बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल « Khabarhub

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् ।

घण्टौँको पैदलयात्राले थकित पर्यटक गोरेटो छेउमै विश्राम लिन्थे । तर अहिले त्यो समस्याको समाधान भएको छ । ढोरपाटन उपत्यकादेखि करिब पाँच घण्टा उकालो पैदल यात्रापछि मात्रै बुकीपाटनको पहिलो स्थान गर्पाछेडा पुगिने हुँदा ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण गरिएको छ ।

पदमार्गको छेउमा निर्माण गरिएका विश्रामस्थलले आन्तरिक तथा बाह्य पर्यटकको बुकीपाटन यात्रालाई सहज बनाई दिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङले रु २० लाखमा पदमार्गसहित चेप्टा ढुङ्गा, ढुङ्गे देउराली र गर्पाछेडा गरी तीन स्थानमा विश्रामस्थल बनाई दिएको छ । 

विश्रामस्थलमा पर्यटकले रातसमेत बिताउने गरेका छन् । उच्च पहाडी क्षेत्र भएको हुँदा यहाँको मौसम निकै चिसो हुने हुँदा विश्रामस्थलमा बास बस्दा न्यानो कपडा भने आवश्यक पर्छ ।

अघिल्लो वर्षदेखि चर्चामा आएको बुकीपाटन यस वर्ष दैनिक १०० बढी पर्यटक ढोरपाटन उपत्यकादेखि उक्लिने गरेका छन् । ढोरपाटन पुगेका पर्यटक जति बेला पनि बुकीपाटन उक्लिँदा बीच बाटोमा अलपत्रसमेत पर्ने गरेका छन् । मौसम हेरेर दिउँसो २ः०० बजेभन्दा पछाडि ढोरपाटन उपत्यकादेखि बुकीपाटनको यात्रा गर्न नहुने होटल व्यवसायी सङ्घ ढोरपाटनका अध्यक्ष जीवन पुनले बताए। बुकीपाटन पुग्नका लागि तीनदेखि पाँच घण्टा लाग्ने हुँदा साँझपख यात्रा तय नगर्न उनले आग्रह गरे।

अध्यक्ष पुनले भने, ‘बुकीपाटन चार हजार मिटरभन्दा माथिको उचाइमा रहेको हुँदा लेक लाग्न सक्छ, अलि सजक भएर जानुपर्छ, माथि (बुकीपाटन) जाँदा दिउँसो २ः०० बजेभन्दा पछाडि यात्रा तय गर्नुहुँदैन, झोलामा पर्याप्त खानेकुरा, तातोपानी लेक लाग्ने औषधि बोक्नुपर्छ, यसपाली त ठाउँ–ठाउँमा विश्रमस्थल पनि बनेको छ, बढी गाह्रो भयो भने त्यहाँ पनि विश्राम गर्न सकिन्छ ।’

काठमाडौँबाट घुम्न आएका रूपेश वाइबाले ठाडोखोलादेखि माथि निकै उकालो रहेको हुँदा ढुङ्गे देउराली पुगेपछि दुई घण्टा विश्रामस्थलमा आराम गरेर गर्पाछेडा पुगेको बताए। पदमार्ग छेउमा बनेका काठका फल्याक र जस्तापाताले छाएका विश्रामस्थलले आफूजस्ता पर्यटकलाई ठूलो राहत दिएको उनको भनाइ छ । 

‘यस्तो विकट स्थानमा पनि विश्रामस्थल बनाउनुभएको रहेछ, यहाँ त रातिमा पनि बस्न सकिँदो रहेछ, गोठमाभन्दा त विश्रामस्थलमा बस्न धेरै आनन्द हुँदो रैछ’, वाइबाले भने, ‘विश्रामस्थलमा अल्ली व्यवस्थित ढोका बनाएको भए अझ राम्रो हुन्थ्यो, हामीहरू त माथि जाँदा पनि आराम गर्‍यौँ फर्किदा पनि थकाइ लागेर आराम गर्‍यौँ ।’

पोखराबाट आउनु भएका डेभिड गुरुङले ढोरपाटनबाट ढिला यात्रा गर्दा बुकीपाटन नपुग्दै राति भएपछि ‘स्लिपिङ ब्याग’ बिच्याएर विश्रामस्थलमै बास बसेको बताए। चार जनाको समूहमा घुम्न आएको सुनाउँदै चेप्टाढुङ्गा पुग्दा साँझ परेपछि त्यहीँको विश्रामस्थलमा रात बिताएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्