टाइफुन काजिकीअघि भियतनाममा उच्च सतर्कता | Khabarhub Khabarhub

टाइफुन काजिकीअघि भियतनाममा उच्च सतर्कता


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

हो चि मिन्ह सिटी– टाइफुन काजिकीले भियतनामको मध्य भागमा करिब १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय क्षेत्रका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

यस वर्ष भियतनाममा असर गर्ने पाँचौँ टाइफुन समुद्रमा सक्रिय छ र टोन्किनको खाडीमा ९.५ मिटर (३१ फिट) उचाइका छालहरू उठेका छन् ।

पाँच तटीय प्रान्तका तीन लाख २५ हजार पाँच सयभन्दा बढी बासिन्दालाई विद्यालय र सार्वजनिक भवनहरू अस्थायी आश्रयस्थल बनाई सुरक्षित राखिएको अधिकारीहरूले जनाएका छन् ।

भिन्हको वाटरफ्रन्ट सहर रातभर जलमग्न रह्यो । बिहानसम्म सडकहरू सुनसान बनेका थिए, पसल तथा रेस्टुरेन्टहरू बन्द थिए र बासिन्दा तथा व्यवसायीहरूले आफ्नो सम्पत्तिको प्रवेशद्वारमा बालुवा भरिएका बोराहरू राखेका थिए ।

सोर्‍ह हजारभन्दा बढी सैनिक परिचालन गरिएपछि बिहानैसम्म करिब ३० हजार मानिसलाई क्षेत्रबाट सुरक्षित निकालिएको थियो ।

टाइफुनको बाटोमा परेका दुईवटा घरेलु विमानस्थल बन्द गरिएका छन् र सबै माछा मार्ने जहाजहरूलाई बन्दरगाहमा फर्काइएको छ ।

“मैले हाम्रो सहरमा यति ठूलो टाइफुन आएको कहिल्यै सुनेको थिइनँ”, ६६ वर्षीय ले मान तुङले भिन्ह इनडोर स्पोट्र्स स्टेडियममा भने । त्यहाँ विस्थापित परिवारहरू चामलको साधारण नास्ता खाइरहेका थिए ।

“म अलिकति डराएको छु, तर अन्ततः हामीले यसलाई स्वीकार्नुपर्छ किनकि यो प्रकृतिको शक्ति हो— हामी केही गर्न सक्दैनौँ”, उनले सोमबार बिहान निकासी स्थलमा भने ।

भियतनामको राष्ट्रिय हाइड्रो–मौसम पूर्वानुमान केन्द्रका अनुसार टाइफुनले दिउँसो १ः०० बजे करिब १ सय ५७ किलोमिटर प्रतिघण्टाको हावासहित अवतरण गर्ने अपेक्षा गरिएको छ ।

मानव–कारण जलवायु परिवर्तनले अझ तीव्र र अप्रत्याशित मौसम ढाँचाहरू उत्पन्न गरिरहेको वैज्ञानिकहरूको भनाइ छ । यस्ता अप्रत्याशित मौसमी ढाँचाहरूले विशेष गरी उष्णकटिबन्धीय क्षेत्रमा विनाशकारी बाढी र आँधीबेहरीको सम्भावना बढाएको छ ।

“सामान्यतया आँधीबेहरी र बाढी आउँछन्, तर यति ठूलो कहिल्यै हुँदैन”, ५२ वर्षीया विस्थापित गुयेन थी नहानले भनिन् ।

आँधीको शक्ति अवतरण भएपछि क्रमशः कमजोर हुने अपेक्षा गरिएको छ ।

संयुक्त टाइफुन चेतावनी केन्द्रले टोन्किनको खाडी नजिकको महाद्वीपीय किनारमा पुग्दा समुद्रको गर्मी कम हुने भएकाले आँधी कमजोर हुने सम्भावना रहेको बताएको छ ।

आइतबार भियतनाममा दर्जनभन्दा बढी घरेलु उडानहरू रद्द गरिएका थिए भने टाइफुनले त्यहाँको दक्षिणी क्षेत्र पार गर्दै गएकाले चीनको उष्णकटिबन्धीय रिसोर्ट हाइनानमा करिब २० हजार बासिन्दालाई खाली गरिएको थियो ।

हाइनानको मुख्य सहर सान्याले रमणीय क्षेत्रहरू बन्द गरेको छ भने र व्यावसायिक गतिविधि रोकिएको छ ।

भियतनामको कृषि मन्त्रालयका अनुसार सन् २०२५ को पहिलो सात महिनामा प्राकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मानिस मारिएका वा बेपत्ता भएका छन् ।

आर्थिक क्षति दुई करोड १० लाख डलरभन्दा बढी भएको अनुमान गरिएको छ ।

गत सेप्टेम्बरमा आएको टाइफुन यागीका कारण मात्र भियतनामले करिब तीन अर्ब ३० करोड डलरको आर्थिक क्षति व्यहोरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ३ : ५६ बजे

आज कार्तिक शुक्ल चतुर्दशी : वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन

विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट

काठमाडौं – आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा

इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी

जेरुसलेम – इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई

धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?

काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै