काठमाडौं– नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ ।
आज समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत बर्ष संकलित रकमको तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा संयोजक डंगोलले भनिन् , ‘राजस्व संकलन गर्न परिचालन गरिने टोलीमा स्थानीय परिवेश, सामाजिक अवस्था, संस्कार संस्कृति जानेका व्यक्ति खटाउनु पर्छ । यसका लागि महिला स्वयमसेविकाहरुको अतिरिक्त समयमा प्रोत्साहन सुविधा दिएर खटाउन सकिन्छ । उहाँहरु यसअघि नै समाजमा भिजी सक्नुभएकोले विवरण वास्तविक आउँछ । र, मापनयोग्य नतिजा आउँछ ।’
त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले, राजस्वको लक्ष्यमा पुग्न उपलब्ध जनशक्तिको अधिकतम उपयोग गर्नु पर्ने अवस्था रहेको बताए।
चालु आर्थिक वर्षको अहिलेसम्म प्राप्त राजस्वका विषयमा जानकारी दिँदै समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख दीपक अधिकारीले अहिलेसम्म कुल राजस्वमा २२ प्रतिशत र आन्तरिक राजस्वमा २० प्रतिशत लक्ष्य हासिल भएको जानकारी दिए ।
उनका अनुसार यस वर्षका लागि लक्ष्य राखिएको १५ अरब ११ करोड ४३ लाख रुपियाँमा मंसिर ७ गतेसम्ममा ३ अरब ३७ करोड २३ लाख रुपियाँ संकलन भइसकेको छ । गएको यही यसै दिनसम्ममा ३ अरब २६ करोड २२ लाख ६० हजार रुपियाँ राजस्व संकलन भएको थियो । यसरी गएको वर्षको तुलनामा यस वर्ष मंसिर ७ गतेसम्ममा ११ करोड १ लाख २६ हजार रुपियाँ वढी राजस्व संकलन भएको छ ।
आन्तरिक आयतर्फ १० अरब १२ करोड ६४ लाख रुपियाँ लक्ष्य राखिएकोमा अहिलेसम्ममा २ अरब ९ करोड ८३ लाख रुपियाँ राजस्व संकलन भएको छ । यसबाहेक यस वर्ष अनुदानबाट २ अरब ४७ करोड ६९ लाख १६ हजार रुपियाँ आय हुने लक्ष्य राखिएको छ ।
बैठकमा राजस्व संकलनका विद्यमान चुनौती, चुनौतीको सामना गर्न अपनाइएका विधि र यस पछि गर्नु पर्ने कामका विषयमा छलफल भएको थियो । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको क्षतिले व्यवसाय तथा व्यवसायिक प्रतिष्ठानमा परेको असर, असर न्यूनीकरणका लागि भएका प्रयत्न छलफलमा उठेको थियो ।
यस क्रममा विभागले गरेका कामका विषयमा जानकारी दिँदै अधिकारीले, महालेखा परीक्षकले विभिन्न आर्थिक वर्षमा औँल्याएका बेरुजुमध्ये राजस्व विभागले व्यक्ति र संस्था गरी ८ वटाबाट ३३ लाख २ हजार रुपियाँ बेरुजु असुल गरेको जानकारी दिए । उनका अनुसार घरबहाल सरोकार केन्द्र, होटल एशोसिएसन नेपाल, नेपाल नाइ संघलगायत २१ वटा वस्तुगत संघलाई व्यवसाय कर असुलीका लागि पत्राचार गरेको छ । लामो समयदेखि विज्ञापन कर नतिरेका डिजिटल बोर्डहरूको विषयमा अनुगमन प्रतिवेदनले विज्ञापन राख्न उपयुक्त हुने राय दिएका बोर्डबाट विज्ञापन कर असुल गरेको छ । विभागले १८ वटा गुनासाको समाधान गरेको छ ।
विगत वर्षका लक्ष्य र नतिजा
आर्थिक वर्ष २०७७-०७८ मा १० अरब ७६ करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ संकलन भयो । आ. व. २०७८-०७९ का लागि लक्ष्य ९ अरब ८ करोड रुपियाँ थियो । यसमा १० अरब ६० करोड रुपियाँ संकलन गर्यो ।
आर्थिक वर्ष २०७९र०८० मा १० अरब ४१ करोड रुपियाँ लक्ष्य राखेकोमा १० अरब २५ करोड रुपियाँ संकलन भएको थियो । आर्थिक वर्ष २०८०र०८१ मा १० अरब ८० करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ राजस्व संकलन भयो ।
आर्थिक वर्ष २०८१र०८२ मा १२ अरब ९० करोड लक्ष्य राखिएकोमा १० अरब ७४ करोड रुपियाँ राजस्व संकलन भएको थियो ।
काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क ९पर्यटक प्रवेश शुल्क०, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपो), दण्ड जरिवाना, मनोरञ्जन कर र मालपोत कर संकलन गर्छ ।













प्रतिक्रिया