नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन « Khabarhub

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन



काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल आईएमई र नेपाल बैंकका काउन्टर भेटिन्छन् ।

 कार्यालय हातामै रहेका चार-चारवटा काउन्टर विद्यार्थीकै सहजताका लागि राखिएका हुन्। त्यहीकारण विद्यार्थीले कार्यालयबाट सेवा लिँदै गर्दा तिर्नुपर्ने दस्तुरको लागि बाहिर धाउनु पर्दैन ।

तर, यसरी सेवा दिँदादिँदै पनि विद्यार्थी दस्तुर तिर्नकै लागि कम्तीमा आधादेखि एक घण्टासम्म लाइनमै बस्नुपर्ने बाध्यता छ ।

छिटोछरितो सेवा दिन कार्यालयसँग अन्य कुनै विकल्प नभएको पनि होइन । विद्यार्थीको आन्दोलनसमेत अचेल डिजिटल माध्यमबाटबाट आह्वान हुने गर्छ । तर तिनैले पढ्ने विश्वविद्यालयले क्षणभरमै दिन सक्ने सेवा अझै पुरानै शैलीमा चलाइरहेको छ । केही बेरमा दिन सकिने सेवाका लागि त्रिविले अझै विद्यार्थीलाई लाइनमा राखेर सास्ती दिइरहेको छ ।

अझ हास्यास्पद कुरा त के छ भने तिनै काउन्टरका चारैतर्फ ‘लाइन होइन अनलाइन रोजौँ’ भन्ने डिजिटल भुक्तानी प्रेरित नारा टाँगिएका छन् । ती नारा देखेपछि दाजुको स्नातक तहको प्रमाणपत्र लिन कार्यालयसम्म आएका ईश्वर रिमाल सोधपुछका लागि काउन्टरसम्म पुगे । तर त्यहाँबाट उनले नाराअसारको सेवा पाउन सकेनन् । अन्तत: उनी त्यसबापतको दस्तुर तिर्न एक घण्टा लाइनमा उभिए ।

‘दाजुले अछामबाट स्नातक पढ्नुभएको । म यहीँ बानेश्वरमा बस्ने हुँदा हिजोदेखि उहाँको हराएको सर्टिफिकेटको प्रतिलिपि लिन धाएको धायै छु । काम हुँदैन । सबै काम अनलाइनबाट हुने भए दाजुले घरबाटै गर्नुहुन्थ्यो । समय बर्बाद भएको छ । यताबाट उता, उताबाट यता पठाउनुहुन्छ, मानसिक तनाव उस्तै हुँदोरहेछ’, रिमाले गुनासो पोखे । 

बिहीबार हुने त्रिविको ५१ औँ दीक्षान्त समारोहबाट दीक्षित हुन ललितपुरको भैँसेपाटीबाट ट्रान्सक्रिप्ट लिन आएकी सञ्जु कुशुवरको गुनासो पनि उस्तै छ । 

‘दुई घण्टा भयो पनिका परिसरमा घुमिरहेको छु । हामीलाई कता जाने थाहा हुँदैन । सोधपुछका लागि सहजकर्ताको व्यवस्था गरिदिए सहज हुने थियो’, उनले थपिन्, ‘आफ्नै अगाडि लेखिएको ‘लाइन होइन अनलाइन रोजौं’ भन्ने नारातर्फ हेर्दै उनले भनिन्, ‘यसरी लेखेर मात्रै हुँदैन, सुविधा दिनुपर्‍यो नि !’

वीरगञ्जदेखि दाइको मार्कसिट निकाल्न आएका अर्का विद्यार्थी सत्यम कुशवाह भन्छन्, ‘दाइको काम लिएर आएको, एक घण्टामा बल्ल त भौचर तिरेँ । अब अरू काम कतिबेला सकिने हो? थाहा छैन ।’

भक्तपुरबाट आएकी सरिता काफ्ले परीक्षा नियन्त्रण कार्यालय मात्रै नभई त्रिविका विभागमा पनि अनलाइन प्रणालीमा समस्या रहेको बताउँछिन् । 

‘त्रिविका विभिन्न विभागमा अनलाइन प्रणाली छ । अनलाइनबाट डिपार्टमेन्टलाई शुल्क तिरे पनि प्रशासनमा बिल काटेर नबुझाएसम्म प्रमाणित हुँदैन । त्यसबारे प्रशासनलाई प्रश्न गर्दा डिजिटल्ली खातामा एक दिनको पैसा आउने हुँदा अडिटले नमानेपछि यस्तो गर्नुपरेको जवाफ दिनुहुन्छ । आवश्यकता अनुसार प्रणाली विकास गर्ने जिम्मा कसको?’, उनी प्रश्न गर्छिन् । 

प्रत्येक कोठैपिच्छे भोग्नुपरेको उल्झनले उता जागिर पनि जाला भन्ने त्रास रहेको उनले बताइन् ।

‘कार्यालयमा बिदा मागेर प्रमाणपत्रमा भएको गल्ती सच्याउन ४ दिनदेखि म धाइरहेकी छु । यहाँ पनि काम हुँदैन । कर्मचारीले प्रष्टसँग प्रक्रिया बताइदिए सहज हुने थियो, त्यसो गर्दैनन् । यता काम हुँदैन, उता जागिर जाला भन्ने त्रास हुन्छ’, उनले गुनासो पोखिन् ।  

यस्तै त्रिविले फर्म भर्ने, प्रवेशपत्र निकाल्ने लगायत सेवा अनलाइन प्रणालीबाट गर्दा धेरै सहज भन्दै देशकै पुरानो विश्वविद्यालयका सबै सेवालाई अनलाइन बनाउनुपर्ने उनी सुझाउँछिन् । 

उसो त यसै वर्षदेखि कार्यालयले प्रतिलिपि, ट्रान्सक्रिप्ट लिने, आवेदन फारम भर्ने लगायतका दश सेवा अनलाइनमार्फत् गर्न सकिने बनाइसकेको छ । विद्यार्थीको गुनासो सुन्दा कतिलाई यसबारे जानकारी नै छैन । जानकारी भए पनि स-शरीर उपस्थित हुनैपर्ने भएपछि अनलाइन सेवामा विद्यार्थीको रुचि देखिएको छैन ।

यस्तै अनलाइनबाट फारम भरेका विद्यार्थी सजना भूल भन्छिन्, ‘मैले अनलाइन फारम भरेर ८०० तिरेँ, त्यो केही काम लागेन । यतै आएर फारम भर्नुपर्‍यो ।’ उनका अनुसार १५ दिनमा हुनुपर्ने काम एक महिनामा बल्लतल्ल भयो ।

के भन्छन्, सह-परीक्षा नियन्त्रक कुलौनी ?

परीक्षा नियन्त्रण कार्यालयले १० प्रकारका सेवा यसै वर्षदेखि अनलाइनमार्फत् गर्न सकिने व्यवस्था गराएका छौँ । विद्यार्थी त्यसमा खासै आर्कषित देखिएनन् । जसकारण अनलाइन आवेदन दिन सहजकर्तासमेत व्यवस्थापन गर्ने तयारीमा छौं । 

बैंकको हकमा पनि समन्वय गरिरहेका छौं । हरेक संकायमा लिङ्क गर्न प्राविधिक समस्या आएको छ । त्यसैले अहिले अनलाइन भुक्तानीमा प्रणाली सुधारको काम भइरहेको छ । केही समयभित्रै डिजिटल भुक्तानी कार्यान्वयनमा आउँछ । हामीले दिएको सुविधा उपयोग गर्न विद्यार्थी तयार देखिएनन् । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ५५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि