काठमाडौं– कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र वृहत ट्रेड शो, कस्मेटिका २०२५ यही डिसेम्बर २६ देखि २८ सम्म काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा हाउस अफ राजकर्निकारद्वारा सञ्चालन हुन लागेको छ ।
नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोगमा संचालन हुने यस एक्स्पोमा वाव म्यागजिन मिडिया पार्टनर, वेवसर्फ़र आईएसपी पार्टनर र सागर आर्ट सर्भिस प्रिन्ट पार्टनरका रूपमा रहेका छन् ।
कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक,आयातकर्ता, आपूर्तिकर्ता तथा व्यासायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ ।
बी टु बी र बी टु सी दुवै वर्गलाई लक्षित गरिएको यो एक्स्पोमार्फत् कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र शैली प्रदर्शन गरिनेछ ।
कस्मेटिका २०२५ मा सहभागी हुने प्रदर्शकहरूमा कस्मेटिक ब्रान्डहरू, सौन्दर्य उत्पादक, स्किनकेयर तथा हेयरकेयर कम्पनीहरू, पर्सनल केयर र वेलनेस ब्रान्डहरू, प्याकेजिङ कम्पनीहरू, कस्मेटिक टेक्नोलोजी निकायहरु, ब्यूटी स्कूलहरू, प्लास्टिक सर्जरी क्लिनिकहरू, हेयर केयर तथा हेयर इम्प्लान्ट क्लिनिकहरू, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरू समावेश छन् ।
त्यसैगरी, आगन्तुकहरूमा उत्पादक, आयातकर्ता, वितरक, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू रहनेछन् ।
कस्मेटिका २०२५ केवल उत्पादन र सेवाको प्रदर्शनी मात्र नभई सौन्दर्य र वेलनेसको उत्सवसमेत हो । कार्यक्रम अवधिभर विभिन्न विशेष गतिविधि र कार्यक्रमहरू सञ्चालन हुनेछन् । कस्मेटिक्स, सौन्दर्य र वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूलाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल र स्याम्पल वितरण, विशेष सेल्फी कियोस्क, ब्रान्ड लन्च कार्यक्रम, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयर सम्बन्धी कार्यशाला र सेमिनार, साथै विज्ञहरूसँग प्रत्यक्ष परामर्शको व्यवस्था रहनेछ ।
वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी, इसास ब्युटी लगायतका प्रस्तुति तथा सत्रहरू कस्मेटिका २०२५ का प्रमुख आकर्षण हुनेछन् ।
पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस उत्पादन र सेवाको बजार उल्लेखनीय रूपमा विस्तार भएको छ। सामाजिक मूल्य, जीवनशैली र ट्रेन्डमा आएको परिवर्तनका कारण कस्मेटिक्सप्रतिको माग तीव्र रूपमा बढेको हो ।
उपभोक्ताहरू अहिले आफ्नो व्यक्तिगत छवि, स्वास्थ्य र आत्मविश्वास बढाउने विभिन्न उत्पादन तथा सेवाबारे पहिलेभन्दा बढी सचेत छन् । यी सबै कारणले सौन्दर्य तथा पर्सनल केयर क्षेत्रमा खर्च बढ्दै गएको देखिन्छ । आजको समयमा मानिसहरू सामाजिक तथा डिजिटल प्लेटफर्ममा बढी सक्रिय भएकाले आफ्नो रूप–रंग र प्रस्तुतीकरणमा विशेष ध्यान दिन थालेका छन् ।
व्यक्तिगत हेरचाह तथा वेलनेस उत्पादनको माग बढ्नुको अर्को कारण उपभोक्ताको बढ्दो खर्च गर्न सक्ने क्षमता पनि हो । यस क्षेत्रका प्रमुख उपभोक्ता १६ देखि ३० वर्ष उमेर समूहका, शिक्षित, रोजगारीमा संलग्न र शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरू हुन् ।
कुल कस्मेटिक्स बिक्रीको करिब ६० प्रतिशत हिस्सा काठमाडौँ उपत्यकामा केन्द्रित छ। बढ्दो संख्यामा महिलाहरू व्यावसायिक रूपमा सक्रिय, आर्थिक रूपमा सशक्त र खरिद निर्णयमा स्वतन्त्र बन्दै गएका छन्। बजार उपभोगको करिब ८० प्रतिशत हिस्सा महिलाहरूले ओगटेका छन् भने पुरुष उपभोक्ताको सहभागिता पनि क्रमशः बढ्दै गएको छ।
हाल नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब रु. २३.६ अर्ब पुगेको छ। सन् २०२५ सम्म नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर उत्पादनको आयात रु. २०.४ अर्ब पुग्ने अनुमान गरिएको छ ।
यी उत्पादनहरू मुख्यतः भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जापान, युरोपेली संघ तथा अमेरिकाबाट आयात हुने गरेका छन् । उद्योगका उत्पादक, आयातकर्ता तथा विज्ञहरूको अनुमान अनुसार यो बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ ।
नेपालको कस्मेटिक्स बजार निरन्तर विस्तारोन्मुख अवस्थामा रहेको र निकट भविष्यमा यसको गति कम हुने संकेत नदेखिएकाले उत्पादक र वितरकहरूका लागि नेपालमा आफ्नो उपस्थिति मजबुत बनाउन कस्मेटिका २०२५, एक उत्कृष्ट अवसर हो ।
उत्पादन, सरोकारवालाहरू, ज्ञान आदान–प्रदान र नेटवर्किङसहित सौन्दर्य, पर्सनल केयर र वेलनेसको एक विशिष्ट उत्सवका रूपमा कस्मेटिका २०२५ प्रस्तुत हुनेछ ।













प्रतिक्रिया