ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला « Khabarhub

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन महिनाको तालिम लिएर गलैँचा बुन्न थालेकी थिइन् । घरमै गलैँचाको तान (ठग्टी) हालेर गलैँचा बुन्दै आएकी उनले हालै सो काम छाडेकी छन् । 

सुरुमा सोचेजस्तो आम्दानी नभएपछि उनले काम छाडेकी हुन्। उनले भनिन्, ‘राम्रै आम्दानी हुन्छ कि भनेर तालिम लिएरै गलैँचा बुन्न थालियो । एउटा गलैँचा बुन्न तीन साता लाग्छ तर बुनेको ज्याला पाँचदेखि सात हजार पाइन्छ ।’

सुरुमा सिक्दा नजानेर ढिलो भएको होला भन्ने लागेपनि पछिसम्म जति बुन्दा पनि मेहनत अनुसार आम्दानी नभएपछि काम छाडेको देवकी बताउनुहुन्छ । देवकीलेझैँ उनका धेरै गाउँले महिलाहरुले गलैँचा बुन्ने काम क्रमशः छाड्न थालेका छन् । 

महिलाहरूले गलैँचा बुन्न चासो देखाएपछि वडा कार्यालयले प्रशिक्षक राखेर तालिम दिएको थियो । उनीहरूलाई वडाले तान पनि उपलब्ध गराएको थियो । मेहनतअनुसार आम्दानी नभएपछि महिलाहरुले वडा कार्यालयलाई तान फिर्ता गर्न थालेका छन् ।

आफूले तयार पारेको एउटै गलैँचा विदेशमा २० देखि २५ हजार रुपैयाँमा बिक्री हुन्छ भन्ने उनीहरूले सुनेका छन् । तर बुनेको ज्याला सोचेभन्दा निकै कम पाएको नीलकण्ठ नगरपालिका–८, रामकोटकी लक्ष्मी श्रेष्ठले बताइन् ।

गलैँचाका लागि आवश्यक कच्चापदार्थ कहाँबाट आउँछ, बुनेका गलैँचा कहाँ लगेर बिक्री गर्ने भन्नेबारे श्रमिकहरूलाई थाहा हुँदैन । गाउँमा गलैँचा उत्पादक कम्पनीका प्रतिनिधि जान्छन् । आवश्यक धागो, कैँची, तान र गलैँचाको नक्शासमेत घरमै पुर्‍याइदिन्छन् । ज्याला पनि उनै प्रतिनिधिले तोकि दिन्छन् । 

श्रेष्ठले भनिन्, ‘कम्पनीको मान्छेले सबै सामान ल्याइदिन्छ, हाम्रो लगानी पर्दैन । तर पनि हाम्रो दैनिक ज्याला उठ्दैन ।’

विभिन्न ठाउँमा प्रशिक्षकको रुपमा काम गर्दै आएका लालबहादुर श्रेष्ठले घरमा बसेर गर्न मिल्ने भएकाले ज्याला थोरै दिने गरेको बताए। कम्पनीले कति रुपैयाँ दिन्छ भन्नेबारे आफूलाई थाहै नहुने बताए।

मोटो वा मसिनो धागो र चित्रअनुसार ज्याला फरक छ । मोटो धागोको बुन्न छिटो हुन्छ, पैसा कम दिन्छ । मसिनो धागोको बुन्न गाह्रो र ढिलो हुन्छ पैसा धेरै आउँछ । लामो समयदेखि गलैँचा बुन्न सिकाउँदै आएका लालबहादुरका अनुसार मोटो धागोले बुन्न १८ देखि २० दिन लाग्छ भने मसिनो धागोले एउटा गलैँचा तयार गर्न एकजनालाई ४० देखि ४५ दिन लाग्छ । 

मोटो धागोबाट तयार पारेको बुट्टाअनुसार पाँचदेखि सात हजार र मसिनो धागोबाट तयार पारेको १७ देखि १८ हजार ज्याला दिन्छ । एक वर्षअघि वडा कार्यालयले दिएको तालिममा २० जनाले गलैँचा बुन्न सिकेका थिए । १८ जनाले तान घरमै लगेर बुन्न थालेका थिए । तर हाल सो सङ्ख्या घटेर पाँचजनामा झरेका छन् । 

गलैँचा कम्पनीका प्रतिनिधि बुद्धसिंह तामाङकाअनुसार कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ र गलैँचा तयार गरिसकेपछि फेरि विदेशमै निर्यात गरिन्छ । महिलाले बुनेका ९० सेन्टिमिटर चौडाइ र १९० सेन्टिमिटर लम्बाइको गलैँचाको बजार मूल्य बुट्टाअनुसार १५ देखि २५ हजार पर्छ । ढुवानी, प्रशोधन गरी बिक्रीका लागि तयार गर्दा खर्च धेरै हुने भएकोले श्रमिकलाई पाँचदेखि सात हजारभन्दा बढी ज्याला दिन नसकिने उनको भनाइ छ । 

कमजोर अध्ययनको भरमा कार्यक्रम गर्दा यस्ता अवस्था आउने घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले बताउनुभयो । स्थानीय तहले हचुवाको भरमा बजेट हाल्ने र पहँुचको आधारमा बजेट लगानी गर्दा पनि समस्या भएको पुरीको भनाइ छ । 

नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्थानीय महिलाको मागअनुसार तालिम सञ्चालन गरेको बताए। धादिङको नीलकण्ठ, नेत्रावती, गङ्गाजमुना, सल्यानटार, महादेवबँेसी लगायतका स्थानमा गलैँचा बुन्ने श्रमिकहरू छन् । जिल्लाभर चार सयको हाराहारीमा गलैँचा बुन्ने श्रमिक छन् । 
 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : २१ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा