युरोपमा मानव पुर्खा लुसीको प्रदर्शन « Khabarhub

युरोपमा मानव पुर्खा लुसीको प्रदर्शन


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

प्राग- मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन् ।

यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन् ।

अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए । त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मानव पुर्खासम्बन्धी बुझाइमा क्रान्ति ल्याएको छ ।

लुसीका अवशेषसँगै सेलाम नाम दिइएको अर्को जीवाश्म पनि प्रस्तुत गरिनेछ । सेलाम लुसीभन्दा झण्डै एक लाख वर्ष पहिले बाँचेको दुई वर्ष सात महिनाको बच्चा अस्ट्रेलोपिथेकस हो । यसको जीवाश्म लुसी फेला परेको २५ वर्षपछि सोही क्षेत्रमा पाइएको हो ।

लुसी पत्ता लगाउने डोनाल्ड जोहानसन र सेलाम पत्ता लगाउने जेरिसेने अलेम्सेगेड दुवै प्रागमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

“सेलामलाई अहिलेसम्म कहिल्यै इथियोपियाबाहिर प्रदर्शन गरिएको छैन र लुसीलाई केवल एक पटक मात्र संयुक्त राज्य अमेरिकामा देखाइएको थियो”, राष्ट्रिय सङ्ग्रहालयका निर्देशक माइकल लुकेसले भने ।

अगस्ट १५ मा अवशेषहरू प्राग आइपुगेपछि उनले यसलाई ‘विश्वकै सबैभन्दा बहुमूल्य र प्राचीन पुरातात्त्विक प्रदर्शनीमध्ये एक’ भनेर वर्णन गरे ।

आदीस अबाबामा रहेको इथियोपियाको राष्ट्रिय सङ्ग्रहालयले उधारो दिएको ५२ टुक्रा अवशेषहरू ‘मानव उत्पत्ति र जीवाश्म’ प्रदर्शनीअन्तर्गत ६० दिनका लागि प्रदर्शनीमा राखिनेछन् ।

इथियोपियाली हेरिटेज अथोरिटीका निर्देशक अबेबाव अयाल्यु गेल्लाले यो प्रदर्शनीले ‘इथियोपियालाई मानव मूलको भूमिका रूपमा प्रवर्द्धन गर्ने’ बताए ।

उनले भने, “लुसीले मानव पुर्खाको अध्ययनमा क्रान्ति ल्यायो—पहिलो त यसको पूर्णताका कारण र दोस्रो यसको उमेरका कारण । सेलाम आफ्नो युगकै लागि अद्वितीय जीवाश्म हो… यो दुई वर्ष सात महिनाको उमेरमा मरेको बालकको जीवाश्म हो ।”

हाल लुसीका जीवाश्म अवशेषमा दन्त टुक्रा, खोपडीका भाग, नितम्बको भाग र तिघ्राको हाडका अंश समावेश छन् ।

एक दशमलव एक मिटर अग्लो (३ फिट ७ इन्च) र २९ किलोग्राम (६४ पाउन्ड) तौलकी लुसीको कङ्काल अन्तिमपटक इथियोपियाबाहिर सन् २००७ देखि २०१३ सम्म अमेरिकी सङ्ग्रहालयहरूको भ्रमणमा देखाइएको थियो ।

उनी पत्ता लाग्दा टोलीले द बिटल्सको ‘लुसी इन द स्काई विथ डायमन्ड्स’ गीत सुनेका कारण उनको नाम लुसी राखिएको हो ।

लुसी दुई खुट्टामा हिँड्थिन् र ११ देखि १३ वर्षको उमेरमा मृत्यु भएको अनुमान गरिन्छ । यो उमेरमा यो प्रजातिका लागि वयस्क मानिन्थ्यो ।

पहिले लामो समयसम्म सबैभन्दा पुरानो मानव पुर्खा मानिएकी लुसीलाई सन् १९९४ मा फेला परेको अर्को जीवाश्मले त्यस स्थानबाट हटायो । त्यो थियो अर्डी—अर्डिपिथेकस रामिडस प्रजातिकी महिला । यिनले करिब ४५ लाख वर्षअघि इथियोपियामा जीवन बिताएकी थिइन् ।

सन् २००१ मा चाडमा ‘तौमाई’ नाम दिइएको ६÷७ लाख वर्ष पुरानो खोपडी फेला पर्‍यो, जसले मानव परिवार अझ पुरानो हुनसक्ने सङ्केत दियो ।

सन् २०१६ को एक अध्ययनले लुसीको माथिल्लो हात असामान्य रूपमा बलियो भएको देखायो । अध्ययनले उनी नियमित रूपमा रूख चढ्ने र रातमा हाँगामा गुँड बनाएर बस्ने गर्थिन् भन्ने सुझाव दियो ।

तर उनको खुट्टा भने कमजोर थिए, जसले उक्लनमा खासै भूमिका खेल्दैन र हिँड्नमा पनि प्रभावकारी थिएन भन्ने नतिजा आयो ।

त्यसैगरी, उनको एउटा हड्डीमा भेटिएको फ्र्याक्चरको अध्ययनले लुसी सम्भवतः अग्लो रूखबाट खस्दा मृत्यु भएको थियो भन्ने सङ्केत दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ५७ बजे

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको