ । सन् २०२४ को सेप्टेम्बर महिनाको तुलनामा सन् २०२५ को सेप्टेम्बर महिनामा नेपालमा आउने पर्यटकको संख्यामा १८.३ प्रतिशतले कमी आएको छ ।

गत सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना पर्यटक नेपाल घुम्न आएका आए । जबकी सन् २०२४ को सेप्टेम्बरमा नेपालमा ९६ हजार ३०२ जना पर्यटक घुम्न आएका थिए ।

कारोना महामारीपछि पर्यटन क्षेत्रमा परेको असर पछिल्ला वर्षमा सुधारोन्मख भए पनि जेन–जी आन्दोलनको कारण फेरि प्रभावित हुनसक्नेमा सम्बन्धित क्षेत्रका व्यवसायीले चिन्ता प्रकट गर्न थालेका छन् ।

घरजग्गा कारोबार पनि नकारात्मक

जेन–जी आन्दोलनको नकारात्मक प्रभाव घरजग्गा कारोबारमा पनि देखिएको छ । अघिल्लो वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको असोज महिनामा घरजग्गा कारोबार र राजस्व आम्दानी घटेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही महिनामा ३० हजार ५२७ वटा लिखत पारित भएको थियो । जबकी चालु आर्थिक वर्षको असोज महिनामा २३ हजार ३५३ संख्यामा मात्रै लिखत पारित भएको छ । जुन कारोबार संख्या चालु आर्थिक वर्षका अन्य दुई महिनाको तुलनामा कम हो ।

त्यस्तै, चालु आर्थिक वर्षको असोज महिनामा सरकारले पुँजीगत लाभकरमार्फत १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही महिनामा सरकारले पुँजीगत लाभकरवापत १ अर्ब ११ करोड ६२ लाख ७१ हजार ७६९ रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो ।

चालु आर्थिक वर्षमा लिखत पारित
साउन – ३१ हजार ६२१
भदौ – २७ हजार ४९४
असोज – २३ हजार ३५३

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ३ : ४७ बजे

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा