काठमाडौं – २०७२ मा आएको जस्तो भूकम्पको विनाशबाट माथि उठ्न राज्यको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण गर्ने अवस्था नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले व्यक्तिले आफ्नो घर सुरक्षित बनाउने विषयमा संवेदनशील हुनेपर्ने बताएका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा काठमाडौंस्थित धरहरा परिसरमा शुक्रबार आयोजित गोरखा भूकम्पको १०औँ स्मृतिसभामा प्रधानमन्त्री ओलीले सुशासन र विकासका प्रश्नमा राष्ट्रिय एकताको अनिवार्य आवश्यकता रहेको बताए ।
‘२०७२ को भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भने पनि राष्ट्रको आर्थिक अवस्थाले, बजेट, क्षमताले पुुनःनिर्माण भ्याउनसक्ने अवस्था छैन”, उनले भने, ‘हरेक व्यक्तिले पनि आफ्ना घरहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनुु जरुरी छ ।’
प्रधानमन्त्री ओलीले यस्तो स्थितिमा पनि पुनःनिर्माणको असाधारण क्षमता देखाउन सफल भएको उल्लेख गरे । उनले उद्दार तथा राहत वितरणमा सुरक्षा निकाय, सङ्घसंस्था र जनताले गरेका प्रयास असाधारण र प्रशंसनीय रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘पुनःनिर्माण र राहतदेखि वा उद्दारमा सहयोगी मित्रहरूले जसरी सहयोगका हात अगाडि बढाउनुुभयो, ती असाधारण छन्, स्मरणयोग्य छन् अर्थात् भुुल्न नसकिने खालका छन् ।’
भूकम्पका बेला राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन गरिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसप्रकारको साथ र सहयोग आगामी दिनमा पनि निरन्तरता हुनुुपर्नेमा जोड दिए ।
यस्तै गृहमन्त्री रमेश लेखकले सम्भाव्य विपद्सँग सामना गर्न सरकारले गम्भीरताका साथ आवश्यक काम र तयारी अघि बढाएको बताए । उनले विपद्का क्षेत्रमा गर्नपर्ने काम र सम्भावित जोखिम न्यूनीकरणको तयारीका लागि प्रतिबद्धतासमेत व्यक्त गरे ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले २०७२ वैशाख १२ गते ७ दशमलव ८ म्याग्निच्युडको गोर्खा केन्द्रबिन्दु भई गएको भूकम्पमा आठ हजार ७७० को निधन भएको जानकारी दिए । उक्त भूकम्पमा २२ हजार तीन सय जना घाइते भएका थिए ।
भूकम्पका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लासहित मुलुकका १४ जिल्ला अतिप्रभावित र १८ जिल्ला प्रभावित भएका थिए । भूकम्पपछि सरकारको आग्रहबमोजिम ३४ राष्ट्रका खोज तथा उद्धार टोली सहयोगका लागि नेपाल आएका थिए ।
भूकम्पपछिको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चार दशमलव एक अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायताको प्रतिबद्धता जाहेर भएको थियो । पुनःनिर्माण अभियानअन्र्तगत सात लाख ४३ हजार २४९ वटा निजी आवासको पुनःनिर्माण गरिनुका साथै ३१ हजार ७७० घरको प्रवलीकरण गरिएको थियो ।
त्यसैगरी निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणतर्फ मात्र दुई खर्ब ३३ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च गरिएको प्राधिकरणले जनाएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा करिब आठ लाख घरको प्रवलीकरण गरिएको थियो ।
प्रतिक्रिया