सुनसरी– लिम्बुवान अध्ययन केन्द्रले ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार–२०८१’ इतिहासकार स्व. कृष्णविक्रम नेम्बाङद्वारा लिखित ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ लाई प्रदान गरेको छ ।
पान्थरको पौवासारतापमा विसं १९९८ चैत ६ गते जन्मिएका इतिहासकार नेम्बाङको उक्त कृति प्रकाशित भएलगत्तै २०८० मङ्सिर ३ गते निधन भएको थियो । स्व. नेम्बाङले करिब तीन दशक खोज अनुसन्धान गरेर तयार पारेको इतिहास सम्बन्धी उक्त कृतिलाई लिम्बूवान अध्ययन केन्द्रले विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार प्रदान गरेको हो ।
स्वर्गीय नेम्वाङलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा याक्थुङ मुन्धुमविद् वैरागी काइँलाले नगद एक लाख रुपैयाँ राशिको पुरस्कारले मरणोपरान्त सम्मान गरेका थिए ।
इतिहासकार नेम्बाङको कृति लिम्बू इतिहासले नेपाली इतिहासमा देखिएका भ्रमलाई चिर्ने प्रयास गरेका छन् । नेपालका बारेमा लेख्ने युरोपियन इतिहासकारहरूकै पुस्तक र भनाइलाई मात्र आधार बनाएर लेखिएका इतिहास र पूर्वका लिम्बू समुदायका इतिहासलाई समेत बेवास्ता गरिएको पाइएपछि सिर्जित भ्रम चिर्दै तिब्बती, सेन, भुटान, सिक्किम र रायबीचको सम्बन्ध केलाइएको छ ।
यिनै अध्यायमार्फत् इतिहासकार नेम्बाङले अरुण–कोशीपूर्व प्राचीनकालदेखि बस्दै आएका याक्थुङ लिम्बू जातिमाथि लेखिएका गलत इतिहासलाई निफन्ने प्रयास गरेका छन् ।
इतिहास विज्ञानसम्मत् हुनुपर्छ दन्त्य कथा जोडेर इतिहास बनाउनु हुँदैन भन्ने मान्यता राख्ने नेम्बाङको उक्त सात अध्यायमा विभाजित पुस्तक लिम्बू जाति र लिम्बुवानका बारेमा यसअघि खासै चर्चा नगरिएका, नसुनाइएका, नभनिएका दस्ताबेजहरूलाई व्याख्यात्मक र आलोचनात्मक टिप्पणी गरिएको छ ।
लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामले छुटाइएका र बेवास्तामा पारिएका इतिहासलाई स्व. नेम्बाङले खोज अनुसन्धान गरेर लेखेको इतिहास पुस्तकलाई छनोट गरेर पुरस्कार प्रदान गरिएको बताए । पुरस्कार स्व. नेम्बाङका छोरा धर्मेन्द्रविक्रम नेम्बाङले ग्रहण गरेका थिए ।
यसैगरी यो वर्षको विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति विवेक गौतमलाई प्रदान गरिएको छ । गौतमले लिम्बू समुदायको ‘पाहा’ को महत्वका विषयमा अध्ययन गरेका छन् ।

एक करोडको अक्षयकोष
ताप्लेजुङमा जन्मिएर हाल क्यानडामा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङले अक्षयकोषलाई ५० लाख रुपैयाँबाट वृद्धि गरेर एक करोड रुपैयाँको बनाएका छन् ।
शनिबार पुरस्कार समर्पण समारोहमा एक करोड रुपैयाँको प्राज्ञिक कोष स्थापना गरेको घोषणा गरिएको छ । उक्त प्राज्ञिक अक्षयकोषलाई लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन, व्यवस्थापन गर्नेछ ।
कोषका संस्थापक विष्णुदत्त आङ्बुहाङ ताप्लेजुङको साविक हाङपाङ हाल आठराई त्रिवेणी गाउँपालिका–३ मा जन्मिएका हुन् । लामो समय अध्यापनमा बिताएका उनी २०३२ सालदेखि २०४१ सालसम्म नेपाल सरकारको अधिकृत पदमा रहे । पछि २०५९ सालदेखि उनी क्यानडामा परिवारसहित बस्दै आएका छन् ।
याक्थुङ लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, सिरिजङ्गा लिपि, कला, संस्कृति र इतिहासका सम्बन्धमा अध्ययन, अनुसन्धान कार्यलाई सहयोग पुर्याउन विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषको वृद्धि गरिएको आङबुहाङ दम्पतीले बताए ।
आङ्बुहाङ दम्पतीले २०७३ सालमै २० लाख रुपैयाँको कोष स्थापना गरेका थिए । त्यसैमा ३० लाख रुपैयाँ थप गरी ५० लाख रुपैयाँ पुर्याएका थिए ।

विष्णुदत्तले भने, ‘त्यो रकम पनि अपर्याप्त हुने जस्तो देखिएपछि परिवारका सदस्यबीच सल्लाह गरेर एक करोड बनाइएको हो । हामीले धेरै सम्पत्ति भएर यो अक्षयकोष स्थापना गरेको भने होइन । विदेशमा बसेपछि आफ्नो मातृभूमि, आफ्नो गाउँ ठाउँको सम्झनाले सधैँ सताउँछ । सामाजिक, सांस्कृतिक क्षेत्रमा केही भए पनि योगदान दिन सकौँ भनेर कोष स्थापना गरेको हौँ ।’
लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामले उक्त कोषको ब्याज रकमबाट लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने पुस्तकलाई पुरस्कृत र सम्मानित गरिने बताए ।
उनकाअनुसार कोषबाट दुई–दुई वर्षको अन्तरमा सम्मानस्वरुप एक लाख रुपैयाँको विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार प्रदान गरिने छ । असुन्धानवृत्ति हरेक वर्ष एक महिला र एक पुरुषलाई प्रदान गरिने छ ।
यसअघि विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार अमेरिकाको एक विश्वविद्यालयका प्राध्यापक डा. मारोहाङ लिम्बू र विजय लुम्फुङ्वा लिम्बूलाई प्रदान गरिएको थियो ।
त्यस्तै, अनुसन्धानवृत्तिबाट इन्दु फोम्बो र राज माङ्लाक तथा एलबी पालुङवा लिम्बू, अमर तुम्याहाङ र टेक लावती, कालीबहादुर लिम्बू र अमृता थेबे, सन्ध्या सुब्बा (सिङ्जाङ्गो), मधुराज केरुङ, भीमा सुब्बा लिम्बू, दिलेन्द्रकुमार सुब्बा, मनकुमार लिम्बू, सुवासचन्द्र तेयुङ, ताजुबकुमार लिम्बू, हितराम तिलिङ र डम्बर लावती, सीता मादेम्बा लिम्बूलाई विभिन्न विषय र सन्दर्भमा सम्मान गरिएको थियो ।
प्रतिक्रिया