स्थानीय सरकारलाई बजेट लेख्नै सकस | Khabarhub Khabarhub

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

आठ वर्षसम्म पनि बजेट लेखनमा न निखारता, न त स्पष्टता !



काठमाडौँ – मङ्गलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याए ।स्थानीय सरकार अभ्यास थालेयता पालिकाहरूले ल्याएको यो आठौँ बजेट हो ।

तर, अधिकांश स्थानीय सरकारहरूले सङ्घीयता कार्यान्वयनको आठौँ वर्षसम्म आइपुग्दा पनि बजेट लेखन क्षमता नै विकास नगरेको देखिन्छ । मङ्गलबार बजेट अधिवेशनमा प्रस्तुत पालिकाका बजेट हेर्दा यस्तै देखियो ।

अझ; साधनस्रोत सम्पन्न भएका र कार्यकारी प्रमुखमा सङ्घीय सरकारकै सहसचिव खटिएका महानगरहरूका बजेटलेखन समेत निकै कमजोर छ । बजेटमा भाषिक शुद्धतादेखि शीर्षकगत विनियोजन नै देखाइएको छैन । कतै कुल बजेट लेखिएपनि चालु र पुँजीगत खर्च विनियोजन जानकारी गायब छ ।

काठमाडौं बाहेकका पाँचवटा महानगरले आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । तर, भरतपुर महानगर र पोखरा महानगरले मात्रै बजेट वक्तव्यमा शीर्षकगत विनियोजन प्रस्तुत गरेका छन् । बाँकी महानगरले भने यस्ता विवरणसमेत उल्लेख नै नगरी बजेट वक्तव्य सार्वजनिक गरेका छन् ।

बजेट वक्तव्यमा महानगरकै हालत कमजोर

स्थानीय निकाय हुँदै स्थानीय सरकारको लामो अभ्यास गरेको ललितपुर महानगरकै बजेट वक्तव्य परिपक्व देखिँदैन ।

महानगरकी उपप्रमुख मञ्जली शाक्यले मङ्गलबार सातौँ नगर सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा शीर्षकगत विनियोजन नै नगरी अनुसूचीमा मात्रै राखिएको छ ।

वक्तव्यमा चालु आर्थिक वर्षको हालसम्मको समीक्षा, बजेटको लक्ष्य, उद्देश्य, प्राथमिकता र आगामी आर्थिक वर्षको बजेटको चालु र पुँजीगत खर्चको अनुमान प्रस्तुत गरिएको छ ।

शीर्षकगत रूपमा भने बजेट विनियोजन प्रस्तुत नगरेर सो विषयलाई सीधै ‘अनुसूचीमा छ’ भनी उल्लेख गर्ने काम भएको छ । तर, ललितपुर महानगरले वार्षिक कार्यक्रम पुस्तिका तयार गरी बजेट कार्यान्वयन अभ्यास गर्ने गरेको छ ।

विराटनगर महानगरकी उपप्रमख शिल्पा निराला कार्कीले मङ्गलबार नीति तथा कार्यक्रम र बजेटसँगै प्रस्तुत गरिन् । वीरगञ्ज महानगरको बजेट वक्तव्य झनै अव्यवस्थित छ । वक्तव्यमा केही शीर्षकहरू राखिएको छ । तर, कुनै शीर्षकमा बजेट राखिएको छ भने कुनै शीर्षकमा ‘पर्याप्त बजेट व्यवस्था गरिएको’ मात्रै लेखिएको छ ।

वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षमा तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको बजेट वक्तव्यमा उल्लेख छ । तर, वक्तव्यमा शीर्षकगत रूपमा जम्मा एक अर्ब ३५ करोड ६४ लाख रुपैयाँमात्रै प्रस्तुत गरिएको छ । बाँकी रकम कुन शीर्षकमा कति विनियोजन गरिएको हो भन्ने उल्लेख नै छैन ।

स्थानीय सरकारलाई प्रशिक्षण आवश्यक : प्रशासनविद् दाहाल

संविधानविद तथा प्रशासनविद् काशीराज दाहालले लामो समयदेखि तीनै तहको सरकार सञ्चालन अवस्थालाई हेरिरहेका छन् । उनले अधिकांश स्थानीय सरकारले व्यवस्थित स्वरूपमा बजेट निर्माण गर्न नसकेको बताए ।

‘राम्रो अनुभवी प्रमुख प्रशासकीय अधिकृत र योजना शाखाको अधिकृतले सङ्घमा पनि बजेट बनाएको, राम्रो ठाउँमा काम गरेको अनुभव प्राप्त छ भने, त्यसले त्यही किसिमको लेखेको अवस्था पनि छ, औषतमा त पालिकाहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्’, दाहालले भने, ‘जनप्रतिनिधिले आयोजना/कार्यक्रममा यहाँ र त्यहाँ बजेट राख्ने भनेको हुन्छ, कर्मचारीमा आवश्यक व्यवसायिकता विकास भएन, जुन किसिमको प्रणालीमा जानुपर्ने हो, त्यसो भएको देखिँदैन ।’

कार्यक्रममा पनि क्षमता विकास भनेर राख्ने गरिएको र जेठ–असारको अन्तिमतिर कर्मकाण्डी कार्यक्रम गरी स्रोत सक्ने काम हुने गरेको दाहालले उल्लेख गरे ।

‘त्यो कर्मकाण्डी मात्रै हुन्छ, त्यसले कुनै सीप विकास गर्न सक्दैन, हामीले समयमै बजेट लेखन कसरी गर्ने भनी अभ्यास गर्नपर्छ’, उनले थपे, ‘कानुन निर्माण र डीपीआरजस्ता काममा पनि यता उताबाट तानतुन गर्ने अभ्यास रहेको देखिन्छ ।’

सङ्घ, प्रदेश र अन्य मुलुकले ल्याउने बजेटअनुसार फम्र्याट बनाइ सोहीअनुसार जाने पद्दती विकास गर्न आवश्यक रहेको दाहालले बताए ।

बजेटलाई एकढिक्कै राख्ने, पछि विभिन्न शीर्षकहरूमा रकमान्तर गर्ने अभ्यास कायमै रहेकाले महालेखाले बेरुजु औँल्याउने स्थानीय तहको रकमसमेत ठूलो मात्रामा देखिएको दाहालको भनाइ छ ।

उनले अधिकांश स्थानीय तहमा निमित्त प्रमुख रहेका र उनीहरू पनि प्राविधिक रहेकाले बजेट कसरी निर्माण गर्ने भन्ने ज्ञानसीप नै नभएको उल्लेख गरे । भने, ‘त्यस्ता कर्मचारीले बजेट लेख्नै जान्दैनन्, बजेट कसरी लेख्ने भन्ने विषयमा सङ्घ, प्रदेश र विज्ञहरूको तर्फबाट व्यवस्थित तालिम आवश्यक छ ।’

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : ११ बजे

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ