लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा « Khabarhub

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिका– ४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब ६ महिनाअघि  अस्पतालले बहिरङ्ग (ओपीडी) सेवा प्रारम्भ गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ । काठमाडौंको शहीद गङ्गालाल अस्पतालमा एक हजार पाँच सय रुपैयाँ पर्ने ‘इको’ परीक्षण यहाँ केवल हजार रुपैयाँमै गरिने छ । त्यस्तै अन्य शुल्क पनि न्यूनतम रहेको छ ।

हालसम्म दुई हजार तीन सयभन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन् भने दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले नाफा नभइ सेवा लक्षित मोडेलमा काम गरिरहेको छ । ‘नाफारहित अस्पताल बन्ने भएकाले यहाँका नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिएका छौँ,’ अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जयप्रसाद साहले बताए ।

अहिले दुई भवनमा ओपीडी सेवा चलिरहेको छ, जुन लहान नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक ११ बिघा जग्गामा निर्माण गरिएको हो । डा. साहका अनुसार, सो जग्गामै आगामी दिनमा पूर्ण पाँच सय शय्याको अस्पताल निर्माण हुने योजना छ, जसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

अस्पताल प्रशासनले आगामी एक वर्षभित्र २५ शय्याको ‘आईसीयू’ (सघन उपचार कक्ष) र ‘सिटी स्क्यान’ सहितको सेवा सुरु गर्ने तयारी गरिरहेको छ । ‘कार्डियो र डाइबेटिक सेन्टर’को रूपमा विस्तार हुँदै गरेको यो अस्पतालले स्थानीयहरूलाई अब धरान, विराटनगर वा काठमाडौं जानु नपर्ने विश्वास दिलाएको छ ।

यो अस्पताल नेपाल हृदय रोग निवारण सङ्घ अन्तर्गत सञ्चालनमा ल्याइएको हो । सङ्घका कार्यकारी अध्यक्ष डा. बालकृष्ण ओग्र्यान लहानमै जन्मिएर हाल जर्मनीमा वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा कार्यरत छन् । उनकै पहलमा ‘नेपाल मेड ई भि’ र ‘रोटरी क्लब कटबस’ जस्ता दुई जर्मन गैरसरकारी संस्थाबाट करिब दुई अर्ब बराबरको आर्थिक सहयोगमा अस्पतालको निर्माण प्रक्रिया अघि बढाइएको हो ।

‘यस प्रकारको अस्पतालको अवधारणा डा. बालकृष्ण ओग्र्यानका कारण सम्भव भएको हो,’ डा. सञ्जयप्रसाद साहले भने, ‘जो यही लहानको भूमिमा जन्मिएर मुटुरोग विशेषज्ञको रूपमा हाल जर्मनीमा कार्यरत रहेका छन् ।’ अस्पतालका निर्देशक डा. साहका अनुसार, आगामी अक्टोबरमा डा. ओग्र्यानसहित जर्मनिमा कार्यरत मुटु विशेषज्ञहरूको टोली नेपाल आउने र अस्पतालको प्रगति निरीक्षण गर्नुका साथै प्राविधिक सल्लाह दिनेछ ।

अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीका अनुसार विभिन्न सङ्घ संस्था र दाताहरूसँग समन्वयको प्रक्रिया जारी रहेको छ । जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उनले अस्पतालसम्मको सडक पूर्वाधार सुधार आवश्यक रहेको बताए । यति न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइदै आएको भए पनि प्रचारप्रसारको अभाव रहेको उल्लेख गर्दै, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने उनले विश्वास व्यक्त गरे ।

लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ, स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ । कम शुल्क, गुणस्तरीय सेवा, अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई मधेस प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ ।

लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ, स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ । (रासस)

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : ५१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्