लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२ औं महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. शर्माले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । करिब २० वर्षदेखि एनआरएनमा रहेका शर्माले संघ नयाँ परिस्थिति र निर्णायक मोडमा उभिएको भन्दै एनआरएनएलाई अझ सान्दर्भिक, प्रभावकारी र सबैलाई समेट्ने बनाउन आफ्नो उम्मेद्वारी रहेको बताए ।
उनले महासचिव, उपाध्यक्ष, प्रवक्ता, संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलनको संयोजक, संविधान संशोधन सल्लाहकार समितिको संयोजक लगायत विभिन्न भूमिका र जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । साथै, अब अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को अध्यक्षको लागि पनि उम्मेद्वारी दिने तयारीमा रहेको उनले जानकारी दिए ।
उनले भने, ‘केन्द्रीय नेतृत्वबीच विभाजन हुँदा सम्पूर्ण नेपाली डायस्पोरा पनि विभाजनको अवस्थामा पुगेको छ । नागरिकतासहितका एनआरएनएका महत्वपूर्ण मुद्दाहरू ओझेलमा परेका छन् । यसले संघको अस्तित्व नै संकटमा पर्छ । त्यसकारण एनआरएनएलाई विश्वव्यापी, समावेशी, निष्ठावान् र गतिशील बनाउन स्पष्ट रोडम्यापसहित आएको छु र छिटै घोषणापत्र प्रस्तुत गर्नेछु ।’
विश्वभर ८० हजारभन्दा बढी सदस्य भएको एनआरएनएले ५८ वटा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन गरिसकेको छ । साथै, २०२५ अक्टोवरमा काठमाडौंमा हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ४ हजार ७०० बढी प्रतिनिधिको आवेदन परेको छ ।
डा। शर्माले एकीकृत, समावेशी, प्रविधिमैत्री, नतिजामुखी, दिगो, सबल, जवाफदेही, पारदर्शी र बहुआयामिक एनआरएनए निर्माणमा केन्द्रित हुने बताए ।
उनले भने, ‘निर्वाचित भएपछि नेपालका लागि डायस्पोराका नेपालीहरूको सीप, ज्ञान, नवपरवर्तन र आर्थिक लगानी भित्र्याउने वातावरण तयार पार्नेछु । त्यसैगरी वैदेशिक रोजगार सुनिश्चित गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गर्ने विषय प्राथमिकतामा राखेर काम गर्छु ।’
‘संघलाई आर्थिक, राजनीतिक र अन्य बाह्य नकारात्मक प्रभावबाट जोगाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व चयनमा सदस्यहरूको प्रत्यक्ष मतदानबाट गर्ने व्यवस्था गर्नेछु, उनले भने ।
नेपाल सरकारको सहकार्यमा पहिलो र दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनका संयोजक बनेर उनले विश्वई नेपालसँग जोड्न योगदान पुर्याएका छन् । बागलुङमा जन्मिएका डा. शर्मा बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा सिनियर लेक्चररका रुपमा कार्यरत छन् ।
सन् १९९७ मा भौतिकशास्त्रतर्फ त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिष्ट हुन् । फ्रि युनिभर्सिटी बर्लिनबाट भौतिक शास्त्रमा पिएचडी सकेपछि उनी पोस्ट डक्टरल फेलोसिपको लागि जापान पुगे । त्यसपछि जापान सरकारकै मातहतमा राष्ट्रिय प्रयोगशालामा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा काम गरेको अनुभव छ ।
प्रतिक्रिया