म घुरन चौधरी वर्ष –३८ । बाबु दरबारी चौधरी र आमा फुर्कीवती चौधरीको कान्छो छोरो घुरन । गर्मी महिनाको बिहानपखको सित्तलमा मस्त निद्रामा छु । भान्जा ! ए भान्जा.. तनिक झम झम उठू त हमर घरमे एकटा समस्या भ्यागेले, छिटो करु त.. । बूढा खाँटी मगर भए पनि थारू बहुल क्षेत्रमा हुर्केकोले हाम्रो थारू मैथिली भाषा नै बोल्छन् हामीसँग ।
आँखा गारो गरी खुल्यो यसो घडी हेरेको बिहानको ४ः३५ भएको रहेछ । अल्छी मान्दै उठेर भर्याङमा बसेर हाई काढ्दै सोधेँ– के भो मामा ? एउटा घाईते मान्छे अर्धचेत अवस्थामा मेरो घर आइपुगेको छ लौन झट्टै जानु पर्यो । बुढा आत्तिइरहेका थिए । चनाखो हुन नसकेको मेरो शरीर र मस्तिष्क एकै पटक चङ्गा भो ।
छिमेकतिर अरुलाई पनि हल्ला गर्न लगाएँ । रक्तमुछेल अवस्थामा एकजना मानिस चटाइमा पल्टिरहेको थियो । यस्तो अवस्थाको मान्छे यति राती नै घर आइपुग्दा लामिछाने बुढा आत्तिएर मलाई गुहार्न पुगेछन् । सोधीखोजी गर्यौँ, उनी बोल्न सक्ने अवस्थामा थिए । तर गारो भइरहेको आभास हुन्थ्यो ।
गणेश परियार रहेछ नाम । घर भोजपुर भए पनि अहिले गाईघाटतिर परिवार बस्ने गरेको र आफू जिल्लाको पूर्वतिर रहेको ब्यारेकमा सेनामा कार्यरत रहेको बताए । बिहानको राती नै गाईघाट आँखा जाँच गर्न र परिवारसँग पनि केही समय भेट गरौँ भनी साइकलमा बिहानै हिँडेका रहेछन् ।
दुर्भाग्यवस बिहानको अँध्यारोमा भर्खरै स्तरोन्नति गर्न सुरु गरिएको लामिछाने मामाको घर नजिकै कच्ची ओरालो सडकको घुम्तीमा लड्न पुगेछन् । खोल्सामा लगाएको ह्युम पाइपको लागि बनाइएको पक्की पर्खालमा टाउको बज्रन पुगेछ। देब्रे आँखामाथि निधारमा गहिरो चोट थियो । अझै रगत बगिरहेको थियो ।
त्यस्तो चोट लागेर पनि २ सय मिटर जति परको बुढाको घरमा बलेको टुकी बत्तीको उज्यालो देखेर घस्रँदै रगत बगाउँदै त्यहाँसम्म पुग्न कम्ता कठिन भयो होला ! पीडा मिश्रित स्वरमा उनी भनिरहेका थिए । कृपया मेरो घर र ब्यारेकमा खबर गरिदिनुस् । पहिले एम्बुलेन्सको जरुरी रहेको र अवस्था नाजुक रहेको बताउँदा पनि उनले घरमा जानकारी गराए । उनीहरुले नै एम्बुलेन्स लिएर आउने बताए ।
तर तेतिन्जेल ढिलो हुन सक्ने बताउँदा पनि उनी मानेनन् । पहिले अस्पताल लाँदै गर्दा हुने थियो तर उनी खै किन मानेनन् । त्यो समय हामी कसैसँग फोन थिएन । स्काईफोन भर्खरै सुरु भएको जमाना थियो सायद । गाउँभरिमा व्यक्तिगत मोबाइल फोन बोक्ने सौभाग्य उनै लामिछाने मामालाई मात्र थियो ।
उनका आर्मी छोराले बुढाबुढी मात्र बस्ने घरमा कुराकानीको सहजताको लागि त्यो स्काई मोबाईल किनिदिएका थिए । घाईते गणेशको आग्रहमा उनी लडेको स्थान नजिकै छुटेको उनको सानो झोला ल्यायौँ । र त्यहाँ भएको पर्सको डायरीबाट नम्बर लिएर उनकीश्रीमती र ब्यारेकमा जानकारी दियाैँ ।
चाँडो एम्बुलेन्सको आवश्यक भएको बतायाैँ । हामिलाई एम्बुलेन्स बोलाउन दिएनन् । उतैबाट लिएर आउने कुरामै जोड थियो उनको । झन्झन् अवस्था हेर्दा गम्भीर हुँदै गएको थियो । ढिलो गरी उनकी श्रीमती र भाइ एम्बुलेन्स लिएर आए । उनको श्रीमतीको अनुरोधमा मैले र विष्णुले पनि सहयोग गर्याैँ– बेलटार अस्पतालसम्म पुर्याउन।
त्यहाँ उपचार सम्भव हुने कुरै थिएन । घाइतेको बोलीसमेत बन्द भैसकेको थियो । तत्कालै धरान लान सुझाव दियो । बेलटारबाट हामी घर फर्कन बिदा माग्यौँ । उनकी श्रीमतीले कृतज्ञता स्वरुप हात जोडिन्, बोल्न सकिनन् । हामीलाई उपचार असम्भव जस्तो लाग्दै थियो । आफ्नै दिनचर्यामा लागियो ।
करिव एक महिनापछि उनै लामिछाने मामाले बोलाउन पठाएछन् । किन रैछ भन्दै गयौँ । भान्जा.. तोहोर फोन आवै वाला छै तनिक यते रुक.. । तिनताक गाउँमा सार्वजनिक फोन एउटा र यही एउटा फोन भएको याद छ । कसले गर्याे होला सोचमग्न हुँदै गर्दा फोनको घण्टी बज्यो मामाले फोन मतिर तेर्साए ।
मः हेल्लो
उः हेल्लो ! (मलिन महिला आवाज सुनियो) तपाईं गणेश दुर्घटनामा पर्दा हामीलाई फोन गर्ने र अस्पतालसम्म पुर्याउन सहयोग गर्ने साथी हो ?
मः हजुर हो ।
तर उताबाट केही आवाज आएन ।
मः हजुर म र मेरो साथी नै हो अस्पताल पुर्याउने। कस्तो छ उहाँ ठीक हुनुभो ?
उ : हैन ठीक छैन
मः हो र ?
उः हजुर उहाँ रहनु भएन अब । तपाईंहरुको सहयोगको लागि आभार व्यक्त गर्न कल गरेकी हुँ । यही महिना…..गते उहाँको १३औँ दिनको पुण्य तिथि छ कृपया पितृप्रसाद ग्रहणका लागि आइदिनु होला साथी पनि लिएर । दुर्घटनाको दिन यही फोनबाट कल गरेको हुनाले उनले नम्बर राखेकी रहिछन् । तर हामी मलामी गएका थिएनाैँ । त्यो दिनको लागि बोलाउँदा अनिवार्य जानुपर्छ भन्ने मान्यता छ । त्यसैले नाइँ भन्न सकिएन । तेह्रौं दिनको दिन नवराजको सुझावअनुसार गणेशको फोटो ठूलो बनायर तेसैमा श्रद्धाञ्जलि लेखेर दियौं ।
अर्को महिना दिन जति बितेको थियो, पुन एकदिन लामिछाने बुढा कराए । ए..भान्जा एकछिन पछि फोन आउँछ यता आउनु ।
मः हेल्लो
मिराः हेल्लो म मिरा..गणेशको श्रीमती गाईघाटबाट ।
मः हजुर चिने..अनि आराम हुनुहुन्छ ?
मिराः हजुर आराम छु , तपाईंसँग एउटा सहयोग मागौँ भनेर ।
मः भन्नुस् न के होला मिल्ने र सकेको गरौँला नि ।
मिराः मलाई त्यहाँ गणेश दुर्घटनामा परेको स्थान हेर्न मन छ । म भोलि आउँछु के मलाई देखाइ दिन सक्नु हुन्छ ?
मः हुन्छ आउनुस् ।
भोलिपल्ट देवर पर्नेसँग उनी आइन् । ठाउँ देखाइ दिएँ । डिलमा बसेर धेरैबेर टोलाइरहिन् । सम्भवत: थुप्रै आँसु पनि बगाइन् । उनको देवर र मैले उनलाई एक्लै छोडिदियौँ, मन खोलेर हेर्न, रुन सकून् भनेर । त्यही दिन थाहा भयो– गएको हिउँदमा मात्र उनीहरुको विवाह भएको रहेछ ।
राम्रो नम्बर ल्याएर एसएलसी पास गर्नासाथ अभिभावकहरुले आफ्नै जातको जागिरे केटा भनेर विवाह गरिदिएकोले खोटाङ छोडेर गाईघाट बजार नजिकै त्रियुगाको हावा झैं गर्मी झेल्न आइपुगेकी रहिछिन् । मेरो घरसम्म जानको लागि प्रस्ताव गरें । हाम्रोतिर चिया चिसो खाने चलन थिएन । माटोको घैलाको चिसो पानीले स्वागत गरें । धेरै बेरसम्म सुखदुःखका कुरा ग¥यौं ।
मैले पनि आफू यस्तो परिवारको र दाजु बहिनी मात्र बस्ने गरेको, विद्यालय शिक्षा पनि अन्तिम वर्षमा आइपुग्दै गर्दा परिस्थिति बस छोड्नु परेको बताएँ। आमा आफू बालक छँदै बहुला कुकुरले टोकेर रेविजले बित्नुभो, आफूलाई त्यति याद नभएपनि भन्नेहरु त्यसै भन्थे । आमा आखिरीदिनहरुमा रेविजको असरले कुकुर जस्तै आवाज निकाल्दै कराउनु हुन्थ्यो रे !
उपचार हुन सकेन । बुवा पनि दुई वर्ष अगाडि बित्नुभो । त्यसैले आफ्नो पढाइ त्यतिमै टुङ्गिएको थियो । दुई दाजुहरु पहिलेबाट नै अलग्गै बस्ने गरेको र अहिले आफू र बहिनी मात्र संगै बस्ने गरेको बताउँदा उनी खुट्टाको बुढिऔंलाले भुईं कोट्याउँदै थिइन् । म त्यस्तो पृष्ठभूमिको भएको थाहा पाउँदा उनलाई पनि करुणा जाग्यो होला ।
जे भयो भयो अब आउने दिन राम्रो होस भन्ने कामना गरें, सकेसम्म पढाइलाई निरन्तरता दिन सुझाव दिएँ । अन्तमा उनले आफ्नो नम्बर दिँदै बेला बेलामा सम्झिनु होला भन्दै बिदा भइन् । विवाहलगतै आफ्नो श्रीमानले किनिदिएको स्काई फोन रहेछ उनीसँग । प्रणयका मिठा पलहरु साट्न पल्टनमा हुँदाको एक्लोपनमा आफ्नो प्रियतमसँग गफिन किनिदिएको त्यो फोनमा केही महिनामा कतिनै सुखदुःख साट्न भ्याए होलान् ?
त्यसपछिका दिनहरुमा उनी नजिकै रहेको महसूस गर्न थाले ।फोन गर्न पनि मन लाग्ने तर एक त हात हातमा फोन थिएन, र अर्को हिम्मत पनि आएन। केही महिना यस्तैमा गयो । एकदिन हिम्मत गरेर फोन गरें । केही किनमेलको लागि गाईघाट आउन लागेको बहानामा। उनले उत्सुक हुँदै आफू पनि घरैमा रहेको र बजारतिर निस्किने बताइन् ।
गाईघाट जानु, आउनु मेरो लागि सामान्य नै थियो । तर त्यो दिन उनको खबर बुझौं भन्ने बहाना भयो । आज पनि उनी देवरसँगै आइन कसोकसो आफन्त भेटे जस्तो महसूस भयो देख्ने बित्तिकै । उनलाई पनि तेस्तै हुँदो हो र त पति वियोगको घाउ हुँदाहुँदै निराश अनुहार भए पनि आइन् । हामीले ओशो होटलमा समोसा कोक खाँदै एक घन्टा जति बितायौँ ।
थोरै बोलेर एक अर्कालाई सिधा नहेरेर तर आफन्त जस्तै महसूस गरेर बिदा भयौँ । म आफ्नो दैनिकीमा फर्किए । उनी पनि पीडाबाट निस्किने कोसिसमा लागिन । गतवर्ष झैं यो वर्ष पनि खेतीपछि मानिसहरु भारतको पन्जाब जाने भए । आफू पनि बेरोजगार बस्नुभन्दा जाने सोचेँ । दस महिना त्यहाँ काम गरेर फर्किएँ ।
उनी कथित पहाडे समुदायको दलित अझ विधवालाई मेरो थारू कट्टर समाजले पक्कै स्वीकार गर्ने छैन। घरको मुख्य मान्छे म आफैँ भए पनि यो समाज काका-काकी, दाजु-भाउजुले पक्कै टिक्न दिने छैनन् ।
भारतबाट २ पटक उनलाई फोन गरेको थिएँ । महँगो शुल्क तिरेर मैले फोन गरिरहन सकिन । उनले गर्थिन कि ? तर हामी कोहीसँग पनि फोन थिएन । आएपछि मिरालाई भेटौं भेटाैँ भइरहेको थियो । फोन गरेर आफू घर आइसकेको बताएँ । भोलि गाईघाट आउने काम परेको बताएँ । सीधा भेट्न मन थियो तर भन्न सकिन। उनले कुन समयमा आउनुहुन्छ, म पनि आउँछु भनिन् ।
खै त कमाएर आउँदा मलाई के ल्याइदिनु भो ? अनायास यो प्रश्नले अक्क न बक्क भएँ । म सामुन्ने मिरा थिइन कस्तो हुस्सु केही त ल्याउनु पथ्र्यो । त्यता कुनै ध्यान गएन । ठट्टा मात्र गरेको उनले नै वातावरण सहज बनाइन् । हामीले उही ओशो होटेलमा उही समोसा कोक खाँदै केहीबेर बसेर कुरा गर्याैँ । खास केही परिवर्तन थिएन तर उनले आफ्नो पढाई अगाडि बढाउन सुरु गरिछन् ।
मोतीगडा क्याम्पस भर्ना भएर पढ्न सुरु गरिछन् । पढ्न प्रेरित गरेकोमा उनी मप्रति अनुग्रहित भए जस्तो पहिले भन्दा अझ खुल्न खोजेको जस्तो, नजिक भएको जस्तो महसूस गरेँ । मेरो मनले पनि सायद यस्तै चाहन्थ्यो ।
अब कामको लागि टाढानजाने सोचेको छु । मनमा मिरालाई बेला बेला भेट्ने चाह पनि पलाएको छ नि। उनी के सोच्छिन् आफैँ उनी कथित पहाडे समुदायको दलित अझ विधवालाई मेरो थारू कट्टर समाजले पक्कै स्वीकार गर्ने छैन। घरको मुख्य मान्छे म आफैँ भए पनि यो समाज काका-काकी, दाजु-भाउजुले पक्कै टिक्न दिने छैनन् । त्यसैले पनि आफूले केही गर्नुछ, केही हुनु छ । अहिले सानोतिनो भए पनि लगनशील भएर काम गरिरहेछु । केही सिकौँ अलिक सहज होस भन्ने सोचिरहेछु । चिन्तित हुन्छु । गहिरिएर नजिक भएर कुरा पनि गरेको छैन। मैले त कता कता उनलाई अब आफ्नै बनाउनुपर्छ भन्ने सोच्न थालेको छु । तर म थारुको अनपढ बच्चो उनको लायक छैन जस्तो सोचेर संकोचले डल्लो परे जस्तो पनि हुन्छु ।
दुई वर्ष यसरी बिताइयो मिरासँग। उही उस्तै साधारण सम्बन्धलाई निरन्तरता दिइरहेको छु । डर पनि छ कि केही नभै जाओस् । दिमागले के हो ? के हो ? गर्दागर्दै पनि हृदय उनलाई झन् सम्झन्छ। कहिलेकाहीँ फोनमा कुरा गरेर चित्त बुझाउँछु । थोरै बोलेर र अझ थोरै भेटेर यतिका समय हामीले गुजार्याैँ । उनलाई कस्तो भएको होला मनमा जिज्ञासा थियो ।
तर सोध्ने कसरी ? जबकी उनी भयानक अतीतबाट निस्किने कोसिसमा छिन् । मेरो बुझाई उनको लागि फरक परेछ भने पति बितेको विधवा र उनले पाउने गरेको निवृत्तिभरणको पैसाप्रति मैले गलत नजरले हेरेको अर्थ लाग्यो भने त जीवनभरको लागि नमिठो चोट लाग्ने छ। तर मैले उनको केही कुरा प्रति लालच गरेको छैन ।
तर कतिञ्जेल यसरी दोमन भएर बस्ने ?केही छिनोफानो भए ढुक्क त हुन्थ्यो भन्ने पनि छ। त्यसैले जे पर्ला पर्ला यति प्रस्ताव मिरालाई गर्छु भन्ने अठोट गरेँ । उनले स्वीकार गरे पक्कै खुसी मिल्नेछ । हर प्रयत्न गर्नेछु , उनलाई खुसी राख्न आफन्त समाजले जे भनुन् जसो होला । यति सोचेको दिन आफैँलाई हलुका महसुस गरेँ ।
अर्को दिन फोन गरेँ । उनको सहयोग आवश्यक परेकोले भेट्न अनुरोध गरेँ । भोलिपल्ट उनी एक्लै आइन् । उही होटेलमा बसेर अनुहार हेराहेर गर्याैँ । पति बितेको दुई वर्ष बितिसक्दा पनि उनको उमेर अनुसारको अनुहारमा अपेक्षित मुस्कान, चञ्चलता थिएन। त्यस्तो देख्दा उनीसँग कसरी कुरा सुरु गर्ने आँट आइरहेको थिएन ।
उनी भेट्नासाथ भन्नुस् के सहयोग गरौँ भन्न थालिन् । केही सहयोग हैन देख्न भेट्न मन लागेर बहाना बनाएको भन्दै हाँसेर टार्दै गएँ । यो भेट पनि हामिले थोरै शब्द र एक अर्कालाई धेरै नहेरी नै बिताउँदै थियौँ । कसो कसो मेरो मुखबाट फुत्क्यो– के तपाईं मसँग विवाह गर्नुहुन्छ ? के सँधैको लागि हामी एक अर्काको हुन सक्छौं ? कुरा लम्बेतान घुमाउन आएन । यति दुई वाक्य भनिसक्दासम्म मेरो अनुहार रातो पिरो भैसकेको थियो । उनी केही नबोली मलाई हेरिरहेकी थिइन्। यो प्रस्ताव अप्रत्याशित थियो उनको लागि । किनकी यो भन्दा अगाडि न त हामीले मायाप्रेमका कुरा गरेका थियौ । न त यही होटेलमा भेटेर सामान्य कुरा गर्नु भन्दा अरु केही अन्तरङ्ग साटेका थियौँ ।
एकछिन ल भन्दै उनी उठेर शौचालय तिर गइन् । सायद मुख धोएर आएको हुनुपर्छ । मलाई एकोहोरो हेर्दै आइन् । आँखा टिलपिल थियो । म जान्छु ल भन्दै सरासर निस्किइन् । सधैँ हामीले खाएको खाजाको पैसा तिर्ने मान्छे आज काउन्टरतिर हेर्दै नहेरी गइन् ।
चिन्ता त अब पो झन सुरु भो के हुने कसो हुने । हप्ता दिनपछि शनिबार पारेर उनले फोन गरिन् । भोलि आइतबार आफू कलेज जाँदा उतै बाटोमा भेटेर कुरा गर्ने प्रस्ताव गरिन् । बिहानै गाईघाटतिर लागेँ । उनले पनि हिम्मत जुटाएको हुनुपर्छ । कलेज हिँडे पनि बजारमा बिहानै भेटिएर मोतीगडातर्फ सँगै गयौँ । त्रियुगा पुल तर्ने बित्तिकै नदी किनारमा अलग अलग बस्न मिल्ने कटेज जस्तो रेस्टुरेन्ट देखिन्थ्यो , तर अहिलेसम्म पसेको थिएन । आज त्यहीँ जान मन भएछ उनलाई ।
एउटा कटेजमा गएर चिया खाजा उनैले अर्डर गरिन् । सँधै टेबलको ओल्लो पल्लो पट्टि बस्ने हामी आज उनी म बसेको तर्फको कुर्सीमै बस्न आइन् । कुरा उनैले सुरु गरिन्– यो हप्ताभरि मजाले सुत्न सकेको छैन । खानामा रुचि छैन पहिलेदेखि। तपाईंलाई नजिकको जस्तो पहिलो भेटबाट नै लागेको थियो ।
तर यति वृहत रुपमा सोचिसकेकी रहिनछु । यो एक हप्ता धेरै सोचेँ यो अपुरो परिवार, माइती, गणेश र तपाईं निर्णय गर्न कठिन भयो । समाजको लाञ्छनाको पनि उस्तै अत्यास छ अहिले । मैले पाइरहेको गणेशको नामको पेन्सनको पैसाले मात्तिएको भन्ने आरोप पनि आउला कि भन्ने पनि डर उस्तै छ। तर मैले त्यो पाउने पैसा पढाइमा सामान्य खर्च बाहेक अरु केही गरेको छैन। त्यो गर्न पनि चाहन्न, अरु सबै घरमा नै बुझाउने गरेको छु । तर पनि त्यही आरोपको सामना गर्नुपर्ला भन्ने डर छ। तपाईंलाई थाहा नै छ– मेरो विगतको पृष्ठभूमि तर पनि मैले तपाईंलाई अपनाउने निर्णय गरेँ ।
म त भावुक भएछु । थ्यांक यु पो भन्न लागेछु । उनी भन्दै थिइन् यसमा थ्यांक यु, पर्दैन । यो हामी दुईको मन्जुरीमा तय गर्न लागेको यात्रा हो । सबै बुझेर थाहा पाएर अगाडि बढ्न खोज्नु भएको छ। पछि मलाई जीवनमरणको दोसाँधमा नपुर्याउनु होला– उनको आग्रह थियो । अवस्था प्रतिकूल भएकोले हामीले एकअर्कालाई सर्त जस्तो राख्यौं– थोरै भेट्ने, थोरै फोन गर्ने ।
उनले पढाइमा ध्यान दिन मैले आफ्नो जिम्मेवारी सम्झेर भविष्यको लागि केही गर्दै जाने । म जस्तो मानिससँगको भविष्य सम्भवत उनले अनिश्चित देखेको हुनुपर्छ । मैले पनि साहस र हिम्मत बढाउँदै लानुपर्ने थियो । उनी जस्तो मान्छेलाई जीवन साथी चुन्नु भन्दा पनि निभाउन अझ चुनौतीपूर्ण हुनेवाला थियो ।
कुनै डेटिङ नगरी हामीले दुई वर्ष बितायौँ । समग्रमा चिनजानको चार वर्ष भैसके छ। उनले पनि इन्टर मिडियट लेभलको पढाइ सकिन । नतिजा पनि राम्रो आयो । मैले पनि दुख र भविष्य सम्झेर नङ्ग्रा खियाइरहेँ । अहिले पहिले भन्दा काममा सहज छ। लाग्न थाल्यो अब समय हुँदैछ सँधैको लागि मिरासँग एक हुनुपर्छ । सहज छैन तर पनि काँडाको बाटो हिँड्ने निर्णय गरी हालियो ।
उनले पनि होस्टेमा हैँसे गरिन्, सकेसम्म भागेर अन्त नजाने । एकपटक दाजुभाइ र हाम्रो समाजमा कुरा राख्ने विचारले साथी नवराजमार्फत कुरा राख्न खोजेको सहज जवाफ आएन। मिराको पनि परिवार खुसी त पक्कै नहोला तर उनलाई सधैं त्यही रुपमा राखिराख्न उहाँहरूको पनि मनले नमान्ला ।
घरको मुख्य मान्छे म भएपनि हामी थारूहरू अझै पनि समाज र परिवारले स्वीकार नगरेको अवस्थामा त्यही समाजमा बस्न सक्ने अवस्थामा छैनौँ । मेरो हकमा झन् गाह्रो हुने भयो । अहिलेसम्म थारूमा कसैले पनि पहाडे समुदायबाट बुहारी ल्याएको छैन । मलाई झन् गाह्रो हुने निश्चित थियो । एक त पहाडे त्यसमाथि दलित र विधवा ।
विद्रोह गर्न मेरो हिम्मत थिएन । डर भयो के हुने हो ? मिरासँग सल्लाह गरेँ । उनी त्यसै पनि सहज अवस्थामा थिइनन् ।यो सब सुनेर अलिक हतास पनि भइन् । तर अब जे होला पछि नहट्ने संकल्प गर्याैँ। अब अन्तै गएर केही समय व्यतीत गर्नुको विकल्प छैन । त्यसैले काठमाडौ जाने, त्यहाँ गाउँले भाइ डेबिडसँग बस्ने व्यवस्थाको लागि अनुरोध गर्ने सल्लाह गर्याैँ ।
उनलाई घरबाट कसरी निस्किने भन्ने थियो । हिँड्नु अगाडि एउटा पत्र लेखेर उनले घरमा छोड्ने, त्यसमा राजी खुसीले जान लागेको र उनीहरूले चाहेको समयमा सबै कुरा उनीहरूलाई जिम्मा लगाइदिने । आफ्नो अवस्था अनुसार गरेको यो निर्णयलाई सकारात्मक रुपमा लिने अपेक्षा गरेको इत्यादि कुरा लेख्ने ।
अरु उपाय सुझ्न पनि सकेन सम्बन्धविच्छेद गराैँ भने कोसँग गर्नु ? त्यसैले हामीले त्यही उपाय अपनाउने निर्णय गर्याैँ । उनी माइत जान्छु भनेर हिँडिन् । म बहिनीलाई सबै कुरा बताएर उनको आवश्यकता उतैबाट पूरा गर्ने वाचा गरेर अहिलेसम्म बचत गरेको केही रकम छोडेर, केही आफूले बोकेर हिँडे । मिरालाई केही नल्याउन भने । उनी पनि केही लिएर जान चाहन्न थिइन् ।
हामीलाई लालचमा बनेको जोडी भनेर नभनून् भनेर हामी सजग थियौँ । काठमाडौंमा सेटल हुन हामीलाई खासै कठिन भएन। दुईजनाको लागि आवश्यक आधारभूत कुराको जोहो डेबिडले गरिदिएका थिए । थप हामीले केही किन्याैँ, बस यतिमै हामीले नयाँ यात्रा सुरु गर्याैँ । नयाँ ठाउँ भएपनि मलाई काम पाउन कठिन भएन । आफ्नो सीप खारिँदै गएको थियो ।
मिरालाई अझै पढाउने मेरो चाहना थियो । पढ्नुपर्छ भन्ने मेरो आग्रहलाई सहजै स्वीकार गरिन् । एउटा सरकारी कलेजमा उनी स्नातकमा भर्ना भइन् ।त्यस्तै परिस्थितिबाट हामीले नयाँ जीवनको लय समात्ने कोसिस गर्याैँ । केही समयपछि एउटा फाइनान्समा पार्ट टाइम काम पाइन उनले पनि ।
यसरी नै लामो समय व्यतीत गर्याैँ हामीले । यसबीचमा थुप्रै राम्रा नराम्रा घटना भए । गाउँबाट आएको दुई महिनापछि दुई रात नेपाल प्रहरीको पाहुना भएर चिसो भुइँमा पनि बितायौँ । भएछ के भने मिराका घरकाले प्रहरीमा जाहेरी दिएका रहेछन् । बुहारी बेपत्ता भएको र कसैले ललाईफकाई करकापमा पारेर भगाएको भन्ने खालको बेहोराको । यो समस्यालाई हामीले उनै सहयोगी भाइ डेबिडको सहयोगमा पार लगायौ । मुद्दा जे भएपनि उहाँहरूले यो उमेरमा विधवा बुहारीलाई आफ्नै छोराको नाममा रोकिराख्न चाहनु हुन्थ्यो । हामीले घर छोडेर एक अर्काको हुनु भन्दा अरु कुनै गद्दारी गरेका थिएनौँ । समझदारीमै उहाँहरूले मिरालाई छुटकारा दिनुभयो । मिराले व्यक्तिगत कागजपत्र बाहेक अरु ल्याएकी थिइनन् ।
उनले पाउने गरेको निवृत्तिभरण हामीले खर्च गरेका थिएनौं। उहाँहरुले खास औँला उठाउन सक्नुभएन । मिलापत्र गर्याैँ । मिरा स्वतन्त्र भइन । हामीलाई यही स्वतन्त्रता ठूलो कुरा थियो । पाँच वर्ष बितेछ । यसबीचमा बागमतीमा धेरै पानी बग्यो । पानीसँगै हामीले पाँच वर्ष समय बगायौ । सन्तोषजनक कुरा अहिले म सानोतिनो काम आफ्नै जिम्मेवारीमा गर्न सक्ने भएँ ।
मिराले गत वर्ष स्नातकको पढाइ पूरा गरिन् । शिक्षक सेवा आयोगको तयारी गरिरहेकी छिन् । उता बहिनीले एसएलसी पछि सप्तरीतिर आफ्नै जातको सँग घरजम गरि सकिन् । सोच आउन थाल्यो घर एक्लो छ भत्किन थालिसक्यो । के यसरी भगौडा भएर जीवन बिताउने ?
मिरासँग सल्लाह भयो अब गाउँ फर्किने । म चाँजोपाँजो मिलाउन लागेँ । नवराजमार्फत गाउँको वातावरण सहज बनाउन लागे । अब उतै गएर दुखसुख जिउने निर्णय गरियो । तर आधार के ? सानोतिनो काम आफैँ पनि गर्न सक्छु मिराको लागि पनि केही व्यवस्था गर्न पाए हुने थियो । मित्र कैलाशजीले निजी विद्यालय सञ्चालन गरेको धेरै वर्ष भइसकेको थियो ।
मिराको लागि शिक्षिकाको अवसर दिन अनुरोध गरे । वहाँले सहजै स्वीकार गर्नुभो । यति मिलेपछि हामी गाउँ फर्कियौ । पुरानो भैसकेकोले होला कसैले विरोध गर्न सकेनन् । यति वर्ष सहर बस्दा केही रकम पनि जोहो गरेका थियौं । भत्कन सुरु गरेको घरलाई उही परम्परागत थारू शैलीमा मर्मत गर्याैँ । यस्तो घर अचेल देखिन छोडिसक्यो ।
हामीले बचाउने कोसिस गरेका छौँ । जीवनको अर्को अध्याय सुरु गर्याैँ । कुरा काट्नेले पछाडि काटेकोलाई बेवास्ता गर्न सिक्यौँ । अझै एकाघरका दाजुभाइहरूसँग सम्बन्ध सुमधुर हुन सकेको छैन । हाम्रो कोसिस जारी छ सहज बनाउने कसैलाई नबिझाउने ।
उता सहर बसुञ्जेल बागमतीमा धेरै पानी बगेको हेरियो । यता आएपछि पनि त्रियुगामा अझै धेरै पानी बगिसक्यो । अब दशक हुन लागिसक्यो हामी गाउँ फर्केको । यो बीचमा धेरै घटना परिघटना घटे । मिराले धेरै राम्रो गरिन् । निजी विद्यालय पढाउँदै आयोगको तयारी गरिन् र आरक्षण सिटबाट शिक्षणमा प्रवेश गरिन् ।
अहिले यही गाउँको विद्यालयमा शिक्षकमा कार्यरत छिन् । यो आरक्षणले हामी जस्तो तल्लो तहमा हुनेहरूको लागि धेरै राम्रो गरे जस्तो लाग्छ। अहिले हामी दुई छोरीको आमाबाउ बनी सक्यौ । अहिले उनीहरुसमेत स्कुल जाने भैसके । साँच्चिकै भन्दा हाम्रो औपचारिक विवाह नै भएको छैन । अझै हामी यत्तिकै रमाइरहेका छौँ । भोलि के होला होला तर अहिले हामीले दलित, विधवा लगायतको लाञ्छना खेप्नु परेको छैन ।
पहिले कुरा काट्नेहरू अहिले प्रशंसा गर्छन् । यो सब मिराको साथले नै सम्भव भएको हो । अब मिराको एउटा चाहना छ । उनको चाहना मेरो पनि चाहना हो । त्यसमा सहयोग गर्नु मेरो कर्तव्य पनि हो । हामी जुन अवस्था र जुन व्यक्तिमार्फत भेटियौँ । उनको नाममा अर्थात गणेशको नाममा दुर्घटना भएको स्थल नजिक एउटा विश्राम स्थल बनाउने ।
अहिले मदन भण्डारी राजमार्ग नामकरण भइसकेको यो बाटो छेउ रुखको छहारी मुनि विश्रामस्थल बनाउँदा यात्री तथा गाउँघरका गोठालादेखि घाँसदाउरा जानेसम्मले विश्राम गर्न सक्छन् । शीतल हावा खान सक्छन् । यसको लागि हामीले सबैभन्दा पहिले गणेशको परिवारसँग सल्लाह र सहमति लिनु थियो । उहाँहरूले खुसीसाथ मन्जुरी दिनुभयो । जमिनको लागि सामुदायिक वनबाट अनुमति लियौँ । थोरै जमिन वन अध्यक्ष नवीन भाइले सहयोग गरे ।
मिराको विश्रामस्थल बनाउने सपना पूरा भएको छ । आज गणेशको जन्मदिन पारेर उनकै आमाबुवाबाट उद्घाटन हुँदैछ । गाउँलेहरू सबै उपस्थित छन् । सबैभन्दा पछाडि मिरा र म बसेका छाैँ । गणेशको बुवा आमाले भावविह्वल हुँदै शिलामा भएको गणेशको फोटो उघारेर उद्घाटन गर्नुभयो ।
सामुदायिक वनको अध्यक्षले आफ्नो मन्तव्य राख्दै हुनुहुन्थ्यो । पछाडि बसेका हामीबीच नसोचेको आँधी आयो । सबै यता उता भाग्दै दौडँदै थिए । चिच्याइरहेका थिए । म बसेको कुर्सीबाट ५/६ हात पर उछिट्टिए । मान्छेहरू चिच्याउँदै थिए । यो के अनर्थ भयो । मानिसहरू झुम्मिएको स्थानसम्म खोच्याउँदै पुगें ।
छातीमाथिको भाग गाडीको टायरले पेलेर केही नराखेको अवस्थामा मिराको शरीर लडिरहेको थियो । त्यसपछि सबै अँध्यारो भयो । केही देख्न थाहा पाउन सकिन । लामो निद्राबाट बिउँझिए जस्तो हुँदा मान्छेहरूको भीडमा थिएँ तर मिरा त्यहाँ थिइनन् । छाती माथिको भाग बिनाको त्यही दृश्य नै मिराको अन्तिम दर्शन भयो मेरो लागि ।
अन्तिम लहरमा बसेका हामी दुईलाई पूर्ब तर्फबाट आएको अनियन्त्रित ट्रिपरले लछार्दै लगेर ट्रिपर समेत खोल्सीमा थुप्रिन पुगेछ। म हुत्तिन पुगेँ भने मिराको आधा शरीर थिएन । गणेशको जन्म दिनमा गरिदै गरेको कार्य मिराको अन्तिम दिन बन्यो । मेरो र छोरीहरूको लागि अँध्यारोको सुरुवात। सोच्न बाध्य हुन्छु, विधाताले मिराको जोडी मसँग हैन पुनः गणेशसँगै अलग्गै संसारमा बनाउन चाहेछ क्यारे !
प्रतिक्रिया