गृहमन्त्री विवादमा तानिएको भिजिट भिसा प्रकरणमा सरकारलाई घेर्दै प्रतिपक्षी | Khabarhub Khabarhub

गृहमन्त्री विवादमा तानिएको भिजिट भिसा प्रकरणमा सरकारलाई घेर्दै प्रतिपक्षी


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक ‘भिजिट भिसा’ प्रकरणमा मुछिएपछि प्रतिपक्षी दलहरू सरकारलाई घेराउ गर्ने रणनीतिमा लागेका छन् । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले लेखक ‘निर्दोष’ रहेको दावी गरिरहँदा प्रतिपक्ष दलहरू सरकार घेराउको राणनीतिमा लागेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् । उक्त प्रकरणमा गृहमन्त्रीकै सचिवालयका सदस्यसमेत जोडिएका छन् ।

गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो । तर, सरूवाको रमाना पत्र नबुझ्नै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ ।

‘भिजिट भिसा’ प्रकरणमा जोडिएपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठकमार्फत् गृहमन्त्री लेखकले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्,’ बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।’

माओवादी केन्द्रले पदबाट राजीनामा दिन गृहमन्त्री लेखकले जति ढिलो गर्छन्, त्यति नै राज्यको शाख पनि गिर्दै जाने प्रष्ट पारेको छ । ‘गृहमन्त्री रमेश लेखकले तुरुन्त राजीनामा दिनुपर्छ,’ प्रवक्ता सापकोटाले भने, ‘जति ढिलो भयो, उति राज्यको शाख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

यसअघि अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने जेठ १३ (मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने प्रतिक्रिया दिइसकेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताएका थिए ।

यद्यपि, रास्वपाले मंगलबारको संसद् बैठकमा पार्टीका सांसदहरूले निर्वाचह गर्ने भूमिकाकाबारे भने प्रष्ट पारिसकेको छैन । मंगलबारको संसद् बैठकमा गृहमन्त्री लेखकले ‘भिजिट भिसा’ प्रकरणमा आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिने बताइरहेका छन् ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने चेतवानी दिइसेकको छ ।

जेठ १५ गते हुने आन्दोलनको तयारीबारे गोकर्णेश्वरको तारेभीरमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलामा प्रमुख सचेतक शाहीले भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलनमा साथ हुने बताए ।

‘हामी भ्रष्टाचारविरुद्ध एकजुट छौं । एकजुट भइसकेपछि चाहे जोसुकैलाई होस् हाम्रो साथ रहन्छ,’ उनले भने ।

शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा माग्नुपर्ने बताए ।

थुनामा रहेका व्यक्तिले प्रधानमन्त्रीका स्वकीय सचिवको पनि नाम लिएको प्रसंग कोट्याउँदै शाहीले यसबारे प्रधानमन्त्री ओलीले संसद्‍मा जवाफ दिनुपर्ने बताए ।

‘भिजिट भिसा प्रकरणबारे हामी पनि १३ गतेको संसद्मा जवाफ माग्छौँ । गृहमन्त्री मात्र होइन, प्रधानमन्त्रीको पनि राजीनामा माग्छौँ । थुनामा रहेका व्यक्तिले स्वयम् प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले एक करोड रुपैयाँ मागेको भनेर बयान दिएका छन् । प्रधानमन्त्री ओलीले यसको जवाफ पर्सी संसद्मा दिनुपर्छ’, उनले भने ।

मंगलबारको संसद् बैठकमा प्रस्तुत हुने विषयबारे पार्टीले बैठक राखेर सामूहिक निर्णय गर्ने प्रमुख सचेतक शाहीले बताए ।

त्रिभुवन विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय शंकाको घेरामा परेको छ ।


गृहमन्त्री लेखकले गत शनिबार कांग्रेस धनुषाको पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको छलफलका क्रममा भनेका थिए, ‘दुई–चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ । यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन ।’

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १ : ४० बजे

बैंगलोर भागदौडमा ११ को मृत्यु : आरसीबीका अधिकारीसहित चारजना पक्राउ, आठ प्रहरी निलम्बित

नयाँदिल्ली- बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा भएको भागदौडको घटनामा यो सिजनको इन्डियन

वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले वातावरण संरक्षण गर्ने

देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका कर्णसिंह रावलको निधन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै

अल्भारेजको गोलमा चिलीविरूद्ध अर्जेन्टिना विजयी

काठमाडौं– एट्लेटिको म्याड्रिडका स्ट्राइकर जुलियन आल्भारेज लयमा रहँदा अर्जेन्टिनाले चिलीलाई

कार्लो एन्सेलोटीको डेब्युमा इक्वेडरसँग बराबरीमै चित्त बुझायो ब्राजिलले

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत बिहीबार इक्वेडरविरुद्धको खेलमा ब्राजिल गोलरहित