सरकारी संयन्त्रमा कसरी घुस्यो ‘आइस्योस् गइस्योस्’ ? | Khabarhub Khabarhub

सरकारी संयन्त्रमा कसरी घुस्यो ‘आइस्योस् गइस्योस्’ ?

जनताको तिरोले बाँचेकामा राजसी मोह



काठमाडौं – भाषाको विकास इतिहास, परम्परा र सभ्यताको विकाससँग अन्योन्याश्रित हुन्छ भनिन्छ । भाषाबारे कुरा गर्दा आदरार्थी शब्दको प्रयोगमा पनि केही राजनीतिक तथा सामाजिक परिवर्तन र चेतनाले असर गरेको पाइन्छ ।

राजनीतिक-सामाजिक परिवर्तनले सबै व्यक्तिलाई समान दर्जा दिने लक्ष्य राख्ने हुनाले लोकतान्त्रिक समाजले संरचनागत रूपमा भाषिक विभेद या अहङ्कारलाई महत्व दिँदैन ।

आफूलाई समाजको उपरी संरचनाको हर्ताकर्ता ठान्ने एउटा धारले चाहिँ दैनन्दिन जीवनमा समेत उच्च आदरार्थीको वर्षा गराउँछ ।

पहिले राजामहाराजालाई अति आदर गर्न ‘बक्सियोस्’ शब्द प्रयोग गरिन्थ्यो । राजाले आफैँलाई पनि ‘बक्सिएका छौँ’ लगाएर सम्बोधन गर्थे । राजाले जारी गरेका पुराना संविधानमै ‘गरिबक्सेका’ शब्दको प्रयोग हुन्थ्यो । वि.सं. २०४७ को संविधानमा राजासँग ‘गरिबक्सनेछ’ वा ‘सकिबक्सनेछ’जस्ता शब्द जोडिएको छ ।

राजतन्त्र अन्त्य भएर संविधान सभाले गणतान्त्रिक संविधान निर्माण गर्दै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीजस्ता अति उच्चपदाधिकारीको सन्दर्भमा ‘गर्नेछ’ वा ‘सक्नेछ’ भन्ने व्यक्तिबोधक शब्दको प्रयोग गरी सामान्य आदरार्थी शब्द प्रयोग गरेको छ ।

मुलुकमा भएको ठूलो राजनीतिक परिवर्तनले सामाजिक तथा भाषिक क्षेत्रमा प्रभाव पारेको छ। त्यसै मेसोमा वर्तमान संविधानले अति विशिष्ट पदाधिकारीलाई समेत अति आदरार्थी शब्दको सट्टा सामान्य आदरार्थी शब्दको प्रयोग गरेको छ ।

औपचारिक रूपमा लेखनमा प्रयोग नभए पनि ‘सम्भ्रान्त’ वर्गका कानुन व्यवसायीले अझै पनि यदाकदा न्यायाधीशलाई बहसका क्रममा ‘बक्सियोस्’जस्ता अति आदरार्थी शब्द प्रयोगका साथ सम्बोधन गरेको पाइन्छ । न्यायाधीशले पनि त्यस्ता अति आदरार्थी शब्दको प्रयोग स्वीकार गरेको देखिन्छ ।

विशेषगरी प्रहरी प्रशासनमा अत्यन्त धेरै उच्चआदरार्थी शब्दको प्रयोग देख्न सकिन्छ । प्रहरी सेवाको सम्बन्धित नम्बरमा फोन गरेर माथिल्लो ओहदाका कर्मचारीबारे कुरा गर्ने हो भने तल्लो कर्मचारीले उच्च आदरार्थी शब्द नै प्रयोग गरिरहेको सुनिन्छ ।

प्रहरी सेवा अन्य सेवा भन्दा निकै फरक छ। अनुशासनको हिसाबले पनि यहाँ कडाइ छ। प्रहरी राज्यको सुरक्षा प्रदायक संस्था हो । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो ।

राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सर्वसाधारणको दैनिकीमा प्रहरीको क्रियाकलाप प्रत्यक्ष रूपमा जोडिन्छ। त्यस हिसाबले पनि कडा अनुशासन नीति अपनाइएको हुनसक्छ ।

तर हाकिमकै दयामायाले जागिर खाएको जस्तो उक्त संगठनमा उच्चआदरार्थी शब्दको प्रयोग देख्न सकिन्छ । सरकारका उच्च अधिकारीको निजी सहायक यस्तै उच्चआदरार्थी शब्दमा अभ्यस्त छन् ।

भाषा आन्दोलनका अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालय नेपाली विभागका विभागीय प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल डरका कारण कार्यालयमा हाकिमलाई उच्च आदरार्थीको प्रयोग भइरहेको बताउँछन् ।

आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘हाइस्कुलको हेडमास्टर हुँदा कुनै विद्यार्थीको घरमा जाँदा ल हाउ हाम्रो हेडसर आयो ल हेडसर आएछ, सुकुल तानेर बस भने। त्यही ठाउँमा प्रहरी आए । पुलिस सर आउनुभयो, सर आउनुभयो भने ।’

त्यो समयमा प्रहरीसँगको डरले उच्चारार्थी शब्द मुखमा आएको उनी बताउँछन्। तर हेडमास्टरलाई अपहेलना नभइ आत्मीय कारण उनीहरुले आफ्नो भाषा प्रयोग गरेको लुइटेलको भनाइ छ । ‘प्रहरी र सेनामा त्यो चल्नु पनि त्यही डरको कारणले हो । आदरपूर्वक प्रयोग हुने शब्द पनि जाति विशेष तथा भेग अनुसार पनि फरक हुन्छ । औपचारिक रुपमा प्रयोग धेरै अन्यथा मान्नुहुन्न । तर एकथरिले संभ्रान्त वर्गको भाषालाई चाकरीकै रुप हो भन्ने भाष्य निर्माण गरेका छन् ।’

‘आइबक्सियोस् शब्दलाई अझै छोट्याएर अथवा सजिलोका लागि ‘आइसियोस्’ बनाइएको छ । यो एकदम ठूलो यसको र उसको भाषा भनेर भन्नु आवश्यक छैन । कर्तामा प्रयोग भएपछि क्रियामा प्रयोग स्वाभाविक हो’, उनी थप्छन्, ‘नेपालीमा आदरार्थी विभिन्न प्रकारका छन् । अंग्रेजीको एकै शब्द नेपालीमा विभिन्न अर्थमा प्रयोगमा आउँछ। नेपालीमा त तिमी तपाईं, हजुर, मौसुफ निम्नदेखि उच्च आदर छ। यो नेपाली भाषाको छुट्टै विशेषता हो । कर्ताको रुपमा आएकोलाई क्रियाको रुपमा त्यसको रिफ्लेक्सन हुन्छ ।’

भाषाको हिसाबले वर्गीय विभेद गर्न जरुरी नभएको उनले टिप्पणी गरे। ‘संभ्रान्त वर्गलाई पनि विभेद गर्न भएन नि ! यो प्रयोगमा आउँदा ठूलै विपत्ति निम्तिँदैन । नेपालीमा निम्नदेखि उच्च आदरार्थी शब्द छन् । अन्ततः यो नेपाली भाषा नै हो’, लुइँटेलले भने ।

अर्का भाषाशास्त्री शरच्चन्द्र वस्ती भने औपचारिक र अनौपचारिक रुपमा कुन शब्दको प्रयोग गर्ने भन्ने विषय नितान्त व्यक्तिको रुचिको विषय भएको बताउँछन् ।

उनी भन्छन्, ‘कार्यालयमा सामान्यर्थी शब्दको प्रयोग गर्नु भनेर संविधानमै उल्लेख छ, तर शब्द चयन व्यक्तिलाई नै छोडिदिनु उपयुक्त हुन्छ । तर आजको व्यवस्थामा कार्यालयको भाषामा उच्च आदरार्थी शब्दको प्रयोग चाकरी नै हो। उनीहरु कहिले परिवर्तन हुन नचाहनेहरु हुन् । बुझ्नेहरुले बुझिसकेका छन् । नबुझ्नेहरुले जति बुझाए पनि बुझ्दैनन्।’ साथै, उनले भाषाको विषयममा बोल्दा–बोल्दा आफू थाकिसकेको गुनासो गरे ।

त्यसैगरी, औपचारिक रुपमा आइस्योस र गइस्योस शब्दको प्रयोग उचित नभएको त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उपप्राध्यापक ऋद्धि आचार्य बताउँछिन् । उनी भन्छिन्, ‘भाषा भनेको सञ्चार र सम्प्रेषणको माध्यम हो । यसले व्यक्तिको पहिचान, सोचाइ र सामाजिक हैसियतलाई प्रतिनिधित्व गर्छ । तर यसो भन्दैमा कुनै निश्चित समुदाय वा जातिको भाषा कार्यालयमा प्रयोग गर्नु राम्रो होइन ।’

उनी हिजो राणातन्त्र र राजतन्त्रमा गलत भनेर हटाएका शब्द अहिले बोल्नु उचित नहुने बताउँछिन् ।

‘ठकुरी र राणाको भाषा बोलेर आफूलाई उच्च देखाउन खोज्दा यदाकदा त्यही व्यवस्थामाथि सहमति जनाउनु हो । हिजो राणाशासन र राजतन्त्रमा ठीक छैन भनेर हटायौं । तर उनीहरुकै मातृभाषालाई राष्ट्रियकरण गर्नु भनेको त्यो तन्त्रको समर्थन गर्नु हो’, आचार्य भन्छिन्, ‘बाहिरी भाषाको स्वीकृति भनेको आफ्नो भाषाप्रतिको आत्मसम्मानको कमी र अवमूल्यन हो ।’

भाषा प्राकृतिक र आत्मीय हुनुपर्ने आचार्यको भनाइ छ।

‘कुनै व्यक्तिले बोलेको हाउभाउ, उपस्थिति र शब्द चयन पहिचान हो । नेपाली समाजमा सामाजिक प्रतिष्ठा र भाषाबीचको सम्बन्धलाई लिएर थुप्रै बहस भएका छन्’, उनी थप्छिन्, ‘आइबक्सियोस्को अपभ्रंश आइस्योस् बनाएका छन् । यो जो प्राकृतिक रुपमा नबोल्नले बनाएका हुन्। तर कृत्रिम रुपले प्रयोग गरेर आफूलाई उच्च स्तरको देखाउन खोज्नु गलत हो ।’

‘नेपालमा यो शब्द ठकुरी जातिको मातृभाषा हो । तर अहिले शहरमा जुनसुकै जातिले पनि आफूलाई उच्चस्तरको देखाउन यो मानार्थ प्रयोग गरेको पाइन्छ । घरपरिवारमा प्रयोग गरे पनि औपचारिक रुपमा यो भाषा उचित छैन। अहिले विद्यालयमा स–साना बालबालिकालाई पनि यसै मानार्थ शब्द प्रयोग गरिएको देखिन्छ जुन अत्यन्त गलत छ’, उनले भनिन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ३० बजे

मधेस प्रदेश सरकारको बजेट खर्च न्यून

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा

कैलालीमा १५ वर्षीया किशोरी चार युवकबाट बलात्कृत

धनगढी– कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्। जोशीपुर

अछाममा दुई किशोरीको मृत्यु : डीएसपी भण्डारी तीन दिनदेखि मौन, घटना विवरणसमेत दिएनन्

काठमाडौं – अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा चार जना

‘युएसएआइडी’ ले स्रोत बेहोर्ने चार परियोजनाका काम रोक्न अर्थको निर्देशन

काठमाडौं– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको

सत्ता पक्षीय दलको बैठक : यस्ता छन् छलफलका विषय र एजेन्डा

काठमाडौं– सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी