रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए « Khabarhub

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाएका छन् ।

विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे । “पहिलेपहिले खर्चको जोहो गर्न कठिन थियो, तर अहिले खुर्सानी बेचेर सहज भयो, हामीलाई चाडपर्व मनाउन अरूसँग पैसा सापटी माग्नु परेन”, उनले भने ।

यस वर्ष दसैँअगाडि खुर्सानी बेचेर रु चार लाख आम्दानी भएको छहरीले जानकारी दिनुभयो । अन्नबाली लगाउँदा वन्यजन्तुबाट जोगाउन कठिन भएपछि अहिले अकबरे खुर्सानीखेती थालेको उनले बताए । अहिले यहाँ अधिकांश साना किसानको जीविकोपार्जनको स्रोत खुर्सानीखेती भएको उनको भनाइ छ ।

स्थानीय सीता खाम्चाले पनि यस वर्ष चाडपर्व मनाउन ऋण खोज्न नपरेको बताउनुभयो । दसैँअगाडि अकबरे खुर्सानी बेचेर आएको आम्दनीबाट पर्वको जोहो भएको उनको भनाइ छ । उनले भने, “विगतका वर्षमा दसैँतिहार नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । आम्दानीको कुनै स्रोत थिएन, ऋण मागेर छोराछोरीलाई खुसी बनाउनुपर्ने बाध्यता थियो । अहिले खुर्सानीखेती गर्न थालेपछि सहज भएको छ । हालसम्म खुर्सानी बेचेर रु चार लाखभन्दा बढी आम्दानी भएको छ ।”

छहरी र खाम्चालाई मात्र हैन यहाँका अधिकांश साना किसानले अकबरे खुर्सानी बेचेर मनग्य आम्दानी गर्नाका साथै पर्वको जोहो गरेका छन् । स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत निकायले यहाँका कृषकलाई खुर्सानीखेतीका लागि सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा यसतर्फ किसानको आकर्षण बढेको गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गेले बताए ।

उत्पादित वस्तु बजारीकरणका लागि स्थानीय सरकारले समन्वय गरिदिन थालेपछि अहिले यहाँ खुर्सानीखेती नभएको घर छैनन् । गाउँबस्तीका खेतीयोग्य जमिनमा दिउँसोको समय बाँदर, मृर्ग, हरिण तथा राति दुम्सी, बदेललगायत वन्यजन्तुले सताउन थालेपछि किसानले वैकल्पिक रूपमा व्यावसायिक खुर्सानीखेती गर्न थालेका उनले भने ।

घरायसी प्रयोजनका लागि मात्र दुईचार बोट लगाएका कृषकलाई स्थानीय सरकारले खुर्सानीखेती गर्न प्रेरित गर्न थालेपछि व्यावसायिक उत्पादन हुन थालेको किसानको भनाइ छ ।

पालिकाले किसानलाई आर्थिक रूपले बलियो बनाउँदै आत्मनिर्भर बनाउने तथा वैदेशिक रोजगारीलाई निरुत्साहित गराउने उद्देश्यले अभियानका रूपमा व्यावसायिकखेतीतर्फ आकर्षित गर्न थालेको कृषि शाखा प्रमुख लामटाङ्गेले उल्लेख गरे । उनले अनुसार दसैँअघि खुर्सानी बिक्रीबाट गाउँपालिकाभित्र रु चार करोडभन्दा बढी रकम भित्रिएको छ । यहाँका कृषकद्वारा उत्पादित खुर्सानी सहकारीमार्फत बजारीकरण हुँदै आएको छ ।

कृषिमा केही हुँदैन भन्ने भाष्य विकसित हुँदै गएपछि पछिल्लो समय वैदेशिक रोजगारी प्रमुख गन्तव्य बन्दै गएको थियो । वैदेशिक रोजगारीको विकल्पमा अकबरे खुर्सानी वा नगदेखेती बनाउनका लागि उत्पन्न चुनौतीको सामना गर्दै रु चार करोडभन्दा बढी लगानी गरेर सुरुआत गरिएको खुर्सानीखेतीले आफ्नो सपना सार्थक बनाएको गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसीले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ९ : ४६ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग