मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता | Khabarhub Khabarhub

मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन्। मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्र्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८० दशमलव छ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको थियो। यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने गर्छ। विभागका अनुसार साउन ४ गतेसम्म मुलुकभर ७२ दशमलव १४ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा ८४ दशमलव छ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो।

मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बीउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताए। “अहिले मधेसका फाँट हेर्दा सुक्खा देखिन्छन्, वर्षा नहुँदा आधा प्रतिशत पनि रोपाइँ सकिएको छैन”, उनले भने, “सुक्खाको समस्या कसरी सम्बोधन गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौँ।”

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवले साउनको २०-२२ गतेसम्म पनि राम्रो वर्षा हुन नसकेको खण्डमा उत्पादनमा १५ देखि २० प्रतिशत ह्रास आउने बताए।

बालीविद् डा. डिल्लीराम शर्माले पनि मधेस क्षेत्र धान उत्पादनको हब नै रहेको भन्दै मधेसमा सुक्खाका कारण धानको उत्पादनमा असर पर्ने सम्भावना रहेको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा)को तथ्याङ्कानुसार मनसुन अवधिमा मुलुकभर एक हजार चार सय मिलीमिटर सरदर वर्षा हुने गरेकामा हालसम्म करिब पाँच सय मिलीमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको ३४ दशमलव नौ प्रतिशत वर्षा भएको छ।

विभागले उपलब्ध गराएको जनकपुर, सिमरा, विराटनगर, पोखारालगायतका वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रमा औसतभन्दा कम वर्षा भएको छ।

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कानुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउनेगरी सिँचाइको संरचना निर्माण गरिएको छ। तर करिब एकतिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुनसकेको तथ्याङ्कमा उल्लेख छ।

अकासे पानीकै भरमा ५१ प्रतिशत रोपाइँ

मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा चौधरीले मधेस प्रदेशको कुल खेतीयोग्य जमिनको ४९ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा रहेको जानकारी दिए। उनका अनुसार सिँचाइको मुख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्यूबवेल र डिपबोरिङ रहेको छ।

कृषि तथा पशुपन्छी डायरी, २०८१ अनुसार हाल कृषि क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको २४।१ प्रतिशत योगदान पुर्याउनुको साथै ५०.४ प्रतिशत जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आएको छ। मधेस प्रदेशमा नेपालमा खेती गरिने कुल जग्गाको १६.२५ प्रतिशत जग्गामा खेती हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्ल्लेख छ।

यस प्रदेशमा जम्मा पाँच लाख ४२ हजार ५८० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिने छभने जम्मा पाँच लाख दुई हजार २२४ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ। जसमध्ये कुल तीन लाख ६२ हजार ३४४ हेक्टर जग्गामा बर्खे धानको खेती र २० हजार ८३९ हेक्टर जग्गामा चैते धानको खेती हुने गरेको छ।

बर्खे धानको उत्पादन एक लाख २७० मेट्रिक टन छभने उत्पादकत्व ४.८१ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। तथ्याङ्कानुसार यस प्रदेशमा चैते धानको उत्पादन १२ लाख ३७ हजार ४०१ दशमलव नौ मेट्रिक टन र उत्पादकत्व तीन दशमलव ४१ मेट्रिक टन प्रतिहेक्टर छ।

मनसुनी वायु कमजोर हुँदा कम वर्षा
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् डेबिड ढकालले मनसुनी वायु कमजोर हुँदा मधेस प्रदेशलगायत मुलुकका विभिन्न स्थानमा वर्षा कम भइरहेको जानकारी दिए। “मधेस क्षेत्रमा पानी नै नपरेको त होइन। कतै भारीदेखि अतिभारी वर्षा पनि भएको छ। कतै वर्षा नै भएको छैन। अनि अतिभारी नै वर्षा भए पनि धेरैबेर वर्षा भएको छैन”, उनले भने, “आगामी तीन दिनको मौसम पूर्वानुमान गर्र्दा कोशीका पहाड र तराई, मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। तर थोरै समय पानी पर्दा कृषिमा राहत भने नपुग्न सक्छ। अर्को साता भने राम्रो वर्षा हुने अनुमान छ। तर कहिलेकाहीँ मौसमी प्रणाली परिवर्तन भइदिएर फरक पर्न सक्छ।”

केन्द्र र प्रदेश सरकारबाट अनुमगन

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले तराईमा सुक्खाका कारण कृषिमा देखिएको असर पत्ता लगाउन र समस्या समाधानमा के गर्न सकिन्छ भनेर अनुसन्धान गर्न मधेस प्रदेशमा अनुमगन भइरहेको जानकारी गराएका छन्।

मधेस प्रदेश सरकारले यही असार २६ गते मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेपश्चात प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रोपाइँ अवस्था तथा सुक्खा क्षेत्रको प्रारम्भिक स्थलगत निरीक्षणसम्बन्धी समिति बनाएको थियो। समितिले प्रदेशका आठवटै जिल्लामा टोली परिचालन गरी असारसम्मको अवस्थालाई मध्यनजर गर्दै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कानुसार गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो। अघिल्लो वर्ष २०८० सालको तुलनामा गत वर्ष २०८१ मा चार दशमलव ०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : १४ बजे

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।