विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार लिम्बू इतिहासलाई « Khabarhub

विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार लिम्बू इतिहासलाई

प्राज्ञिक कोष वृद्धि गरेर एक करोड पुर्‍याइयो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

सुनसरी– लिम्बुवान अध्ययन केन्द्रले ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार–२०८१’ इतिहासकार स्व. कृष्णविक्रम नेम्बाङद्वारा लिखित ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ लाई प्रदान गरेको छ ।

पान्थरको पौवासारतापमा विसं १९९८ चैत ६ गते जन्मिएका इतिहासकार नेम्बाङको उक्त कृति प्रकाशित भएलगत्तै २०८० मङ्सिर ३ गते निधन भएको थियो । स्व. नेम्बाङले करिब तीन दशक खोज अनुसन्धान गरेर तयार पारेको इतिहास सम्बन्धी उक्त कृतिलाई लिम्बूवान अध्ययन केन्द्रले विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार प्रदान गरेको हो ।

स्वर्गीय नेम्वाङलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा याक्थुङ मुन्धुमविद् वैरागी काइँलाले नगद एक लाख रुपैयाँ राशिको पुरस्कारले मरणोपरान्त सम्मान गरेका थिए ।

इतिहासकार नेम्बाङको कृति लिम्बू इतिहासले नेपाली इतिहासमा देखिएका भ्रमलाई चिर्ने प्रयास गरेका छन् । नेपालका बारेमा लेख्ने युरोपियन इतिहासकारहरूकै पुस्तक र भनाइलाई मात्र आधार बनाएर लेखिएका इतिहास र पूर्वका लिम्बू समुदायका इतिहासलाई समेत बेवास्ता गरिएको पाइएपछि सिर्जित भ्रम चिर्दै तिब्बती, सेन, भुटान, सिक्किम र रायबीचको सम्बन्ध केलाइएको छ ।

यिनै अध्यायमार्फत् इतिहासकार नेम्बाङले अरुण–कोशीपूर्व प्राचीनकालदेखि बस्दै आएका याक्थुङ लिम्बू जातिमाथि लेखिएका गलत इतिहासलाई निफन्ने प्रयास गरेका छन् ।

इतिहास विज्ञानसम्मत् हुनुपर्छ दन्त्य कथा जोडेर इतिहास बनाउनु हुँदैन भन्ने मान्यता राख्ने नेम्बाङको उक्त सात अध्यायमा विभाजित पुस्तक लिम्बू जाति र लिम्बुवानका बारेमा यसअघि खासै चर्चा नगरिएका, नसुनाइएका, नभनिएका दस्ताबेजहरूलाई व्याख्यात्मक र आलोचनात्मक टिप्पणी गरिएको छ ।

लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामले छुटाइएका र बेवास्तामा पारिएका इतिहासलाई स्व. नेम्बाङले खोज अनुसन्धान गरेर लेखेको इतिहास पुस्तकलाई छनोट गरेर पुरस्कार प्रदान गरिएको बताए । पुरस्कार स्व. नेम्बाङका छोरा धर्मेन्द्रविक्रम नेम्बाङले ग्रहण गरेका थिए ।

यसैगरी यो वर्षको विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति विवेक गौतमलाई प्रदान गरिएको छ । गौतमले लिम्बू समुदायको ‘पाहा’ को महत्वका विषयमा अध्ययन गरेका छन् ।

एक करोडको अक्षयकोष

ताप्लेजुङमा जन्मिएर हाल क्यानडामा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङले अक्षयकोषलाई ५० लाख रुपैयाँबाट वृद्धि गरेर एक करोड रुपैयाँको बनाएका छन् ।

शनिबार पुरस्कार समर्पण समारोहमा एक करोड रुपैयाँको प्राज्ञिक कोष स्थापना गरेको घोषणा गरिएको छ । उक्त प्राज्ञिक अक्षयकोषलाई लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन, व्यवस्थापन गर्नेछ ।

कोषका संस्थापक विष्णुदत्त आङ्बुहाङ ताप्लेजुङको साविक हाङपाङ हाल आठराई त्रिवेणी गाउँपालिका–३ मा जन्मिएका हुन् । लामो समय अध्यापनमा बिताएका उनी २०३२ सालदेखि २०४१ सालसम्म नेपाल सरकारको अधिकृत पदमा रहे । पछि २०५९ सालदेखि उनी क्यानडामा परिवारसहित बस्दै आएका छन् ।

याक्थुङ लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, सिरिजङ्गा लिपि, कला, संस्कृति र इतिहासका सम्बन्धमा अध्ययन, अनुसन्धान कार्यलाई सहयोग पुर्‍याउन विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषको वृद्धि गरिएको आङबुहाङ दम्पतीले बताए ।

आङ्बुहाङ दम्पतीले २०७३ सालमै २० लाख रुपैयाँको कोष स्थापना गरेका थिए । त्यसैमा ३० लाख रुपैयाँ थप गरी ५० लाख रुपैयाँ पुर्‍याएका थिए ।

आङ्बुहाङ दम्पती

विष्णुदत्तले भने, ‘त्यो रकम पनि अपर्याप्त हुने जस्तो देखिएपछि परिवारका सदस्यबीच सल्लाह गरेर एक करोड बनाइएको हो । हामीले धेरै सम्पत्ति भएर यो अक्षयकोष स्थापना गरेको भने होइन । विदेशमा बसेपछि आफ्नो मातृभूमि, आफ्नो गाउँ ठाउँको सम्झनाले सधैँ सताउँछ । सामाजिक, सांस्कृतिक क्षेत्रमा केही भए पनि योगदान दिन सकौँ भनेर कोष स्थापना गरेको हौँ ।’

लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामले उक्त कोषको ब्याज रकमबाट लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने पुस्तकलाई पुरस्कृत र सम्मानित गरिने बताए ।

उनकाअनुसार कोषबाट दुई–दुई वर्षको अन्तरमा सम्मानस्वरुप एक लाख रुपैयाँको विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार प्रदान गरिने छ । असुन्धानवृत्ति हरेक वर्ष एक महिला र एक पुरुषलाई प्रदान गरिने छ ।

यसअघि विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार अमेरिकाको एक विश्वविद्यालयका प्राध्यापक डा. मारोहाङ लिम्बू र विजय लुम्फुङ्वा लिम्बूलाई प्रदान गरिएको थियो ।

त्यस्तै, अनुसन्धानवृत्तिबाट इन्दु फोम्बो र राज माङ्लाक तथा एलबी पालुङवा लिम्बू, अमर तुम्याहाङ र टेक लावती, कालीबहादुर लिम्बू र अमृता थेबे, सन्ध्या सुब्बा (सिङ्जाङ्गो), मधुराज केरुङ, भीमा सुब्बा लिम्बू, दिलेन्द्रकुमार सुब्बा, मनकुमार लिम्बू, सुवासचन्द्र तेयुङ, ताजुबकुमार लिम्बू, हितराम तिलिङ र डम्बर लावती, सीता मादेम्बा लिम्बूलाई विभिन्न विषय र सन्दर्भमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ३ : ४६ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र