छठ पर्वका लागि शृङ्गारिँदै राप्ती नदीतट | Khabarhub Khabarhub

छठ पर्वका लागि शृङ्गारिँदै राप्ती नदीतट


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागमती – लोकआस्था, विश्वास र श्रद्धाको रूपमा मनाइने छठ पर्वका लागि हेटौँडा उपमहानगरपालिका –१ स्थित राप्ती नदीतटलाई विशेष रूपमा सरसफाइ गरी शृङ्गारिँदैछ ।

राप्तीतटलाई सरसफाइ गरेर पण्डाल लगाउने र शृङ्गारिने कार्य भइरहेको छठ पूजा समितिका संयोजक रवि गुप्ताले जानकारी दिए । करिब ७०० भन्दा बढी व्रतालु अटाउने गरी नदीतटमा ६२० फिट लामो पण्डाल लगाइएको उनले बताए ।

“व्रतालुहरू रातभर त्यही पण्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरूको सङ्ख्या हजारौँ हुन्छ । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता थियो । यो वर्ष गत वर्षको भन्दा पनि बढी सहभागी हुने अनुमान गरिएको छ”, संयोजक गुप्ताले भने ।

प्रत्येक वर्ष छठ मनाउनेहको सङ्ख्यामा वृद्धि भइरहेकाले पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजार घुइँचो देखिन थालेको छ । विगत भन्दा यस वर्ष छठ पर्वको आवश्यक पर्ने प्रसाद तथा अन्य सामानको मूल्य वृद्धि भएको स्थानीयले बताएका छन् ।

यस वर्षको छठ पर्व आजदेखि सुरु भएको छ । छठको पहिलो दिन आज व्रतालुहरूले नहायखाय गरी छठ पर्व आरम्भ गर्दछन् । दोस्रो दिन खरना विधि गर्ने गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरेर अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुहरू दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटो कै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको पण्डित रामकुमार शास्त्रीले बताए । उनका अनुसार यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

पर्वको तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुले रातभरि जाग्रामा बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि व्रत समाप्त हुन्छ ।

पारिवारिक सुख, शान्ति रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा नदीतटमा भक्तजनको घुइँचो लाग्ने गर्छन् । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहिआएको पण्डित शास्त्रीले बताए ।

उनका अनुसार ज्योतिष शास्त्रका आधारमा छठ पर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदकारी समेत मानिएको छ ।

छठ पर्वको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रतालु महिलाले भोजनमा माछा, मासु, लहसुन, प्याज, कोदो, मसुरलगायत परित्याग गरी व्रत बस्ने गर्दछन् ।

महाभारत अनुसार द्रोपतीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्यदेवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको हो ।

अर्कोतिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनीका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटलशौभाग्य र इच्छापूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डितले शास्त्रीले शास्त्रमा उल्लेख गरिएको बताए । “छठ पर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरू पनि महत्त्वपूर्ण छन् । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण ठानिन्छ”,उनले भने ।

भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ । अहिले हेटौँडा बजार क्षेत्रमा छठ पर्वको गीत गुञ्जिन थालेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ३० बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ