काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका एक भरपर्दा र विश्वासिला नेता हुन् । एमालेका हरेक वार्ता र छलफलमा सहभागी हुने उनी वैचारिक र अध्ययनशील नेताका रुपमा चिनिन्छन् । पार्टीमा स्पष्ट वक्ताका रुपमा चिनिने उनी विषयमा गहिरो अनुसन्धान गर्ने नेता पनि हुन् । यस पटक मंसिर २७ देखि काठमाडौंमा हुने ११ औँ महाधिवेशनबाट ओली नै अध्यक्षमा कायम रहने ज्ञवाली बताउँछन् । उनी अहिले ओलीको विकल्प नभएको तर्कसहित महाधिवेश प्रतिनिधिले पनि यो कुरालाई अनुमोदन गर्ने बताउँछन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिँदा ओलीलाई फरक नपर्ने उनको तर्क छ । उनले नेतृत्वमा जान ४ वटा गुण चाहिने बताउँछन् । कम्तीमा नेतृत्वमा पुग्न चाहनेले सबैको नजरमा लायक हुनुपर्ने उनको तर्क छ । ‘सञ्चार गृहको उदाहरण दिँदा पनि २० औँ, ४० औँ वर्षको अनुभव भएको १५, २० जना सञ्चारकर्मी होलान् । तर ती सबै सम्पादक बन्छन् ? त्यसका लागि योग्य हुन्छन् ?’, उनी प्रश्न गर्छन् ।
दशौँ महाधिवेशनबाट उपमहासचिव बनेका ज्ञवाली आफैँ पनि यस पटक महासचिवमा जान चाहन्छन् । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन हुनुमा ओलीको दोष नभएको तर्क उनी गर्छन् । बरू त्यस आन्दोलनमा घुसपैठ भएको उनी बताउँछन् । भन्छन्, ‘जेन–जी आन्दोलनका क्रममा क्षति हुनुमा अध्यक्ष ओलीको गल्ती छैन । त्यसबेला नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको काम प्रभावकारी नभएको भए समीक्षा हुनुपर्छ भन्नेमा छलफल चल्नुपर्ने कुरा ठिक छ । तर भदौ २३ गतेको घटना हिंसात्मक हुनुमा उहाँको गल्ती छैन । बरु सरकारले चाहिनेभन्दा बढी उदारता देखायो ।’ आन्दोलनपछि ओली लोकप्रिय या अलोकप्रिय के छन्, त्यो एघारौँ महाधिवेशन र फागुनमा हुने भनिएको निर्वाचनमा हेर्न ज्ञवाली आग्रह गर्छन् ।
ज्ञवालीले ११ औँ महाधिवेशनमा ओलीकै प्यानलबाट महासचिव हुने तयारी गरेका छन् । खबरहबले अब महासचिव बन्ने तयारीमा हुनुहुन्छ भनेर सोधेको प्रश्नमा भने, ‘यसबारे धेरैले चासो राख्नुभएको छ । तर अहिले नै छलफल भइसकेको छैन । जिम्मेवारी लिन त तयार छु ।’
ज्ञवालीसँग एमाले महाधिवेशन तयारी, आगामी नेतृत्व, जेन–जी आन्दोलनपछि एमालेको दृष्टिकोण, आन्दोलनबारे धारणा, आगामी निर्वाचनमा एमालेको तयारी लगायतमा केन्द्रित रहेर कुरा गरेका छौँ ।
एमालेको महाधिवेशन नजिकिएको छ, यो पटक केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुन लागेको हो ?
हामीले पनि बाहिर कुरा सुनेका हौँ । गत बिहीबार च्यासलमा बसेको बैठकमा ईश्वर कमरेडबाहेक कसैले कुनै पदमा उठ्ने भनेर घोषणा गर्नुभएको छैन । ईश्वर कमरेडले मेरो उम्मेदवारी नेतृत्वमा रहन्छ भन्नुभएको छ । उहाँले १० औँ महाधिवेशनमा पनि तयार छु भनेको हुँ, तर मलाई रोक्नुभयो, यस पटक तयार छु भन्नुभएको छ । कमिटीभित्र कुरा नराखे पनि कतिपय साथीहरूको अभिव्यक्ति हेर्दा प्रतिस्पर्धामा आउन चाहेको भन्ने लागेको छ । पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनु सामान्य विषय हो । तर त्यो प्रतिस्पर्धापछि पनि पार्टी एक ढिक्का हुनुपर्छ । त्यसले पार्टी चिरा पार्नु हुँदैन, फुटतिर जानु हुँदैन ।
यदि ओली र पोखरेलबीच प्रतिस्पर्धा भए तपाईं कसलाई साथ दिनुहुन्छ ?
पहिला औपचारिक रूपमा ईश्वर कमरेडलाई घोषणा गर्न दिऊँ । मचाहिँ प्रष्ट छु, अहिले एमालेमा नेतृत्वलाई कमजोर पार्ने कुनै प्रयत्न उचित छैन । किनकि यतिबेला राष्ट्रसामु असहज परिस्थिति छ । यो बेला पार्टी कमजोर हुनुहुन्न, नेता र नेतृत्व कमजोर हुनुहुन्न । मेरो मात्रै होइन, अधिकांश नेताहरूको चहाना संकटको बेला ओली कमरेडले नै नेतृत्व गर्नुपर्छ भन्ने हो । केन्द्रीय कमिटीमा पनि धेरै साथीहरूको रुचि त्यही थियो । केपी कमरेडको विकल्प छैन पार्टीमा । अररू साथीहरू सहमतिमा आएर उहाँलाई सहयोग गर्न पनि सक्नुहुन्छ । मंसिर १३ गते प्रतिनिधि चयनपछि साथीहरू धेरै एक मन, एक चित्त भएर केपी कमरेडलाई साथ दिन सक्नुहुन्छ । मचाहिँ केपी कमरेडको विकल्पबारे चर्चा गर्नु उचित हुँदैन भन्ने ठान्छु ।
महाधिवेशनमा सहमतिको वातावरण तयार हुँदा वरिष्ठ उपाध्यक्षलाई कसरी मनाउने ? कसरी ओलीलाई नै तेस्रो पटक बनाउने ?
छलफल हुन्छ । तर अहिले अध्यक्ष ओलीको विकल्प छैन । कतिपय साथीहरूले पूर्ववत् पदलाई सुरक्षित राख्न पदको बार्गेनिङ गरेको हुनसक्छ । बढीभन्दा बढी कार्यकर्ताले कसको नाममा सहमति गर्छन्, त्यो हेर्नुपर्छ । तर अहिलेको अवस्थामा ओलीको विकल्पमा जान सकिँदैन । उहाँ नै अबको अध्यक्ष हो ।
ओली नै अध्यक्ष हुने भए त किन महाधिवेशन गर्नु भनेर ईश्वर पोखरेल पक्षीय नेताहरूले भनिरहनुभएको छ नि ?
उहाँहरूले के भन्नुभयो, त्यो कुरामा टिप्पणी गर्न चाहन्न । महाधिवेशनमा प्रतिस्पर्धा गर्न चाहनेका लागि अवसर छ । प्रतिस्पर्धाको ढोका खुल्ला छ । कार्यकर्ता र प्रतिनिधिले पत्याउँदा नेतृत्वमा जो पनि आउने सक्ने भयो । ईश्वर कमरेड अरू अथवा अरू जो पनि । तर महाधिवेशनमा चुनिएर आउँछु भन्दा कुनै नेताको बाटो रोक्नु हुँदैन । म फेरि चुनिएर पार्टी हाँक्न सक्छु भन्ने विश्वास छ भने आउन सक्छन् नि । तर अमुक मान्छेका नाममा महाधिवेशनको अर्थ छैन भन्नु हाँस्यास्पद हुन्छ ।
नेतृत्वका लागि ४ कुरा अपरिहार्य हुन्छ :
१. पार्टी पंक्ति र समाजमा उसको स्वीकायर्ता कस्तो छ ?
२. विगतका कठिन घडीमा उसले आफूलाई कत्तिको निष्ठावान बनायो ?
३. पार्टीलाई अगाडि बढाउने कुरामा उसको दृष्टिकोण कस्तो छ ?
४. क्षमता कस्तो र कत्तिको छ ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेका कारण उहाँले ईश्वर पोखरेलाई अगाडि बढाउनुभएको रे हो ?
यो त अलग–अलग विषय भयो । हामीले एउटा निष्कर्षमा पुगेर देशको राष्ट्रपति भएको मान्छेलाई सम्मानित हैयितमै रहनुस् भनेको हो । सम्मानित पदबाट पार्टी नेतामा फर्किदा उहाँहरूको निष्पक्षतामाथि प्रश्न उठ्छ भनेका हौँ । उहाँलाई सम्मान गरिएको हो । ईश्वर कमरेडलाई उहाँले साथ दिएको भन्ने कुरा मलाई थाहा भएन ।

तर अध्यक्ष ओलीले भण्डारी राजनीतिमा फर्किएपछि आफू असुरक्षित हुने डरले रोकेको भन्छन् नि ?
यो कुनै टिप्पणी गर्नुपर्ने र जवाफ दिनुपर्ने विषय नै होइन । एउटा अध्यक्षले नचाहँदा नवीकरण नहुने भन्ने यो तर्कै होइन । नेकपा एमाले त्यति कमजोर पार्टी हो र ?
एउटै व्यक्ति निरन्तर हुँदा नयाँ पुस्ताले अवसर पाउँछ त ? फेरि पार्टी निमार्णमा ओलीको भन्दा ईश्वर पोखरेलको बढी भूमिका छ भनेर त उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हामीसँग भन्नुभएको छ ?
अरू नेताले के भने भन्दा पनि नेतृत्व कस्तो छ भन्ने कुरा हो । यहाँहरूको सञ्चार गृहको उदाहरण दिँदा २० औँ, ४० औँ वर्षको अनुभव भएका १५, २० जना सञ्चारकर्मी होलान्, ती सबै सम्पादक बन्छन् ? त्यसका लागि योग्य हुन्छन् ? त्यसमा देखिने एकजना मान्छे बन्ने हो । खेलाडी पनि सबै क्याप्टेन बन्दैनन् । यस्तै अरू क्षेत्रमा पनि हुन्छ । यसमा पालो पुर्याउने कुरा छैन । योग्यता र क्षमताका आधारमा बन्ने हो ।
यहाँले ओलीको विकल्प छैन भन्नुभयो तर दुईतिहाइको प्रधानमन्त्री हुँदा जेन–जी आन्दोलनमा हेलिकोप्टर चढेर भागेको बिर्सनुभयो ?
यसमा मेरो कुरा कुनै पनि घटनाक्रमलाई एउटा कोणबाट मात्रै हेर्नु हुँदैन । २०१७ सालमा बीपी कोइरालासँग पनि दुईतिहाइ बहुमत थियो । उहाँ तरुण दलको भेलामा सम्बोधन गर्ने जाने क्रममा सेनाले गिरफ्तार गरेर ८ वर्ष जेल हाल्यो । त्यसलाई अयोग्यता भन्ने कि ? असफलता भन्ने ? भदौ २३ र २४ गते जुन किसिमका घटना भए । सरकारले त्यस्ता घटनाको किन पूर्वानुमान गर्न सकेन भनेर छलफल गर्न सकिन्छ । जेन–जी युवाले प्रदर्शन शान्तिपूर्ण ढङ्गले गर्ने सुरु गर्नुभयो । तर त्यो योजनाबद्ध ढङ्गले अनपेक्षित हिंसात्मक मुठभेटमा गयो । अघिल्लो दिन विद्यार्थीको ज्यान जाने दुःखद स्थिति निर्माण भयो । त्यसको जगमा भदौ २४ गते जे भयो, त्यो घटनालाई हामीले क्रान्ति वा आन्दोलन, महान् वीरहरू भन्न मिल्दैन । त्यो त लोकतन्त्रमाथिको हमला हो ।
जेन–जीको प्रदर्शन भड्काएर हिंसामा पुर्याउने र त्यसको जगमा देशलाई खराबी बनाउने विषय गलत कुरा हो । यी सबैलाई सोलोडोलो एकै ठाउँ राखेर हेर्न मिल्दैन । देश जल्दा गौरव गर्ने कुरामा सहमत हुन सकिँदैन । त्यसक्रममा थप क्षति नहोस् भनेर उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएका हो । जनधनको क्षति न्यून गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि अधिकांश ठूला घटना भएका छन् । त्यसले गर्दा यसैलाई आधार मानेर नेतालाई सफल–असफल भन्न मिल्दैन ।

तर प्रहरी र अन्य सुरक्षा अधिकारीले सूचना दिँदा पनि भदौ २२ गते प्रधानमन्त्रीले सनक देखाउनुभयो भन्ने छ नि ?
यो गलत कुरा हो । त्यसबेला राष्ट्रिय अनुसन्धान विभागले के रिपोर्ट गरेको थियो ? प्रहरीले के रिपोर्ट दिएको थियो ? सबै कुरा मिडियामा सार्वजनिक भइसकेको छ । उहाँहरूको रिपोर्टमा ५–७ हजार कलेजका र अन्य व्यक्ति भेला हुन्छन्, स्कुल–कलेजको युनिफर्ममा आउने भएर शान्तिपूर्ण हुन्छ भनिएको थियो । कलिला विद्यार्थी सडकमा उत्रिएकाले तर्साउने गरी कडी कडाइ गर्ने कुराले राम्रो सन्देश नदेला भनेर प्रशासनले ढुक्क भएर निषेधित क्षेत्रमा रोक्ने प्रयत्न नगरेको हो । निषेधित क्षेत्रमा रोक्न नखोजेको पनि हो । यो आन्दोलनलाई कुन हदसम्म लान सक्छन् भन्ने कुरामा प्रशासन बेखबर थियो । प्रशासन बेखबर मात्रै हो कि त्यहाँ अरू कुरा पनि जोडिएका थिए ? त्यो कुरा अनुसन्धानबाट आउँदै जाला । तर प्रहरीले यो तहको घटना हुन्छ भनेर अनुमान गरेको थिएन । र, प्रधानमन्त्रीलाई पनि जानकारी थिएन । तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङले अन्तर्वार्तामा यो कुरा बताउनु भएको छ । त्यसबेला विद्यार्थीको आन्दोलनमा घुसपैठ गरेर अचानक हिंसात्मक मोड दिइएको छ ।
शान्तिपूर्ण भनिएको आन्दोलन संसद् भवन प्रवेश गर्ने कोसिस गर्यो, सुरक्षा पोस्ट र कम्पाउन्ड कब्जा गर्ने कोसिस भयो । त्यसपछि प्रहरीले बल प्रयोग गरेको छ । यो क्रममा जे–जसरी जनधनको क्षति भयो, त्यो असाध्यै दुःखद छ । जेन–जीले माइतीघरमा जम्मा हुँदा फूलको हाँगा पनि नभाँच्ने भनेर प्रदर्शन गरेका थिए, उनीहरूले त्यसो गरेका होइनन् होला । शान्तिपूर्ण आन्दोलनलाई रक्तपातमा बदल्ने को थिए ? खोज्नुपर्ने त त्यहाँ होला नि ।
त्यसो भए तत्कालीन सरकार र प्रधानमन्त्री ओलीको कुनै गल्ती थिएन ?
हो । त्यो आन्दोलन हुनुमा उहाँको गल्ती थिएन । यत्रो क्षति हुनुमा उहाँको गल्ती छैन । सरकारको काम प्रभावकारी थिएन । समीक्षा हुनुपर्छ भन्ने विषयमा छलफल चल्नुपर्ने कुरा ठिक छ । जनअपेक्षा र सरकारको कार्यसम्पादनमा समस्या थियो होला । तर, भदौ २३ गतेको घटना हिंसात्मक हुनुमा उहाँको गल्ती छैन । बरु सरकारले चाहिनेभन्दा बढी उदारता देखाएको हो । घुसपैठको शंका नगरी यसलाई समयमै रोक्न नसक्नु चाहिँ प्रशासनको गल्ती हो । प्रहरी र प्रशासनमा सूचना पूर्वअनुमानको अभाव देखिन्छ । सरकारले माइतीघर आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर अनुमति दिएको हो । विद्यार्थीको आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर सहयोग गरेको देखिन्छ । त्यो घटनामा कारक तत्व र सूत्रधार अरू नै छन्, जेनजी होइन ।
जेन–जीले प्रधानमन्त्रीलाई बुझाएको सम्झौतापत्र पढ्नुभयो होला । त्यहाँ त तत्कालीन सरकारमा प्रधानमन्त्री र सम्बन्धित अर्थात् गृहमन्त्रीमाथि कारबाहीको कुरा छ । ७० नाघेका नेता बिदा हुनुपर्ने माग पनि छ नि ?
पहिलो : कुन दलले कस्तो विचार लिने, नेता कस्तो बनाउने, कस्तो संरचना बनाउने भन्ने कुरा सम्बन्धित दलको हो । दलले जनभावना बुझ्नुपर्छ । तर विधान र नेता कस्तो हुनुपर्छ भनेर दलले नै छान्ने कुरा हो ।
म यहाँमार्फत् जेन-जी साथीहरूलाई आग्रह गर्छु, उमेर एउटा संख्या हो । कहिलेकाहीँ एक कार्यकाल मात्रै शासन गरेकाले पनि खराब काम गर्न सक्छन् । मुख्य कुरा नेतृत्वमा बस्नेले देशका लागि के गर्यो ? कस्तो छाप छोड्यो भन्ने हो ।
दोस्रो : नयाँ पुस्ता राजनीतिमा सक्रिय हुँदा पुरानो पुस्ता स्वाभाविक बिदा हुँदै जान्छ । त्यसका लागि युवा साथीहरूले पार्टी खोलेर जान सक्नुपर्छ । उमेरको समय तोक्नै पर्दैन । आफैँ पुरानो पुस्ता बिदा हुन्छ । युवा पुस्ताले विचार मिल्ने राजनीतिक दलमा आबद्ध भएर निर्वाचन लडेर आए उमेरको समय सीमा आवश्यक पर्दैन, आफैँ विस्थापित होइन्छ ।
विभिन्न मुलुकका पाका मान्छेले राम्रो गरेका छन् । कतै युवाले पनि गरेका छन् । तर यसका लागि निर्वाचन अपरिहार्य हुन्छ । युवाले देश परिवर्तन गर्ने सङ्कल्प राखेकोप्रति मेरो पूर्ण समर्थन छ । तर सबै पुराना नराम्रा नयाँ राम्रा भनेकोमा मेरो विमति छ ।
तेस्रो : घटनाको जरैसम्म अध्याय हुनुपर्छ । जो–कोहीलाई पनि यत्तिकै दोष लगाउन मिल्दैन । सत्य कुरा आउनुपर्छ ।

अहिले देशमा अलोकप्रिय पात्र केपी ओली हुन् भनिएको छ, यहाँले पनि देख्नुभएकै छ विभिन्न स्थानमा एमालेविरुद्ध प्रतिवाद भइरहेको छ । अध्यक्षमा ओली नै ल्याएर निर्वाचन फेस गर्न गाह्रो होला नि ?
यहाँले कुन जनमत लिनुभयो र यसो भने भन्ने कुरा हो । यो मनगढन्ते टिप्पणी हो । सामाजिक सञ्जाललाई आधार मानेर यस्तो कुरा गर्नुभएको भए यो भाष्य गलत छ । भदौ २३ गतेपछि पुराना पार्टी सकिए भन्ने भाष्य जबरजस्त निर्माण भएको छ । एमालेले दुई महिनाको छोटो अवधिमै आफूलाई सम्हालेर पुनर्व्यवस्थित गरिसकेको छ । एमालेका नेता अलोकप्रिय भनेर भन्ने कुराले यो निर्वाचनलाई असर गर्दैन । अघिल्लो निर्वाचनमा सबैभन्दा धेरै मतान्तरले जितेको नेतामध्ये हुनुहुन्छ ओली । त्यसपछि अर्को निर्वाचन भएको छैन ।
तर एमाले नेताहरूमाथि प्रहार भइरहेको छ नि ? जेन–जी आन्दोलन पनि सामाजिक सञ्जालको जगमा भएकाले यसलाई सामान्य हिसाबले हेर्न मिल्छ र ?
कुनै पनि नियोजित प्रहारलाई नेताको लोकप्रियता–अलोकप्रियताको मापका रुपमा हेर्नु हुँदैन । अराजकतालाई पार्टी र नेताको अलोकप्रियताको मापक बनाइए एकजना मान्छे कुनै कार्यक्रममा उभिएर ढुङ्गा हान्छ । त्यसलाई जनताले विरोध गरे भनेर मापन गरिए ? कालो झन्डा देखाएकोलाई मापन गरिए ? यो मापनको तरिका उचित हुँदैन । निर्वाचनबाहेक पार्टीको लोकप्रियता मापन गर्ने माध्यम अरू हुँदैन । सामाजिक सञ्जालमा त जे पनि हुन्छ । मिस इन्फरमेशनको बाढी नै छ । यहाँहरू मूलधारका मिडियामा बसेकालाई पनि थाहा छ । मिस इन्फरमेशन कति छन् र तीनले सत्य सूचना ओझेलमा पारेका छन् भनेर । सामाजिक सञ्जालका अपुष्ट र गलत कुराले कसरी मिडियाको विश्वसनीयतामा असर पारेको छ भनेर । सामाजिक सञ्जालमा आउने एकतर्फी सूचना या टिप्पणीलाई आधार मानेर निष्कर्ष निकाल्नु उचित हुँदैन ।
भनेपछि नेतृत्व परिवर्तन नभए पनि यहाँहरूलाई निर्वाचन फेस गर्न गाह्रो छैन ?
पहिलो : चुनौती छ । पहिलो कुरा त देश, लोकतन्त्र संकटमा छ । संविधान नै अप्ठ्यारो अवस्थामा छ । सबै पार्टीलाई समस्या छ । यो प्रश्न एमालेका लागि मात्रै होइन, अरूका लागि पनि छ । यही संकटमा नै पार्टीहरूको परीक्षण हुन्छ ।
दोस्रो : नयाँ पुस्ता समेट्नकै लागि महाधिवेशनमा हरेक निर्वाचन क्षेत्रबाट १, १ जना ४० वर्षमुनिका नयाँ पुस्ता समेट्न लागेको यहाँलाई थाहा छ । केन्द्रीय कमिटीमा पनि निश्चित प्रतिशत नै तोकेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन खोजिएको छ । हाम्रो पार्टीले नयाँ पुस्ता ल्याउन कोटा नै तोकेको छ । हामीले नयाँ पुस्ता ल्याउँदैछौँ । तर नेतृत्वमा अहिले नै सम्भव छैन । महाधिवेशनपछि हामीलाई निर्वाचन फेस गर्न गाह्रो छैन ।
अन्त्य, ११ औँ महाधिवेशनमा पुराना नेता दोहोरिँदा नयाँ विचार र नीति आउला त ?
यो कुरा महाधिवेशन प्रतिनिधिले नै निर्णय गर्नुहुन्छ । उहाँको विवेकमाथि यही निर्णय हुन्छ भन्नु उचित नहोला । महाधिवेशन प्रतिनिधिको विवेकलाई निर्णय गर्ने कुरा छोड्ने हो । तर एमालेलाई कस्तो नेतृत्व दिने भन्ने कुरामा पार्टी पङ्क्ति सचेत छ ।













प्रतिक्रिया