सुदूरपश्चिमको प्रसिद्ध छलियानाच  व्यवसायिक बन्दै  « Khabarhub

सुदूरपश्चिमको प्रसिद्ध छलियानाच  व्यवसायिक बन्दै 


११ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया नाचको माग हुने गरेको छ । 

पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत छलिया नाच प्रदर्शन हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । महेन्द्रनगरका सुरज औजीलाई आजभोलि भ्याइनभ्याइ छ ।

उनी छलिया नृत्यका लागि सुदूरको तराइदेखि पहाडसम्म छलिया समूह लिएर पुग्ने गरेका छन् । विशेष गरी विवाह र महोत्सवका लागि छलिया नृत्यको माग आउने गरेको उनको भनाइ छ ।

पछिल्लो समय विभिन्न समारोह तथा उच्चपदस्थको स्वागतमा छलिया नृत्य प्रदर्शन हुन थालेको छ । ‘हरेक दिन छलिया नृत्यका लागि तीन–चार  फोन आउँछ एक महिनाअघि नै बुकिङ हुने गरेको छ ।’ उनका अनुसार विवाह, महोत्सव तथा शुभकार्यमा छलिया नाचको माग बढेको छ ।

छलिया नृत्यमा १५ वर्षको उमेरदेखि नै लागेका सुरजले अहिले छलिया नाच नाचेरै लाखौँ आम्दानी गर्न थालेका छन् ।  ‘छलिया नृत्य सुदूरपश्चिमको मौलिक पहिचान हो यसको संरक्षण गर्छु भनेर लागेको हुँ’, उनले भने, ‘अहिले छलिया नृत्य व्यावसायिक रुपमा अघि बढेको छ आम्दानीको मुख्य स्रोत नै छलिया नाच हो ।’ उनले विवाह तथा महोत्सवमा छलिया नृत्यको ३० हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको बताए ।

उनले आफ्नो १२ जनाको टिमको आम्दानीको मुख्य स्रोत छलिया नृत्य रहेको बताए । उनले विवाह र महोत्सवमा छलिया नाच देखाउनका लागि कञ्चनपुर, कैलाली र पहाडको बैतडीसम्म पुग्ने गरेको बताए ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा विवाह तथा महोत्सवहरूमा छलिया नृत्यको माग हुने गरेको ७० वर्षीया मोहनराम औजीले बताए । उनले आफूले १२ वर्षको उमेरदेखि छलिया हुड्केली नाच नाच्न थालेको बताए । ‘म ७० वर्षको भएँ । अहिले मेरो छोरालाई संयोजक बनाएको छु उसले दैनिक नौ वटा छलिया नृत्यको टिमको ठेक्का लिने गरेको छ यति धेरै माग छ ।’

उनले छलिया नाच देखाउँदा ढाल, तरबार र छलियाको पहिरन निकै महँगो हुने गरेको बताए ।

अहिले विभिन्न ठाउँमा छलिया नाच्नेले समूह नै बनाएर नाच्ने र गाउने गरेका छन् ।

छलिया नाचमा सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता रहेको लोक साहित्यका जानकारहरू बताउँछन् । सुदूरपश्चिममा नृत्य गर्नुलाई छलो खेल्नु पनि भन्ने गरेको र नृत्य गर्ने तथा छलो खेल्ने व्यक्तिलाई छलिया भनिने लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिए । उनले छलिया नृत्य सुदूरपश्चिमको मौलिक नृत्य रहेकाले पछिल्लो समय व्यावसायिक रुपमा अघि बढेको बताए ।

छलिया नृत्यमा स्थानीयस्तरमै बनेका लोकबाजा प्रयोग हुन्छन् । छलिया नृत्यमा दमाहा, झ्याली, विगुल, मसक, हुड्कोलगायत बाजागाजाको प्रयोग गरिन्छ ।

छलिया नाचमा नाच्ने व्यक्तिको विशेष नृत्य पहिरन हुन्छ । टाउकोमा विशेष किसिमले मखमलको पगडी लगाइन्छ । छलियाको कम्बरमा विशेष किसिमको कपडाको पेटी पनि हुन्छ ।। एक हातमा ढाल र एक हातमा तरबार लिइ छलिया नृत्यको प्रदर्शन हुने गर्दछ । (रासस) 

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १० : ४५ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका