मेक्सिकोमा न्यायाधीशको चुनावमा कुख्यात नाइकेका वकिल र लागूऔषध तस्कर पनि उम्मेदवार | Khabarhub Khabarhub

मेक्सिकोमा न्यायाधीशको चुनावमा कुख्यात नाइकेका वकिल र लागूऔषध तस्कर पनि उम्मेदवार


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ल्याटिन अमेरिकी मुलुक मेक्सिकोमा पूर्वलागूऔषध तस्कर र कुख्यात लागूऔषध तस्करका वकिल न्यायाधीश बन्न तम्सेका छन् । मेक्सिकोमा आगामी जुन १ का दिन न्यायाधीशको चुनाव हुँदैछ ।

सर्वोच्च अदालतका सबै न्यायाधीश सहित ८ सय ४० भन्दा धेरै पदका लागि आयोजना हुन लागेको चुनावमा ८ सय ४० जना उम्मेदवार छन् । मेक्सिकोको डुराङ्गो राज्यमा पनि न्यायाधीशको चुनाव हुन लागेको छ ।

यस राज्य मेक्सिकोको कुख्यात ‘स्वर्ण त्रिकोण’ भन्ने ठाउँमा पर्छ । यो ठाउँ लागूऔषध उत्पादन, तस्करी, प्रयोग र आपराधिक गिरोहको हिंसात्मक गतिविधिका कारण बदनाम रहँदै आएको छ ।

डुराङ्गो राज्यमा हुन लागेको चुनावमा लियोपोल्डो चाभेजले पनि संघीय न्यायाधीशको पदमा उम्मेदवारी दिएका छन् । उनी यसअघि सन् २०१५ मा अमेरिकामा लागूऔषध तस्करीका लागि दोषी ठहर भएका थिए । ४ किलो मेथएम्फेटामाइन्स तस्करी गरेको आरोपमा उनले अमेरिकामा झण्डै ६ वर्ष जेल सजाय भोगेका थिए ।

नजिकैको हालिस्को राज्यमा फ्रान्सिस्को हर्नान्डेजले आपराधिक अभियोजकको पदमा उम्मेदवारी दिएका छन् । उनले यसअघि न्यायाधीशको पदमा रहेर सेवा गरिसकेका छन् । उनलाई संघीय न्याय परिषदले यौन दुव्र्यवहार र भ्रष्टाचारको आरोपमा बर्खास्त गरेको थियो । उनले यस्तो आरोप खण्डन गर्दै आएका छन् ।

मेक्सिकोकै नुएभो लियोन राजयमा फर्नान्डो एस्कामिलाले संघीय आपराधिक न्यायाधीशको पदमा उम्मेदवारी दिएका छन् । उनले यसअघि मेक्सिकोकै कुख्यात लोस जेटास गिरोहका सदस्यलाई कानुनी सल्लाह प्रदान गर्दै आएका थिए । उनले आफू सुपुर्दगी कानुनको जानकार रहेको भन्दै उम्मेदवारी दिएको बताएका छन् ।

यस चुनावमा सबैभन्दा ठूलो चर्चा चाहिँ विश्वकै खतरनाक मानिएको लागूऔषध तस्कर गिरोह सिनाओला कार्टेलका प्रमुख ह्वाकिन एल च्यापो गुजमानकी वकिल सिल्भिया डेल्गाडोको भइरहेको छ । एल च्यापो उच्च सुरक्षा बन्दीगृहबाट दुई पटक भागेका कुख्यात नाइके हुन् ।

सन् २००१ मा उनी मेक्सिकोको हालिस्को राज्यस्थित पुएन्टे ग्रान्डमा रहेको कारागारबाट एकाएक फरार भएका थिए । उनी जेलमा रहेका सुरक्षाकर्मीलाई पैसाको प्रलोभन देखाएर भाग्न सफल भएका थिए । उनी त्यसबेला बन्दीहरुको लुगा धुन लैजानका लागि प्रयोग गरिने ठेलामा लुकेर भागेका थिए ।

त्यसपछि सन् २०१५ मा पनि उनी उच्च सुरक्षा कारागारबाट फरार भएका थिए । मेक्सिकोको ले अल्टिप्लानो कारागारमा सुरुङ खनेर फरार भएका थिए । उनी बसेको ठाउँसम्म खनिएको सुरुङको लम्बाइ १.५ किलोमिटर थियो । त्यस सुरुङमा भेन्टिलेसन, बिजुली बत्ती जस्ता सुविधा पनि थियो । त्यस सुरुङमा उनी मोटरसाइकल चढेर भाग्न सफल भएका थिए । हाल उनलाई फेरि पक्राउ गरी अमेरिका सुपुर्दगी गरिएको छ ।

उनै एल च्यापोकी वकिल सिल्भिया डेल्गाडोले उम्मेदवारी दिएको विषयमा मेक्सिकोमा बहस भइरहेको छ । उनले चुहुआहुआ राज्यको आपराधिक अदालतमा न्यायाधीशको पदमा उम्मेदवारी दिएकी छिन् । अमेरिका सुपुर्दगी हुनुअघि जेलमा रहेका बेला उनी बारम्बार एल च्यापोलाई भेट्न गइरहन्थिन् ।

उनी आफू भ्रष्ट नभएको र कसैको पक्ष लिएर बहस गर्दैमा वकिललाई ‘आगोमा जलाउन नसक्ने’ उनको भनाइ छ । एल च्यापोको प्रतिनिधित्व गर्ने आफ्नो काम व्यवसायिक कर्तव्य रहेको उनको धारणा छ ।

गत वर्ष मेक्सिकोका पूर्वराष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्रादोरले मुलुकमा जनस्तरबाट न्यायाधीशको चुनाव गराउने नीति अघि सारेका थिए । यस नीतिलाई वर्तमान राष्ट्रपति क्लाउडिया शिनबोमले पनि समर्थन गरेकी छिन् । सोही अनुसार मेक्सिकोमा न्यायाधीशहरुको चुनाव हुन लागेको हो ।

रोयटर्सको सहयोगमा

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ३ : २९ बजे

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन

काठमाडौँ– प्रमुख सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन अर्थ मन्त्रालयमा छलफल

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

नयाँ दिल्ली- छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीको उम्मेदवारी; प्रस्तावक रामहरि, समर्थक कृष्णगोपाल

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन

सरकार र निजी क्षेत्रको अक्षमता : सञ्चित विदेशी मुद्रा उपयोगमा चुक्दै

काठमाडौँ – यतिबेला नेपाल राष्ट्र बैक र बैङ्किङ प्रणालीमा विदेशी